माओत्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस भनेर रहेको अडान, दृष्टिकोण एवं पद्धति हुन्, जसका तीनवटा आधारभूत पक्षहरु छन् – तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र स्वतन्त्रता । नयाँ अवस्थामा चिनियाँ विशेषताहरुसहितको समाजवादको बृहत उद्देश्यलाई अगाडि बढाउन र हाम्रो पार्टी निर्माण गर्नमा माओत्सेतुङ विचारको जीवन्त भावनालाई उच्च रुपमा अवलम्बन गर्नुपर्दछ ।
मार्क्सवादको मौलिक सिद्धान्त अनुरुप तथ्यबाट सत्यको खोजी गर्नु, विश्वलाई बुझ्नु र रुपान्तरण गर्नु चिनियाँ कम्युनिस्टहरुका लागि एक आधारभूत आवश्यकता हो । यो हाम्रो पार्टीको विचार गर्ने, काम गर्नु र नेतृत्व गर्ने आधारभूत तारिका हो । हामी आफूले गर्ने हरेक काममा यथार्थबाट सुरु गर्ने, सिद्धान्तलाई व्यवहारबाटै सत्यको जाँच र विकास गर्ने सिद्धान्तलाई सकार्दै आइरहेका छौं र त्यसो गरिरहने पनि छौं ।
माओत्सेतुङले एक पटक भन्नु भएको थियो तथ्य भनेको वस्तुगत रुपमा रहेका सबै चिजहरु हुन् । ‘सत्य’ भनेको तिनीहरुको आन्तरिक सम्बन्ध हो त्यसको तात्पर्य तिनीहरुलाई सञ्चालन गर्ने नीतिहरु हुन्, र ‘खोज’ भन्नाले त्यसको अध्ययन गर्नु हो । ‘निशानामा वाण हान्नु भन्ने’ उहाँले अलङ्कारिक दृष्टान्त दिनुभयो । त्यसको तात्पर्य चीनको क्रान्ति, आधुनिकीकरणको अभियान र सुधारको ‘निशानामा’ मार्क्सवादको ‘वाण’ हान्नुपर्दछ भन्ने थियो ।
तथ्यबाट सत्यको खोजी गर्न हामीले कुनै वस्तुको यथार्थताको गहन समझदारी प्राप्त गर्नुपर्दछ र सतहबाट वस्तुको भित्री तहसम्म नियाल्नु पर्दछ । खण्डित वस्तुस्थितिको माझमा वस्तुहरु बिचका जटिल अन्तरसम्बन्ध पत्ता लगाउनु पर्दछ ।
हामीले वस्तुको अस्तित्व र त्यसको वस्तुपरक नियतिलाई मानेका छौं भन्ने आधारमा हामीले वस्तुगत नियमहरुको अनुगमन गर्नुपर्दछ । तथ्यहरुबाट सत्यको खोजी गर्ने सिद्धान्तको अनुसरण सधैँका लागि एक पटक मात्र गर्ने कुरा होइन । एक कुनै खास स्थान र समयमा मात्र यस सिद्धान्तको अनुशरण गरेर तिमीहरु सफल हुन सक्छौ । तर त्यसको अर्थ तिमीहरु यो सिद्धान्तको अनुसरण गरेर अर्को कुनै स्थान र समयमा पुनः सफल होलाऊ भन्ने होइन । कुनै एक स्थान र समयमा हासिल गरेको निचोड र अनुभव अर्को स्थान र समयमा आवश्यक रुपमा प्रयोग नहुन सक्छ । हामीले चेतनशील रुपले हाम्रो अवधारणलाई सबल बनाउनु पर्दछ र तथ्यहरुबाट सत्यको खोजी गर्ने हाम्रो दक्षतामा वृद्धि गरी त्यसको प्रयोग गर्नुपर्दछ । यो कुरा हामीले सदा मनमा लिनु पर्दछ र काममा प्रयोग गर्नुपर्दछ ।
आजको हाम्रो अवस्थामा तथ्यहरुबाट सत्यको खोजी गर्नु भन्नुको अर्थ के हो भने हामीले हाम्रो आधारभूत राष्ट्रिय अवस्था स्पष्ट रुपमा बुझ्नुपर्दछ । त्यो के हो भने हाम्रो राष्ट्र अझै पनि समाजवादको प्राथमिक तहमा छ र आउने धेरै समयसम्म सोही स्थितिमा रहनेछ । सुधार र विकासलाई अगाडि बढाउँदा र नीति एवं निर्देशनहरु बनाउँदा, आधारभूत राष्ट्रिय अवस्थासँग मेल खाने प्रकारले सबै कुराहरु गर्नुपर्दछ । वस्तुगत अवस्था र समयको वास्ता नगरी शीघ्र सफलताका लागि मात्र काम गर्ने प्रवृति पन्छाउनु पर्दछ र वास्तविकतासँग मेल नखाने कुनै पनि पुरानो अथवा ऐस आरामी विचार र कार्यहरुलाई जसले वास्तविकताका मूलभूत परिवर्तनहरुलाई बेवास्ता गर्छन् तिनलाई विनाअपवाद सच्च्याइनु पर्दछ ।
तथ्यहरुबाट सत्यको खोजी गर्दा जनताको भलाइका लागि हामीले सधैँ सत्यतालाई अँगाल्नु पर्दछ र गल्तीहरु सच्चयाउनु पर्दछ । स्पष्ट, निःस्वार्थ र निडर भई तथ्यहरुमा आधारित सत्यलाई हामीले साहसी बनेर व्यक्त गर्नुपर्दछ र निर्णय गर्दा र काम गर्दा भए गरेका सैद्धान्तिक विचलन र भूलहरु आइपर्ने बित्तिकै पत्ता लगाई सच्याउनु पर्दछ र वस्तुपरक नियम, समयका माग र जनताका इच्छाहरुसँग मेलखाने प्रकारले हाम्रा विचार र कार्यहरु बनाउन सबै प्रकारका द्वन्द्व र समस्याहरु पत्ता लगाउनु र समाधान गर्नु पर्दछ ।
तथ्यहरुबाट सत्यको खोजी गर्दा हामीले व्यवहारमा आधारित सैद्धान्तिक नवप्रवर्तनलाई प्रोत्साहन दिनुपर्छ । मार्क्सवादका आधारभूत सिद्धान्तहरु भौतिक, वैचारिक मूल्यसहितका सार्वभौम सत्य हुन् । तापनि मार्क्सवादका शास्त्रीय लेखकले सत्यको पूर्णतः खोजी गरेनन् । तर खोज र विकासको बाटोलाई प्रकाश दिए । आज हामी चिनियाँ विशेषताहरुसहितको समाजवादमा संलग्न भई त्यसको विकासमा लाग्दा गहनस्तरमा कार्य सञ्चालन गर्दा देख्न सकिने तर आकलन गर्न नसकिने अप्ठ्याराहरु तथा खतराहरुका बिच प्रभावकारी रुपमा कार्य गर्दा हाम्रा बाटा अगाडि नयाँ समस्याहरु देखापर्ने छन् । यी सबै कुराहरुका लागि नयाँ र उचित सैद्धान्तिक समाधानको आवश्यकता पर्दछ । हामीले पार्टीको नेतृत्वमा जनताले आर्जन गरेको ताजा अनुभवहरुको समीक्षा गर्नुपदैछ । चिनियाँ सन्दर्भमा मार्क्सवादको अटुट रुपमा अनुशरण गर्नुपर्दछ र चीनमा मार्क्सवादलाई अरु उज्यालो रुपले चम्काउनु पर्दछ ।
‘जनपक्षीय नीति’ पार्टीको जीवनाधार र मौलिक कार्यसिद्धान्त हो । यो एउटा आदर साथ स्थापित गरिएको परम्परा हो जसले हाम्रो पार्टीलाई आफ्नो शक्ति र सङ्घर्षशील क्षमता चालु राख्न सक्षम बनाउँदछ । जनताको भलाइका लागि तिनीहरुको शक्तिमाथि भर पर्दै जनताको चेतनशील कार्यमा परिवर्तित गर्नमा र जनपक्षीय विचारधारा सबै सरकारी कार्यहरुमा लागु गर्नमा हामी सदा नै प्रतिबद्ध थियौँ र रहने छौँ ।
‘जनपक्षीय नीति’ले सारभूत रुपमा जनताहरु इतिहासका निर्माता हुन् भन्ने मार्क्सवादको विचारलाई समेटेको छ । इतिहासको अग्रगति निर्देशित गर्ने आधारभूत नियमहरु बुझ्न हामी सिद्धान्तमा लिप्त हुनुपर्दछ । हामीले यी नियमहरु पालना गरेर हामी अजेय रहनुपर्दछ । इतिहासले समयसमयमा के प्रमाण्ति गरेको छ भने जनता ऐतिहासिक विकास र सामाजिक प्रगतिका विशाल शक्ति हुन् । माओत्सेतुङले भन्नु भए अनुसार “एकपटक जब चीनको भविष्य जनताको हातमा पर्छ, चीनले पूर्वमा उदाउने सूर्यलेझैं उज्यालो ज्वालासहित धरतीका प्रत्येक कुनालाई जाज्वल्यमान बनाउनेछ ।”
‘जनपक्षीय नीति’ मा आबद्ध हुनु भनेको जनता हाम्रो भविष्य र भाग्यबारे निर्णय गर्ने मौलिक शक्ति हुन् भन्ने कुरा बुझ्नु हो । पार्टीलाई अभेद्य बनाउने बलियो आधारशीला राष्ट्रमा जनताको प्रमुखताप्रति हाम्रो संलग्नता र तिनीहरुको कार्यतत्परतालाई पूर्णरुपमा क्रियाशील बनाउनमा भर पर्दछ । जनताको अगाडि हामी सबै सधैं विधार्थी हौँ । त्यसकारण हामीले उनीहरुबाट सल्लाह लिनुपर्दछ । हामीले जनताबाट हामीलाई सुम्पिएको अधिकार स्मरण गर्दै त्यसको बुद्धिमानीपूर्वक परिचालन गर्नुपर्दछ र तिनीहरुको सुपरीवेक्षण र स्वागत गर्नुपर्दछ । हाम्रो पार्टीको जग सुदृढ रुपमा स्थापित गर्ने ऐतिहासिक उपलब्धिको सिर्जना गर्न हामी तिनीहरुमाथि निकट रुपमा निर्भर रहनुपर्दछ ।
‘जनपक्षीय नीति’ आबद्ध रहनु भनेको पूर्ण हृदयले जनताको सेवा गर्नु हो भन्ने मूलभूत नीतिको अनुशरण हो ।
कानुनीहरु आदेशहरु जनताको आकाङ्क्षा अनुरुप छन् भने तिनीहरु मान्य हुन्छन् । यदि जनताको आकाङ्क्षा विपरीत छन् भने तिनीहरु निष्कृय हुन्छन् । दिलोज्यान लागाएर जनताको सेवा गर्नु पार्टीको मौलिक उद्देश्य हो र सबै कार्यहरुको अन्तिम निष्कर्ष हो र यो एक सङ्केत हो जसले हाम्रो पार्टीलाई अरु पार्टीहरुको दाँजोमा उच्च राख्दछ । पार्टीका सम्पूर्ण कार्यहरुका लागि उच्चतम मापदण्ड यसले विशाल बहुसङ्ख्यक जनताको आकाङ्क्षामा कत्तिको सेवा पुर्याउँछ भन्ने हो । हाम्रा सबै कामको प्रभावकारिता जनताले अन्ततोगत्वा प्राप्त गर्न सकेका खास फाइदाहरु तिनीहरुको जीवनमा आएका सुधारहरु र तिनीहरुको हक र चाहनाहरु कतिसम्म राम्रो तवरले सुरक्षित भएका छन् भन्ने कुराबाट नापिनुपर्ने हुन्छ । समृद्ध जीवनप्रति तिनीहरुको आकाङ्क्षा हामी आत्मसन्तोष एवं खुकुलो भइरहन मिल्दैन बरु कडा परिश्रम गर्नुपर्ने बाध्यता पर्दछ ताकि सबै स्वच्छ रुपमा विकासको प्रतिफलमा सहभागी हुन र उन्नतितर्फ दृढतापूर्वक अगाडि बढ्न सकून् ।
‘जनपक्षीय नीति’मा आबद्ध हुनेको अर्थ पार्टी र जनता बिच निकट सम्बन्ध कायम गर्नु भन्ने हो । हाम्रो पार्टीको उच्चचम रानीतिक उपादेयता जनतासँग यसकोे निकट सम्बन्ध हो । शासकीय पार्टीको निमित्त ठूलो खतरा भनेको जनताबाट अलग्गिनु हो । माओत्सेतुङले भनेका छन्, “हामी कम्युनिस्टहरु बीउजस्ता हौं र जनता माटोजस्ता हुन्, हामी जहाँसुकै पनि जनताको साथमै हुन्छौं त्यही जरो गाड्छौं उनीहरुकै बिचमा फुल्छौं । सबै पार्टी सदस्यहरुले पहिले जनता र अनि जनपक्षीय विचारधाराको सिद्धान्तलाई मनमा लिनुपर्दछ र तिनीहरुलाई प्रयोगमा ल्याउनुपर्दछ । हामीले पार्टीभित्र खास गरेर जनताहरुलाई असन्तुष्ट लागेका समस्याहरु समाधान गर्न सक्दो किसिमले कार्य गर्नुपर्दछ जसबाट पार्टीले सधैं तिनीहरुको विश्वास र समर्थन प्राप्त गर्न सकोस् ।
‘जनपक्षीय नीति’मा आबद्ध रहनुको तात्पर्य जनतालाई हाम्रो कामको मूल्याङ्कन गर्न लगाउनु हो । ‘कुनै कानुन असल छ छैन भन्ने कुरा जान्ने जनता नै हुन्’ कुनै राजनीतिक पार्टीको भविष्य र भाग्य जनसमर्थनले नै निर्धारण गर्दछ । जनसमर्थनबाटै हामीले हाम्रो शक्ति प्राप्त गर्दछौं । जनसमर्थनबिना पार्टीको विशाल लक्ष्य कहिल्यै पनि हासिल हुन सक्तैन । पार्टीको शासकीय शक्ति र क्रियाकलाप जाँच्ने काम हाम्रो होइन । पार्टीको कार्यको उच्चतम र अन्तिम न्यायाधीश जनता हुन्, जसले मात्र त्यसको जाँच गर्नुपर्दछ र गर्न सक्छन् । यदि हामी स्वाँगी भएमा र आफूलाई जनताबाट विच्छेद गरेमा र उनीहरुभन्दा माथि आफूलाई स्थापित गरेमा हामीलाई निश्चय नै तिनीहरुले परित्याग गर्नेछन् । कुनै पनि पार्टीको विषयमा यो कुरा लागू हुन्छ र यो एउटा फलामे नियम हो, जसको अपवाद हुँदैन ।
पार्टी र जनताको शक्तिमा भरपर्दै क्रान्ति, विकास र सुधारका विभिन्न तहहरु पार गर्दै चीनको वास्तविकताबाट आर्जेको अपरिहार्य निचोड ‘स्वतन्त्रता’ हो । हाम्रो राष्ट्रिय विकास र राष्ट्रिय स्वाभिमान एवं विश्वासको सुरक्षाको अनुभूति गर्न हामी सधैं आफूमाथि नै आश्रित रहनु पर्दछ र विगतमा झैं हाल र भविष्यमा हाम्रो बाटोमा दृढतापूर्वक लागिरहनु पर्दछ ।
स्वतन्त्रता चिनियाँ राष्ट्रको गौरवमय परम्परा हो र चिनियाँ कम्युनिस्ट पार्टी एवं जनगणतन्त्र चीनको निर्माणका लागि आवश्यक सिद्धान्त हो । एक पिछडिएको अर्थव्यवस्था र विशाल जनसङ्ख्या भएको पूर्वीय राष्ट्र चीनमा विद्यमान वास्तविकता र क्रान्ति र विकासप्रतिको हाम्रो अभिभाराले के निश्चित गरेका छन् भने हामी आफ्नो बाटोमा अगाडि बढ्नुबाहेक अर्को विकल्प छैन ।
९३ लाख वर्ग किलोमिटरको क्षेत्रफल, समपन्न पुख्र्यौली सांस्कृतिक सम्पदा र १ अरब ३० करोड चिनियाँ जनता बिचको बलियो गाँठोको स्वाभिमानसहित हामी आफ्नै बाटोमा अगाडि बढ्न दृढसङ्कल्पित छौं । हाम्रो उपादेयता प्रदर्शन गर्ने हाम्रो लामो र समृद्ध इतिहासमा आधारित ठूलो रङ्गमञ्च छ, जसबाट हामी फाइदा लिन सक्छौँ र त्यसले हामीलाई अगाडि बढाउन शक्तिशाली उत्साह दिन्छ । हामी सबै चिनियाँ जनता प्रत्येकले यसबाट आत्मविश्वास प्राप्त गर्नुपर्दछ ।
स्वतन्त्रतामा आबद्ध रहनुको अर्थ चिनियाँ मामिलाहरुबारे चिनियाँ जनता आफैले व्यहोर्नु र निर्णय लिनुपर्दछ भन्ने हो । संसारमा यस्तो कुनै विकास प्रणाली छैन, जुन विश्वव्यापी रुपमा प्रयोग गर्न सकियोस्, न कुनै विकासको निश्चित मार्ग छ जुन ढुङ्गामा कुँदिएको छ । ऐतिहासिक पृष्ठभूमिको विषमताले विभिन्न राष्ट्रहरुले चुन्ने विकासपथहरुको विभिन्नता निर्धारण गर्दछ । मानवजातिको सम्पूर्ण इतिहासमा कुनै पनि राष्ट्र वा राज्य केवल बाहिरी तत्वहरुको भरमा र अरुहरुको अन्धो अनुगमनको आधारमा शक्तिको उचाइमा पुग्न र आफूलाई पुनरुत्थान गर्न सकेको छैन, त्यसो गर्न खोज्दा अपरिहार्य रुपमा असफलता र पराधीनतातर्फ धकेलिनु पर्दछ ।
हाम्रो पार्टीले सदा क्रान्ति, विकास र सुधारको सम्बन्धमा निर्देशन गर्दा आफ्नो विकास स्वतन्त्र रुपमा लेखाजोखा र अभ्यासको मानसिकता र आफ्नै बाटोमा आबद्ध रहने विश्वास र दृढता पार्टीका सबै सिद्धान्तहरु र अभ्यासको स्थायी स्तम्भ हो र यो हाम्रो पार्टी र जनताले एक विजयपछि अर्को विजय हासिल गर्दै जाने कुराको निश्चितता हो ।
स्वतन्त्रतामा आबद्ध रहनुको अर्थ चिनियाँ विशेषताहरुसहितको समाजवादको बाटोमा दृढतापूर्वक लाग्नेछौँ भन्ने हो । हामी बन्द ढोकाको पुरानो एकोहोरो नीति लिने छैनौ न हाम्रो ध्वजा नै परिवर्तन हुने गरी गलत बाटो लिनेछौँ । हामीले चिनियाँ समाजवादका सिद्धान्त र व्यवस्थाहरु र मार्गप्रति हाम्रो राजनीतिक आस्था र विश्वासमा वृद्धि गर्नुपर्दछ । हामीले परिवर्तित अवस्था र कामअनुसार चिनियाँ विशेषताहरु सहितको समाजवादी बाटोलाई फराकिलो बनाउँदै सर्वपक्षीय सुधारमार्फत यी सिद्धान्तहरुलाई गहकिलो बनाई व्यवस्थालाई सुधार्नुपर्दछ । हामीले अन्य सांस्कृतिकहरुको उपलब्धिहरुबाट शिष्ट रुपले फाइदा लिनुपर्दछ, तर कहिल्यै हाम्रो आफ्नो मौलिकतालाई बिर्सनु हुँदैन । हामीले अन्धो रुपमा अरु राष्ट्रको विकासका मानचित्रहरुको नक्कल गर्नुहुँदैन न तिनीहरुलाई आंशिक रुपमा नै स्वीकार गर्नुहुन्छ ।
स्वतन्त्रतामा आबद्ध रहन हामीलाई शान्तिको स्वतन्त्र परराष्ट्रनीतिको अवलम्बन र शान्तिपूर्ण विकासको मार्ग अनुशरण गर्नु आवश्यक पर्दछ । हामीले शान्ति, विकास, सहयोग र सबैको हितका लागि आफ्नो झण्डा उच्च रुपले ग्रहण गर्नुपर्दछ र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरु को आधारमा अन्य राष्ट्रहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्दछ । साथै समानता र पारस्परिक लाभको आधारमा अन्य राष्ट्रसित आदान-प्रदान र सहयोगको परिचालन, विश्व-शान्तिको प्रखर संरक्षण र सामूहिक विकासको प्रवर्धक गर्नुपर्दछ । हामीले विषयवस्तुका आफ्नै गुणहरुको आधारमा हाम्रा अवधारणाहरु र नीतिहरु बनाउनु पर्दछ र हाम्रो विकासपथको बारेमा स्वतन्त्रतापूर्वक निर्णय लिने प्रत्येक जनताको अधिकारलाई स्वच्छ र न्यायसङ्गत अवधारणसहित आदर गर्नुपर्दछ । कहिल्यै अरुमाथि हाम्रो धारण लाद्नुहुँदैन र अरुहरुको धारणा हामीमाथि थोपर्न दिनुहुँदैन ।
हामी अन्तर्राष्ट्रिय विवादहरुको शान्तिपूर्ण समाधानका पक्षमा अडिग छौँ र सबै प्रकारका दबाब र शक्तिको राजनीतिको विरोध गर्दछौँ र न कहिल्यै दबाबको सिर्जना गर्दछौं , न आधिपत्यको बाटोमा लाग्दछौं । हामी हाम्रो सार्वभौमिकता, सुरक्षा र विकासका स्वार्थहरुको दृढतापूर्वक संरक्षण गर्दछौँ ।कसैले पनि यो न सोचून् हाम्रो सार्वभौमिकता , सुरक्षा अथवा विकासको मामलामा हानि पुर्याउने कुनै पनि कुरा हामीले स्वीकार्नेछौं, न त्यसका लागि हाम्रा मूलभूत स्वार्थहरुको मोलमोलाई नै गर्नेछौं ।
(सन् २०१३ डिसेम्बर २६ मा क. माओत्सेतुङको १२० औँ जन्मजयन्तीका दिन जनवादी गणतन्त्र चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव क. सी चिनफिङ दिनुभएको मन्तव्य )