Xi jinping and Donald trump, China Vs USA
 

अहिलेसम्मको विश्व राजनीति लाई अध्ययन गर्दा के देखिन्छ भने जुन राष्ट्रले विश्व अर्थतन्त्रमा नियन्त्रण कायम गरेको छ, त्यही राष्ट्रले राजनीतिक क्षेत्रमा पनि प्रभुत्व कायम गरेकोछ ।

पहिलो विश्वयुद्ध (१९१४-१९१८) अघि सिमान्त क्षेत्रमा रहेको अमेरिका दोश्रो विश्वयुद्ध (१९३९-१९४५ ) पछि विश्व राजनीतिको केन्द्रमा पुग्यो भने कहिले सूर्य अस्त नहुने भनिएको बेलायत विश्व राजनीति को नेताबाट तल खस्न पुग्यो ।

यसै बिच सोभियत संघको आर्थिक विकासले सन् १९६०-१९७० को शीत युद्धसम्म आइपुग्दा अमेरिकालाई एक सशक्त चुनौती खडा गर्‍यो । तर रुसको यो आर्थिक र राजनीतिक प्रगति सन् १९८० को दशकको अन्त्यमा समाजवादको पतनसँगै धरासाही हुनपुग्यो र अमेरिका विश्व राजनीति को एकछत्र नेताको रुपमा देखा पर्‍यो । यसलाई फुकुयामा जस्ता विचारकहरुले समाजवादी इतिहासको अन्त्य र पुँजीवादको श्रेष्ठताको रुपमा समेत विश्लेषण गर्न पुगे । त्यसपछिको अवधिमा अमेरिकाले विश्व पुँजीवादको नेताको रुपमा एक छत्र प्रभुत्व कायम गरिराखेको छ । बिच बिचमा रुस, चीन, उत्तर कोरिया र युरोपियन युनियनले अमेरिकी प्रभुत्वलाई अस्विकार गरे पनि त्यसको विरुद्धमा जानसक्ने अवस्था रहेन ।

विश्व राजनीतिमा चीनको प्रवेश

विश्व राजनितिमा चीनको उदय सन् १९४९ को जनवादी क्रान्तिबाट भएको मानिन्छ, जसले माओत्सेतुङद्वारा अगाडि सारिएको पहिलो समाजवादी योजना (१९५३-५७) लाई सपतलापूर्वक सम्पन्न गरी आर्थिक विकासको मार्गचित्र निर्माण गरेको थियो ।

dr gokarna gyawali, Anthropologist and assistant professor, Tribhuwan University
लेखक

यो द्रुततर आर्थिक विकासको गतिलाई सन् १९७८ मा देङ सियाओ पिङ नेतृत्वमा आएपछि नयाँ कार्यक्रमसहित तीव्र पारोयो र वर्तमान राष्ट्रपति सी चिनफिङले यसमा थप परिमार्जन गरी विश्वलाई नै प्रभावित पार्ने आर्थिक कार्यक्रम अगाडि सारे । फलस्वरुप चार दशक यता चीनले आफूलाई विश्व आर्थिक शक्ति (Power House) को रूपमा विकसित गरेको छ । साथै, यसले विश्वव्यापी अर्थतन्त्र र भूराजनीतिमा समेत महत्त्वपूर्ण परिवर्तन ल्याएको छ ।

देङ सिआओपिङले दोस्रो क्रान्तिको रुपमा अघिसारेको यो क्रान्तिले सन् २०१८ मा ४० वर्ष पूरा गरेको छ । वर्तमान राष्ट्रपति सी चिनफिङको नेतृत्वले आजको मितिमा चीनलाई विश्व अर्थतन्त्रको नेताको रुपमा स्थापित गरायो, जोसँग सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति अर्थात् ३.१२ खर्ब डलर छ र विश्व अर्थतन्त्रमा चीनको हिस्सा करिब ३० प्रतिशत पुगेको छ ।

चिनियाँ सफलताको यो उदाहरण दोस्रो विश्वयुद्धपछिको एउटा देशको विकासको कथामा मात्रै सीमित छैन । बरू विश्वका कैयौँ देशले पनि चीनले अवलम्बन गरेको यो नीतिलाई अख्तियार गरे । चीनले घरेलु अर्थतन्त्रमा सुधार गर्नुका साथै विशेष आर्थिक क्षेत्रहरूको निर्माण गरी विश्व उपभोग्य वस्तु उत्पादनको धेरैजसो हिस्सा आफू मातहत ल्याउन सफल भयो, जसको कारण विश्व अर्थतन्त्र नै चीनको मातहत हुने अवस्थाको निर्माण हुन पुग्यो ।

यही कारण अमेरिका र चीनको बिचमा अप्रत्यक्ष्य व्यापार युद्ध चलिरहेको छ र हाल अमेरिका र चीन बचको कोरोना जिवाणुको उत्पत्तिको विवाद पनि त्यसैको एक हिस्साको रुपमा देखापरेको छ ।

महामारिको निरन्तरताको रुपमा कोरोना

विगतको मानव इतिहासलाई नियाल्दा के देखिन्छ भने मानव सभ्यताको सुरुआतदेखि संसारमा कुनै न कुनै रोगहरु निश्चित समयको दौरानमा महामारीको रुपमा आएको पाइन्छ । अनुसन्धानकर्ताहरुको दाबीअनुसार संसारमा पाँच हजार वर्षदेखि विभिन्न समयमा विभिन्न महामारीहरु फैलँदै आएका छन् ।

तीमध्ये कुनैले हजारौँ मानिसको ज्यान लियो त कुनैले करोडौँसम्मको ज्यान लियो । त्यतिबेला रोगको उत्पत्ति र संक्रमणका विभिन्न श्रोत र माध्यमहरु थिए, जसमा जनावरमा बाँदर, सुँगुर, कुखुरा, चिम्पान्जी हुँदै मानवसम्म थिए । धेरैजसो संक्रमण सर्ने माध्यम त्यतिबेला पनि स्वासप्रश्वास नै भएको पाइन्छ भने थोरै मात्र अन्य कारणहरु थिए ।

दुई हजार वर्षको इतिहास हेर्ने हो भने, संसारमा सन् १६५–१८० को एन्तोनिअन् प्लेग, सन् ७३५-३७ को जापानिज बिफर, सन् १३४७-५१ को ब्लैक डेथ, सन् १६२९-३१ को इटालियन प्लेग, सन् १८५० को प्लेग, विभिन्न समयमा फैलिएका फ्लुहरु (रसियन, स्पेनिस, एसियन), सन् २००९-१० को स्वाइन फ्लु, सन् २०१४-१६ को इबोला हुँदै हालको कोभिड-१९ आदि केही मुख्य महामारी हुन् जसले लाखौँ प्राणी र मानवको ज्यान लियो ।

यीमध्ये प्लेगका तीन ठुला महामारी विश्वभरी फैलिएका थिए ।

पहिलो महामारी छैठौँ शताब्दीमा फैलिएको ‘बाइजानटाइन’ थियो जुन पूर्वीरोमन साम्राज्यमा सम्राट जस्टिनियन प्रथमको शासनकालमा भएको थियो ।

दोस्रो ‘ब्ल्याक डेथ’ को रुपमा चिनिने महामारी थियो जुन चौधौँ शताब्दीमा एसियाबाट सुरू भएर मध्यकालीन युरोपभरी फैलिएको थियो ।

र, तेस्रो महामारी उन्नाइसौँ शताब्दीमा चीनबाट सुरू भएर एसियाका अन्य भाग हुँदै अमेरिकासम्म फैलियो थियो ।

यी तिनै रोगहरुले करिब २० करोड मान्छेको ज्यान लिएको विश्वास गरिन्छ । यी विभिन्न रोगहरुले तत्कालीन विश्वमा आर्थिक, राजनीतिक र विभिन्न खाले सामाजिक प्रभावहरु पारेका थिए ।

विश्व इतिहासमा यस्ता कैयन साना ठुला महामारी आए, जसले विश्वको राजनीतिलाई कुनै न कुनै ढंगले प्रभावित पारे । त्यसैले अहिले विश्वव्यापी बनेको कोरोनालाई पनि त्यसैको निरन्तरताको रुपमा लिइनु पर्दछ ।

विश्वका धनी पुजिवादी राष्ट्रहरुमा कोरोनाको असर अत्यधिक

चीनको उहानबाट सुरू भई अहिले विश्वव्यापी फैलिरहेको कोरोना भाइरसले मानव जीवनका सम्पूर्ण पक्षहरुमा प्रभाव पारिरहेको छ । यो लेख लेख्दासम्म विश्वका २१० देशका करिब २२ लाखभन्दा बढी मानिस यसबाट संक्रमित भइसकेका छन् । १ लाख ५० हजार मानिसहरुको मृत्यु भइसकेको छ भने करिब ५ लाख ५० हजार मानिसहरु निको भई घर फर्किएका छन् ।

विश्वका अति सम्पन्न मुलुकहरु अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, चीन, बेलायत, इरान, टर्की, अष्ट्रेलिया, नेदरल्यान्ड, बेल्जियम लगायतका यो रोगको चपेटामा छन् । त्यस्तै यो रोगको कारण सबैभन्दा बढी मृत्यु हुने राष्ट्रहरुमा अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत, इरान, बेल्जियम, चीन, जर्मनी, नेदरल्यान्ड्स आदि मुख्य हुन् ।

नेपाल लगायत विश्वका अधिकांश मुलुकहरुले यो रोगको संक्रमण फैलन नदिन लकडाउनको तरिका अवलम्बन गरिरहेका छन् । कोरोना महामारीले विश्व अर्थतन्त्रको सुक्ष्म र समष्टिगत दुवै आयाममा नकारात्नक प्रभाव पारिरहेको छ ।

दधि अधिकारी (२०२०) का अनुसार, कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या हेर्ने हो भने एक हजार जनाभन्दा बढी संक्रमित भएका देशहरुको संख्या २२ छ, जुन विश्वका धनी राष्ट्रहरुमा पर्दछन् जसको प्रतिव्यक्ति आम्दानी ५ हजार डलरभन्दा बढी छ ।

यी २२ देशमध्ये १० हजार डलरभन्दा बढी प्रतिव्यक्ति आय हुने देश २० वटा र २० हजार डलर भन्दा बढी प्रतिव्यक्ति आय हुने देशको संख्या १८ छ । यी २२ देशहरुले विश्वको कुल गार्हस्थ्य उत्पादनमा करिब ७३ प्रतिशत योगदान गर्दछन् ।

विश्व अर्थतन्त्रको प्रक्षेपण र विश्लेषण गर्ने विभिन्न संघ सस्थाहरुले कोभिड–१९ ले विश्व अर्थतन्त्रमा पार्ने प्रभावको प्रारम्भिक आँकलन गरेका छन् ।

अक्सफोर्ड इकोनोमिक्सले सन् २०२० को विश्वको आर्थिक वृद्धिमा कम्तिमा ०.५ प्रतिशत बिन्दु असर पार्ने प्रक्षेपण गरेको छ । यो भाइरसको संक्रमण चीनमा जस्तै अन्यत्र पनि फैलिए १.५ प्रतिशत बिन्दुसम्म असर पार्ने संस्थाको आँकलन छ । तर हालको अवस्था हेर्दा यसको प्रक्षेपण काम नलाग्ने देखिइसकेको छ किनकि कोरोना सक्रमण यसले अनुमान गरेभन्दा निकै तीब्र भइसकेको छ ।

विश्व बैंकले कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । हालै अन्तर्राष्ट्रिय  मुद्रा कोष (आईएमएफ) ले गरेको आँकलन पनि यसैसँग मिल्दोजुल्दो छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, सन् २०२० मा विश्व अर्थव्यवस्थामा संकुचन आई आर्थिक वृद्धिदर ३ प्रतिशतले घट्ने छ ।

कोरोना भाइरसको संक्रमण विस्तार रोक्न संसारका विभिन्न मुलुकहरुले अपनाएको बन्दाबन्दीका कारण विश्व अर्थतन्त्र मन्दीमा जाने कोषको विश्लेषणमा उल्लेख गरिएको छ ।

कोषले हालै विश्व अर्थव्यवस्थाबारे ‘वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्ट’ सार्वजनिक गर्दै बन्दाबन्दीले निम्त्याउने मन्दी एक शताब्दी यताकै सबैभन्दा ठुलो हुने अनुमान गरेको छ । यो मन्दी सन् १९३० को दशकको वैश्विक मन्दीपश्चातको गम्भीर र सन् २००८–९ को वित्तीय संकटभन्दा पनि गहिरो हुने आईएमएफले अनुमान गरेको छ ।

कोरोना भाइरसका कारण सन् २०२० र २०२१ मा गरी विश्व अर्थव्यवस्थाले ९ ट्रिलियन डलर नोक्सानी बेहोर्नुपर्ने कोषको अनुमान छ । कोषले कोरोना भाइरसको संक्रमण अन्त्य भएमा सन् २०२१ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ ।

कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले रिपोर्ट भनेकी छन्, युद्ध र राजनीतिक संकटजस्तै संकटको अवधि र सघनताबारे अनिश्चय जारी छ । यो आर्थिक संकट सिङ्गो पुँजीवादी दुनियामा नै अत्यधिक हुने देखिन्छ ।

अमेरिकामा मात्रै यो वर्ष आर्थिक वृद्धिदर ५.९ प्रतिशतले घट्ने आँकलन गरिएको छ । कोषले यो वर्ष विश्व व्यापारमा ११ प्रतिशतले गिरावट आउनसक्ने पनि आँकलन गरेको छ ।

यसको असर संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी देखिएको छ । विश्वमै सबैभन्दा मानिसको मृत्यु र सक्रमण रहेको अमेरिकाका सबै उत्पादन मुलक क्षेत्र कोरोनाको कारणले बन्द छन् ।

यस्तै अवस्था कायमै रहे अमेरिकामा आउँदो महिना करिब ३ करोड मानिसले रोजगारी गुमाउने अनुमान गरिएको छ । गोल्डम्यान स्याक्स भन्छन्, कोरोनाले अमेरिकाको जीडीपी आउँदो चौमासिकमा २४ प्रतिशतले घट्ने छ । अमेरिकाको आर्थिक इतिहासमा सन् १९२९-३० पछि जीडीपीमा सबैभन्दा ठुलो गिरावट आएको थियो । सन् १९३२ मा –१२.९ प्रतिशत र सन् १९४६ मा –११.६ प्रतिशतले गिरावट आएको थियो । त्यतिबेला अमेरिकी अर्थतन्त्रलाई विश्वका अन्य पुँजीवादी राष्ट्रहरुले कुशल अमेरिकी नेतृत्वको कारण भरथेग गरिदिएका थिए र अमेरिकाले उक्त संकटलाई समाधान गर्न सफल भएको थियो । तर अहिले अमेरिकी राष्ट्रपति ट्रम्पको कारण विश्वमा बढिरहेको विवादले त्यति छिटै र सहजै उक्त संकटको निवारण हुने देखिँदैन ।

अमेरिकी संकट र चीनको विश्व राजनितिमा हस्तक्षेप

चीन र अमेरिका बिचको विवाद चीनमा समाजवादको सुरुआत अर्थात सन १९५० देखिकै विवाद हो । त्यतिबेला चीन विश्व राजनितिमा सशक्त थिएन र समाजवादी खेमाको नेतृत्व सोभियत संघले गरिरहेकोले अमेरिकाको ध्यान चीनमा भन्दा सोभोयत संघमा केन्द्रित थियो । छिटफुट बिच बिचमा केही विवाद देखिएपनि तिनिहरुको समाधान निकालिन्थ्यो । अमेरिकी राष्ट्रपति ओबामाको पालासम्म पनि यो विवाद सतहमा मात्र सिमित थियो ।

सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकाको सत्तामा आएदेखि नै अतिराष्ट्रवाद (अल्ट्रानेसनालिज्म) हुँदै ‘अमेरिका फर्स्ट’ को नीति अख्तियार गरे । उनले विश्वका अन्य राष्ट्रसँग जस्तै चीनसँग पनि विभिन्न पुराना विवादका विषय निकालेर निहुँ खोज्न थाले ।

त्यसैले, २०१९ डिसेम्बरको अन्तिममा कोरोना भाइरस देखा पर्नुपूर्व चीन र अमेरिका बिच व्यापार युद्ध चलिरहेको थियो । दक्षिण चीन सागर, ताइवान, सिन्चियाङ, हङकङ र हुवाईजस्ता विषयमा पनि विवाद छँदै थियो ।

अमेरिकाले चीनमाथि आफ्ना व्यवसायीलाई अनावश्यक दवाबमा पारेको, चिनियाँ कम्पनीलाई अत्यधिक सरकारी अनुदान दिएर चीनमा अमेरिकी सामानको आयातलाई निरूत्साहित गरेको र बौद्धिक सम्पत्तिको चोरी गरेकोजस्ता आरोपहरू लगाएको थियो भने चीनले पनि अमेरिकाले आफूलाई विश्व व्यापार र राजनीतिबाट अलग्याउन अग्रसर भएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घमा गरेको सम्बोधनमा समेत चीनको बजार विकृतिलाई अब सहन सकिँदैन भनी त्यसको प्रतिराधे गर्ने चेतावनी दिएका थिए ।

जवाफमा चीनले अमेरिकाले विश्वमा राखेको एकपक्षीयता, संरक्षणवाद र आर्थिक आधिपत्य तोडिने डरमा चीनमाथि गलत आरोप लगाएको र यसबाट अमेरिकालाई नै घाटा पुग्ने बताएको थियो ।

विगत लामो अवधिदेखि व्यापार र वित्तीय प्रणाली, मानव अधिकार र राजनीतिक प्रणाली, ताइवान र हङकङ विषय, हुँदै जलवायु परिवर्तनलाई शक्ति संघर्षको विषय बनाएका यी दुई देश बिचको विवाद कोरोना भाइरसको संक्रमणदेखि अति तीव्र भयो र यही विषयलाई लिएर एकअर्कालाई होच्याउने र आक्रमण गर्ने क्रम सुरु भयो ।

कोरोना भाइरस प्रकरणमा पनि चीनले उहान सहरलाई लकडाउन गरेसँगै दुई मुलुकको बिचमा अविश्वास पैदा भएको थियो । उहान लकडाउन गरेको केही समयभित्र अमेरिकासहित ६० मुलुकले चीन भ्रमणमा प्रतिबन्ध लगाए भने दुई दर्जनभन्दा बढी मुलुकले आफ्ना नागरिकलाई त्यहाँबाट उद्धार गरे । यो घटनामा चीनले अन्य राष्ट्रहरु सहित अमेरिकालाई सहयोग नै गर्‍यो ।

चीन अमेरिका बिचको विवाद त्यतिबेला चुलियो, जतिबेला अमेरिकी राष्ट्रपति ट्रम्पले कोभिड–१९ लाई चिनियाँ भाइरस र विदेशमन्त्री माइक पोम्पेओले उहान भाइरस भनेर व्याख्या गरे ।

त्यसको जवाफमा अमेरिकाले बढी नौटंकी देखाएको भन्दै चीनले आलोचना गर्‍यो । चिनियाँ विदेश मन्त्रालयका एक शीर्ष अधिकारीले सामाजिक सञ्जालमार्फत यो भाइरस अमेरिकी सेनाको माध्यमबाट उहानमा आएको समेत बताए । त्यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाको यो रबैयाले विश्वव्यापीरुपमा अनावश्यक त्रास फैलिएको बताए ।

चिनियाँ कूटनीतिज्ञका अनुसार अन्य मुलुकले भाइरसको प्रकोपपछि चीनलाई नियन्त्रणका लागि सहयोग गर्न तत्परता देखाएको तर अमेरिकाले भने चीनलाई सहयोग गर्नुको साटो यो चीनको रोग भन्दै अन्य देशलाई पनि सहयोग गर्न निरुत्साहित गरेको आरोप लगाए ।

सुरू सुरुमा चीनको रोग भनी वेवास्ता गरेको ट्रम प्रशासनले अमेरिकामै सबैभन्दा बढी असर देखिएपछि र सबैभन्दा बढी मानिसहरुको ज्यान गएपछि बल्ल रोग नियन्त्रणमा तदारुकता देखाउन थाल्यो तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो ।

सुरुमा अर्थतन्त्रमा संकट आउने भनी लकडाउन नगरेको कारण ठुलो संख्यामा अमेरिकीहरुको ज्यान गयो र हालसम्म पनि सो अवस्था कायमै रहेको छ । यता चीनले भने आफ्नो देशभित्र रोग नियन्त्रण गर्नुका साथै रोगले ग्रस्त राष्ट्रहरुलाई औषधी, रोग नियन्त्रणका लागि आवश्यक मास्क र अन्य कपडा, पैसा र खाद्यान्न समेत उपलब्ध गराउन सुरु गरिसकेको छ ।

हालसम्म हरेक महामारी नियन्त्रणमा निर्णायक भूमिका खेलेको अमेरिका यो पटक गलत नीतिको कारण आन्तरिक समस्यामै अल्झिएको छ भने चीनले यसलाई अवसरको रुपमा उपयोग गरिरहेको छ ।

अमेरिकामा रोगको नियन्त्रण कावुबाहिर जान थालेपछि ट्रम प्रशासनले आफ्ना शुभचिन्तक राष्ट्रहरुलाई पनि चिढाउन थालेको छ । यसको उदाहरणको रुपमा एक जर्मन औषधी कम्पनीले कोरोना भाइरसको खोप निर्माणको विशेषाधिकार हासिल गर्न खोजेकोमा अवरुद्ध गर्नु, भारतलाई मलेरियाको औषधी निर्यातमा लागेको प्रतिबन्ध नहटाए जवाफी कदम चाल्ने चेतावनी दिनु, विश्व स्वास्थ्य संगठनले चीनको हितमा काम गरेको आराप लगाउँदै आफूले दिँदै आएको आर्थिक सहयोग रोक्का गर्ने चुनौती दिनु आदिलाई लिन सकिन्छ ।

यसको विपरित चीनले विश्व स्वास्थ्य संगठनले गरेका कामहरुको प्रशंसा गर्नुका साथै यो संक्रमण जो कोहीका लागि खतरापूर्ण भएकाले सबै एकजुट भएर काम गर्न आग्रह गरेको छ र आफ्नो देशमा कोरोना संक्रमण देखिँदा कैयौँ देशले आफूलाई सहयोग गरेको जनाउँदै विश्वका १०० भन्दा बढी देशमा सहयोग पुर्‍याएको छ ।

यसले के देखाएको छ भने विश्व राजनीतिमा अमेरिकी प्रभाव घट्दो छ भने चीनको प्रभाव क्रमशः बढ्दो देखिँदैछ ।

ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युट नामक थिङ्क ट्याङ्कका अनुसन्धानकर्ता अनालिसा प्रिजनका अनुसार, यो महामारीका समयमा देशहरु बिच आपसी सहयोगको नयाँ अवसर पनि देखिएको छ । उनि अगाडी भन्छिन, चीनले यो भाइरसको प्रकोपलाई रोक्नका लागि आफ्नो अनुभवबाट इटालीको सहयोग गर्नु यसको गतिलो उदाहरण हो ।

कोरोना भाइरसको यो संकटले अमेरिकी प्रभुत्व अन्त्य भई नयाँ युगको सुरुआत हुने धारणा अन्तर्राष्ट्रिय मामिलाका जनकारहरु बताउँछन् ।

कूटनीति तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ तथा लन्डनस्थित प्याक्स टेकम नामक कन्सल्टेन्सी फर्मका कार्यकारी निर्देशक गेजु एन्टोनिओ बाएजका अनुसार अन्तर्राष्ट्रिय परिवेशमा अमेरिकाको बर्चश्व अन्त हुने र अमेरिकाले छाडेको स्थान चीनले लिने धारणा राख्दछन् ।

उनी भन्छन, यो वैश्विक महामारीको समयमा अमेरिकाले एक कुटनीतिक महाशक्तिका रुपमा दखल दिन सकेको छैन । त्यसैकारण पनि विश्व कुटनीतिमा अमेरिकाले खाली गर्दै आएको स्थानलाई चीनले भर्ने मौका पाएको छ ।

त्यस्तै सन् २००१-२००२ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌का अध्यक्ष र सिंगापुरका स्थायी प्रतिनिधि किशोर मबुवानी भन्छन्, यो महामारीले अमेरिका केन्द्रित विश्वव्यापीकरणलाई चीन केन्द्रित विश्वव्यापीकरण्मा रुपान्तरण गर्नेछ ।यस्तैगरी अमेरिकी साइन्स जर्नालिस्ट र लेखिका लौरि गारेट भन्छिन्, कोरोना भाइरसले आर्थिक र वित्तीय क्षेत्रमा अत्यधिक प्रभाव पार्नेछ, निर्यात र वितरण प्रणालीलाई प्रभावित पार्दै विश्व राजनीतिमा नयाँ शक्तिकेन्द्रको स्थापना गर्नेछ ।

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थानका निर्देशक तथा अमेरिकी सुरक्षा विभागसँग सम्बन्धित विशेषज्ञ कोरी एन. साहके भन्छिन, “अमेरिका आफ्नो संकुचित रणनीतिका कारण विश्वराजनीतिको नेता बन्नसक्ने देखिँदैन । यो महामारीले नयाँ नेतृत्व जन्माउने सम्भावना देखिँदैछ ।”

त्यस्तै जोन होपकिन्स विश्वविध्यालयका प्राध्यापक निकोलस बलमे पनि अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बिग्रिने र नयाँ शक्ति केन्द्रको उदय हुने धारणा राख्दछन् ।

अहिले विश्व राजनीतिमा अमेरिकाको कमजोर उपस्थिति र चीनको सहयोगकारी भूमिकाले पनि अबको विश्व राजनिति अमेरिकाबाट चीनतर्फ सर्ने निश्चित देखिन्छ ।

अहिले अमेरिका देशभित्रकै समस्यामा अल्झिरहेको छ र कोरोना रोकथामका लागि चीनलाई गुहार्न बाध्य हुँदैछ तर पनि आफ्नो गिर्दो प्रभुत्वको रक्षार्थ इरान, उत्तर कोरिया र इटालीलाई सहयोगको प्रस्ताव अगाडि सारेको छ । अमेरिकाको उक्त प्रस्तावलाई इटालीले मात्र कुटनैतिक अर्थमा स्वीकार गरेको र अन्य राष्ट्रले अस्वीकार गरेकोमा अमेरिका ती राष्ट्रप्रति थप रूष्ट समेत बनेको छ ।

अहिले अमेरिका कोरोनाको कुनै असर नपरेको उत्तर कोरियाले जापानको समुन्द्रमा दुई पटक गरेको क्षेप्यास्त्रबाट भयभित छ भने तेहरानले उसको प्रस्तावको ठाडो इन्कारले क्रुद्ध समेत बनेको छ ।

हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रत्यक्ष रुपमा कुनै औँला उठाएका छैनन् । बरु उनले डेटा शेयरिङमा चीनको प्रशंसा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका जर्ज माग्नुस कोरोना भाइरसको कारण अमेरिका र चीनको सम्बन्धमा केही सुधार आउनु राम्रो हुने भए पनि यो व्यवहारमा देखिन नसक्ने बताउँछन् ।

यसरी चीन र अमेरिका बिचको विवाद विभिन्न विषयमा धेरै पहिलादेखि भएपनि यसको खास जड भनेको विश्व साम्राज्यवाद र समाजवाद बिचको लडाइँ नै हो भन्नेमा कुनै शंका गर्नुपर्ने देखिँदैन ।

यो तथ्यलाई अमेरिकी राष्ट्रपतिको यो सैद्धान्तिक आरोपले पनि पुष्टि गर्दछ । उनी भन्छन, ‘समाजवाद वा कम्युनिस्ट शासनले विश्वव्यापी रुपमा पीडा निम्त्याएको छ र भ्रष्टाचार उत्पन्न गरेको छ । यसले विस्तारवाद, घुसपैठ र उत्पीडन निम्त्याएको छ ।’ उनले क्युवा, उत्तर कोरिया र अन्य ल्याटिन अमेरिकी राष्ट्रप्रति देखाएको रबैयाले पनि सोही कुराको पुष्टि गर्दछ ।

अहिले विश्व दुई ध्रुवमा विभाजित हुन थालेको छ । केही पश्चिमा राष्ट्रले अमेरिकाको समर्थन गरेका छन् भने अधिकांश मुलुकले अहिलेको समय भनेको एकले अर्कालाई शत्रु देख्नुभन्दा पनि कोरोना भाइरसविरुद्धको लडाइँमा विश्व एक भएर लाग्नुपर्ने धारणा राख्दछन् ।

(लेखक मानवशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ ।)