थोमस रोबर्ट माल्थस, माल्थस, thomas robert malthus
 

थोमस रोबर्ट माल्थस (१७६६-१८३४) को जनसंख्या सिद्धान्त अर्थशास्त्रमा प्रारम्भदेखि नै पढाइ हुन्छ । इटालीका बोटेरो, बेलायतका वालेस र अमेरिकाका फ्र्याङ्लिनले जनसंख्या बारे लेखे पनि माल्थसको सन १७९८ मा प्रकाशित पुस्तक जनसंख्याको सिद्धान्त चर्चित भयो ।

माल्थस, Malthus's basic theory
माल्थसको आधारभूत सिद्धान्त

माल्थसका अनुसार खाद्यान्नको उत्पादन वृद्धि अंकगणितीय (लिनियर) आधारमा हुन्छ जस्तै १,२,३,४ … । जनसंख्याको वृद्धि ज्यामितीय (एक्सपोनेनसियल) आधारमा हुन्छ जस्तै १,२,४,८ … । खाद्यान्न र जनसंख्यामा असन्तुलन आउँदा विश्वमा प्राकृतिक प्रकोप र महामारीको कारण जनसंख्यामा कमि आउँछ । यस्तो निष्कर्ष निकाल्न माल्थसले लामो अनुसन्धान गरेका थिए । माल्थसकै जीवनकालमा सन १८०१ मा बेलायतमा पहिलो जनगणना सुरु भएको थियो ।

जनसंख्याको तुलनात्मक अध्ययन, population statistics
जनसंख्याको तुलनात्मक अध्ययन

माल्थसले सन १८०१, १८११, १८२१ र १८३१ का जनगणनाको आधारमा बेलायतमा सन् १७५० मा ६६ लाख रहेको जनसंख्या सन १८३१ मा १ करोड ४० लाख पुगेको उल्लेख गरे । माल्थसले अमेरिकाको १५० वर्षको जनसंख्या वृद्धिको अध्ययन गरेर हरेक २५ वर्षमा जनसंख्या डबल भएको निष्कर्ष निकालेका थिए । उनले सन् १७९९ मा नर्दिक देशहरूको अध्ययन भ्रमण गरेका थिए । त्योबेला बेलायतमा प्रत्येक वर्ष २० जनामा १ जनाको मृत्यु भएको थियो भने नर्वेमा ४८ जनामा १ को मात्र मृत्यु भएको थियो । यिनै तथ्यांकहरू समावेश गरेर सन् १८०३ मा माल्थसको पुस्तक दोस्रो संस्करण तीनगुना ठूलो आकारमा प्रकाशित भएको थियो ।

आज विश्व कोरोनाबाट आक्रान्त भएको छ । विश्वका ३ करोड जति मानिसहरू कोरोनाबाट संक्रमित छन् । विश्वमा ९ लाख ३३ हजारभन्दा बढी मानिसहरूको मृत्यु कोरोनाबाट भएको छ । हाम्रो नेपालमा आजसम्म ५६,७८८ जना संक्रमित छन् भने ३७१ को मृत्यु भएको छ । सन १७९३ मा आशावादी रहेका माल्थस १७९८ मा उनी निराशावादी भए । उनले ३८ वर्षको उमेरमा विवाह गरे अनि ३ सन्तानका बाबु बने जुन त्यो बेला अपवाद जस्तो मानिन्थ्यो । आजको स्रोतसाधनमा विश्वमा १२ अर्ब मानिसहरू बाँच्न सक्छन् तर जनसंख्या झन्डै १४ वर्षमा १ अर्बका दरले बढिरहेको छ । इस्वी सम्वत्‌को सुरुमा २२ करोड रहेको जनसंख्या आज २०२० मा ७.८ अर्ब पुगेको छ । के माल्थसको सिद्धान्त सही सावित भएको हो त ? यो सत्य होइन, संयोग मात्र हो ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । प्रस्तुत लेखमा उल्लेखित कोरोना सम्बन्धी तथ्याङ्क सेप्टेम्बर १५, २०२० को आधारमा हुन् ।)