जातिवादी श्रेष्ठता के दम्भ में अन्याय और अत्याचार की सभी सीमाएँ नाँघ जाते है, और इसके विरोध में दलित समुदाय जब आवाज उठाता है तो उसके विरोधको दबाने के लिए दलित बस्तियों में आग लगा दि जाती है, दलित औरतों साथ बलात्कार किया जाता है या फिर हाथ – पाउ बाँधकर जिंदा ही नदीयों में मरने के लिए फेंक दिया जाता है । यह है उस जाति व्यवस्थाका व्यवहारिक रूप, जिसे सनातन धर्म ने शताव्दियों के अर्जित ज्ञान से निर्मित किया है – भारतीय लेखक राकेश कुमार ।
(अनुवादः जातिवादी श्रेष्ठताको दम्भले अन्याय र अत्याचारका सबै सीमाहरू नाघेपछि त्यसको विरोधमा दलित समुदायले जब आवाज उठाउँछ, त्यसको विरोधलाई दबाउन दलित बस्तीहरूमा आगो लगाइन्छ, दलित महिलाहरूमाथि बलत्कार गरिन्छ वा हात-खुट्टा बाँधेर मर्नका लागि जिउँदै नदीमा फ्याँकिदिइन्छ । यो त्यस जाति व्यवस्थाको व्यवहारिक रूप हो, जसलाई सनातन धर्मको शताव्दीऔंदेखि आर्जित ज्ञानले निर्माण गरिएको छ – भारतीय लेखक राकेश कुमार ।)
आज १४औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइरहँदा ठिक ११ दिन अगाडि रूकुम चौरजहारीमा भएको नरसंहारले हामीलाई गिज्याई रहेको छ । प्रेमिकालाई लिन आफ्ना १८ जना साथीसहित प्रेमिकाको गाउँमा गएका नवराज विक भेरी नदीमा अलप हुन पुगे । सँगै गएका ५ जना पनि भेरीमा प्राण त्याग गरे भने १२ जना घाइते छन् । वडा अध्यक्ष र प्रहरीकै मिलेमतोमा सारा गाउँ नै उल्टिएर जातीय गाली दिँदै लखेटी लखेटी निर्ममतापूर्वक ६ जनाको हत्या गरेको रूकुम घटनाले हाम्रो समाज र हाम्रो चेतनाको हद फेरि एकपटक स्पष्ट पारेको छ ।
केही दिनदेखि चौरजहारी घटनाले फेरि हामीलाई प्रश्न गरेको छः यो देशका दलित समुदाय नागरिक हुन कि होइनन् ? उनीहरु बाँच्न पाउने कि नपाउने ? प्रेम गर्न पाउने कि नपाउने ? पाउने भए कथित उच्च जातिसँग प्रेमगर्दा किन मारिन्छन् अजीत-नवराजहरु ? आज सबै दलितहरूको मानसपटलमा यी र यस्ता प्रश्नहरु खेलिरहेको छ । र, प्रश्न गरिरहेको छ यो सभ्य समाजलाई आखिर दलित भएकै कारण कहिलेसम्म यसरी मारिनुपर्ने ?
यो बिचमा कतिपय आफ्ना प्रिय गैरदलित साथीहरुले लेखेर पोष्ट गरेका धेरै स्टाटस/कमेन्टहरु देखियो र हेरियो । हुन त रूकुम घटनालाई लिएर कतिपय गैरदलित साथीहरूको जुन प्रतिक्रिया छ, यो दलित समुदायका लागि नयाँ भने होइन । ४ वर्षअघि अन्तरजातीय प्रेमकै कारण मारिएका अजीत मिजारको मुद्दालाई लिएर पनि साथीहरूका यस्तै खाले प्रतिक्रियाहरू आएका थिए । स्मरण रहोस्, अजीत मिजारको पार्थिव शरीर अहिले पनि महाराजगञ्ज टिचिङ अस्पतालको शवगृहमा छ ।
मलाई लाग्थ्यो सबै मेरा प्रिय साथीहरु धेरै नै शिक्षित र परिवर्तनकारी हुनुहुन्छ । मलाई लाग्थ्यो हामी दलितभित्रै धेरै कमजोरीहरु छ । हामीहरु शिक्षित हुन बाँकी छ, सबल हुन बाकीँ छ । तर, यथार्थ त्यसो होइन रहेछ । कतिपय साथीहरूको सन्दर्भमा सायद यो घटनाले बुझ्ने मौका पनि दियो । शिक्षित र सबल हुँदैमा जातीय विभेद हुन कहाँ छोड्ने रहेछ र । हाम्रो शिक्षा त केवल घटनालाई कसरी ढाकछोप गर्न सकिन्छ भन्ने तर्कशास्त्र भएजस्तो पो लाग्यो । महान दार्शनिक कार्ल मार्क्सले भनेजस्तै, “मानिसको चेतनाले उनीहरूको अस्तित्वलाई निर्धारित गर्दैन, अपितु उल्टो उनीहरूको सामाजिक अस्तित्वले उनीहरूको चेतनालाई निर्धारित गर्दछ ।” हाम्रो चेतना उही मनुवादी र सामान्तवादी चेतनाबाट माथि उठ्न सकेको रहेनछ भन्ने कुरा यस्ता साथीहरूका कमेन्ट र स्टाटसले बताएको छ ।
यस्तो खाले कुरा वा घटनालाई लिएर गरिने आन्दोलन वा विरोधलाई साथीहरूले, “घटना दुःखद छ, तर जातचाहिँ नमिसाउनुस्” भन्ने प्रतिक्रिया दिएको पटक पटक सुन्नमा आउँछ । तर घटना जातीय कारणले नै घटेको भन्ने कुरा विभिन्न प्रमाणले देखाउँछ । तर गैरदलित साथीहरूलाई स्वीकार गर्ने किन यति महाभारत हुन्छ?
प्रिय मित्रहरु, यो जातीय व्यवस्था न तपाईंले बनाएको हो, न हामीले । न त यो २-४ वर्ष वा ५०-१०० वर्ष पहिले बनेको हो । यो त विगत ३००० वर्षदेखि शासक वर्गले आफ्नो शासनलाई जोगाउनका लागि निर्मित एक कलंक हो । यसमा तपाईं हामी तर्सिनुपर्ने कारण केही छैन । जातीय विभेद छँदै छैन भनेर हिँड्न पर्ने जरुरी पनि केही छैन । किनकि सत्य यही हो कि समाजमा जातीय विभेदको अवस्था विकराल छ, उँच-नीच, छोई-छिटोको अवस्था उस्तै छ । यो वर्षौंदेखि शासक वर्गले स्वार्थ पूरा गर्नलाई बनाएको सामान्ती व्यवस्था हो ।
नेपालमा छुवाछुत छ । र, यो हिन्दु धर्म र संस्कारसँग जोडिएको छ भनेर स्वीकार गर्नुकोसट्टा तपाईंहरू नै जातभात केही छैन पनि भन्ने, अनि जातको कुरा पनि नगर भन्ने र आफै जातीय विभेदलाई प्रसय दिने खाले प्रतिक्रिया पनि दिने ? हत्या अपराध हो भनेर पनि स्वीकार्ने तर जातीय विभेद होइन पनि भन्ने ? जातीय विभेद पनि जघन्य अपराध हो भनेर स्वीकार्न किन यति गाह्रो?
हाम्रो समाजमा जातीय विभेद छ । यसलाई अझ हामीले लुकायौँ वा बोलेनौँ भने यो व्यवस्था झन् मजबुत हुनेछ र यस्ता खालका प्रवृतिले जातीय विभेद घटाउनेभन्दा पनि झन ठुलो मलजल पारिरहेको छ । यस्ता कुरालाई रोक्न सकिएन भने समाजले धेरै वर्षसम्म जातीय विभेद कायम राख्नेछ र दलित समुदायले मान्छे भएर पनि मान्छे सरह बाँच्न पाउने छैनन् ।
नेपालमा छुवाछुत र जातीय भेदभावको समस्या हिन्दु परम्परा र संस्कृतिसँग सिधै जोडिएको हुदाँ जातीय समस्यालाई समाधान गर्ने कुरामा सँधै जटिलता उत्पन्न भइरहेको छ । लामो अवधिसम्म नेपालको राज्यसत्तामा निरकुंशतन्त्र हावी भइरहेको र बहुदलीय व्यवस्था वा लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सुरू भएपछि पनि ब्राम्हणवादीहरूको बोलवाला भएको हुदाँ जातीय समस्याको स्थायी समाधानमा समस्या आइरहेको छ ।
सत्तासीन ब्राम्हणवादीहरू वर्णवादी जातीय व्यवस्थालाई बचाउन र कायम राख्न तथा कथित जातीय सर्वोच्चता र जातीय प्रभुत्त्वलाई कायम राख्न तथा हिन्दु धर्मले गरेको धार्मिक र जातीय अपराधलाई लुकाउन अत्यन्त चलाखीपूर्वक ढंगले लागेको पाइन्छ ।
जातीय सर्वोच्चता र प्रभुत्वले नै सत्तामा पुगेकाहरूले हिन्दु वर्णव्यवस्थालाई खत्तम गर्न आफ्नो सर्वोच्चता र प्रभुत्व गुम्ने डरले नचाहेको देखिन्छ । जातिय भेदभाव जस्तो कुरालाई नजर अन्दाज गरी ‘छुवाछुतयुक्त समाज होइन, अब त छुवाछुतमुक्त समाज भइसक्यो’ भनेर दलित समुदायले अगाडि सारेका मागलाई बेवास्ता गर्ने गरिएको कुराले त झन् दलित समुदायलाई सँधै छलकपट र भुलभुलैयामा राखेर कपटीपूर्ण ढंगले राजनीति गरेको कुरा बुझ्नलाई कुनै आइतबार कुर्न पर्दैन । यस्ता खालका प्रवृति दलित आन्दोलन र दलित समुदायका लागि खतरा बनिरहेको छ ।
प्रिय गैरदलित साथीहरू, जातीय व्यवस्था तथा वर्णाश्रम नेपाली समाजका लागि ठुलो अभिशाप हो । तपाईंहरूले तर्क गरेजस्तो राज्यले बराबरी भनेको छ, आरक्षण दिएको छ, अझै के चाहियो ?
जसरी तपाईहरू सजिलै अझै के चाहियो भन्नुहुन्छ नि हो यो शव्द नै सबैभन्दा खतरानाक र विभेदपूर्ण छ । यसो भनिरहँदा तपाईं भन्नुहुन्छ, “जहाँ पनि विभेद देख्ने, कति जातिवादी भयो यार तिमी ?” तर साथी तिमीजति जातिवादी म कहिल्यै भइन ।
जुन जातले मेरो पुर्खालाई छिःछिः र दुरदुर गरायो, बाजेलाई बराजुको साइत नबिग्रियोस भनेर बाटोसम्म छुने आँट आएन, बालाई स्वाभिमान भनेको मुखिया र बराजुको पाउमा छ भन्ने सिकायो । जुन जातले वर्षभरि काम गर्दा पनि एक डोको मकैभन्दा धेरै पारिश्रमिक कहिले आएन । जुन जातले गर्दा सबैले पुज्ने विद्याकी देवीलाई कहिल्यै पुज्न पाइएन । जुन जातले गर्दा विद्यालयमा सरले पढाउँदा ‘कामी काले’ र ‘काले कामी’ एउटै हुन्, “राजाको काम छोडी। कामीको दिवालीमा” भन्नेजस्तो अपमानित उदाहारण दिँदा साथीहरूले मलाई हेर्दा सँधै तर्सिने बनायो । जुन जातले मलाई सँधै तिरस्कार गर्यो, हिनताबोधमा बाँच्न सिकायो, मलाई सँधै अपमानित गर्यो, त्यस्तो जातको कुरा मलाई पटक्कै गर्न मन छैन ।
अझ भनौँ, जुन जातले गर्दा सेते दमाई, मनवीर सुनार, लक्ष्मी परियार, मना सार्की, अजीत मिजार, अंगीरा प्यासीहरू मारिएका छन्, आज रूकुममा ६-६ जनालाई लखेटी लखेटी हत्या गरिएको छ, के त्यस्तो नरसंहार गर्ने जातको कुरा गर्न मेरो मनले माने होला र ?
म त यो जातलाई रद्दीको टोकरीमा फ्याँक्न चाहन्छु । जुन जातले सँधै मलाई दोस्रो दर्जाको मान्छे बनायो, के म यो जातलाई बोकेर तपाईंजस्ता पढे-लेखेका मान्छेको ओठलाई पिलिट्याउन सकुँला र ? यही जातले गर्दा मलाई घरभित्र पसेकोमा जरिवाना गरायो, मलाई कोठाबाट निकालिनु पर्यो । यतिसम्म कि जातले तल्लो जातिलाई जलाउने र उपल्लो जातिलाई जलाउने समशानघाटसम्म अलग-अलग बनायो । यानेकि म मरेपछि मेरो लासले पोलिँदासम्म पनि विभेदको शिकार हुनुपर्नेछ । के म त्यो जातलाई बोकेर वैतरणी तरूँला र ?
म त चाहन्छु, यो जात र जातिप्रथालाई चिहानमा लगेर खरानी बनाएर अस्तु सेलाई दिऊँ । के तपाईहरू तयार हुनुहुन्छ ? हुनुहन्न । बरू तपाईंहरू त तयार हुनुहुन्छ आरक्षण हटाउने माग गर्न । तपाईंहरू त बरू यस्तो तर्क-कुतर्कमा पो अग्रसर हुनुहुन्छ, “फलाना-फलाना जातले पनि फलाना-फलानालाई हेप्छन्, छुवाछुत गर्छन्” । तपाईंहरू त तयार हुनुहुन्छ, “म त तिमीहरूसँग बसेर खाएको छु, तिमीलाई मेरो डेरामा लगेको छु” भन्दै म/हामीलाई दलित भएको महशुस गराउन । तपाईंहरू तयार हुनुहुन्छ, “बुढो भएका बा-आमाले मान्दैनन्, यतै एडजस्ट गरौँ न” भन्न । तपाईंहरू त तयार हुनुहुन्छ, “अहिले त धेरै परिर्वतन भयो” भन्ने उपदेश दिन । तपाईंहरू त तयार हुनुहुन्छ, “विस्तारै परिर्वतन हुन्छ, आतिनु हुन्न” भनेर शिक्षा दिन ।
तर, तपाईंहरू किन तयार हुनुहुन्न यो जातीय व्यवस्थालाई विनाश गर्न ? किन तयार हुनुहुन्न दलित समुदायलाई मान्छे स्वीकार गर्न ? किन तयार हुनुहुन्न हिन्दु धर्मका गलत संस्कृतिलाई तोड्न ? मैले त जातको कुरा मात्र गरेँ तर प्रिय साथी । तपाईंले त जातीय विभेद गर्नुभयो । होइन र ?
(लेखक अनेरास्ववियुका नेता हुनुहुन्छ ।)