Kali Bahadur Malla, कालीबहादुर मल्ल
 

दन्त्य कथामा एकपटक भूतले गाईलाई खान भनेर आएछ । छेउमै आएर बसेको भूतले भनेछ, “आज त म तँलाई खान आएको छु, केही भन्नुछ ?” मृत्युदेखि डराएको गाईले भनी, “भूत बाजे, मलाई तिमीले खाने विषयमा फरक परेन तर एउटा शर्तमा !” अनि, भूतले सोध्यो, “कुन शर्त?” अनि गाईले भनी, “मेरो शरीरको भुत्ला गन, अनि खाऊ !” भूतले शर्त मन्जुर गर्दै भुत्ला गन्न थाल्यो । जब भूतले सयजति गन्छ, अनि गाईले छाला बर्रर पारेर हल्लाइदिन्छ । फेरि गन्न सुरु गर्छ । अनि उस्तै गरी बर्रर छाला हल्लाउँछ । भूतको गन्ति जहाँको तहिँ । यस्तैमा उज्यालो हुन्छ र भूत भाग्छ !”

सन्दर्भ हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हो । नेपालको संसदीय इतिहासमा पहिलो पटक झण्डै २/३ नजिकको संख्या भएर दरिलो सरकार दिनसक्ने सम्भावना बोकेको नेकपाको सरकार विगतमाझैँ ठिक दिशा समात्न केही समस्या देखा परे । खास गरी यो सरकारको अगाडिको चुनौती भनेको आफ्नै योजना, नीति र कार्यक्रम हो । चुनावमा पार्टीले प्रस्तुत गरेको प्रतिबद्धताको आधारमा सरकार चल्नु पर्थ्यो । सरकारको कार्यशैली, योजना, कार्यक्रम, नीति र प्रतिबद्धता पत्रलाई तुलना गरेर हेरेका मतदाता र खट्ने कार्यकर्ताले जब अन्तर देख्छ, त्यसको प्रतिबिम्ब पार्टीमा उत्रिन्छ र अन्तरविरोध पैदा हुन्छ ।

पार्टी एकताको लामो समयसम्म पार्टी अनिर्णयको बन्दी हुनुको पछाडि मुख्य नेतृत्वमा देखिएको विचार, राजनीति र पद्धतिको विचलन हो । जसको परिणाम ५ महिनासम्म स्थायी कमिटीको बैठक स्थगित भयो । निकासका लागि सचिवालयले “समस्या समाधान”का लागि कार्यदल गठन गर्‍यो । कार्यदलले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी प्रतिवेदन बुझायो, सचिवालयले अनुमोदन गर्‍यो, त्यसलाई अन्तर पार्टी निर्देशिकामा व्याख्या गर्‍यो । त्यसलाई सबै नेता कार्यकर्ताले गाइड लाइनको रुपमा स्थानीय कमिटीसम्म पुर्‍याए । बिडम्बना ! योजना सम्प्रेषण पूरा नहुँदै फेरि पनि अपानि उलङ्घन माथिबाटै भयो ।

देशमा दीर्घकालीन महत्त्व र रणनीतिक कामकाबारे पार्टीको अनुमति बिना आफूखुशी निर्णय भएबाट जनतामा निराशा र कार्यकर्तामा आशंका र अविश्वास पैदा भयो । जसले गर्दा विरोधीलाई भ्रम पार्ने आधार तयार गर्‍यो ।

विषयको सारमा सहमति, सहमति उलङ्घन, फेरि सहमति, फेरि उलङ्घन गर्दै जाँदैछ स्थिति । त्यसैले यो तरिका भनेको गाईको भुत्ला गन्न बसेको भूत र गाईले छाला हल्लाउँदै जहाँको तहिँ पुर्‍याउने र रात समय सिध्याउने खेल हुँदैछ भन्दा फरक पर्ला र?

(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा संविधान सभा सदस्य हुनुहुन्छ।)