Young Communist League (YCL Nepal)
 

विश्वदृष्टिकोण भनेको दर्शन हो । विश्वको अर्थ प्रकृति र मानव समाज हो । प्रकृति र मानव समाजलाई हेर्ने दृष्टिकोणलाई दर्शन भनिन्छ । हामी मार्क्सवादी हौं । मार्क्सवादले दर्शनलाई केवल किताबी ज्ञानका रुपमा होइन, सिद्धान्तलाई व्यवहारसित जोड्ने मिलाउने कुराको माग गर्दछ । व्यवहारबाट सुरु गरेर सिद्धान्तमा जाने र सिद्धान्तलाई व्यवहारसित जोड्ने काम नै दर्शनशास्त्रको महत्त्वपूर्ण काम हो । युवा समुदायले यो कामलाई राम्रोसित हृदयंगम गर्न जरुरी छ ।

हामी एक्काइसौं शताब्दीको प्रारम्भमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न गइरहेका छौं । हाम्रो महान् अभिष्ट समाजवाद हुँदै साम्यवादमा जानु हो । नेपाली जनवादी क्रान्तिमा युवा समुदायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । महान् जनयुद्धको प्रक्रियामा कम्युनिस्ट पार्टी, जनमुक्ति सेना, संयुक्त मोर्चा र अन्य विभिन्न तहका संगठनहरुमा रहेर युवा समुदायले त्याग, वीरता र बलिदानका क्षेत्रमा उच्च कीर्तिमान कायम गरेको छ । क्रान्तिलाई विजयको दिशामा अगाडि बढाउनका लागि युवा समुदायले अझै उच्च प्रकारको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । यो काम पूरा गर्नका लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणले समृद्ध बन्नै पर्दछ ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबारे अर्थात् मार्क्सवादी दर्शनबारे धेरै व्याख्या तथा विश्लेषण गरिएका छन्, कैयौं पुस्तकहरु लेखिएका छन् । परन्तु त्यो दर्शनको सारतत्त्व भनेको सिद्धान्त र व्यवहारमा एकरुपता कायम गर्दै आफू स्वयम् र सिंगो संसारलाई बदल्नु हो । संसार बदल्ने मान्छेहरु धेरै महान् हुन्छन् र हुनुपर्दछ ।

Mohan Vaidya 'Kiran'
क. मोहन वैद्य ‘किरण’

संसार बदल्नका लागि मान्छेमा उच्च प्रकारको सपना वा महान् आदर्श हुन जरुरी छ । त्यसप्रकारको सपना वा आदर्श व्यक्तिगत हित वा तुच्छ स्वार्थभन्दा धेरै माथि उठेको हुन्छ । यस्ता सपना देख्ने र उच्च आदर्शको वरण गर्ने उमेर युवावस्था नै हो । युवा मार्क्सले “पेशाको चयनबारे एक युवाको विचार” शीर्षक लेखमा भन्नुभएको थियो – “यदि कुनै व्यक्तिले केवल आफ्ना लागि मात्र काम गर्दछ भने ऊ एक प्रसिद्ध शिक्षाविद् बन्न सक्तछ, एक महान् साधु बन्न सक्तछ, एक उत्कृष्ट कवि बन्न सक्तछ , तर ऊ वास्तविक अर्थमा पूर्ण र महान् मानिस कदापि बन्न सक्तैन ।” वास्तवमा, महान् मान्छे को हो त ? मार्क्स अगाडि भन्नुहुन्छ – “इतिहास तिनलाई महान् मानव मान्दछ, जो साझा हित ( common good) का लागि काम गरेर स्वयम् उच्च बन्दछन् । अनुभवले सबैभन्दा सुखी मानिसको रुपमा तिनैको गुणगान गर्दछ, जसले मानिसहरुको धेरैभन्दा धेरै संख्याका लागि सुखको सिर्जना गरेको छ ।” मार्क्सका यी विचारहरु धेरै महान् छन् । वास्तवमा यस्तै महान् विचार र तिनलाई व्यवहारमा ढाल्न समर्थ बन्नुको कारण नै मार्क्स साँच्चैको मार्क्स बन्नुभएको थियो । यसलाई हामीले मार्क्समा विद्यमान आदर्श र कर्मका बिच द्वन्द्वात्मक एकरुपताको उत्कृष्ट नमूनाका रुपमा ग्रहण गर्नुपर्दछ । युवाहरुले पनि यस्तै सपना तथा आर्दशको वरण गर्दै कर्मको वेदीमा आफूलाई होम्न समर्थ बन्न जरुरी छ । हामीले जनताको मुक्तिको महान् आर्दशले अभिप्रेरित भई कम्युनिस्ट पार्टी, योङ कम्युनिस्ट लिग वा कुनै क्रान्तिकारी संगठनको पूर्णकालीन वा अल्पकालीन सदस्य बनेर क्रान्तिको ऐतिहासिक प्रक्रियामा संलग्न हुन पाएकोमा आफूलाई गौरवान्वित ठान्नु पर्दछ ।

क्रान्तिको प्रक्रियामा महान् नेताहरुले सपना देखेका हुन्छन् र लेनिनले पनि सपना देख्ने कुराको महत्त्वलाई राम्रोसंग बुझ्नुभएको थियो । त्यसैले लेनिनले भन्नुभएको थियो – “साथी हो, सपना देख्नु पर्दछ ।” लेनिनको सपनाले मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै त्यो विज्ञानलाई लेनिनवादका रुपमा विकसित तुल्याउने अवसर प्रदान गर्‍यो । रुसमा समाजवादी क्रान्ति सम्पन्न गरिसकेपछि युवाहरुको कामबारे लेनिनले एउटै शब्दमा भन्नुभएको थियो र त्यो शब्द थियो – ‘सिक्नु’ । त्यो सिक्नु भनेको लेनिनको भनाइमा “साम्यवादको शिक्षा” थियो । लेनिनले भन्नु भएको थियो –“काम बिना र संघर्ष बिना साम्यवादको सम्बन्धी पुस्तिकाहरु र रचनाहरुबाट प्राप्त हुने किताबी ज्ञानको कुनै अर्थ हुँदैन । किनभने त्यसले पुरानो बुर्जवा समाजको सबैभन्दा घृणित विशेषताको रुपमा देखापर्दै आएको सिद्धान्त र व्यवहारका बिचको पुरानो अन्तर अर्थात् सम्बन्ध विच्छेदलाई कायमै राख्नेछ ।” शिक्षाबारे अर्थात् ज्ञानबारे लेनिनद्वारा प्रस्तुत यी विचारहरु अत्यन्तै मूल्यवान् रहेका छन् । सिद्धान्त र व्यवहारका बिच पर्खाल खडा गर्नु तथा भनाइ र गराइमा एकरुपता कायम नहुनुलाई पुँजीपति वर्गमा देखापर्ने चरम मूल्य संकटका रुपमा लिने गरिन्छ । यहाँ सिद्धान्त र व्यवहारका बिच द्वैतवादको पर्खाल खडा गर्ने चिन्तनमाथि कडा वैचारिक प्रहार गर्दै युवाहरुलाई त्यसप्रकारको गलत चिन्तनप्रति सतर्क रहन प्रशिक्षित तुल्याउने काम भएको छ ।

माओले आफ्नो प्रसिद्ध दार्शनिक कृति– “व्यवहारबारे”मा भन्नुभएको थियो – “आत्मगत र वस्तुगत पक्ष, सिद्धान्त र व्यवहार तथा भनाइ र गराइका बिच ठोस ऐतिहासिक एकरुपता कायम गरिनु पर्दछ ।” माओको यो भनाइ द्वैतवादको विरोध र द्वन्द्वात्मक भौतिकवादी अद्वैतवादको पक्षमा आधारित रहेको छ ।

माओले समाजवादी क्रान्तिकालमा युवाहरुलाई प्रशिक्षित तुल्याउनेबारे आवश्यक ध्यान दिनुभएको थियो । शिक्षाको सिद्धान्तमाथि प्रकाश पार्दै माओले भन्नुभएको थियो –
“युवाहरुका शिक्षाका सिद्धान्त यी हुन्ः
(१) उनीहरुलाई मार्क्सवाद–लेनिनवादलाई दह्रोसंग पकड्न र निम्न-पुँजीवादी चेतनाबाट मुक्त हुन प्रशिक्षित तुल्याउनु ।
(२) उनीहरुलाई अनुशासन तथा संगठनमा आबद्ध हुने र संगठनमा अराजकतावाद तथा उदारतावादको विरोध गर्नेबारे प्रशिक्षित तुल्याउनु ।
(३) उनीहरुलाई तल्लो तहका व्यावहारिक गतिविरोधहरुमा राम्रोसँग संलग्न बन्ने र व्यावहारिक अनुभवहरुलाई तिरस्कार गर्ने कुराका विरुद्ध संघर्ष गर्नेबारे प्रशिक्षित तुल्याउनु ।
(४) उनीहरुलाई मजदूर तथा किसानहरुसित घनिष्ठ सम्बन्ध कायम गर्ने र किसान तथा मजदूरहरुलाई हेप्ने कुराको विरोधमा प्रशिक्षित तुल्याउनु ।”

माओका यी विचारहरुबारे छोटो चर्चा गर्नु आवश्यक छ । माओको यो पहिलो भनाइ मार्क्सवाद –लेनिनवादको शिक्षामा आधारित छ । क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको महत्त्वलाई पूरै गिराउने गर्दछन् । उनीहरुको जोड युवा पिंढीलाई सिद्धान्तबाट च्यूत बनाएर प्रतिक्रियावादको सेवा गर्ने कुरामा हुन्छ । यो कुरा बुझेर नै माओले युवा पिंढीलाई मार्क्सवाद–लेनिनवादको शिक्षा दिने कुरा बताउनु भएको हो । माओद्वारा प्रस्तुत दोस्रो भनाइ सांगठित बन्नु र सांगठनिक क्षेत्रमा देखापर्ने उदारतावाद र अराजकतावादका विरुद्ध जुझ्नका लागि प्रशिक्षित तुल्याउनुपर्ने कुरामा विशेष जोड दिनुभएको पाइन्छ । माओको तेस्रो भनाइ युवाहरुलाई व्यवहारमा जाने र त्यहाँबाट प्राप्त नयाँ अनुभवहरुले समृद्ध बन्ने बारे प्रशिक्षित तुल्याउनुपर्ने आवश्यकतासँग सम्बन्धित रहेको छ । यसले सिद्धान्त, व्यवहार र पुनः सिद्धान्तको मार्क्सवादी दार्शनिक मान्यतालाई राम्रोसँग अभिव्यक्त गर्दछ । माओको चौथो भनाइ मजदुर र किसान जनसमुदायमा जानका लागि युवाहरुलाई प्रशिक्षित तुल्याउनुपर्ने आवश्यकतासित जोडिएको छ । यो शिक्षा जनताबाट लिएर जनतालाई दिने जनदिशाको मान्यतामा आधारित रहेको छ ।

माओका उक्त भनाइहरुलाई हामीले वर्तमान नेपाली क्रान्तिको सन्दर्भमा सिर्जनात्मक ढंगले बुझ्न र कार्यान्वयन गर्न आवश्यक छ । सिद्धान्तका रक्षा, प्रयोग र विकास गरेर नै क्रान्तिलाई विजयको दिशामा अगाडि बढाउन सकिन्छ ।

हामीले यहाँ मार्क्स, लेनिन र माओका केही भनाइहरुबारे जुन चर्चा गर्‍यौँ ती मूलतः आदर्श र कर्म, सिद्धान्त र व्यवहार तथा भनाइ र गराइसँग सम्बन्धित निकै महत्त्वपूर्ण दार्शनिक प्रश्न हुन् । हामी मूलतः सही र क्रान्तिकारी छौं । तर पनि आज हामीमा दार्शनिक रुपमा एउटा गंभीर समस्या देखापर्दै आएको छ । त्यो समस्या भनेको सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर, भनाइ एकातिर र गराइ अर्कोतिर, तथा आर्दश एकातिर र कर्म अर्कोतिर हुने द्वैतवादका विरुद्ध कडा वैचारिक संघर्ष चलाउनु आवश्यक छ । मार्क्सवादी दर्शनले सिद्धान्त र व्यवहार, भनाइ र गराइ तथा आर्दश र कर्मका बिच द्वन्द्वात्मक एकरुपताको माग गर्दछ । यो बेला युवा समुदायले विश्वदृष्टिकोणको प्रश्नमा ध्यान दिनुपर्ने कुरा मूलतः यिनै हुन् ।

सन्दर्भ –सामग्री
१. मार्क्स–एङ्गेल्स संकलित रचनाहरु, ग्रन्थ–१, अंग्रेजी, प्रगति प्रकाशन मास्को १९७५ ।
२. लेनिन संकलित रचनाहरु, चार खण्डमा खण्ड तीन, हिन्दी, प्रगति प्रकाशन मास्को १९८८ ।
३. माओत्सेतुङ संकलित रचनाहरु, ग्रन्थ–१, नेपाली, विविध पुस्तक भण्डार काठमाडौं २०६३ ।
४. माओत्सेतुङका छानिएका रचनाहरु, ग्रन्थ–८, अंग्रेजी, क्रान्ति प्रकाशन, सिकन्दरावाद १९९४ ।

(लेखक नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव हुनुहुन्छ । प्रस्तुत लेख ‘योङ कम्युनिस्ट’, अंक २, साउन २०६७ बाट साभार गरिएको हो ।)