नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, झण्डा, Flag, Communist Party of Nepal, CPN Maoist Centre,
 

कम्युनिस्ट आवरणभित्र लुकेको अवसरवादले हमेसा आफूलाई सही र अरूलाई गलत भन्छ । छद्म अवसरवादले खुल्ला र स्पष्ट विचार र व्यवहारलाई आफ्नो स्वार्थपूर्तिको बाधक कार्य ठान्छ । बाहिर कुरामा विचार, सिद्धान्त, विधि, विधान, नियम, पद्धति, खुल्ला र स्पष्ट गर्नुपर्छ भन्न कहिल्यै नथाक्ने छद्म अवसरवादभित्र काममा भने छलछाम र षड्यन्त्रलाई नै साधक ठान्दै दुईजिब्रे प्रवृत्ति अपनाइरहेको हुन्छ । आज कम्युनिस्ट आन्दोलमा विचारधारात्मक लाइन संघर्षको पाटो कमजोर पर्दै गइरहेको छ। विचारविहीन आत्मकेन्द्रित स्वार्थमा आधारित प्राविधिक गुटहरूको तँछाडमँछाडको अस्वस्थ टक्कर बढ्ने प्रकृया तीव्र ढंगले विकसित भइरहेको छ ।

मार्क्सवादी विज्ञानको नियमअनुसार विचार संघर्षको हल वर्गसंघर्ष र वर्गसंघर्षको हल विचार संघर्षमा खोज्नुपर्छ । पार्टीको अगाडिको वर्गसंघर्षमा वर्तमान राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै, वैज्ञानिक समाजवादको विचार र राजनीतिक कार्यदिशा स्पष्ट गरी वैज्ञानिक समाजवादको वैचारिक, राजनीतिक, सांगठानिक, आर्थिक, सांस्कृतिक ढाचाँ तयार पार्न पार्टीभित्र र बाहिर सुदृढ आन्दोलन विकास आवश्यक छ । पार्टीको आजको चुनौती तक्कालीन पार्टी निर्णयहरूको सशक्त कार्यान्वयन गरी पार्टीलाई सुद्धीकृत र सुदृढ पार्न निर्मम बन्नु नै पर्छ ।

पार्टी केन्द्रीय समिति बैठकयता जमेको पोखरी खोल्ने कामको सुरूवात त भयो तर माथिदेखि तलसम्म ठाउँठाउँ जमेको कंक्रिट फुटाउन घन नबजारीकन प्रदुषित लेदो बगेर सजिलै सफा हुने देखिँदैन । पार्टीभित्र विचार र लाइन संघर्ष मुख्य बनाउँदै विभिन्न स्वार्थकेन्द्रित प्राविधिक गुटहरूलाई वैचारिक, राजनीतिक सांगठानिक रूपमा नङ्ग्याउँदै र भत्काउँदै लगेर क्रान्तिकारी विचार नेतृत्वको वरिपरि गोलबद्ध भएको पार्टीमा रूपान्तरण गर्नुपर्छ ।

पार्टी विचार र नेतृत्वको रक्षाका लागि हाम्रो क्षमता विकास र आचार-व्यवहारमा सुधार विकास अनिवार्य छ । गुट स्वार्थभन्दा माथि नउठीकन क्रान्तिकारी विचार र नेतृत्वको विकास हुँदैन । क्रान्तिकारी विचार र नेतृत्व विकासबिना समाजवादी आन्दोलन अगाडि बढ्दैन । समाजवादी आन्दोलन अगाडि नबढीकन कम्युनिस्ट आन्दोलन र उत्पीडित वर्ग-समुदायको भविष्य सुनिश्चित हुन सक्दैन ।

श्रीकृष्ण अधिकारी, विवेक, shreekrishna adhikari, bibek
लेखक

समाजवादलाई जीवन जिउने पद्धतिको बाटो बनाउन पार्टीभित्र खुला र स्पष्ट होऔँ । आफू र आफ्न‍ो पार्टी समितिभित्रका सहयोद्धामा लुपेको छद्म अवसरवाद सँग सम्बन्धविच्छेद गरौँ । अरूलाई पनि त्यसो गर्न सहयोग गरौँ । आफूभित्रको कमबेसी छद्म अवसरवाद बाट छुट्कारा पाउन भोलिका लागि कुर्न र पर्खन पर्दैन, रूपान्तरण अहिल्यैबाट सम्भव छ । क्षमता विकास र आचार-व्यवहारमा सुधार ल्याउन जमेर मेहनत गरी संख्या र गुण दुवै ढंगले पार्टीलाई शिखरमा उठाउनु बाहेक आज हामीसँग अर्को कुनै विकल्प छैन ।

नेतृत्वको निरपेक्ष आलोचना गर्ने र निरपेक्ष पूजा गर्ने प्रवृत्ति विचारसहितको नेतृत्व विकासमा वाधक प्रवृत्ति हो । निरपेक्ष आलोचना गर्नेहरू तथा पीपलको पात फर्लक्क पल्टेको जस्तोगरी एकैरातमा नेतृत्वको तौरतरिका र शैलीका बारेमा विपरीत परिभाषा गर्नेहरूले नेतृत्वको सही पहिचान र नेतृत्वलाई सहयोग गरेको हुँदैन ।

नेतृत्व विचारहरूकाे विचको संघर्ष र वर्गसंघर्षको सही परिचालनको केन्द्रीकृत अभिव्यक्तिबाट संश्लेषित विचार हो । वर्गसंघर्ष र विचार संघर्षको ठोस अवस्था तथा वस्तुगत आवश्यकतामा परीक्षण, परिमार्जन विकसित हुँदै माथि उठ्दै जाने नेतृत्व विकासको नियम हो । विपरीत विचार प्रवृत्ति आलोचना, घेरा, प्रतिसोध, बदलाका अनेकौँ घेराहरू चिर्दै, सीमा-कमजोरीहरूबाट खारिँदै आत्मसमीक्षा र रूपान्तरण हुँदै नेतृत्व परिपक्व हुँदै जान्छ । कम्युनिस्ट पार्टीको नेतृत्व विकास सहज र सरल तरीकाले हुँदैन ।

वर्ग, विचार, प्रतिवद्धता र संकल्पसहितको नेतृत्वका रूपमा रहिरहन कठिनाईंहरूसँग अविचलित लडिरहेको हुन्छ । शोकलाई शक्तिमा, पीडालाई संकल्पमा, निराशालाई उत्साहमा, दु:खलाई जीवन जिउने पद्धतिमा बदल्दै परिस्थितिलाई सहजीकरण गर्ने क्षमता, व्यक्तिगत इच्छा र चाहनाहरू पन्छाउँदै, वर्ग, राष्ट्र, जनता, पार्टी र आन्दोलनलाई सही मार्गमा हिँडाउन विचार र व्यवहारमा असाधारण ढंगले अहोरात्र डटेर मिहनेत र परिश्रम गर्ने गुण र इच्छाशक्ति अरूले बनाई दिएको नेतृत्वमा सम्भव हुँदैन ।

वर्गविचार र वर्गमुक्तिको सङ्कल्प भएको नेतृत्वमा मात्र यो सम्भव छ । भौतिक जगतमा सीमाबिनाको नेताको चाहना गर्नु काल्पनिक र कोरा आदर्शवादी सोच हो । हरेक प्रतिकूल अवस्थामा पनि असाधारण जोखिम र चुनौतीहरू उठाएर निर्णय लिने साहस भएको नेतृत्व, गल्ति गर्न र गल्तिबाट सिक्न नडराउने नेतृत्व सही नेतृत्व हो । स्वार्थको रोटी सेक्नेहरूलेजस्तो आफूले भनेजस्तो भयो भने भगवान बनाइहाल्ने र आफूले भनेकोजस्तो भएन भने दैत्य जस्तोगरी ठाउँ कुठाउँ छरपस्ट नेतृत्वको कुरा काट्दै नेतृत्वको निरपेक्ष पूजा गर्ने र दोहोलो काड्ने दुवै अस्थिर अवसरवादी सोच र चरित्रबाट न त विचारको विकास संभव हुन सक्छ, न त आजको आवश्यकताले खोजेकोजस्तो विचारसहितको नेतृत्वको रक्षा र विकास हुन सम्भव हुन्छ ।

आजको प्रमुख आवश्यकता आन्दोलनका उपलब्धिहरूको रक्षा र यसको जगमा समाजवादी आन्दोलनको विकास हो । अहिलेको राजनीतिक उपलब्धि हिजो वर्गसंघर्षको विचार संश्लेषण र नेतृत्वको केन्द्रीकरणको जगमा प्राप्त भएको हो । माओवाद, प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको निर्देशित विचारले माओवादी आन्दोलन बलियो थियो । वर्गसंघर्षले संश्लेषित गरेका विचारहरू, शान्ति र संविधान निर्माणमा विपरीत विचारहरूसँगको संघर्षबाट प्राप्त भएको वैचारिक अनुभवहरू, माओवादी आन्दोलनमा स्थापित, संविधानमा संस्थागत हुन थाँती रहेका ‘नोट अफ डिसेन्ट’का मुद्दाहरूदेखि नेकपाको प्रतिवेदन तथा केपी ओलीको दक्षिणपन्थी संसोधनवादी विचार र प्रवृत्तिसँगको विचार संघर्षमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत १९ बुँदे राजनीतिक प्रतिवेदनमा व्यक्त विचारको जगमा टेकेर विचार विकासको बहस गर्न जरूरी छ । विचारको विकास अनिवार्य छ ।

नेपाली मौलिकताको समाजवादी क्रान्तिको विचार संश्लेषण, विचारसहितको नेतृत्व केन्द्रीकरण तथा रणनीति-कार्यनीति परिमार्जन, समाजवादी क्रान्तिको नेतृत्वलायक पार्टी संगठन बनाउने आाज पार्टीको जुन संकल्प छ, त्यो पूरा गर्न पार्टीभित्र विभिन्न स्वार्थकेन्द्रित नयाँ रूप र रंगका खुद्रा प्रकारका अवसरवाद देखापरिरहेको छ, त्यसालाई सच्याउन हरेक पार्टी संगठनभित्र सुद्धीकरण गर्दै जानु आवश्यक देखिन्छ ।

अध्यक्ष कमरेड प्रचण्ड भजेर आवश्यकताभन्दा बढी पूजा गरी आफ्नो स्वार्थको रोटी सेक्ने अवसरवाद होस् वा प्रचण्ड बुढो भयो अब, नेतृत्व फेर्नुपर्छ भन्ने लाल बुझक्कड प्रकारका अवसरवाद होस्, कमबेसी माओवादी भन्नेहरू हामीभित्रको समस्या हो भन्ने लाग्छ । यो समस्या मैत्रिपूर्ण तरीकाबाट हल हुन्छ । आफैले आफैलाई बदल्नका लागि आत्म र अन्तरसंघर्षद्वारा परिस्कृत हुन फराकिलो ढंगले तयार हुनुपर्छ ।

विचार र व्यवहारको समुचित सन्तुलनको एकत्वमा सामूहिक नेतृत्व विकास र त्यसको केन्द्रीकृत अभिव्यक्तिका रूपमा नेतृत्व केन्द्रीकरणबाट आज समस्या र हामीले परिकल्पना गर्न थालेको नयाँ विचारको विकास अर्थात् कम्युनिस्ट आन्दोलनको रक्षा र विकासमा राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा आज जे जति संकट र चुनौतीहरू छन्, त्यसको घेरा तोड्दै जान सम्भव छ ।

नयाँ विचारसहितको नेतृत्व बृहद जनवादको अभ्यासको जगबाट स्थापित गर्न नेतृत्वका कमजोरीहरूको रचनात्मक सुझाव, सहयोग र पार्टी समितिभित्र आलोचना, रूपान्तरण, विकास र केन्द्रीकरणका लागि अध्यक्ष कमरेड प्रचण्डको वरिपरि पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्न निस्वार्थ ढंगले काम गर्न हरेक तहका पार्टी नेता र कार्यकर्ताहरू दिल खोलेर लाग्नु समयले गरेको सही माग हो भन्ने बुझ्नुपर्छ ।

[लेखक नेकपा (माओवादी केन्द्र) का नेता तथा महान् जनयुद्धका घाइते योद्धा हुनुहुन्छ ।]