Nepal Communist Party (NCP)
 

विद्वान दार्शनिक सुकरातसँग सम्बन्धित एउटा प्रसङ्ग छ । एउटी निकै सुन्दरी युवती हुन्छिन्। युवतीले सुकरातसँग प्रस्ताव राख्छिन्, तपाईं र म विवाह गर्रौँ ता कि हाम्रो सन्तान तपाईंको जस्तो विद्वत्ता र मेरो जस्तो सुन्दरताको गुणले भरिपूर्ण होस् । युवतीको प्रस्ताववारे विचार गर्दै सुकरातले जवाफ फर्काउँछन्, तिम्रो सुन्दरता र मेरो विद्वत्ताको सम्मिलन त ठिकै हुन्छ तर उल्टो, तिम्रो अज्ञानता र मेरो कुरुपताको गुणले भरिपूर्ण सन्तान पनि हुनसक्छ । त्यसैले अब भन, के गर्ने ? विवाह गर्ने कि नगर्ने ?

यहाँनेर सुकरातले द्वन्द्ववादी ढंगले सोचेका हुन् । कम्युनिस्टले त झन् द्वन्द्ववादी ढंगले नसोची हुँदैन । मैले माओवादी केन्द्र र एमाले बिच भएको कम्युनिस्ट एकताको चर्चा गर्न खोजेको हुँ । एकताअघि माओवादी केन्द्र र एमालेका दुवैका सबल पक्षहरु पनि थिए र दुर्बल पक्षहरु पनि । सबल पक्षको सन्दर्भमा माओवादी केन्द्रमा जुझारु टिम थियो, रुपान्तरणका राजनीतिक एजेण्डाको नेतृत्व गरेको विरासत थियो, घरपरिवार त्यागेर पार्टी र क्रान्तिका निम्ति मरिमेट्ने पार्टीपङ्ति थियो र यस्तै अरु पनि सबल पक्षहरु हुन सक्छन् । एमालेतर्फ दिनरात जनता बिच रहेर साथ र सरसहयोगको परिपाटी, संगठनका सञ्जाल र पद्धति लगायतका सबल पक्षहरु थिए ।

रमेश गुरागाँई, Ramesh Guragain Leftreviewonline Com
लेखक

द्वन्द्वात्मक भौतिकवादी नियमानुसार दुवै पार्टीमा सबलका साथसाथै दुर्बल पक्ष पनि नहुने हुन्न थियो । खासगरी माओवादी केन्द्रमा चलाउनै नसकिने ठूल्ठूला संगठनले गर्दा बैठक बस्न नसक्ने अवस्था थियो । ठूला संगठनको असहजताको बहानामा पार्टी समितिका बैठकमा दुई चारजना बसेर निर्णय गर्ने प्रणाली बस्यो । एउटा समितिको निर्णय प्रकृयामा सम्बन्धित समितिको सदस्य सहभागी हुन नपाउने स्थिति सिर्जना भएपछि कार्यान्वयनमा समस्या आउन थाल्यो । अन्ततः निर्णयहरु कार्यान्वयन हुन छाडे र पार्टी सांगठनिक दृष्टिले कमजोर हुँदै गयो । त्यसैले जनसम्बन्ध पातलिँदै एकपछि अर्को निर्वाचनमा पार्टी झन् झन् खुम्चिँदै गयो ।

एमालेमा संगठन त ब्यापक भए तर मोटाएको नभई सुन्निएको जस्तो भयो । पाटीभित्र गुटहरु निर्माण र संस्थागत भए । माथिदेखि तलसम्म काँक्रा चिरेजस्तो पार्टी दुई गुटमा चिरियो । आमनिर्वाचनको समयमा एउटा गुट अर्कालाई पराजित गराउनतिर लागे । परिणामतः पार्टी ठूलो हुने, मतदाता धेरै हुने तर चुनावी प्रतिस्पर्धामा पराजय हुने क्रम स्थानीय तह निर्वाचनसम्म आइपुग्दा उत्कर्षमा पुग्यो ।

दुर्बल पक्ष गम्भीर रुपमा प्रकट भइसकेपछि दुवै पार्टीहरुको आन्तरिक जीवन सुचारु हुन मुश्किल भयो । यही नकारात्मक कारणले पार्टी एकताको सकारात्मक आवश्यकता बढाउन मद्दत गर्‍यो, जसरी पूर्वराजा ज्ञानेन्द्रको प्रतिगामी कदम (नकार) ले गणतन्त्र प्राप्ति (सकार) को आन्दोलनलाई मलजल गरेको थियो । करिबकरिब माओवादी केन्द्रसँग जे थियो, एमालेसँग थिएन । त्यसैगरी एमालेसँग जे थियो, माओवादीसँग त्यो थिएन । सबल र दुर्बल दुवै पक्षको हकमा यो लागू हुन्थ्यो । एकतापछि माओवादी केन्द्र र एमालेमा रहेका दुर्बल वा नकार पक्ष परित्याग र सबल वा सकार पक्ष अंगिकार गर्ने विषय अपेक्षाकृत थिए ।

एक वर्षभन्दा बढी भयो, पार्टी एकताको प्रकृया सुरु भएको । केन्द्रदेखि सेलसम्म अझै एकताले पूर्णता पाएको छैन । जनवर्गीय संगठन र विभागहरु केन्द्रमा नै गठन भएका छैनन्, सबै तहमा पुग्न निश्चय पनि अझै निकै समय लाग्छ । एकीकृत भइसकेका कमिटीका बैठकहरु पहिलोपटक बस्छन्, त्यसपछि बस्न मुश्किल हुन्छ । कमिटीहरु ज्यादै ठूला छन् । केन्द्रीय समितिमा ४४१, प्रदेशमा १७५ माथि, जिल्लामा १२५ माथि, गाउँ नगरमा ७५ माथि संख्यामा कमिटी बनेका छन् । यत्रो संख्या भइसकेपछि ठूलो भएका कारण देखाएर बैठक नबस्ने निश्चित छ । आफैँ ठूलो बनाउने अनि आफैँ बैठक बस्न सक्दैन भनेर दुईजना नेता बसेर सबै टुंग्याउने परिपाटी सुरु हुँदैछ । आफ्नो कमिटीको निर्णय प्रकृयामा सहभागी हुन नपाएपछि त्यसको कार्यान्वयन गर्न बाँकी पदाधिकारी कति अग्रसर होलान्? निर्णय कार्यान्वयन नहुने पार्टीको हालत के हुँदै जाला ? पूर्व माओवादी केन्द्रमा रहेको समस्या ठ्याक्कै यही हो, जुन अहिले एकीकृत पार्टीमा सरेको छ ।

फेरि पनि एकीकृत पार्टी गुटले आक्रान्त नहोला भन्न सक्ने अवस्था रहेन । संगठन समायोजन र कार्यविभाजन गर्दा मुख्य नेतृत्वबाट नै गुटगत स्वार्थको आधारमा छनौट गरियो । जसले गर्दा एकता प्रकृयामा समेत गुटहरुले वैधानिकता पाएका छन् । अर्थात्, यो रोग पनि एकीकृत पार्टीमा सरेको छ । अब विचार गरौँ, दुई पार्टीको एकता सुन्दरी युवतीले सोचे जस्तो सबल पक्षबीचको एकता होला कि सुकरातले देखेको संभावना जस्तो ?

एकतापछि पार्टी –१ र –१ जोडेर –२ भए जस्तो त हुने होइन ? संविधानमा समाजवादउन्मुख राज्य किटान गरी आफनो नेतृत्वमा समाजवाद स्थापनाका लागि एकीकृत भएको पार्टीमा रहेका केही विजातीय तत्त्वहरु हौसिन्छन् र सलबलाउँछन् भने यसप्रति जवाफदेही को हुनुपर्ने हो ? आजकाल भ्रष्टाचारी, तस्कर र माफियाको सम्बन्ध र पहुँच पार्टी र हेडक्वाटरसम्म रहेको विषय सजिलै खण्डन गर्न सकिँदैन । एकतापछि उनीहरु खिन्न छन् कि हौसिएका छन् ? यी यावत् प्रश्नहरुको जवाफबाट अहिले पार्टी एकताको चरित्र निर्धारित हुन्छ ।

पार्टी एकता मार्क्सवाद–लेनिनवादको आलोकमा राष्ट्रिय पुँजीको जगेर्ना गर्दै नेपाली धर्तीमा समाजवाद स्थापना गर्न भएको हो, जसमा दुई मत छैन । एकतामा आबद्ध दुवै पार्टी अनेकौँ आरोह र अवरोह पार गरेर यहाँसम्म आइपुगेका हुन् । दुवैसँग सशस्त्र संघर्षको अनुभव छ । दुवैसँग राजासहितको संसदीय अभ्यास वा उपयोगको अनुभव पनि छ । दुवैले एउटा ठूलो हुँदा अर्को सानो भएको र अन्य पार्टीले फाइदा उठाएको इतिहास भोगेका छन् । अन्ततः संविधानसभा, गणतन्त्र र संघीयता जस्ता राजनीतिक एजेण्डाले सहकार्यमा ल्याएका पार्टीलाई आ-आफ्नै महाधिवेशनबाट लिइएका समाजवादी क्रान्तिको समान निर्णयले एकढिक्का हुने आधार प्रदान गरेका हुन् । यस बिचमा अध्यक्षद्वय केपी शर्मा ओलीप्रचण्डको साहसिक निर्णयको सकारात्मक पक्षलाई सम्मान गर्नैपर्छ । तर, सबल पक्षहरुको मात्र केन्द्रीकरण तथा पार्टीमा क्रान्तिकारी र इमानदार प्रवृत्ति उत्साहित हुन सकेन भने रणनीतिक लक्ष्य हासिल गर्न सहज हुँदैन ।