हाम्रो महाधिवेशन अत्यन्तै सफलतापूर्व सम्पन्न भएको छ । हामीले तीन वटा कुराहरु गरेका छौँ । पहिलो, हामीले हाम्रो पार्टीको कार्यदिशा निर्धारित गरेका छौँ जसले साहसपूर्वक जनसमुदायलाई परिचालन गर्दै र जनताको शक्तिलाई बिस्तार गर्नेछ ताकि हाम्रो पार्टीको नेतृत्वमा जापानी आक्रमणकारीहरुलाई पराजित गरिनेछ, सम्पूर्ण जनतालाई मुक्त गरिनेछ र एउटा नयाँ जनवादी चीन निर्माण गरिनेछ । दोस्रो, हामीले पार्टीको नयाँ विधान पारित गरेका छौँ । तेस्रो, हामीले पार्टीको नेतृत्वदायी निकाय–केन्द्रीय समिति–को निर्वाचित गरेका छौँ । तसर्थ अबको हाम्रो कार्यभार भनेको पार्टीको कार्यदिशालाई लागू गर्नका लागि सम्पूर्ण पार्टी सदस्यहरुको नेतृत्व गर्नु हो । हाम्रो महाधिवेशन विजयको महाधिवेशन बनेको छ, एकताको महाधिवेशन बनेको छ । प्रतिनिधिहरुले तीन वटै प्रतिवेदनहरुमा अत्यन्तै गहकिला टिप्पणीहरु गर्नुभएको छ । धेरै कमरेडहरुले आत्मालोचना गर्नुभएको छ । साथै आत्मालोचनाको माध्यमबाट उद्देश्यमूलक एकताको रुपमा एकता हासिल भएको छ । यो महाधिवेशन एकता, आत्मालोचना र अन्तरपार्टी जनवादको एउटा नमूना हो ।
यो महाधिवेशनको समापनपश्चात धेरै कमरेडहरु आफ्नो जिम्मेवारी र विभिन्न युद्धमोर्चाहरुमा फर्कनु हुनेछ । कमरेडहरु, तपाईंहरु जहाँसुकै गए पनि तपाईंहरुले महाधिवेशनको कार्यदिशालाई प्रचार प्रसार गर्नुपर्छ र पार्टी सदस्यहरुको माध्यमबाट व्यापक जनसमुदायको बिचमा पुराउनु पर्छ ।
यो महाधिवेशनको कार्यदिशालाई प्रचार प्रसार गर्नुको हाम्रो उद्देश्य सिंगो पार्टी र आम जनतामा क्रान्तिको विजयको सुनिश्चितताका लागि विश्वास निर्माण गर्नु हो । हामीले सबैभन्दा पहिले जुझारु पंक्तिको राजनीतिक चेतना बढाउनु पर्छ ताकि उनीहरु दृढ संकल्पका साथ बलिदानको भयबिना विजय प्राप्त गर्नका लागि हरेक अफ्ठ्याराहरुलाई छिचोल्नेछन् । तर यत्ति मात्रै पर्याप्त छैन, हामीले सम्पूर्ण जनताको राजनीतिक चेतनालाई पनि जागृत गर्नुपर्छ, जसले गर्दा उनीहरु विजय प्राप्त गर्नका लागि स्वेच्छापूर्वक र हाँसीखुसी हामीसँग काँधमा काँध मिलाउँदै लड्न सकून् । हामीले सम्पूर्ण जनतालाई ‘चीन चिनियाँ जनताको हो, प्रतिक्रियावादीहरुको होइन’ भन्ने विश्वास दिलाउनुपर्छ ।
प्राचीन चीनमा एउटा लोककथा (१) थियो, जसको शीर्षक थियोः “पर्वत पन्छाउने मूर्ख बुढो मान्छे” । यो धेरै समय पहिले उत्तरी चीनमा बस्ने एकजना बुढो मानिसको बारेमा छ, जसलाई ‘उत्तरी पर्वतको मूर्ख बूढो मान्छे’ भनेर चिनिन्थ्यो । तिनको घर दक्षिण फर्केको थियो र दैलो अगाडि ताइहाङ र वाङवु नाम गरेका दुई वटा ठुल्ठुला पर्वतहरु बाटो छेकेर उभिएका थिए । तिनले आफ्ना छोराहरुलाई बोलाए र कोदालो लिएर दृढतापूर्वक ती दुवै पर्वतहरुलाई खन्न सुरु गरे । अर्को ‘बुद्धिमान बुढो मान्छे’ भनिने दाह्री फुलेको मानिसले उनीहरुलाई देख्यो र खिसीट्युरी गर्दै भन्यो, “तिमीहरु यो कस्तो मूर्ख काम गर्दैछौ ? तिमीहरु यति थोरैलाई यी दुई वटा ठुल्ठुला पर्वतहरु खनिसक्न बिल्कुलै असम्भव छ ।” मूर्ख बुढो मान्छेले जवाफ दिए, “म मरेँ भने मेरा छोराहरुले यो काम जारी राख्नेछन्, तिनी मरेपछि तिनका छोराहरुले र त्यसपछि तिनका नातिहरुले र नातिहरुपछि तिनका छोरा–नातिहरुले यसैगरी अनन्तसम्म यो काम जारी राख्नेछन् । अहिले जतिसुकै अग्ला भएपनि यी पर्वतहरु यहाँभन्दा बढ्न सक्दैनन् र हामी जति खन्दै जान्छौं, यी त्यति नै होचा हुँदै जान्छन् । हामी यिनलाई पन्छाउन किन सक्दैनौँ ?” बुद्धिमान बुढो मान्छेको गलत विचारलाई खण्डन गर्दै आफ्नो संकल्पबाट अविचलित भई उनीहरु दिनहुँ खन्ने काममा लागिरहे । त्यसबाट ईश्वर खुसी भए र उनले दुईजना देवदुतहरुलाई पृथ्वीमा पठाइदिए, जसले ती दुई पर्वतहरुलाई पिठ्युँमा बोकेर अन्तै सारिदिए ।
आज चिनियाँ जनतालाई दुई ठुला पर्वतहरुले थिचिराखेका छन् । एउटा साम्राज्यवाद हो भने अर्को सामन्तवाद हो । चिनियाँ कम्युनिस्ट पार्टीले धेरै पहिले नै यी दुई पर्वतलाई खनेर पन्छाउने संकल्प लिएको छ । हामी अडिग रहेर अविछिन्न रुपले काम गरिरहनु पर्छ, तब हामीले पनि ईश्वरको मन छुनेछौँ । हाम्रा ईश्वर भनेका आम चिनियाँ जनसमुदाय बाहेक अरु कोही पनि होइन । यदि उनीहरु उठेर हामी सँगसँगै यी पर्वत खन्न लागे भने हामीले यी दुई पर्वतलाई किन पन्छाउन सक्दैनौँ ?
हिजो मैले अमेरिका फर्कन लागेका दुई जना अमेरिकीहरुसँग कुराकानी गर्दा के भनेको थिएँ भने अमेरिकी सरकारले हामीलाई कमजोर बनाउन लागिपरेको छ तर उसलाई त्यसो गर्ने अनुमति दिइनेछैन । हामी कम्युनिस्टहरुको विरुद्ध च्याङ काई–शेकलाई समर्थन गर्ने अमेरिकी सरकारको नीतिको विरोध गर्छौं । तर हामीले पहिलो, अमेरिकी जनता र अमेरिकी सरकारको बिचमा र दोस्रो, अमेरिकी सरकारभित्र नीति निर्माताहरु र तिनका मातहतका कर्मचारीहरुको बिचमा फरक छुट्याउनु पर्छ । मैले ती दुवै अमेरिकीहरुलाई भनेँ, “तिमीहरुले आफ्ना सरकारका नीति–निर्माताहरुलाई बताइदेऊ कि हामीले अमेरिकीहरुलाई मुक्त क्षेत्रहरुमा प्रवेश निषेध गरेका छौँ किनभने तिनीहरुको नीति कम्युनिस्टहरुको विरुद्ध च्याङ काई–शेकलाई समर्थन गर्ने रहेको छ र हामीले आफ्नो रक्षा गर्नुपर्छ । यदि तिम्रो उद्देश्य जापानसँग लड्ने हो भने तिमीहरु मुक्त क्षेत्रहरुमा आउन सक्छौ, तर यसका लागि पहिले नै एउटा सम्झौता हुनुपर्छ । हामी तिमीहरुले जताततै चियाउने अनुमति दिँदैनौँ । प्याट्रिक जे.हर्ले२ले चिनियाँ कम्युनिस्ट पार्टीलाई सहयोग नगर्ने खुला घोषणा गरिसकेको छ, फेरि पनि तिमीहरु किन हाम्रा मुक्त क्षेत्रभित्र पस्न र जहाँतहीँ डुल्न चाहन्छौ ?”
कम्युनिस्टहरुको विरुद्ध च्याङ काई–शेकलाई समर्थन गर्ने अमेरिकी सरकारको नीतिले अमेरिकी प्रतिक्रियावादीहरुको निर्लज्जता दर्शाउँछ । तर चिनियाँ जनतालाई विजय प्राप्त गर्न रोक्ने चिनियाँ हुन् वा विदेशी प्रतिक्रियावादीहरुका सम्पूर्ण षड्यन्त्रहरु चकनाचुर हुनेछन् । आजको विश्वमा जनवादी शक्तिहरु मुख्य धारा हुन् भने प्रतिक्रिया केवल एउटा विपरित–धारा मात्रै हो । प्रतिक्रियावादी विपरित–धाराले राष्ट्रिय स्वाधीनता र जनताको जनवादको मुख्य धारालाई निल्ने कोशिस गर्दैछ, तर त्यो कहिल्यै पनि मुख्य धारा हुन सक्दैन । स्टालिनले धेरै पहिले संकेत गर्नुभएजस्तै आज पनि पुरानो विश्वमा तीन वटा मुख्य अन्तरविरोधहरु कायमै छन् – पहिलो, साम्राज्यवादी देशहरुमा सर्वहारा वर्ग र पुँजीपति वर्ग बिचको अन्तरविरोध; दोस्रो, विभिन्न साम्राज्यवादी शक्तिहरु बिचको अन्तरविरोध; र तेस्रो, उपनिवेशिक तथा अर्धउपनिवेशिक देशहरु र साम्राज्यवादी महानगर देशहरु (तिनीहरुमाथि अधिपत्य जमाउने साम्राज्यवादी देशहरु–सं.) ३। यी तीन अन्तरविरोधहरु अस्तित्वमान मात्रै छैनन्, झन् तीव्र र व्यापक हुँदैछन् । यी अन्तरविरोधहरुको अस्तित्व र विकासको कारणले एउटा यस्तो समय आउनेछ, जब आजसम्म विद्यमान रहेको सोभियत विरोधी, कम्युनिस्ट विरोधी र जनवाद विरोधी प्रतिक्रियावादी प्रतिधारालाई बढारिदिने छ ।
यतिबेला चीनमा दुई वटा महाधिवेशनहरु चलिरहेका छन् – क्वोमिन्ताङको छैठौँ राष्ट्रिय महाधिवेशन र कम्युनिस्ट पार्टीको सातौँ राष्ट्रिय महाधिवेशन । ती दुवैका लक्ष्यहरु पूर्णतया भिन्न छन् – एउटाको उद्देश्य चीनमा कम्युनिस्ट पार्टी र अन्य सबै जनवादी शक्तिहरुलाई समाप्त गर्ने र त्यसरी चीनलाई अन्धकारमा धकेल्नु; अर्काको उद्देश्य भने जापानी साम्राज्यवाद र उसका दलालहरु–चीनियाँ सामन्ती शक्तिहरु–को सत्ता पल्टाउनु र एउटा नयाँ जनवादी चीन निर्माण गर्नु तथा त्यसमार्फत चीनलाई उज्यालोतर्फ डोर्याउनु । यी दुई कार्यदिशाहरु एकअर्कासँग संघर्षरत छन् । हामीलाई दृढ विश्वास छ, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा र यसको सातौँ महाधिवेशनको कार्यदिशाको मार्गदर्शनमा चिनियाँ जनताले पूर्ण विजय प्राप्त गर्नेछन् भने क्वोमिन्ताङको प्रतिक्रान्तिकारी कार्यदिशाको असफलता अवश्यंभावी छ ।
नोटहरुः
१. यो लोककथा ‘ल्ये ची’ नामक पुस्तकमा संकलित छ ।
२. प्याट्रिक जे. हर्ले प्रतिक्रियावादी रिपब्लिकन पार्टीका एक जना नेता हुन्, जो सन् १९४४ को अन्त्यतिर चीनका लागि अमेरिकी राजदूत नियुक्त भएका थिए । उनको च्याङ काई–शेकको कम्युनिस्ट विरोधी नीतिको समर्थनलाई चिनियाँ जनताले डटेर विरोध गरेपछि १९४५को नोभेम्बरमा राजीनामा गर्न वाध्य भएका थिए । १९४५ अप्रिल २ मा वाशिङटनमा आयोजित एक पत्रकार सम्मेलनमा हार्लेले चिनियाँ कम्युनिस्ट पार्टीसँग सहकार्यको विरुद्धमा खुलेआम घोषणा गरेका थिए । थप अध्ययनका लागि “The Hurley-Chiang Duet Is a Flop (हर्ले–च्याङको संयुक्त अभिनय असफल)” शीर्षक लेख हेर्नुहोस् ।
३. हेनुहोस् स्टालिन, जे.भी., ‘लेनिनवादका आधारहरु’, विदेशी भाषा प्रकाशन गृह, मस्को, १९५३, भाग ६, पृष्ठ ७४–८२ (प्रस्तुत लेख ‘लेनिनवादका आधारहरु’ नेपाली भाषामा अलग्गै पुस्तिका रुपमा र स्टालिनका छानिएका रचनाहरुमा पनि समावेश गरिएको छ – अनुवादक) ।
अनुवादः नहेन्द्र खड्का