नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, झण्डा, Flag, Communist Party of Nepal, CPN Maoist Centre,
 

नेपाली राजनीति चरम अकर्मण्यताको भुमरीमा फस्दै आइरहेको छ । यहाँ पार्टी फुट्नु र जुट्नु राजनीतिको नियमित चल्ने संस्कारजस्तै बनेको छ । लोकतन्त्रवादी पार्टीहरु हुन् या क्रान्तिकारी कम्युनिस्ट पार्टी नै किन नहोस्, सिङ्गो रहन सकेनन् । पार्टी नफुट्दा पनि आन्तरिक गुट-उपगुटले पार्टीलाई थिलोथिलो र मृतजस्तै बनाएको हुन्छ । जसको ज्वलन्त उदाहरण अहिलेको सत्ताधारी नेकपालाई लिन सकिन्छ ।

पार्टी फुट्नु, पार्टीभित्र भद्दा गुट-उपगुट निर्माण हुनुको प्रमुख कारण सत्ता बनेको छ । सत्तामा पुगेपछि सरकारी साधन-स्रोतको दुरुपयोग गरी पार्टीलाई मृत हुनेगरी सबै कब्जा गर्ने प्रवृत्ति वर्तमान प्रधानमन्त्रीले पुष्टि जस्तै गरिदिएका छन्‌, जसले गर्दा वर्तमान सत्ताधारी नेकपा फुटको चरम उत्कर्षमा पुगेको आँकलन सामान्य मान्छेले पनि गर्न थालेका छन्‌ ।

कम्युनिस्ट पार्टीका जुझारु भनिने क्रान्तिकारीहरु पनि सिद्धान्तको जलप लगाउँदै स्वार्थकेन्द्रित विभाजनका अनगिन्ति चिराहरु बने । महान्‌ १० वर्षे जनयुद्धमा एउटै थालमा खाएका सँगै सुतेका क्रान्तिकारी कमरेडहरु पनि सत्ता र शक्ति स्वार्थकै कारणले २०६९ मा विभाजनको सिकार हुन पुगे । २०५४ सालमा सत्ताको संवादसँगै तत्कालीन एमाले नेता वामदेव गौतम पार्टी विभाजन गरे । २०५९ मा सत्तारुढ भएकै बेला दरबारको आडमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई विभाजनमा होमे । शान्ति प्रक्रियापछि उदाएका मधेसवादी पार्टीहरु सत्ताकै लागि थुप्रै शृङ्खलामा विभाजित भए र सत्ताभोग गरे ।

kishor subedi, किशोर सुवेदी
लेखक

पार्टी फुटसँगै हरेक दलले ठक्कर खाएका इतिहास साक्षी छन्‌ । पार्टीको विभाजनसँगै मुलुक अस्थिरता र संक्रमणको भुमरीमा फसेका थुप्रै उदाहरणहरु छन्‌ ।अझै राजनीतिक पार्टीहरुमा चेतना पलाएको देखिँदैन । दलीय द्वन्द्व र विभाजनको कारण मुलुकले संकटको मार खेप्नु परिरहेको छ । राजनीतिक पद्धति र संस्कार स्थापित हुन नसक्दा गणतन्त्रको जग नै धरापमा पर्दैछ कि जस्तो अनुमान लगाउन नि सकिन्छ ।

अहिलेको नेकपा सरकारको रबैया सिद्धान्त, त्याग, आदर्श स्थापित गरी समृद्ध नेपाल बनाउनुको सट्टा व्यक्तिगत र गुटगत स्वार्थमा केन्द्रीकृत भएको देखिन्छ । सरकार सञ्चालन प्रक्रियामा सहमति तोडिनु, राजनीतिक नियुक्ति र निर्णयमा नातावाद र गुटवाद हावी हुनु, पार्टीलाई सरकारको पुच्छर बनाउन खोज्नु, पार्टीसँग परामर्श नगरी तानाशाही शैलीमा सरकार सञ्चालन गर्न खोज्नु आदि अहिलेको कम्युनिस्ट पार्टी र सरकारका लागि घातक हो ।

जनतामाझ चुनावताका गरिएका प्रतिबद्धताहरु खालि कोरा अक्षर मात्र थिएनन्‌ । ती जनताको परिवर्तन र समृद्धिका खाका थिए । ती सबै प्रतिबद्धताहरु चुनाव जितिसकेपछि पूरा गर्नुको साटो झनै आन्तरिक किचलोमा फस्नुजस्तो दुर्भाग्य अरु केही हुन सक्दैन । सरकार जनमुखी बन्नुपर्ने त्यो पनि अझ कम्युनिस्ट सरकार तर त्यसो देखिँदैन । पार्टीलाई एनजिओ जस्तै बनाएर विभाजनको पथमा अगाडि बढाउनु कम्युनिस्ट पार्टीका लागि चुनौतीको विषय हो ।

सही अर्थमा कम्युनिस्ट वा समाजवादी बन्न त्यति सजिलो छैन । सरकारका नीति र कार्यक्रम सबै तहमा देखिने मोजमस्ती, रहनसहन शैली, स्वाद र व्यवहार कुनै पनि कुराले यो सरकार र नेकपा समाजवादको मार्गमा छ भन्न मिल्दैन । सरकार निजी स्वार्थ लम्पट शासनतिर लम्किरहेको छ भन्ने अनुभूति आम नेता कार्यकर्ता र सर्वसाधारण जनताले गर्न थालेका छन् । अहिले नेकपामा जे-जस्तो आन्तरिक राजनीतिक किचलोको विकास हुदैछ, त्यो केवल एउटा दलको भविष्यसँग मात्र जोडिएको छैन । समग्र राष्ट्र आम जनतासँग जोडिएको छ । नेकपाको नेतृत्व पंक्तिले नेपालको यथार्थ धरातलमा टेकेर आफ्नो नीति र व्यवहारलाई समाल्न सकेन भने गणतन्त्र नै संकटको भुमरीमा फस्न सक्ने जोखिम बढेर गएको छ ।

दलाल पुँजीपतिको पक्षपोषण र संरक्षण गरिरह्यो भने गणतन्त्र सिद्धिने खतरा बढेर गएको छ । यो अहिलेको गणतन्त्र पनि बुर्जुवा गणतन्त्र हो । अहिले देशको नेतृत्व गरिरहेका नेताहरुको सोच र चिन्तनका कारण गणतन्त्र र संघीयता समेत गम्भीर संकटमा परेको छ । नेपालका उच्चपदस्त नेतृत्वबाट नै अहिले एकाधिकार दलाल पुँजीवादलाई प्रसय दिइराखेको छ । अहिलेको परिस्थितिमा दलाल पुँजीवाद हावी भएको छ ।

यस्तो व्यवस्थामा अब निर्वाचन प्रणालीबाट मजदुर, दलित, किसान, महिला, जनजाति कसैको पनि प्रतिनिधित्व हुँदैन किनकि यो व्यवस्थाको निर्वाचन प्रणालीमा जसले करोडौँ करोड लगानी गर्न सक्छ, उसैले चुनाव जित्छ । त्यो ल्याकत नैतिकवान र इमानदार मानिसहरूसँग हुँदैन । दलाल पुँजीवादको आहालमा चुर्लुम्म डुबेर आएको नेतृत्वले फेरि पनि एकाधिकार दलाल पुँजीवादलाई नै प्रसय दिन्छ । वर्गीय मुद्दा सँधै ओझेलमा पर्छ । निर्वाचनको बेला लेखिएका घोषणापत्रमा जे कुरा उल्लेख थियो, त्यो व्यवहारमा १० प्रतिशत पनि कार्यान्वयन भएको छैन । त्यसैले घोषणापत्र अनुसार काम हुन सकेन भनेर पार्टी, सरकार, मुलुक सबैतिर यो कुरा अभिव्यक्त भइरहेको छ ।

विधि-विधान मिच्दै व्यक्तिगत र गुटगत स्वार्थमा केन्द्रित भएर विभिन्न ठाउँमा गुट भेला गर्दै हिँड्ने परिपाटीले पार्टी विभाजनका लागि मसला थपिरहेको छ । तथ्य र तर्कका आधारमा वैचारिक बहस गर्न नसकेर व्यक्तिगत गाली गलौजमा उत्रिने जो घृणित कार्य भइराखेको छ, यसले पार्टीलाई मृतजस्तै बनाएको छ । जनताले चाहेको एकताबद्ध नेकपा जसले सर्वहारावर्गीय जनताको घाउमा मलमपट्टि गर्न सकोस्, निभेको चुलो बाल्न मद्दत गरोस्‌ भन्ने हो । तर यो सरकारको रबैया हेर्दा पुँजीवादी स्यालहरुलाई मात्रै भरण-पोषण गरेको देखिन्छ । यस्तो प्रणालीले कम्युनिस्ट पार्टीलाई पतनतिर उन्मुख गराउँछ । त्यसैले भ्रष्ट र दलालहरुको विरुद्ध संघर्ष गर्नुपर्ने देखिन्छ ।

(लेखक पत्रकार संगठन कर्णालीका नेता हुनुहुन्छ ।)