विचार र राजनीति कार्यदिशाअनुसार पार्टी संगठन परिचानको प्रश्नमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) भित्र लामो छलफल चल्दैआएको विषय हो – विधानअनुसार पार्टी र विधिअनुसार व्यक्ति चल्नुपर्छ । छलफलमा स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुनुपर्छ ।
पार्टीभित्र स्वार्थकेन्द्रित प्राविधिक संघर्ष होइन, विचारकेन्द्रित बहस र छलफलमा जोड दिनुपर्छ । पार्टीको संस्थागत लाइन, संस्थागत नीति र संस्थागत नेतृत्वको पक्षमा उभिनुपर्छ । संस्थागत निर्णयलाई मान्नुपर्छ । पार्टी समितिभित्र सीमा, समस्या र कमजोरीहरूको समीक्षा र आलोचना-आत्माआलोचना गर्नुपर्छ । पार्टीबाहिर पार्टी, विचार, लाइन र नेतृत्वका पक्षमा दृढ समर्थनमा उभिनुपर्छ ।
पार्टीमा आबद्ध कुनै पनि नेता-कार्यकर्ताले सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा अभिव्यक्ति दिँदा पार्टीको संस्थागत लाइन र निर्णयको पक्ष र समर्थनमा हुनुपर्छ । विपक्षको योजनामा नियोजित प्रचारमा आउने पार्टी लाइन, निर्णय र नेतृत्व विरोधी धारणा सुनेर धारणा बनाउन र धारणा बदल्न हुँदैन । पार्टी नीति, निर्णय, सामाजिक अन्तरविरोधको स्थिति, प्रभाव, विरोधी वर्गको रणनीति, कार्यक्रम, योजना बुझेर सोची विचारीकन बाहिर अभिव्यक्ति दिनुपर्छ भन्ने विषयमा जोड दिँदै आएका छौँ । आफ्ना सीमा र कमजोरीप्रतिको स्वीकार्यता, पार्टी, विचार, लक्ष्य, योजनाको सच्चाइ तथा मर्म पक्डेर प्रतिकूल अवस्था चिर्न विचारमा दृढ र व्यवहारमा लचकतासहितको सोच, विचार, समझदारीसहित सम्वाद, छलफल र प्रतिवाद गर्नुपर्छ । पार्टी विचार, लक्ष्य र संगठनको विधि-विधानअनुसार देश, जनता, पार्टी र आन्दोलनको ध्येय, उद्देश्य पूरा गर्न आफू इमानदार ढंगले लाग्ने सपथ खाएपछि सोहीअनुसार बोली व्यवहार दुवैमा इमान्दार ढंगले पालना गर्नुपर्छ ।
पार्टीमा कुनै पनि नेता कार्यकर्ताले यही सोच र व्यवहारका साथ अगाडि बढ्नु पार्टी अनुशासन र कम्युनिस्ट नैतिकता हो । सर्वहारा श्रमजीवी वर्गको मुक्तिको विचार, मार्क्सवाद, लेनिनवाद, माओवाद अंगाल्ने कम्युनिस्ट पार्टी संगठन वा आत्मकेन्द्रित व्यक्ति स्वार्थमा आधारित, गुटस्वार्थ विशेषको पक्षधरतामा ? कस्तो पार्टी निमार्ण गर्ने ? यी सबै यता-उता नभइकन पार्टी र आन्दोलन संस्थागत बनाउनका लागि निस्वार्थरूपमा लाग्ने नेता-कार्यकर्ताहरू सामु बिहङ्गम रूपमा खडाभएका प्रश्नहरू हुन् । निरन्तरतामा क्रमभङ्गका रूपमा हामिले विचार र आचारबाटै यसको सही जवाफ हाम्रो रूपान्तरणबाट दिनुपर्ने छ ।
पार्टीको सेल, टोल भेला र वडा सम्मेलन सकिएको छ । गाउँ/ नगर पालिका सम्मेलनदेखि जिल्ला भेला, प्रदेश सम्मेलन, पार्टी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी हुँदैछ । राष्ट्रिय सम्मेलनसम्म पुग्दा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली मौलिकताको वैज्ञानिक समाजवादी क्रान्तिको विचार संश्लेषण र कार्यदिशा विकास, सुदृढ, गतिशील पार्टी संगठन र जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तअनुसार पार्टी संगठन सञ्चालन र पार्टी विधान र संगठन अधिनस्त व्यक्ति परिचालित एवं पार्टी संस्थागत निर्णय प्रणालीलाई सुदृढ गर्नेछ । हाम्रो पार्टी एमाले र काङ्ग्रेस पार्टीको भन्दा विचार, कार्यदिशा, संगठन, आचार र कार्यशैलीगतरूपमा फरक देखिनेछ । त्यहाँसम्म पुग्दा देखिनुपर्छ ।
अहिले हामीजस्ता देखिएका छौँ, राष्ट्रिय सम्मेलनसम्म पुग्दा हामी बदलिएर नयाँ ठाँउमा पुग्नेछौँ । हामी हरेक तहका पार्टी संगठनमा संगठित सदस्यहरू पार्टीको संस्थागत नीति, निर्णय र नेतृत्वमा चल्छौँ । पार्टी निणर्यको दृढतापूर्वक कार्यान्वयन गर्छौं । पार्टीमा संगठित नेता-कार्यकर्ताले सार्वजनिकरूपमा पार्टीको संस्थागत विचार, नीति र नेतृत्वको आलोचना होइन, रक्षा गरी पार्टी संगठनको विधि, पद्धति र अनुशासनको पालना गर्छौँ । हाम्रा हरेक तहका पार्टी संगठनका नेताहरूले जनताको तहबाट आउने रचनात्मक आलोचना र सुझावहरूलाई ग्रहण गर्दै पार्टीभित्र कमिकमजोरी हटाउँदै लान्छौँ । जनता र पार्टीको बिचको सम्बन्धमा गुणात्मक सुधार ल्याउन पहल गर्छौँ ।
विपक्षको ध्वङ्सात्मक आलोचनाको सशक्त प्रतिवाद गर्दै, सबै खालका भ्रम र षडयन्त्रहरूलाई पन्छाउँदै अगाडि बढनेछौँ । हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा वरिपरि गोलबद्ध भएको, सामूहिक निर्णयको केन्द्रीकृत अभिव्यक्ति, प्राधिकारपूर्ण नेतृत्वलाई सुदृढ र व्यवस्थित पार्न पार्टी समितिका बैठकभित्र छलफल र आलोचनाको स्वतन्त्रता हुनेछ । बैठकपछि निर्णय कार्यान्वयनमा एकरूपता कायम हुनेछ ।
हरेक संगठित पार्टी सदस्य आफ्नो पार्टी समिति, जिम्मेवारी र कामप्रति जवाफदेही हुनेछ । पार्टीभित्र सही पद्धति बसाल्नका लागि पद्धतिको पालना स्वयं आफैबाट लागु गर्ने प्रकृया सुरू हुनेछ । पार्टीमा राम्रो संस्कार बस्न सुरू हुनेछ । पार्टीले लिएका निर्णयहरूमा सार्वजनिक आलोचनाको अधिकार जनतालाई मात्र हुन्छ भन्ने चेत सबैमा बसेको हुनेछ । पार्टीमा संगठित नेता-कार्यकर्तालाई पार्टी संगठनभित्र, आफ्नो च्यानलभित्र, आफ्नो मत, सुझाव, आलोचना राख्ने, जनवादको प्रयोग गर्ने ठाउँ हुन्छ । संगठित पार्टी सदस्यले पार्टीको घोषित लक्ष्य, सिद्धान्त, विचार, नीति, कार्यक्रम र निर्णयहरू तथा पार्टीभित्र विचारधीन रहेका विषयहरूमा पार्टीभित्र स्पष्ट हुनपाउने अधिकार सुरक्षित हुन्छ ।
बाहिर पार्टीकाे संस्थागत विचार लाइन र नेतृत्व मूल्यमान्यताको रक्षामा दृढतापूर्वक उभिने स्पिरिटको विकास हुनेछ । पार्टीभित्र नोकरशाही केन्द्रीयताको समस्या र अराजकतावादी जनवादको समस्या नियमन र नियन्त्रण हुँदै जानेछ । पार्टी समितिभित्र छलफलमा स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने अभ्यासबाट संगठन र नेतृत्व सुदृढ हुन्छ । संगठनमा जनवादी केन्द्रीयताको सन्तुलन मिल्छ र पार्टीमा सही पद्धति बस्न सुरू हुन्छ । निष्ठा र इमान्दारिता लगनशीलता र त्याग, योग्यता क्षमता र लगनशीलताको कदर हुनेछ । मस्तिष्कको रूपमा रहेको पार्टी नेतृत्वले पैदा गर्न खोजेअनुसार प्रार्टीका सबै अङ्ग, प्रत्याङ्गहरू, मुटु र धमनीहरू राम्रोसँग चल्न थाल्नेछ । पार्टीका सकरात्मक कामहरू जनताको बिचमा पुग्नेछ ।
पार्टीभित्र सही मूल्याङ्कन गर्ने पद्धति विकासले भ्रमहरू निवारण हुँदै जानेछ । पार्टी सुदृढ र गतिशील बन्नेछ । सिङ्गो पार्टीको मेकानिज्मभित्रको एकता दरो हुनेछ । पार्टीप्रति जनताको भरोसा चुलिँदै जानेछ । आगामी निर्वाचनमा पार्टीले चाहेअनुसारको उपलब्धि हासिल गर्ने आधार मजबुत बन्नेछ, बन्नुपर्छ, बनाउनु पर्छ, बनाई छाड्ने प्रण र प्रतिबद्धता हुँदैछ । काम सुरू भएको छ । छलफल सही दिशामा मोडिन सुरूभएको छ । पार्टी संगठन सञ्चालन सम्बन्धमा पार्टी विधानले व्यवस्था र निर्दिष्ट गरेका विषयहरू र पार्टी केन्द्रकाे पार्टी संगठन सञ्चालनका सन्दर्भमा नकरात्मक र सकरात्मक अनुभवहरूको संश्लेषणबाट सही विषय सही दिशातिर सोझिन सुरू भएको छ भन्ने लागेको छ।
(लेखक नेकपा (माओवादी केन्द्र) का नेता तथा महान जनयुद्धका घाइते योद्धा हुनुहुन्छ ।)