theoretical discussion on coronavirus
 

कोरोनाको वास्तविकता र सकसको संकेत

कोरोना विषाणुले मानव अस्तित्वमाथि धावा बोलिरहेछ । विश्व मानव चित्रमा संवेदनाहीन पुँजीवादी संस्कृति र मानसिकताको लेपनले बिनामुलाहिजा भनिरहेछ, मानवद्वारा सिर्जित कोरोनाको भयावहले आक्रन्त पारेपछि यसको निर्मूल स्वयं मानवद्वारा मात्र संभव छ ।

मानवजातिले विज्ञान र प्रकृति विरुद्ध गरिएको ध्वंसको सामना, वैज्ञानिक विधिबाट खोज गर्नु अपरिहार्यताको सन्देश प्रवाह गरेको छ। प्रकृतिमाथि गरेको अतिक्रमण र हिंसात्मक व्यवहार दिगो हुन सक्दैन भन्ने मान्यताको स्वीकारोक्ति गर्न विश्वलाई चेतावनी दिएको छ । यसबारे थाहा भएर पनि सम्बोधन नगरकोले महाव्याधिको दिगो रोकथाम संभव नभएको हो ।

कोरोनाको नियन्त्रणमा चीनले सापेक्षित अवतरण गरेपनि नेपाल देशले पनि कोरोनालाई आयातित गरिरहेको पुष्टि भइरहेको छ । चीनको उहानबाट शुरु भएको कोरना भयावह अहिले विश्वको २१० देशमा संक्रमण भएको छ । अमेरिका र युरोपले चीन लगायत देशलाई दोष थोपरिरहेकोमा अहिले अमेरिका र युरोपिएन मुलुकमा नै सबैभन्दा बढी संक्रमण र मानवीय क्षति भएको छ । अमेरीकामा मृत्यू हुनेको संख्या कहालीलाग्दो तरिकाले बढ्दै छ । यसले इटाली, फ्रान्स, स्पेनमा पनि सोही अनुपातमा जोखिम बढिरहेकै देखिन्छ ।

कोरोना भाइरस रोक्न सफलोन्मुख मानिएको चीनपछि धेरैजसो देशमा आफ्नो परिवेश अनुसार बन्दाबन्दी र दुरी कायम गरिएको छ । विश्व स्वास्थ्य संगठनले उल्लेख गरे अनुसार करिव ७० कम्पनीले भ्याक्सिन बनाउन शुरु गरेका छन् । यसमध्ये चीन, अमेरिकाले भ्याक्सिन बनाउने अग्रभागमा छन् । कोरोनालाई अमेरिकी राष्ट्रपति ट्रम्पले छिटै भगाउने उद्घोष र बेलायतका प्रधानमन्त्रीले १२ हप्तामा नियन्त्रण लिने भनेता पनि सफल हुन सकेनन् । विश्व स्वास्थ्य संगठन र विभिन्न वैज्ञानिकहरुको अध्ययन अनुसार भ्याक्सिन बनाएर मानव सुरक्षा नरहेसम्म यसको असर लामो समय रहने संकेत गरेका छन् ।

Sitaram thapa Seeta Ram thapa
लेखक

चीनले सबै उपाय अवलम्बन गरेर सापेक्षिक कोरना नियन्त्रण गरेपनी अन्यत्र देशमा चुनौतीको हिम शिखर बन्ने देखिन्छ । चीन, दक्षिण कोरिया, भारत कडाई लागु नगरे नेपालको चुनौती बन्नेछ । यसैले नेपाल, भारत र चीनको बिचमा समन्वय हुनुपर्छ ।

अमेरिकामा कोरोना भयावहको आरम्भको १ हप्तामा ३३ लाख मानिस बेरोजगार भएर हाल लाखौँको संख्या भएको अवस्थाबाट संवेदनशील हुन पर्दछ। चीनमा भयावह नियन्त्रणबाटबाट सिक्नुको बदला अहिले पनि अमेरीकाको नेतृत्वले विश्व स्वाथ्य संगठनलाई चीनपरस्त भएको आरोपित गरी असहयोग गर्ने संकेत गरिरहेको छ । विश्व स्वास्थ्य संगठनमा लगानीको दुईतिहाइ हिस्सा अमेरिकाकै रहेको छ । विश्व राजनीतिक मानचित्रमा दुई भिन्न राजनीतिक दृष्टिकोण र व्यवहारलाई विश्लेषण गरेर सिक्ने अवसर मानव जगतलाई श्रृजना भएको छ ।

चीनको नेतृत्वले आफै सरिक भएर सबै विषयगत विज्ञ र संरचनालाई संयोजन गरी एकीकृत प्रयासबाट कोरना नियन्त्रण गरेको थिए । चीनले लकडाउन गरी तत्कालै सर्भेक्षण गरेर यसको आधारमा प्रत्येक व्यक्तिलाई घर नम्बरको र खाने व्यक्तिको स्वास्थ्य परीक्षण गरी ट्याग नम्बरको आधारमा खानपानको व्यवस्थापन गरिन्थ्यो । बृद्ध, दीर्घरोगी र खाना बनाउन नसक्नेलाई बाहिरबाटै प्याकिङ खानाको व्यवस्था गरेको थियो ।

चीनमा कार्यरत डा. रमेश आचार्यको अनुसार कोरना भाइरस प्रवेश गर्दैमा अस्पताल जानै नपर्ने हुँदा जोखिम क्षेत्रको सबै नागरिकलाई घरमै दिनको दुई पटक परीक्षण गरी व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता र मानसिक अवस्था अनुसार रोकथामको विधि अबलम्वन गरिएको थियो । व्यक्तिको मनोबल उँचो बनाउने, खानपान, पोषण र औषधिको मात्रा मिलाउने यसका लागि  जनमुक्ति सेना र नर्स स्वयंसेवकलाई घरमै द्रुत गतिमा परिचालन गरेर नियन्त्रण गरिएको हो ।

क्युवा, रुस, दक्षिण कोरिया, भनेजुएला जस्ता देशले जोखिमको आरम्भमै चीनसँग सिकेर त्यहाँको नेतृत्वले कोरना नियन्त्रण प्रभावकारी र सावधानी ग्रहण गरे । नेपालजस्तो देशलाई सहयोग गर्ने वचन दिँदा पनि सहयोग लिनुको बदला जनताको नाममा ऋण लिनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।

यी देश बिचको विज्ञता र भरपर्दो सहकार्यले कोरना रोकथाममा बलियो बनाएको विश्लेषण गर्न सकिन्छ । इतिहासमा राजनीतिक, धार्मिक, अनुवांशिक युद्ध रोकथाममा मानवजातिको ठुलो क्षति भएको छ। यस्तो क्षतिबाट जोगाउनु नै नेतृत्वको इतिहासले समीक्षा गरिरहने छ ।

१६औँ शताव्दीमा बिफरले मेक्सिको, अमेरिका, स्पेन, बेलायत, फ्रान्स, नेदरल्याणडमा आदिबासीहरुको बस्ती नै समाप्त पारेको थियो । प्लेगले युरोपमा ५० लाख हुँदै ५ करोड मानिसको ज्यान लिनुमा क्रिश्चियन धर्म प्रचार प्रमुख करण थियो । प्लेगको माहामारीले एक तिहाई मानवको क्षति संसारकै सबैभन्दा ठुलो क्षति भएकोले लकडाउन र सामाजिक दुरी कायमको सुरु भएको थियो ।

कोरना भाइरस माहामारीलाई चीनमा लाग्दा विश्वले हाम्रो मानवीय समस्या स्वीकारेर ऐक्यबद्धतामा रोकथाम गरेको भए यो लडाइँ मानवजातिले जित्ने थियो । यसबेला यति ठुलो उथलपुथल र हलचल पैदा गरी मानिसको काबुभन्दा बाहिर छ भन्ने साझा विश्व नेतृत्व र विज्ञताको दुरदर्शितालाई नजरअन्दाज गर्नु मानव शास्त्रीय दृष्टिले मानवकै हितार्थ कमजोर सावित गरेको छ । मानवशास्त्रीय दृष्टिले हाम्रो समस्या नभनी तिम्रो समस्या भन्नु र कुनै पनि भयावहको युद्धमा एक्लाएक्लै लडेर उन्मुक्ति हुन सक्दैन भन्ने मान्यता स्वीकार नगर्दा ठुलो मानवीय क्षति भइरहेको छ । यसले मानव समाजका अगाडि चुनौती खडा भएको छ । मै हुँ भन्ने मुलुकहरू यतिबेला अरु देशलाई सघाउनेभन्दा आफ्नै देश जोगाउने हैसियतमा पुगेका छन् । विश्व एउटै चुनैतीको मालामा उनिएको हुँदा समाधानमा पनि एउटै माला गाँस्ने अगुवाई भएमा युद्ध जित्ने मानवजाति नै हुने थियो ।

संसारभर मानवजातिमा संकट पैदा हुँदा सबै मानवजातिकै संकट हुने हुँदा सबै मानवजाति एकै रहेछन् भन्ने चिन्तन प्रणाली र व्यवहार ग्रहण नगरी समावादमा पुग्ने लक्ष्य गुम्नाम हुनेछ । समाजवादी सोचको जीवन संस्कृतिको अगुवाई भएमा कोरनाको माहाब्याधि आयातित हुँदैनथ्यो । कोरोना रोकथाम सरकार र नागरिक दुवै अनुशासन र इमान्दारिताको संस्कृति समान हुनेमा भरपर्ने कुरा सिक्न सकिन्छ । नेपालले विश्वबाट सिकेर समयमै नियन्त्रण गर्न सकिने विश्लेषण गर्न सकिन्छ ।

कोरोनाको संकेत र स्वीकारोक्तिहरु

अमेरिका र र युरोप लकडाउन नगरी व्यापार गरी चीनजस्ता देशलाई पछि पार्ने चिन्तनले आफैलाई हानी गरिरहेको छ । यसले सामान्य उपकरण र जनशक्ति समेत अभावको स्थितिमा पुगेको अवस्थामा चीन धेरै देशमा उपकरणसहित सहयोगी भावना देखाएर सघाउनुलाई विश्व नेतृत्वमा अर्थपूर्ण रुपमा हेर्ने अवसर हामीलाई गरेको छ ।

विश्व राजनीति भविष्यमा अमेरीकालाई युरोपिएन पुँजीवादी देशहरुले समेत असहयोगीको रुपमा हेर्ने विश्लेषण गर्न मार्गप्रशस्त गरेको छ । यसको भयावहले निरन्तरता पाएमा विश्व अर्थतन्त्रमा समेत नयाँ खोजीमा ऐक्यबद्धता हुनु मानवजातिको हितार्थ हुने विश्लेषण गर्न सकिन्छ । मानवजातिको यो संकटको घडीमा पुर्ननिर्माणमा लाग्नेहरु नै मानव इतिहासका निर्माता र नेतृत्वदायी शक्ति हुने कुरा भविष्यवाणी गर्न सकिन्छ ।

यद्यपि गरिब देशको पहुँच नभएपनि आफ्नै अनुसन्धान र विज्ञ समूह लागी पर्ने, विज्ञान प्रविधि र स्वाभिमान दुवै हिसाबले अवसर र चुनौती हो । कोरनाजस्ता माहामारीहरुलाई रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि कृषि भूमि र जडिबुटी र सरसफाइयुक्त वातावरण नेपाल भूमिको प्राकृतिमा भरीपूर्ण रहेको छ । सहयोगी जीवन र आत्मबलको संस्कृतिमा हुर्किएको नेपालीले यसको जर्गेना र विकास गर्न अवश्यक छ ।

कोरना मात्र नभएर सबै सरुवा रोगहरु एउटा स्वास्थ्यसँग सम्बन्धित मात्र नभएर यो अर्थ राजनीति, मनोविज्ञान, शिक्षा, समाजशास्त्रदेखि सबैक्षेत्रलाई प्रभावित बनाउने हुँदा सबै क्षेत्रको संयोजनमा एकीकृत प्रयासको थालनी गराउनुपर्ने थियो । यसमा चुकेकोभन्दा अतिशय नहोला ।

कोरोनाबारे अर्को महत्त्वपूर्ण कुराको खोज आवश्यक छ । अमेरिका र युरोपमा नियमित स्वास्थ्य परीक्षण गरी शरीरमा आवश्यकता अनुसार नापेर क्यालोरी खाने ठाउँमा संक्रमण र मृत्यूको भयावाह हुने तर दक्षिण एसिया हुँदै भारत र नेपाल जस्तो देशमा कम भयावह हुनु अनौठो खोज अनुसन्धानको बिषय हुन सक्छ ।

यसमा चीनबाट उक्त देशमा सरेको र उनीहरु संवेदनशील नभएको पनि अर्को सत्य हो । उक्त देशमा पुँजीवादी लोकतन्त्र र स्वतन्त्रताको नाममा स्वच्छन्दताको संस्कृति छ । १८ वर्षमै घरबाट छुटिएका युवा युवति जोडी बनेर बार र रेष्टुरेण्ट, फिल्महलमा जानेजस्ता कार्यहरूले कोरोना संक्रमणको जोखिम बढेको विश्लेषण गर्न सकिन्छ । चरम व्यक्तिवादी सोच संस्कृति मानव सभ्यताका लागि घातक छ भन्ने सन्देश यसले पनि प्रवाह गरिरहेछ । जुन नेपालले मन्दगतिमा यो संस्कृतिको विष सेवन गर्न विवश छ ।

चीन शुरुमा एकैपटक भयावह हुँदा केही अलमल भएपनि नियन्त्रण सफलतामा आत्मअनुशासन र सभ्य संस्कृति पनि जिम्मेवार छ । नेपालमा बीसीजी लगायतको भ्याक्सिन लगाउनु, खानपिन, धर्म, संस्कृति, बसोबास, धुलो, धुँवा र वातावरणको कारण जोखिम कम भएको हुनसक्ने अर्को आँकलन गर्न सकिन्छ, त् यस विषयमा अनुसन्धान हुनु जरूरी छ ।

कोरोनाबाट जोगिन, ‘म होइन, हामी’ भन्ने दर्शनलाई अङ्गीकार गर्ने सन्देश दिएको देखिन्छ। कोरोनाको लक्षण एउटै देखिँदैन । चीनमा खोकी, ज्वरो थियो भने अमेरिकामा पहिलो केस नै पखाला लाग्ने भएको अध्ययनले देखाएको छ ।

नेपालमा आइपुग्दा चीन र अरु देशको जस्तो गम्भीर प्रकृतिको समस्या खासै नभएको सरकारले बताइरहेको छ। यही अध्ययनको आधारमा विश्व स्वास्थ्य संगठनले धेरै लक्ष्णहरु देखाएको छ । कोरोनाको अन्तिम अध्ययनपछि यो लक्षण खुम्चिएर विशिष्ट केही लक्षणहरुमा सीमित हुने विज्ञहरूको दावी छ।

कोरोनाः तत्कालीन चाल्नुपर्ने कदम

कोरोनालाई दुई हप्तामा क्वारेन्टाइनमा राखिने भनिए पनि नेपालको काठमाडौँको एपार्टमेन्टमा चार हप्तामा देखिएको छ । यस्तो सवाललाई विज्ञहरुले देशअनुसार फरक हुनसक्ने आँकलन गरेको छन् । त्यसैले यसको अहिलेको जस्तै सरकारले सही तरीकाले परीक्षण नगरेमा भयावह हुन सक्नेछ ।

यो रोग विश्वभर बालबालिका र किशोरावस्थामा कम देखिएको छ । यसबारे पनि आधिकारिक अध्ययन अन्तर्राष्ट्रिय स्तरमा पनि भएको छैन । चीन, अमेरिका र युरोपमा फरक लक्षण भएको कारण मेरो विचारमा नेपालमा यसको आरम्भदेखिनै आफ्नै विशिष्टतामा अनुसन्धान गरिनु हितकर हुनेछ ।

कोरोनाको रोकथाममा सबै निकायले नेपालमा एकीकृत प्रयास र संयोजनमा गर्नुपर्ने थियो । त्यसैगरी आफ्नै विशिष्टताको आधारमा कोरोनाको एकीकृत अनुसन्धान गर्दै जानु आवश्यक हुन्छ । यसका लागि सरकारले विश्वविद्यालयको बायोटेक र माइक्रो बायोलोजिष्ट, प्राध्यापक, जनस्वास्थ्यविद्हरु मनोविद्हरुलाई विशेष जिम्मेवारी दिनुपर्थ्यो र पर्छ ।

सरकारी तथा गैरसरकारी, विश्वविद्यालयहरु र निजी क्षेत्रको संलग्नतामा यसको रोकथाम र अनुसन्धान गरेको भए सरकारलाई मात्र भार पर्दैनथ्यो । कारनाको अन्त्य सबैको साझा दायित्व हो भनेर बुझ्न सकिन्छ ।

कोरोनाको भरपर्दो नियन्त्रणका लागि सरकारले विदेशी चिकित्सक र अध्ययनकर्ताको अनुभव लिने र सोही अनुसारको नीति बनाउने र व्यवस्थापकीय भूमिका निर्वाह गर्नु आवश्यकक छ ।

चीनका राष्ट्रपतिले कोरोना नियन्त्रणलाई सफल बनाउन आफै नेतृत्व लिएको र भारतको मोदीको टिम समेत आफै कोरोना अनुगमनमा लागिपरेको सञ्चार प्रवाह भयो । नेपालमा सरकारले एक्कासी कोरोनाको आँधीहुरी सृजना गरेपछि यसको त्रासले मन्त्रीहरुदेखि कर्मचारी र नेता, अधिकारकर्मीदेखि नेतृत्व वर्ग लकडाउनमा थुनिएर बसेको देखिन्छ ।

यतिबेला नेपालको नेतृत्ववर्ग र कर्मचारीले कोरोना युद्धमा खेलेको भूमिका सचेत जनता नियालेर हेरिरहेका छन् । यसले जनताप्रति इमान्दारिता र जवाफदेहितामाथि इतिहासमा प्रश्न चिन्हको रुपमा समीक्षा हुन सक्नेछ ।

कोरोनाले देश आर्थिक-सामाजिक रुपमा लथालिङ्‌ग भएमा वर्गीय समाजमा कुनै पनि तरिकाले अकुत सम्पति आर्जन गर्ने नेपाली निजी पुँजी लिएर विदेशिने संभावना हुन्छ । अर्काथरी देशभित्रकै कुनै माफियाको चंगुलमा फस्नसक्ने खतरा पैदा हुन्छ।

यसले फेरि पनि श्रमिक, गरिब र मध्यम वर्गलाई महासंकट पर्ने र भोलि राजनीतिक संरचना र नेतृत्वमाथि जनताले प्रश्न गर्ने अवस्था आउन सक्ने छ ।

कोरोनाले धार्मिक अन्धविश्वासमा भने खासै ठुलो प्रभाव पर्दैन । यो कुराको पाठ अन्तर्राष्ट्रिय स्तरमा भएको युद्ध र माओबादी जनयुद्धपछिको समाजलाई हेर्न सकिन्छ । सांस्कृतिक रुपान्तरणको अभियान नचालेसम्म धार्मिक अन्धविश्वासको असर पनि पछाडि परेको वर्गलाई नै पर्नेछ ।

हुने र नहुने वर्गमा विभाजित समाजमा नहुने वर्गका लागि समयमै र भरपर्दो राहात प्याकेज नआउनु सरकारको जिम्मेवारी र अर्थनीतिकै पुर्नसंरचनाको प्रश्न हो । सरकार र सरोकारवाला निकायले भरपर्दो मापदण्डसहित राहत र आवासको प्याकेज लगायत नल्याउँदा काम गरिखाने मानिस दशौँ दिन हिँडेर घर जाने अवस्था सिर्जना भएको छ । यसका लागि हिँडेर घर जाने जोखिमको विकल्प सुरक्षित तवरले गाडीबाटै पठाउने वैकल्पिक व्यवस्था गर्न सकिने छ ।

सरकारले कतिपय सुन्दर लाग्ने निर्णयहरु सार्वजनिक गरे पनि लागु नहुने देखिएको बताइन्छ । राहत, घरभाडा, बैंकिङ, पानी, बिजुली लगायत निर्णय कार्यान्वयन नहुने देखिएता पनि संकटकोबेला काम गरेर देखाउने सरकारकै हितकर छ । उल्लेखित समस्य श्रमिकलाई मात्र नभएर काम गरिखाने तल्लो मध्यमस्तरका जनतालाई समेत सम्बोधन गर्न एउटै मापदण्ड सार्वजनिक गरी कार्यान्वयन गरेर देखाउने सुनौलो अवसर हो ।

सरकारले गरेका प्रयासहरु स्थानीय निकायमा विविधता र जटील हुँदा समस्या बनेको छ । धेरैजसो ग्रामीण बस्तीमा अन्न भएकाले यो जटील समस्याको कारण खाजेर समाधान गरिहाल्नु फलदायी हुनेछ । स्वास्थ्य उपकरण खरिदमा विविदित बनेजस्तै आपूर्ति व्यवस्थापनमा एक जना थुनिएर विवादित हुनु दुःखद पक्ष हो। भारतीय नाकाहरुबाट सामान आयात गर्दा स्प्रे गरेर ल्याउने नीति भएपनि अझै भरपर्दो व्यवस्थापन गर्नु जरुरी छ ।

कोरोना रोकथामका लागि सबैखाले विज्ञहरुको सहयोग लिने संरचनामा निवृत्त विज्ञहरु र चिकित्सकलाई परिचालन गरिनु पर्दछ । परीक्षणको दायरा फराकिलो बनाउने, विज्ञहरुबाट कोरोना नियन्त्रणको बहुमुखी आयामहरुको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर आउने योजना बजेटमा समावेश गर्न सकिनेछ ।

छिमेकी देशबाट सिकेर लामो अवधिको लकडाउनमा दीर्घरोगी, बृद्ध र बिरामीको भरपर्दो उपचार गराई उनीहरुको रोगप्रतिरोधात्मक क्षमता कम हुने हुँदा कोरोना लगायत सरुवा रोगबाट समेत बचाउने प्रबन्ध गर्न सकिन्छ।

कोरोनाले विश्व अर्थतन्त्रमा १७० मुलुक प्रभावित बनाउँदा नेपाल झनै प्रभावित हुने सुनिश्चित छ । विश्व बैंकले आर्थिक बृद्विदर २ प्रतिशत हुने आँकलन र लकडाउनले ३१ वटा भन्सारको नाकाको आम्दानी शून्य बनाएको छ ।

वैदेशिक रोजगारीमा कमी आउने संकेतले बेरोजगारको चुनौतीको सामनाको साथै रेमिट्यान्सले धानेको अर्थतन्त्रको हिस्सामा समेत स्खलन हुने सक्नेछ । पर्यटनले थामेको १७ प्रतिशत आम्दानीमा पनि गिरावट आउने र महङ्गा गाडी, बिलासिताका साधन, मदिरा तथा सुर्तिजन्य वस्तु उपभोगले अर्थतन्त्र धरापमा परेको छ ।

संघीयताले प्रशासनिक खर्च बढेको र कृषि पशुपन्छी क्षेत्रको उत्पादन बजार आउन नसकेर करोडौँ बिनाश भएको छ । यसका लागि सरकारले बृहत गृहकार्य गरेर प्रशासनिक खर्च कटौती गर्ने सरकारी, निजी, गैरसरकारी क्षेत्रलाई परिचालन गरी ग्रामीण जनमुखी अर्थ संरचनामा रुपान्तरण गर्नुको विकल्प छैन ।

सरकारले जेष्ठ १५ गते बजेट ल्याउन ठुलो चुनौतीको सामाना गर्नुपर्ने छ। कोरोनाको स्वास्थ्य प्राविधिक पक्षमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन । यसका लागि प्राविधिक र व्यस्थापन पक्ष दुवैको अन्तरसम्बन्ध पारदर्शी हुनुपर्छ ।

कोरोनाको युद्धको अग्रभागमा रहने स्वास्थ्यकर्मीलाई आवश्यक गुणस्तरीय सुरक्षा कवज र उपकरणको व्यवस्थापन गरी स्वास्थ्यकर्मी र सुरक्षा निकायलाई दिन ढिलाई गर्नु हुँदैन।

परीक्षणको यर्थाथता र निष्कर्षः

कोरोना दिगो रुपमा मानव शरीरमा मात्र जीवित रहने हुँदा मानव शरीरबाट अन्त्य गरिनु पर्छ। यसले बृद्ध र दीर्घरोगीलाई २० प्रतिशत असर गरेको र २ प्रतिशत मृत्यू भइरहेको कुरा ध्यान दिनुपर्छ।

यो भयावह भएमा उच्च मनोबल र सकरात्मक सोचको साथ दुईतिहाइ मानिस अस्पताल नगई घरमै नियन्त्रण गर्ने तयारी गरिनु पर्छ । मानिस कोरोना परीक्षणमा ढिलो भएपनि द्रुत डाइग्नोसिस परीक्षण र पीसीआर परीक्षण दुवै केही जिल्लामा सुरू भएको छ ।

कोरोना माहामारी विरुद्ध लड्ने सरकारको दायित्व हो । रोगसँग लड्ने विज्ञ चिकित्सक र भाइरस विरुद्ध लड्ने विशेषज्ञहरुले हो । यो स्वास्थ्यसँग मात्र सम्बन्धित नभएर एकीकृत व्यवस्थापन हो । कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले मान्यता प्राप्त उपकरण मात्र प्रयोग गर्नु पर्दछ । भरपर्दो नभएमा चिकित्सकदेखि सबैमा स्वास्थ्य मात्र नभई मनोवैज्ञानिक असर गर्दछ ।

अहिले नेपालमा द्रुत परीक्षणले दुई हप्तासम्म पनि नतिजा नआउने र कोरोनाको लक्षण नदेखिन पनि सक्छ । द्रुत डायग्नोसिस परीक्षण समुदायस्तरमा उच्च जोखिम पत्ता लगाउन मात्र गरिन्छ । त्यसैले नेपालले विश्व समुदायबाट सिकेर कोरोना विरुद्धको युद्वमा संवेदनशील हुन जरुरी छ । यसका लागि सबै क्षेत्र समुदाय व्यक्तिहरु कोरोना नियन्त्रणमा ऐक्यबद्धता हुनु आवश्यक छ ।

(लेखक सामाजिक अभियन्ता र विश्लेषक हुनुहुन्छ ।)