नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय, पेरिसडाँडा, काठमाडौँ
 

विरोधीहरूले मासियोस् भनेर धुप हाल्दैमा सकिने पार्टी होइन माओवादी । माओवादी विचार, नेतृत्व र विकेकपूर्ण समाज बदल्ने गतिशील विज्ञानमा आधारित थियो, र छ । जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान हुँदै यहाँसम्म आउँदा माओवादी विचार मरेको होइन, बरू विचारको प्रयोगमा सकरात्मक र नकरात्मक अनुभवहरू बटुल्दै थप परिपक्व विचारमा विकास हुँदै विचार संश्लेषणको ठाउँमा आइपुगेको छ ।

विज्ञानको विनाश होइन, विकास हुन्छ । समय, काल र परिस्थितिको गतिअनुसार विज्ञान विकसित र संश्लेषित हुँदै अगाडि बढ्छ । जनयुद्धमा माओवादी विवेकपूर्ण विचारले बन्दुक चलाएको हुनाले आज माओवादी विचारले स्थापित गरेको एजेण्डामा देश चलिरहेको छ । जनयुद्ध र जनआन्दोलनमा केपी ओलीको भूमिका के थियो ? भनिरहन पर्छ र ?

श्रीकृष्ण अधिकारी, विवेक, shreekrishna adhikari, bibek
लेखक

नीति र नेतृत्व अन्तरसम्बन्धित विषय हो । यो एकबाट अर्कोमा अलग गर्दा सारतत्त्व नै कमजोर हुन्छ । हामीकहाँ भएको समस्या नीति माओवादीको, नेतृत्व गैरमाओवादीको भयो । माओवादीलाई सहन नसक्ने माओवादी विरोधीको हातमा नेतृत्व पुग्यो । ‘जसको नीति हो, उसैको नेतृत्व’, ‘नीति र नेतृत्व एउटैको’ भएर यो देशमा पाँच वर्ष सरकार चलाउने अवसर हुन्थ्यो भने विकास, समृद्धि र सुशासनको दृष्टिले आज हाम्रो देश र जनताको जीवनस्तर धेरै माथि हुने थियो ।

जनताले आजसम्म माओवादीको मन्त्रीले कमिसन खाएको, भ्रष्टाचार गरेको सुन्नु परेको छैन । जनताको गुनासो माओवादीले पनि भनेजस्तो काम गर्न सकेन भन्ने हो । माओवादीको कमजोरी भनेको अध्यक्ष कमरेड प्रचण्डको पहिलो ६ महिने र पछिल्‍लो ९ महिने प्रधानमन्त्री कार्यकालमा गरेका कामहरू जनताको बिचमा सम्प्रेषण गर्न नसक्नु हो । विपक्षले बुझ्ने, हामी आफै अल्मलिने जस्तो भयो ।

माओवादी विरोधी विपक्षको काम त भ्रम छर्ने र जनतालाई अलमलमा पारी माओवादीलाई एक्ल्याउन प्रयत्न गरिरहने हो । उनीहरूको यो नीति सदैव जारी रहन्छ । माओवादीहरूको काम विपक्षको भ्रम र चालबाजीमा नअल्मलिइकन सही सूचना, योजना र कार्यक्रम लिएर निरन्तर जनताको बिचमा जाने, जनसेवा गर्ने र भ्रमहरू चिर्दै जनतालाई स्पष्ट पार्ने हो ।

नेकपा (माओवादी केन्द्र)को अगाडिको बाटो ‘जसको नीति, उसको नेतृत्व’, पूर्ण समानुपातिक निर्वाचन पद्धति, सशासन, विकास, समृद्धि र वैज्ञानिक समाजवादी क्रान्तिका लागि माओवादी अभियान जनताको बिचमा जान सुरू भएको छ । विचार, नीति, कार्यक्रममा प्रष्ट, दृढ र कार्यशैलीमा लचकताका साथ छरिएर रहेका माओवादी घटकहरू तथा अग्रगमन र वैज्ञानिक समाजवाद पक्षधर कम्युनिस्ट घटकहरूसँग मोर्चा, तालमेल र पार्टी एकता गर्दै बृहत कम्युनिस्ट पार्टीको आधार खडा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिका लागि महाअभियानद्वारा जनसागर गोलबद्ध गर्नुपर्छ ।

[लेखक नेकपा (माओवादी केन्द्र) का नेता तथा महान जनयुद्धका घाइते योद्धा हुनुहुन्छ ।]