कोरोना भाइरस विषय केही लेख्न मलाई आवश्यकता लागेको थिएन किनकि यसमाथि प्रशस्तै लेखहरू र समाचार विभिन्न माध्यमबाट आइरहेकै छन् । अर्को कुरा सटिक र विश्वसनीय सूचना राख्न कठिन छ । यसको वैज्ञानिक अनुसन्धान अझ भइरहेकै छ । अड्कलबाजी, अन्तर्राष्ट्रिय राजनीति, षडयन्त्रको आशंका भइरहेकै छ। कोरोना भाइरसले वुहानमा ताण्डव मचाउन थालेपछि मलाई चासो बढ्यो । नेटमा धेरै लेखहरू उपलब्ध रहेछन् । तिनै लेखहरूको सारांश राख्ने विचार रह्यो ।
के हो कोरोना भाइरस र यसको विज्ञान ?
१. कोरोना भाइरसको प्रकोप धेरै अघिदेखि रहेछ । यो विशेषगरी श्वास प्रणालीमा प्रभाव पार्ने सुक्ष्म जीवाणु रहेछ । वुहानमा देखिएको भाइरसचाहिँ पहिलाकोभन्दा फरक भएको कारण यसलाई नोवल वा नयाँ कोरोना भाइरस भनिएको हो । कोरोना वास्तवमा किटाणु होइन अर्थात् यो जीवाणु होइन । तर जब यो कुनै जीवित प्राणीभित्र प्रवेश गर्छ, यो जीवजस्तो बन्छ र यसले आफ्नो विस्तार द्रुत गतिमा गर्न सक्दछ । मान्छेको फोक्सोमा यसले आक्रमण गर्दछ । यो २०१९ मा थाहा पाइएको कारण विश्व स्वास्थ्य संगठनले यसको नाम कोभिड-१९ राख्यो ।
२. कोरोना भाइरस आरएनए हो । यसलाई आरएनए प्रोटिन पनि भनिन्छ । यो नयाँ कोरोनाको बाहिरी परतमा बोसो जडिएको हुन्छ । यो बोसो साबुन या अल्कोहोलमा बिलिने हुनाले हात साबुनले धोए हातमा रहेको छ भने पखालिएर जान्छ भनिएको हो । यसको हात खुट्टा जस्तो साना-साना अङ्गहरू बाहिर निस्केको हुन्छ । यसैको सहाराबाट यसले मानव शरीरभित्र प्रवेश लिन्छ ।
३. षडयन्त्र सिद्धान्तमा विश्वास गर्नेहरू यो मानव निर्मित हो भनिरहेका छन् । ठूलाठूला राष्ट्रहरूले जैविक हतियार बनाउने प्रयास गरिरहेका समाचारमा अघिबाटै आएको हो । विश्वको धनाढ्यतम् व्यक्ति बिल गेट्सले केही वर्षअघि एक भाषणमा जैविक हतियारले ठूलो मानव क्षति पुर्याउन सक्ने आशंका जनाएको थिए । तर यो नयाँ कोरोना भाइरस मानव निर्मित वा कृतिम होइन भनेर वैज्ञानिकहरूले भनिरहेको पाइन्छ । उनीहरू भन्छन् मान्छेले अनुकरण गर्न सक्तछ तर प्रकृतिमा नदेखिएको नयाँ वस्तु भने निर्माण गर्न सक्तैन । यो नयाँ भाइरस एकदमै फरक छ पहिलाको भन्दा । त्यसैले यो प्रयोगशालामा बनिएको हुन सक्तैन । यसकारण यो प्राकृतिक हो ।
४. जंगलका जन्तुहरूमा अनेकौँ प्रकारका भाइरसहरू पाइन्छन् । तर ती भाइरसहरू मान्छेमा हत्तपत्त आउँदैनन् र एकप्रकारको छेकाबार हुन्छ । यो नयाँ कोरोना भाइरस चमेरा वा पेंगोलिनबाट आएको हुनसक्ने अनुमान गरिएको छ । यो मान्छेमा कुन माध्यमबाट आयो भन्ने प्रश्न अझै अनुसन्धान हुन बाँकी छ ।
५. समय समयमा भाइरससित मान्छे जुझ्नै पर्दछ र यसबाट पूर्णतः मुक्त भने हुन सकिँदैन । धेरै पुरानो समयदेखि नै मान्छेलाई भाइरसले सताइरहेकै छ । त्यसैले मान्छेले भाइरसबाट बाँच्नलाई जीवनशैलीमा आवश्यक परिवर्तन गर्न अनिवार्य हुन्छ ।
६. भाइरसबाट बाँच्नका निम्ति अहिले उपचार, रोग रोकथामका लागि भ्याक्सिन र तेस्रो तरिका हर्ड इम्म्युनिटि भनिन्छ । हालसम्म उपचारको विभिन्न प्रयोग गरिए तापनि सटिक दवाई भेटिएको छैन । रोग निदानको दवाई नभएर सहायक उपचार मात्र भइरहेछ । रोग लागेर निको हुने मान्छेलाई फेरि यो रोग नलाग्न सक्छ किनकि उसको यो रोगसँग लडने प्रतिरोधी शक्ति विकास हुन्छ । यद्यपि यो भनाइ पनि अहिले प्रमाणित सत्य होइन । तर पनि यस्ता रोगमुक्त व्यक्तिको शरीरबाट रगत निकालेर त्यसबाट प्लाज्मा छुट्याएर नयाँ रोगीहरूको उपचारका निम्ति प्रयोग गरिँदैछ। भ्याक्सिनको अनुसन्धान र केही प्रयोग भइरहेका छन् । तर वैज्ञानिकहरू भन्छन यसको निम्ति कमसेकम अठार महिनाको समय लाग्नेछ ।
हर्ड इम्म्युनिटि त्यस्तो उपाय रहेछ, जस अनुसार यो रोग धेरैलाई सर्न लगाउँछ । यो रोगले कतिलाई प्राण लिने हुन्छ, कति आफै निको हुन्छ । एक तिहाइ जनसंख्यामा संक्रमण भइसकेपछि रोग प्रतिरक्षण क्षमता विकास हुन्छ । यसपछि अन्यलाई सताउँदैन । तर यसमा धेरै जोखिम रहेको कारण वर्तमान विश्वको कुनै पनि देशले अपनाउन सकेन ।
७. अहिले यो रोगले विश्वलाई नै आतंकित बनायो र प्रायःजसो विश्वका सबै राष्ट्रहरू यसको चपेटामा आएको छ । यो किन यस्तो भयो ? यसको दोष उनीहरू मुक्त प्रजातन्त्र वा पुँजीवादलाई दिइरहेका छन् ।
विश्वव्यापीकरण र कोरोना
सन् १९९० को संसार र अहिलेसम्म २०२० को संसारमा धेरै अन्तर आएको छ । १९९० सम्म विश्व दुई धुरीमा थियो । खुला व्यापार आएको थिएन । बहुराष्ट्रिय कम्पनीहरूको बोलबाला थिएन । व्यापारको फैलावट कम थियो ।
१९९० देखि भारतले आफ्नो लाइसेन्स राज समाप्त गर्यो । चीनले पनि उसको देश व्यापारको निम्ति १९७८देखि खोलेको थियो । त्योभन्दा अघि माओ त्सेतुङको आत्मनिर्भर र आत्मनिर्णयको नीतिमा चल्थ्यो । देशको व्यापार विदेशीको निम्ति खोलिएको थिएन । १९८९ मा सोभियत संघ विघटन भयो । एउटा ठूलो देश टुक्रिएर थुप्रै देशहरू हुन पुगे । सोभियत संघको प्रभावमा रहेका धेरै साना-साना अविकसित राष्ट्रहरूको दिशा परिवर्तन भयो ।
इतिहासको यो घटनाक्रमले संसार बदलियो संसारको व्यवस्थामा परिवर्तन आयो । ठूलाठूला बहुराष्ट्रिय कम्पनीहरूले विश्वका अनेकौँ भागहरूमा आफ्नो पैताला फैलाए । यसले मान्छेलाई एक देशदेखि अर्को देश जान मात्र होइन, देशहरूको भौगोलिक सिमाना बेमानी बनाइदियो । असंख्य मानिसहरू एक देशदेखि अर्को देशमा जाने हलचल बढ्यो । आप्रवासी नियमहरू खुकुलो भयो । गरिब मुलुकका गरिब मानिसहरू सम्पन्न देशमा आफ्नो भाग्य चम्काउन जानपाउने भए । यसले एक अर्को परिवर्तन पनि ल्यायो । पहिला-पहिला विकसित मुलुकका ठूलाठूला कम्पनीहरूका सञ्चालक त्यही देशका गोराहरू मात्रै हुनेगर्थे । तर अब गरिब र तेस्रो विश्वबाट आएका मानिसहरू पनि आफ्नो प्रतिभा र परिश्रमको बलले उच्च पदहरू हासिल गर्न थाले । जुन देशहरूमा जातको बढी महत्त्व थियो र सबै जातकै आधारमा निर्णय हुन्थ्यो । त्यहाँ पनि प्रतिभा र समावेशीको बहस चल्न थाल्यो । फलस्वरूप पहिला जुन समुदायबाट उच्च पद ओगट्न असक्षम भनेर हेपिन्थे, ती समुदायका सदस्यहरू पनि उच्च पद ओगट्न थाले । समाज अधिक समन्वय र समानतातिर अग्रसर हुन थाल्यो ।
मान्छेको अति सहज आवतजावतले तर राम्रो मात्र होइन नराम्रो कुरा पनि सहज आवतजावत हुने भयो । यसले व्यापार बढायो, मान्छेको जीवनस्तरमा सुधार आयो । तर यसले बिमारी पनि एक ठाउँदेखि अर्को ठाउँ सजिलै सर्न थाल्यो । यही सहज आवतजावतको परिणाम हो कोरोनाभाइरसको विश्वव्यापी बिस्तार ।
नभन्दै विगत एक दशकदेखि विश्वको राजनीति कोल्टे पर्न थालेको छ । दक्षिणपन्थी विचारधाराको बोलबाला छ । सारा संसारका मानिसलाई एक समान नसम्झेर आफ्नो देशको मात्र हितमा अघि बढ्नेको संख्या अधिक हुन लागेको छ । पहिला सारा युरोपका देशहरू एक हुनुपर्छ भन्ने भावनाले अघि बढेका थिए । तर ब्रिटेनले छुटिने निर्णय लियो । अमेरिकामा राष्ट्रपति ट्रम्पले एक उग्र दक्षिणपन्थी विचार लिएको हुनाले उसले संसारको अन्य गरिब देशको हित छाडेर अमेरिका फर्स्ट भन्छ । भारत पनि वर्तमान सरकार दक्षिणपन्थी विचारकै हो र अहिले उग्र राष्ट्रवादको बाटो लागेको छ ।
विश्वको यो परिघटनाले कोरोना जस्तो वैश्विक महामारीको युद्धको रणनीति कमजोर देखिन गएको छ। मान्छेलाई यसले विकट समस्यामा पुर्याउँदैन भन्न सकिन्न ।
वैज्ञानिकहरू अनुमान लगाउँछन्, कोरोनाले दुई तीन वर्ष भित्रमा २० करोडदेखि ४० करोड मान्छे मर्न सक्छन्, यदि उचित रणनीति ल्याइएन भने । यदि यसो भए मान्छेको पूरा जीवनशैलीमा प्रभाव पर्नेछ । यसको भरपाई हुन धेरै वर्ष लाग्नेछ । भनिन्छ इटालीको फ्लोरेन्स शहरमा चौधौँ शताब्दीमा ब्युबोनिक महामारीले जुन तबाही मच्चायो, त्यसको भरपाई हुन चार सय वर्ष भन्दा अधिक लागेको थियो ।
यो कोरोनाको कहर समयमा घटेर जानेछ । कोरोना पूर्णतः हराउन निकै वर्ष लाग्न सक्दछ । त्यसैले यसबाट बाँच्ने उपाय नै सबैभन्दा कारगर उपाय हो। यसको निम्ति हाम्रो जीवनशैलीमा परिवर्तन ल्याउनु पर्दछ ।
सन्दर्भ सामग्रीः
१. डा. सुषमा नैथानीका विभिन्न अनुसन्धानमूलक तथा नेटमा उपलब्ध सूचनाहरू । (डा. नैथानी उत्तराखण्ड, भारतकी वैज्ञानिक हुनुहुन्छ, जो सन् १९९८ देखि अमेरिकामा रहँदै आउनुभएको छ र ओरेगन युनिभर्सिटीमा प्राध्यापक हुनुहुन्छ ।)
(लेखक भारतीय नेपाली विश्लेषक तथा लेखक हुनुहुन्छ ।)