नेपालमा जाति भाषा र संस्कृतिलाई वैज्ञानिक किसिमले मार्क्सवादी दर्शनका आधारमा राम्रोसँग अध्ययन गर्ने, अन्तरविरोधहरुलाई केलाउने र बुझ्ने तथा तिनको समाधान गरेर राष्ट्रिय एकतालाई कसरी सुदृढ र सशक्त तुल्याउन सकिन्छ भन्ने कुराको प्रारम्भ नेपालमा सर्वप्रथम कमरेड पुष्पलालले नै गर्नुभएको देखिन्छ ।
उहाँले समाज विशेषमा दर्शन, कला र भाषा–संस्कृतिको उत्पत्ति, विकास र विस्तार कसरी हुँदै आयो र अमूक समाजमा त्यसले कस्तो प्रभाव पार्यो त्यसका साथै स्वयं दर्शन, साहित्य, कला र संस्कृतिहरु समाज विकासको क्रममा कसरी परिवर्तन हुँदै आए भन्ने कुरा औँल्याउनु भएको छ ।
यसै क्रममा जातिहरुको पहिचान, भाषा, कला र संस्कृतिको विकासका बारेमा पनि उहाँले यथार्थ दर्शाउनु भएको छ । उहाँले प्रस्तुत गर्नु भएको नयाँ जनवादी कार्यक्रममा भनिएको छ, ‘‘नेपालको इतिहासमा आँखा लगाउने हो भने आर्थिक, राजनैतिक, सामाजिक आदि दृष्टिकोणले काठमाडौँ उपत्यका नै केन्द्रस्थल हुँदै आएको छ । यही कुरा धार्मिक क्षेत्रमा पनि निर्विवाद रूपले लागु हुन्छ ।”
हाम्रा पूर्वजले प्रकृतिपुजक स्थिति पार गरी बुद्धमार्गमा प्रवेश गरेपछि, विशेषगरी लिच्छवी युगमा हिन्दु धर्मको पनि क्रमिक रूपले प्रभाव बढेर गयो । त्यसबखत हाम्रा पूर्वजहरू दुई परस्पर विरोधीः बौद्ध तथा हिन्दु सम्प्रदायमा विभक्त भएर गए । दुवैले आ-आफ्नो धर्मलाई श्रेष्ठतर देखाउनका निम्ति आ-आफ्नो प्राचीनता सावित गर्ने कोशिसमा ‘स्वयम्भू पुराण’ र ‘पशुपति महात्म्य’ रचना गरे । धार्मिक क्षेत्रमा देखापरेको यस अन्तरविरोधले दुई सम्प्रदायकाबीचमा संघर्ष भई देशको आर्थिक व्यवस्था नै चौपट हुने आशंका देखिएको हुँदा हाम्रा पूर्वजहरूले धार्मिक सम्प्रदायबाट माथि उठी ‘नेपाल माहात्म्य’को रचना गरे ।
![Lok Narayan Subedi, लोकनारायण सुवेदी](https://leftreviewonline.com/wp-content/uploads/2019/02/Lok-Narayan-Subedi-Left-sub.jpg)
यसरी नेपालको नाममा संगठित हुनाले नेपाली राष्ट्रियताको विकास भएर गयो । अतः यसले नेपालको इतिहासमा निकै महत्त्व राख्दछ । जनतामा व्याप्त राष्ट्रिय भावनाले गर्दा शासक वंशहरूले पनि धर्मप्रति सहिष्णुताको नीति अपनाउनु परेको हो । त्यसका निम्ति राजाको उदार भावना मुख्य कारण नभई जनतामा व्याप्त राष्ट्रिय भावना नै मुख्य हो ।
नेपालमा सामन्ती आर्थिक व्यवस्था बलवान हुँदै जान थालेपछि बलियो राजतन्त्रको आवश्यकता हुँदै गयो । यसका निम्ति बुद्ध धर्मले भन्दा हिन्दु धर्मले सैद्धान्तिक आधार दिन सक्ने हुँदा नेपालको सामन्त वर्गले क्रमशः हिन्दु धर्मको पक्ष लिन थाल्यो । राणा युगमा यो पराकाष्ठामा पुग्यो । आजको सामन्ती शाही पञ्चायती व्यवस्थामा पनि प्रतिक्रियावादी हिन्दुवादलाई विशेष रूपले प्रोत्साहन दिइँदैछ । यसैलाई राजधर्मको स्थान प्राप्त छ ।आज हाम्रो देशमा बुद्ध र हिन्दु धर्म बाहेक इसाई, इस्लाम आदि अन्य धर्म मान्ने सम्प्रदाय पनि छन् । सरकारको हिन्दुवादी पक्षपाती नीतिले गर्दा अन्य धार्मिक सम्प्रदायलाई प्रतिक्रियावादी तत्त्वले धार्मिक भावनाको आडमा एक सम्प्रदायविरूद्ध अर्को सम्प्रदायलाई उठाई जनताको जनवादी भावना र संघर्षलाई आघात पुर्याई आफ्नो स्वार्थसाधन गर्दैछन् ।
यसबाहेक विभिन्न विदेशी प्रतिक्रियावादी शक्तिहरूले पनि यस्ता साम्प्रदायिक तत्त्वहरूसँग साँठगाँठ गरी सामन्तवादविरोधी जनवादी आन्दोलन र समाजवाद विरूद्ध प्रतिक्रियावादी प्रचार गराउन यिनीहरूलाई उपयोग गरिरहेका छन् ।
जनताको धार्मिक विश्वासबाट फाइदा उठाई विभिन्न धार्मिक सम्प्रदायका साम्प्रदायिकतावादी अधिकारीहरूले जनतालाई परलोकको आशा देखाई यस लोकमा नारकीय जीवनविरूद्ध हुने संघर्षमा तगारो हाली आफ्नो स्वार्थ साधन गरिरहेका छन् । यो निर्विवाद सत्य कुरा हो कि नेपालमा प्रचलित सम्पूर्ण धर्महरू बुद्ध, हिन्दु, इसाई तथा इस्लामले आफ्नो उत्पत्तिको सुरूमा प्रगतिशील भूमिका खेलेका थिए । हाम्रो नेपाल माहात्म्यले पनि त्यस्तै प्रगतिशील भूमिका खेलेको थियो । तर आज यी धर्महरू देशको सामन्त वर्गको स्वार्थसाधनका रूपमा देखापर्न आएका छन् । एकातिर देशका जनता प्रतिदिन भोका, नांगा र गरिब भइरहेका छन् भने अर्कोतिर मुठ्ठीभर यी धर्माधिकारीहरू जनताको भेटी, दान, दक्षिणा आदि कुराबाट ऐयासी जीवन बिताउँदै छन् ।
हामी जनताको धार्मिक भावनामा आघात नपुर्याई उनीहरूलाई आजको धार्मिक शोषणबाट मुक्त गरी सबै धार्मिक समुदायलाई नयाँ जनवादी नेपालको निर्माणमा संयुक्त रूपले लगाउन चाहन्छौँ । त्यसैका निम्ति क्रान्तिकारी जनवादी सरकारलेः
(१) कुनै पनि धर्मलाई राजकीय धर्मको स्थान दिनेछैन र नेपालको क्रान्तिकारी जनवादी राज्यसत्ता धर्मनिरपेक्ष राज्यसत्ता भनी घोषित गर्नेछ ।
(२) धर्मलाई व्यक्तिगत विश्वासको कुरा मानी कुनै पनि व्यक्तिलाई आफूले चाहेको धर्म अवलम्वन गर्न दिनेछ ।
(३) धर्मको पक्ष र विपक्षमा प्रचार गर्न सबै नागरिकलाई समान रूपले अधिकार दिनेछ ।
(४) धर्मको नाममा गुरू, परोहित, साधु, सन्त, महन्त, लामा, मुल्ला, मौलवी, भन्ते तथा पादरीबाट हुने सम्पूर्ण शोषण, जस्तै ढेव प्रथा, जमीनसँग सम्बन्धित गुठी प्रथा, भण्डारा प्रथा आदिलाई खतम गर्नेछ ।
(५) धर्मलाई सम्पूर्ण शिक्षण संस्थाबाट अलग्याउने छ ।
(६) मठ, मन्दिर, मस्जिद, गुम्बाआदिको सम्पत्तिलाई राष्ट्रियकरण गर्नेछ र तिनका धार्मिक कार्यको आवश्यक खर्च सरकारले ब्यहोरी तिनको सम्भारको काम पनि सरकारले नै गर्नेछ ।
(७) साम्प्रदायिक भावना फैलाउने खालका गतिविधिलाई गैरकानुनी घोषित गर्नेछ ।
(८) विदेशी धार्मिक मिशन आदिलाई देशबाट निष्कासन गर्नेछ ।
कमरेड पुष्पलालले दशकौँ अगाडि अघि सार्नुभएको यो नीति आज कत्तिको दुरगामी महत्त्वको र नेपाली समाजलाई प्रगतिशील दिशातर्फ उन्मुख गराउने खालको रहेछ भन्ने झल्को ऐतिहासिक दस्तावेजको यो सानो अंशले नै प्रष्ट पारेको छ । देशलाई कुनै एक धर्म, जाति, सम्प्रदाय र संस्कृतिको शोषणवाट मुक्त गरिनु पर्दछ र सबैलाई समान किसिमले फल्न-फुल्न दिइनु पर्दछ भन्ने भावना यसमा अन्तरनिहित छ ।
संविधान सभाबाट संविधान निर्माण र खासगरी राज्यको पुनर्संरचना गर्दा यी महत्त्वपूर्ण कुरालाई आत्मसात गरेको र गम्भीररुपमा ध्यानमा राखेको भए नेपालमा आज जे जस्तो स्थिति देखापरेको या पर्दै गएको छ त्यो भन्दा नेपालको तस्वीर भिन्न हुने थियो । कमरेड पुष्पलालको विचारले एकातिर “लाखौँलाख नेपाली जनताका झोपडीहरुको एकतालाई राष्ट्रियताको मूलभूत आधार मानेको छ भने अर्कोतिर तिनै झोपडीहरुको हक-हित नै जनवाद हो” भन्ने निष्कर्ष निकालेको छ ।
यसबाट नै प्रष्ट हुन्छ कि पुष्पलालको राष्ट्रियता र जनवाद कुनै शासक वर्ग केन्द्रित, उनीहरुको अहम् र तुष्टीकरणको विषय वस्तु होइन, त्यो आम जनतामा आधारित र जनकेन्द्रित महत्त्वको विषय हो भन्ने कुरा प्रष्ट पारेको छ । जनताको इतिहासको खोजी र पुनःनिर्माण गर्न तल्लिन र उद्यत दुरदर्शी नेताले देश र जनताको निमित्त गर्ने कर्तव्यबोध तथा उनीहरुको वर्तमान र सुदूर भविष्यसम्मका दीर्घकालीन सोच अघि सार्दछ नै ।
कमरेड पुष्पलालले अघि सारेको यो अवधारणा र उहाँले प्रस्तुत गरेका विभिन्न अन्य दस्तावेजहरु त्था समग्र उहाँको संघर्षमय राजनीतिक जीवन यात्रा र संघर्षले ठीक यही यथार्थलाई औँल्याउँदछ र प्रतिबिम्बित गर्दछ । नेपालमा जाति, भाषा, संस्कृतिको सवाल र नेपालको स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रियताको सन्दर्भमा उहाँबाट सिक्नु र अनुशरण गर्नुपर्ने कुरा पनि यसरी प्रष्ट हुन्छ ।
(लेखक क. ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष तथा किसान नेता हुनुहुन्छ ।)