आज सिङ्गो भूमण्डल कोरोना भाइरसको महाव्याधीले आक्रान्त छ। लाखौँलाख मानिसहरू त्रासको च्याम्बरमा एकान्तवास छन् । श्रमिक र सेवक वर्ग भोकानाङ्गा हालतमा ठेलिँदै छ । नेपालका प्रवासित नागरिक हैरान र परेशान छन् । संक्रमण अंकगणितीय होइन, घातांकीय (exponential) दरमा बढ्दै छ । मान्छेहरु आफ्नो मृत सन्ततिलाई पनि एकखेप अङ्गालोमा बेरेर विदा गर्न असमर्थ छन् । मृतकहरूका प्रियजनहरू गुमाएको आफन्तलाई सुम्सुम्याउन असमर्थ छन् ।
ज्यामी-मजदुरहरू छाक टाहारको प्रताडनाले थिलोथिलो छन् । पुँजीपति डफ्फा जसरी भए पनि ज्यान बचाऊको ध्याउन्नमा उद्धत छ । छ्याल्ब्याल चिकित्सीय संशाधन भएको पुँजीवादी तागतवर पश्चिमा चिकित्सा शास्त्र पनि कोरोनाको अगाडि निरीह छ । ज्याक मा, बिल गेट्सस्तरका विश्व पुँजीपति वर्ग मास्क वितरण गरेरै भए पनि संसारकै महादानवीरको उपमा ग्रहण गर्न तल्लीन छन् । महामारीले पुँजीपतिको नाफादरमा खैलाबैला मच्चाएको छ । सम्पूर्ण पुँजीवादी अर्थव्यवस्था कम्पायमान भएको छ । यसर्थ आलेखको उपर्युक्त शीर्षक पनि सम्भवत: समय सान्दर्भिक हुन्छ ।
प्रकृतिमा हुने अनेकौँ घटना र वातावरणीय प्रतिक्रियाका कारण विविध रोग, उपचार विधि बन्ने र सकिने प्रक्रिया चलिरहन्छ । अन्तरिक्षमा पनि विविध प्रतिक्रियाका कारण नयाँनयाँ पिण्ड बन्ने र सकिने प्रक्रिया चलिरहेको छ । विपरीतत्वमा नै एकत्व हुने गरेको छ । क्रियामा नै प्रतिक्रिया हुने गरेको छ । मिसाइलमा नै एण्टि-मिसाइल हुने गरेको छ । रेविजमा नै एण्टि-रेबिज हुने गरेको छ। वस्तुको उत्पति, विकास, विनास र फेरि विकास स्वयम् वस्तुमै अन्तर्निहित हुने गरेको छ । भाइरसमा नै एण्टि-भाइरस हुने गरेको छ । यस विज्ञानप्रदत्त तथ्यनुरुप कोभिडको एण्टि-कोभिड पनि अवश्यम्भावी छ । अत: एण्टि-कोभिड पत्ता नलागिसकेको अवस्थामा केहीबेर धैर्यतासहितको सावधानी अवलम्बन गर्न जरुरी छ ।
एकातिर वैज्ञानिकहरु प्रकृतिमा स्व-उत्पादित कोरोना जस्ता हानिकारक सुक्ष्म जिवाणु र निदानको विस्तृत नालीबेली पत्ता लगाउन निरन्तर अनुसन्धान र नवीन अन्वेषणमा अहोरात्र समर्पित छन् । अर्कोतिर दासयुगमा व्यापक हुँदै सामन्तवादी युगमा ज्यादा विस्तार हुन पुगेको र पुँजीवादले मलजल गरिरहेको नाशवान् आदर्शवाद जीवाणुशास्त्रलाई नै च्यालेञ्ज गर्दै भ्रामक वितण्डा मच्चाई माहोललाई झन् धेरै भयभित तुल्याई राखेको छ । यहि आदर्शवादको टेकोमा समग्र जीवन अडेको देख्ने कमसल चेतनाको उपज आदर्शवाद, कोभिड-१९ निरोधक औषधी बनेपश्चात् कोरोना ठिक पार्ने औषधी पनि वेद, गीता र बाइबलकै देन हो भन्ने अफवाह जनमानसमा प्रवाह गर्ने निश्चितप्राय: छ ।
यतिबेला विशेषत: पुँजीवादी विश्व शक्तिराष्ट्रहरू र कोरोनाबिच भीषण टकराव भइरहेको छ । सुरुमा खासै प्रभाव नपारे पनि केही दिन यता संसारभरिका माऊ नाफाखोर पुँजीपतिहरुको मुख्यालय अमेरिकालाई कोरोनाले बेहद आक्रमण गरिरहेको छ ।
आर्य मूलका गोरा पश्चिमाहरु मंगोलियन अनुहारका चिनियाँहरुलाई प्रायः घृणाको नजरबाट हेर्ने गर्छन् । अझ भनौँ चीनका रक्ताम्य क्षितिजहरुमा अझै पनि सर्वहारा मुक्तिका उषाकिरणहरु जाज्वल्यमान भइरहनाले पनि पश्चिमा अभिजात वर्ग चिनियाँहरुलाई घृणाको नजरबाट हेर्ने गर्छ । फलत: महामारीले चिनियालाई हायलकायल बनाइरहँदा पनि पश्चिमाहरूले विश्व सर्वहारा वर्गका नेता माओ त्सेतुङको मुखमा मास्क लगाएको तस्बिर छपाउँदै व्यङ्ग्य गरेका थिए । यद्दपि पश्चिमा जगत पनि कोरोनाको चपेटामा पर्दा चीनले कुनै बदलाभाव नलिएर नितान्त: मेडिकल टिम पठाउँदै मानवीयताको उच्च नमूना प्रकट गरेको छ । यसलाई उसको असाधारण क्षमता मान्न सकिन्छ ।
सन् १७८९ को फ्रान्सेली राज्यक्रान्ति पश्चात् दह्रोसँग जरा गाड्न पुगेको पुँजीवाद अथवा सम्भ्रान्त वर्गपक्षीय बुर्जुवा उदारवाद सँगसँगै यसमा देखिएका गम्भीर संकट हल गर्न १९७० मा अमेरिकी नेतृत्वको पुँजीवादी खेमाले संस्थागत गर्न सुरु गरेको नवउदारवाद सोभियत संघको पतन भएसँगै हालसम्म झन राम्ररी संस्थागत भएको छ । बुर्जुवाहरुको आखाँबाट हेर्दा नवउदारवाद प्रगतिशील देखिए पनि यसले पटकपटक पुँजीपति वर्गलाई नै असाधारण आर्थिक संकटमा पारिरहेको जीवन्त दृष्टान्तबाट निश्चय नै यसको क्षयीकरण प्रष्ट छ ।
९० प्रतिशत सम्पत्ति मुठ्ठीभर पुँजीपतिको पोल्टोमा सञ्चित हुने नवउदारवादी अर्थनीतिले नै एउटा भाइरसले विश्वको अर्थव्यवस्थामा असाधारण खैलाबैला मच्चाउन र दख्खल दिन पुग्यो । सम्पूर्ण आर्थिक रास पुँजीपति वर्गको पोल्टामा सञ्चित भइरहनाले यस्तो संकटको बेला सर्वहारा र निम्नमध्यम वर्ग छ्टपटाउनुको विकल्प हुँदैन ।
यसर्थ मानव समाजमा हुने यस्ता गम्भीर संकटहरुको वैज्ञानिक हल सम्पूर्ण अर्थव्यवस्था सन्तुलनमा राख्नसक्ने समाजवादी अर्थव्यवस्थाबाट मात्र सम्भव छ । यो यथार्थताको पुष्टि समाजवादी भनिएका रुस, चीन, क्युवा, उत्तर कोरिया लगायतका देशहरुले कोरोना विरुद्धको युद्वमा सापेक्षित रुपमा विजय प्राप्त गरिरहनुले पनि प्रमाणित गदर्छ । थेग्नै नसक्ने कोरोनाको मारमा पिल्सिएका आफूलाई अब्बल ठान्ने चरम पुँजीवादी पश्चिमाहरू भन्दा समाजवादी मुलुकका जनतामा एक प्रकारको चेतना र उच्च ज्ञान रहेको कुरा पनि सजिलै बुझ्न सकिन्छ।
अमेरिकी साम्राज्यवादी भू-खण्ड मरणाशन्न पुँजीवादी मुख्यालय त हो नै, संहारकारी गोला-बारुद उत्सर्जनको प्रधान केन्द्र पनि हो । यसको सम्पन्नता गरिव तथा विकासशील देशका प्राकृतिक स्रोतको लूटमा केन्द्रित छ । यसको अर्को भरपर्दो आर्थिक स्रोत सैन्य हतियारहरुको बेचबिखनमा केन्द्रित छ । उसकै प्रविधि मान्नुपर्ने, उसकै टेलिभिजन किन्नुपर्ने, उसकै हतियार किनिदिनु पर्ने, कमजोर देशको प्राकृतिक स्रोत उसले मात्रै लुट्न पाउने, अमेरिकाभन्दा अरुले विज्ञानको क्षेत्रमा पनि अनुसन्धान गर्न नहुने, उसले भनेको सबैले सबै कुरा मान्नैपर्ने, नभए चारैतिर ‘सेना छ, हान्छु’ भनेर सैन्य हमलाको हवाला दिने अमेरिकी साम्राज्यवादी रणनीति छ ।
स्टालिनले बचाइराखेको पछि गद्दार संशोधनवादी ख्रुश्चेभले लेनिनको सोभियत संघ पतन गराई सकेपछि अमेरिका झन् धेरै मैमत्त हुनपुग्यो । अहिले भने चीनको भीमकाय भौगोलिक आयतनसहितको आर्थिक वजन र कोभिड-१९ सँगको प्रतिरोध क्षमताले चीनलाई फेरि विश्व महाशक्तिको सानदार दर्जा प्रदान गरेको छ। इतिहासले फेरि एकचोटि विश्वभरका सम्पूर्ण समाजवादी तप्कालाई चीनको अग्रदस्तामा साम्राज्यवादविरुद्धको प्रतिरोधी मोर्चामा सरिक हुन अबेला गर्नु हुँदैन भन्ने सन्देश सम्प्रेषण गरेको छ । यद्दपि चिनियाँ मोडेलको समाजवादबारे पंक्तिकार अज्ञात छैन ।
विश्वभर सबैभन्दा बढी माफियातन्त्र औषधीमा हुने गरेको छ। एलोप्याथिक औषधीशास्त्र पुँजीपतिहरूको कब्जामा छ । नाफाको मार्जिन सबैभन्दा बढी औषधीमै हुने गर्छ। पुँजीवादी देशहरुले विज्ञान-प्रविधिको चमत्कारिक अश्त्र फेला पारिसकेपछि आफ्नो नाफाका लागि अर्को देशमा कृत्रिम रोग सिर्जना गर्दै र त्यहाँको अर्थतन्त्र कमजोर तुल्याउँदै अथाह नाफा कमाउने रणनीति तर्जुमा गरिरहेका छन् । यसप्रकारको हर्कतले मानव सभ्यतालाई एकदमै खतरामा पारेको छ ।
लाग्दैछ कि अब आणविक युद्ध (Nuclear war) को युग अन्त्य हुँदैछ र जैविक-रासायनिक (Bio-chemical war) को युग सुरु हुँदैछ । कोरोना भाइरस पनि अमेरिका सिर्जित भाइरस हो भन्ने पत्याउन सहज छैन । यद्यपि यसले मानवीय क्षति पुर्यानुका साथसाथै अधिकांश देशको कारोबार ठप्प पारेको छ । यसर्थमा कोरोनाले पुँजीवादी शिविरमा ध्वंशात्मक आक्रमण गरेको छ । इतिहासमा विरलै हुने यस्तो अन्तर्राष्ट्रिय स्तरकै मानवीय सङ्कट परेको समयमा मानव र मानवताको रक्षाका लागि पनि यो महामारी र सङ्कटका विरुद्ध सबै एक भएर लाग्न आवश्यक छ ।
(पेशाले सिभिल इन्जिनियर रहनुभएका लेखक कम्युनिस्ट दर्शन र सैन्य विज्ञानमा विशेष रुची राख्दै कलम चलाउनुहुन्छ ।)