विश्व इतिहासमा दोश्रो विश्वयुद्धको त्यो अन्तिम क्षण अर्थात् १९४५ अगष्त ६ र ९ का दुई दिन मानवताका विरुद्ध पहिलोपटक जापानमाथि विध्वंशकारी आणविक अस्त्र प्रयोग गरिएको दुर्दान्त र अविस्मरणीय दिनकोरूपमा अंकित छन् । तिनै दुई दिन हुन्ः बिसौँ शताब्दीको विश्वमा मानिसलाई आणविक घाउ लागेको अपूर्व क्रुरतम् दिन पनि । अगष्त ६ को त्यो भयावह, आततायी कालो दिन जुन दिन क्षणभरमै जापानको हिरोशिमा सहर खरानीमा परिणत भएको र डेढ लाख मानिस एकै चिहान बनेको दिन थियो ।
आजभन्दा ७६ वर्ष पहिला अगष्त महिनाका ती दुई दिन मानवताको इतिहासमा कलंक र मानवता विरोधी त्रासद कालो दिनको रूपमा विश्वले देख्नु र भोग्नुपरेको थियो । वास्तवमा घना मानव बस्तीमा परमाणु बमजस्तो अत्यन्तै घातक र खतरनाक हतियारको प्रयोग अमेरिकाले त्यस दिन गरेको थियो । त्यसैले ती अगष्त ६ र ९ दिनले अमेरिका र जापान बिचको शत्रुताको चरम घृणाको दिनलाई मात्र सम्झना गराउँदैन, आणविक तथा परमाणविक शस्त्रास्त्र मानव सभ्यता, संस्कृति र मानव जातिको निमित्त कत्तिको घातक छ भन्ने कुरा पनि उजागर गर्दछन् ती दुई दिनका घटनाले । पहिलो आणविक बम अगष्त ६ का दिन खसालिँदा पूरै हिरोशिमा सहर त्यतिबेला तहसनहस भएर तातो खरानीमा परिणत भएको थियो । तत्काल १ लाख मानिस एकै निमेषमा कालकलिवत भएका थिए भने त्यसको असरले हजारौँ मानिसको मृत्यु थपिएको थियो । अनि त्यसको लगत्तै अर्थात ३ दिनपछि अगष्त ९ दिन जापानको अर्को सहर नागाशाकीमा अर्को आणविक बम प्रहार गरिएको थियो । त्यसमा पनि ५०औँ हजार निर्दोष मानिसहरू कालकलवित भएका थिए ।
![Lok Narayan Subedi, लोकनारायण सुवेदी](https://leftreviewonline.com/wp-content/uploads/2019/02/Lok-Narayan-Subedi-Left-sub.jpg)
त्यस अमानवीय र कहालीलाग्दो आणविक प्रहार यता जापानले युद्धका घाउहरू र जापानी जनताको घोर अपमानलाई पुर्दै ठुलो प्रगति गरेको छ । तर अझै पनि जापानमा अमेरिकी सैनिक अखण्डा त्यही बेलादेखि राखिएको छ । यद्यपि अहिले हिरोशिमाको त्यो बर्बादीमाथि शान्ति संग्राहलय खडा गरी शान्ति पार्कको रूपमा कायम गरिएको छ । वर्षेनी जापानीहरू त्यहाँ त्यो क्रुर आणविक युद्धमा मारिएका आफ्ना प्रियजन र पुर्खाहरूको सम्झनामा प्रार्थना गर्न र आणविक शस्त्रास्त्रको विरोध गर्न जाने गर्दछन् ‘हिरोशिमा दिवस’ का दिन ।
वास्तवमा ६ अगष्तका दिन अमेरिकाको फाइटर विमान बी–२९ ले जमिनको सतहदेखि झण्डै ३१००० फिटको उच्चाइमाथिबाट हिरोशिमा सहरमा परमाणु बम खसालेको थियो । त्यतिबेला हिरोशिमा सहरका मानिसलाई त्यो परमाणु बम विस्फोट यति भयानक लाग्यो कि आकाशमा कुनै अर्को सूर्य उदाएको छ । हेर्दाहेर्दै लाखौँ मानिस धुवाँसँग बिलाए । हुन पनि आजभन्दा ७६ वर्ष अगाडिको त्यो भयावह र प्रलयकारी घटना मानव इतिहासको सबैभन्दा क्रुरतम् र एउटा भयंकर त्रासद घटनाकोरूपमा विश्वमा अंकित छ । हिरोशिमामाथि आक्रमण गर्ने त्यो परमाणु अस्त्रको ‘कोड’ नाम ‘लिटिल ब्वाय’ थियो । तर त्यो ‘सानो केटा’ले जापान र मानवताको इतिहासलाई अत्यन्तै ठुलो र गहिरो चोट लगायो । त्यो बम दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाको ‘मेनहटन प्रोजेक्ट’ अन्तरगत अमेरिकाको ‘लासअलामोश’मा निर्माण गरिएको थियो ।
झण्डै ४००० किलो ग्राम तौलको त्यो संहारकारी बमको लम्बाइ तीन मिटर र ब्यास (गोलाइ) ७१ सेण्टिमिटरसम्मको थियो भनिन्छ । त्यस बमले आफ्नो विस्फोटक क्षमता ‘युरानियम – २३५ को न्यूक्लियर फिसन प्रोसेस’ – जसलाई ‘नाभिकीय विखण्डन प्रक्रिया’ भनिन्छ – बाट प्राप्त गरेको थियो । त्यसको विध्वंशक क्षमता १३-१८ किलोटन टीएनटी (ट्राइनाइट्रोटालुइन) बराबरको मानिएको थियो .
अहिलेसम्म पनि त्यो परमाणु बम खसालिएको हिरोशिमा र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने आधिकारिक र औपचारिक कुनै सत्य-तथ्य बाहिर नआएको या नल्याइएकोले यस बारेको अन्दाज र अनुमानमा पनि विवादमा नै छ । तर हिरोशिमा सहरमा त्यतिबेलाको जनसंख्या ३ लाख ५० हजार रहेको तथ्याङ्क थियो । त्यो जनसंखय मध्ये आधाभन्दा केही कम अर्थात् १ लाख ४० हजारदेखि ५० हजारसम्म त्यतिबेला मारिएको र मृत्यु भएको मानिएको छ । ९ अगष्तका दिन नागाशाकीमा ४० हजारदेखि ८० हजारसम्म मानिस ‘फ्याट म्यान’ नामको अर्को परमाणु बमद्वारा मारिएको अनुमान छ । परमाणु बमको तत्कालीन असर र पछिसम्म त्यसको रेडियसन फैलिएका कारणले हजारौँ जापानीहरू विकलाङ्ग भएर रहेका या मारिएका या बाँचेका पनि दुःखपूर्ण जीवन बोकिरहेका थिए ।रेडियसनले गर्भमा पनि धेरै पछिसम्म असर पारेको अध्ययनहरूले बताएका छन् ।
त्यो घातक परमाणु बम जापानी निर्दोष जनतामाथि खसाल्ने अमानवीय निर्णय त्यतिबेला अमेरिकाले जुन गरेको थियो, त्यसप्रति अहिलेसम्म उसले कुनै पश्चाताप गरेको र माफी मागेको छैन । बरु त्यसलाई सही नै ठहराउँदै आएको छ । त्यसै बेलादेखि जापानमा अमेरिकी सैनिक अखडा पनि राखिएको हो र त्यो अहिलेसम्म कायमै छ । यद्यपि हिरोशिमा पुग्ने र त्यहाँ मारिएका मानिसहरूप्रति श्रद्धाञ्जली प्रकट गर्ने काम भने यसअघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले झण्डै ९ वर्षजति अघि हिरोशिमा परमाणु बम खसालेको ७० वर्ष पछि गरेका हुन् ।
अहिले त विश्वको राजनीतिक रंगमञ्चमा लामो समयदेखि अमेरिका र जापान एउटै ध्रुवमा उभिएका छन् । तर इतिहासले अगष्त ६ र ९ को जापानमाथि खसालिएको ती प्रलयकारी र विध्वंशक परमाणु बमलाई कुनै दिन पनि सही ठहराउने छैन र त्यसलाई मानव इतिहासको एउटा कालो दिन र कलंककै रूपमा लिइराख्नेछ । अनि यस्तो त्रासद घटना दोहोरिनु हुँदैन भन्ने मानवीय आवाज विश्वमा उठिरहने छ ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुनुहुन्छ।)