(संस्कृति, कला र सौन्दर्यचिन्तन कामरेड प्रचण्डको नवीनतम पुस्तकको नाम हो । राजनीतिक क्षेत्रमा मात्र नभई सौन्दर्यचिन्तनको क्षेत्रमा समेत कामरेड प्रचण्डलाई बुझ्न यो पुस्तकले निकै सहयोग पुर्याउने छ । महान् वर्गयुद्धको क्रमसँगै कसरी विचार-विकासको इतिहास अघिबढ्यो र यसले कसरी सौन्दर्यचिन्तको क्षेत्रमा नवीन मूल्य प्रदान गर्यो भन्ने यथार्थलाई बुझ्न यो पुस्तकले निकै सघाउ पुर्याउने छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को चुनबाङ बैठकको ऐतिहासिक दस्तावेज, जसले साँस्कृतिक रूपान्तरण का लागि ‘क्रान्तिभित्र क्रान्ति गर्नुपर्छ भन्ने कुराको आह्वान गर्यो, वास्तवमा यो एक्काइसौँ शताब्दीको सांस्कृतिक क्रान्तिको दस्तावेज हो । यो दस्तावेजले क्रान्तिकारी रूपवादविरुद्ध धावा बोलेको छ । यथार्थतः यो पुस्तक एक्काइसौँ शताब्दीको सौन्दर्यशास्त्रीय विकासको स्थितिलाई द्योतन गर्ने विद्रोह र रूपान्तरणको दस्तावेज हो । यहाँ प्रस्तुत अंशहरूले हाम्रो जीवनशैलीप्रति गम्भीरतापूर्वक प्रश्नहरू उठाएका छन् ।)
१. क्रान्तिको विकाससँगै पार्टीको भौतिक सर्वहाराकरणको प्रश्न एउटा सामान्य थेगोका रूपमा प्रयोग गरिने आदर्शवादी प्रस्थापना मात्र बन्न जाने र वास्तविक व्यवहारमा पार्टीका नेता र कार्यकर्ताहरूको जीवन र दिनचर्या जनसमुदायको भौतिक अवस्थाभन्दा कैयौँ गुणामाथिको ठाँटबाट र सम्पन्नतापूर्ण हुँदै जाने चुनौती हाम्रा अगाडि विद्यमान अर्को डरलाग्दो चुनौती हो । दुश्मनका विरुद्ध जीवनमरणको लडाइँको आवश्यकताद्वारा पैदा हुने बाध्यताका कारण कुनै खासखास अवस्थामा प्रयोग गरिने साधन, स्रोत र माध्यम तथा उच्चवर्गीय प्रस्तुति सामान्यीकरण हुन गएमा त्यो घातक हुनजान्छ । अहिले देखापर्न थालेको सामान्य आर्थिक अराजकताले भोलि भ्रष्टाचारको विकराल रूप लिन नपाओस् भन्नका लागि पार्टीको ‘सर्वहारावर्गीय शुद्धीकरण-अभियान’लाई निर्मम ढङ्गले अगाडि बढाउन आवश्यक भइसकेको छ । लबाइ-खबाइ, हिँड्डुल, पारिवारिक भरण-पोषण, शिक्षा-दीक्षालगायतका सबै पक्षमा सर्वहारावर्गीय आचरण सुनिश्चित गर्न विशिष्ट वैचारिक बहस र सङ्गठनात्मक संरचनाको विकासमा सम्पूर्ण क्रान्तिकारीहरूले ध्यान केन्द्रित गर्नैपर्दछ । नेता र कार्यकर्ताहरूको भौतिक जीवनस्तर आमजनसमुदायको जीवनस्तरभन्दा माथि उठ्न नदिने मात्र होइन, व्यक्तिगतरूपमा पूर्ण सर्वहाराकरण गर्न जोड लगाउनुपर्दछ । त्याग, तपस्या र बलिदानद्वारा जनताको सेवा गर्ने उद्देश्यले होइन, भौतिक साधन र स्रोतको उपभोगका निमित्त नेतृत्वमा पुग्ने वा पूर्णकालीन बन्ने प्रतिस्पर्धात्मक प्रक्रिया चल्न थाल्यो भने छिटै हाम्रो महान् र गौरवशाली पार्टी एमालेजस्तो व्यक्तिगत स्वार्थीहरूको संशोधनवादी झुण्ड बन्न पुग्नेछ । हिजो अत्यन्त दुःख तथा फारोतिनो गरेर जनताको सेवामा समर्पित कतिपय कार्यकर्ताहरूको समेत आज जीवनस्तर उठ्दै जानुले राम्रो कुराको सङ्केत गरेको छैन। यसको समाधानका लागि वैचारिक र सङ्गठनात्मक शुद्धीकरणका साथै अर्थसङ्कलन र खर्चको व्यवस्थापन पक्षलाई कठोर पार्न आवश्यक छ। भौतिक उत्प्रेरणाको पुँजीवादी मान्यताका विरुद्ध सम्पूर्णरूपले श्रमजीवी जनसमुदायको सेवामा समर्पित बन्ने सर्वहारावर्गीय मान्यताको विकास गर्न आवश्यक न्यूनतम संरचनाको विकास अनिवार्य भइसकेको छ ।
(पृष्ठ ६०-८१ बाट)
२. आज हाम्रो पार्टी र पार्टीको नेतृत्वमा चलिरहेको महान् जनयुद्ध संसारभरिका साम्राज्यवादी र प्रतिक्रियावादीका लागि एउटा ठुलो चुनौती बन्न पुगेको छ। त्यसरी नै हाम्रो आन्दोलन संसारभरिका सर्वहारा, श्रमजीवी र मुक्तिकामी जनसमुदायका लागि एउटा ठुलो प्रेरणाश्रोत बन्न पुगेको छ। यो स्थितिको स्वाभाविक परिणाम हाम्रो पार्टी र जनयुद्धलाई आफ्नो क्रान्तिकारी उद्देश्यबाट विचलित गराउने र यसलाई सखाप पार्न गुणात्मकरूपले बढाएर लगेका छन् । विश्वका क्रान्तिकारी जनसमुदायको हाम्रो आन्दोलनप्रति सहानुभूति बढ्दैगएको भए तापनि त्यो साम्राज्यवादी र प्रतिक्रियावादी तोडफोड र हस्तक्षेपका विरुद्ध आन्दोलनका रूपमा विकसित भइसकको छैन। यसरी हाम्रो पार्टी र आन्दोलनको स्थिति निकै पेचिलो, चुनौतीपूर्ण र महान् सम्भावनायुक्त मोडमा आइपुगेको कुरा स्पष्ट देख्न सकिन्छ ।
चुनौती र सम्भावनाका कैयौँ बाह्य पक्ष भए तापनि अन्ततः पार्टी र आन्दोलनको विकास वा पतनको प्रधान कारण आन्तरिक नै हुने गर्दछ। वैचारिक र राजनैतिक कार्यदिशाको विज्ञानसङ्गत विकासको निरन्तर प्रक्रिया, त्यसअनुसाको सुदृढ, गतिशील, जुझारु र एकीकृत सङ्गठन तथा दुश्मनको कुनै पनि अस्त्रले टुटाउन नसक्ने सुदृढ जनसम्बन्ध नै पार्टी र आन्दोलनको विकास र विजयका आधार हुन्। तमाम प्रतिकूलता र चुनौतीका बाबजुद त्यही स्पिरिट र आदर्श बोकेर नै हाम्रो पार्टीले महान् जनयुद्धको पहल गरेको हो र त्यही स्पिरिट र आदर्शप्रति समर्पित हजारौँ क्रान्तिकारी वीर-वीरङ्गनाहरूको बलिदानले पार्टी र आन्दोलनलाई आजको उचाइसम्म ल्याएको हो ।
तर आज पार्टीमा त्यो सर्वहारावादी स्पिरिट र आदर्शबाट विचलनको गम्भीर सङ्केतहरू देखापरिरहेका छन् । विचारको क्षेत्रमा मार्क्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथ देखाउने र चपाउने दाँत आ-आफ्नै निम्नपुँजीवादी व्यक्तिवाद बन्दै जानु, सङ्गठनको क्षेत्रमा अराजकता, क्षेत्रीयता, सङ्कीर्णता, गुटवाद, पदलोलुपता, नोकरशाहीपनको विकास हुँदै जानु तथा जनसम्बन्धको क्षेत्रमा अत्यन्त औपचारिक, यान्त्रिक र सेवाभावभन्दा शक्तिको प्रयोग बढ्दै जानुको परिणाम आज जनसमुदायले हामीबाटै शोषित-पीडित भएको महसुस गर्ने स्थित बन्दै गएको छ र ठाउँठाउँमा त्यो विष्फोट पनि भएको छ। अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिका चुनौतीको सामना गर्न यतिबेला पार्टीमा सर्वाधिक सर्वहारावादी लगन, निष्ठा र एकताको खाँचो छ । तर यतिबेलै हाम्रो पार्टी निम्न पुँजीवादी स-साना धेरै गुटमा विभक्त हुँदैगएको छ । विचार-केन्द्रित सामूहिक र सर्वहारा स्वेच्छिक अनुशासनको स्थान क्रमशः सङ्कीर्ण गुटीय अनुशासनले लिन खोज्दै छ । त्यसप्रकारका सङ्कीर्ण गुटका कारण पार्टीभित्र एक-अर्कामा खुल्ला र हार्दिक छलफल, बहस, आलोचना, आत्मालोचनाद्वारा एक-अर्कालाई अगाडि बढ्न सहयोग गर्नुको सट्टा एक-अर्कालाई घोच्ने-पेच्ने, भित्रभित्र नङ्ग्याउने अत्यन्त हानिकारक निम्नपुँजीवादी चिन्तन र कार्यशैली बढ्दैछन् । शुद्धीकरण र क्रान्तिकारी रूपान्तरणमा पार्टी केन्द्रीय कार्यालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिका प्रस्तावमै सीमित रहने र व्यवहारमा र कार्यशैलीमा पार्टीको जबर्जस्त निम्नपुँजीवादी रूपान्तरण भइरहेको छ । पार्टीमा पदलोलुपता र महत्त्वाकाङ्क्षा यति धेरै बढेको छ कि त्यसका लागि घुर्की, धम्की, चाकडी, चाप्लुसी, बार्गेनिङको संस्कृति संस्थागत बन्न थालेको छ। एउटा निश्चित जिम्मेवारीमा बसेर निष्ठापूर्वक पार्टी र जनताको काम गर्ने धैर्यता हराउँदै गएर सबैको चिन्ता, चासो एकपछि अर्को माथिल्लो पद हासिल गर्ने हतारोमा व्यक्त हुन खोजिरहेको छ। कुनै राम्रो राजनैतिक र फौजी काम मेरै नेतृत्वमा मात्र सफल होओस् र यस्तो र त्यो सफलता र असफलताले मलाई माथि लगोस्, अरुलाई तलतल झारोस् भन्ने चिन्तन बिस्तारै आम बन्ने खतरा बढिरहेको छ । आत्मकेन्द्रित व्यक्तिवाद यति धेरै बढ्दै छ कि आफूबाहेक अरु कसैलाई देख्दै नदेख्ने स्थिति बन्दै छ । आर्थिक अराजकता, फजुल खर्च, भ्रष्टाचार, सुविधाभोगी चिन्तन झाँगिदै गएको छ र त्यसका लागि पनि पदप्राप्तिमा तँछाडमछाड हुन खोज्दै छ। जहाँ, जसले, जसलाई जति मन लाग्छ, त्यति चन्दा उठाउने र जनतालाई आहत तुल्याउने प्रवृत्ति तलसम्म फैलिएर गएको छ। जनताको पसिना र क्रान्तिकारीको रगतसँग साटिएको पैसाको मूल्य जतिजति माथि गयो, त्यतित्यति घट्दै जाने स्थिति कम विडम्बनायुक्त छैन । जनतालाई विचार र राजनीति दिएर उसको चेतना उठाउने, सेवाभावद्वारा हृदय जितेर रूपान्तरण गर्न मेहनेत गर्नुको सट्टा डण्डा र धम्कीको बलमा आफूले चाहेअनुसार गर्न लगाउने प्रवृत्ति बढ्दै छ। वर्ग र राजनैतिक विश्लेषण गरेर न्यूनतम प्रक्रिया पूरा गरी कसैमाथि आवश्यक कारवाही गर्नुको सट्टा कयौ अवस्थामा अत्यन्त लापर्वाहीपूर्वक वा अत्यन्त कमजोर कारणले मान्छेको ज्यानै लिइहाल्ने घटनाहरूमा वृद्धि हुँदैछ। जनताको परम्परागत रीतिरिवाज, संस्कृति र उत्पादन-पद्धतिमा राम्रा, नराम्रा पक्ष छुट्याई, नराम्रो पक्षलाई धैर्यतापूर्ण प्रशिक्षणबाट जनताको चेतना उठाएर हटाउने र राम्रो पक्षको संरक्षण र प्रोत्साहित गर्नुको सट्टा कठोर नियम बनाएर बलपूर्वक त्यसलाई लागू गर्न खोज्दा ठाउँठाउँमा जनता हामीबाटै आतङ्कित र निरीह बन्ने खतरा देखिएको छ। पूर्णकालीन र पार्टी सदस्य भइसकेपछि उसको रहनसहन, लवाइखवाइ र स्तर जनतासँग स्पष्ट छुटिने प्रक्रिया बढ्दै जाँदा जनताले पार्टी कार्यकर्तालाई आफ्नै वर्गको मान्छे नभएर पराइजस्तो ठान्ने स्थितिको विकास हुँदैछ ।
जनसत्ताहरू औपचारिक, यान्त्रिक र कामचलाउ प्रकृतिका मात्र हुन जाँदा जनसम्बन्ध स्वतः फितलो हुँदैछ । सत्तामा बसेर जनताको प्रभावकारी सेवा र परिचालन गर्नेतिर भन्दा पार्टीलाई सत्ता ठानेर त्यसकै पदप्राप्तिमा केन्द्रित हुने प्रवृत्ति देशभरि बढिरहेको छ । यसको ज्वलन्त नकारात्मक परिणाम हाम्रो सुदृढ आधार इलाकामा समेत हामीले नै आयोजना गरेको निर्वाचनमा पार्टीका उम्मेदवारहरूको लज्जास्पद पराजयले दिएको छ । जनताले क्रमशः हिजो र आजका माओवादीमा ठुलो भिन्नता महसुस गर्दैछन् ।
उपर्युक्त सङ्क्षिप्त विवरणले मात्र पनि पार्टी र आन्दोलनमा विकास हुँदै गरेका समस्याहरूको गम्भीरतालाई स्पष्ट गर्दछन् । आखिर २१ औँ शताब्दीको एउटा महान् सर्वहारावादी क्रान्तिकारी पार्टी र उसले नेतृत्व गरिरहेको महान् जनयुद्धमा यसप्रकारका समस्याहरूको विकास किन भइरहेको छ ? यसको समाधानको उपाय र विधि के हुनसक्छ र त्यो कताबाट कसरी सुरु गर्ने प्रश्न निकै गम्भीर छ । केन्द्रीय सत्ता कब्जा गरिसकेपछि चिनियाँ कम्युनिस्ट पार्टीभित्र देखिएका तीन खराबी र पाँच खराबीभन्दा चर्को खराबी केन्द्रीय सत्ता कब्जा नगर्दै हाम्रो पार्टीमा किन देखापरिरहेका छन् ? यी प्रश्नहरूको सही जवाफ र सही समाधान दिन नसके पार्टी र आन्दोलनलाई अमेरिकी साम्राज्यवाद र ज्ञानेन्द्रशाहीको फौजी आतङ्कले भन्दा हामी आफ्नै कमजोरीका कारणले क्रमशः विसर्जित गराउने कुरा निश्चित छ ।
महान् लेनिनले पार्टीनिर्माणका क्रममा भन्नुभएको थियो- सर्वहारावर्गको क्रान्तिकारी पार्टी अन्य बुर्जुवा र पेटी बुर्जुवा पार्टीहरूभन्दा यस अर्थमा फरक हुन्छ कि यो आफ्ना कमजोरीहरूलाई खुलस्त र निर्ममतापूर्वक अगाडि राख्न डराउँदैन, आफ्ना कमजोरीप्रति निर्मम हुन आँट नगर्ने पार्टी वैज्ञानिक सर्वहारा पार्टी हुनै सक्तैन । यसप्रकारका कमजोरीहरूको खुलस्त स्वीकारोक्ति र त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने साहसमा नै सर्वहारावर्गको पार्टीको पहिचान अन्तर्निहित रहेको हुन्छ । यसप्रकारको स्वीकारोक्तिबाट दुश्मन र अवसरवादीहरूले फाइदा उठाउन लाख कोसिस गरे पनि यही मात्र एउटा तरिका हो, जसले सर्वहारा वर्गको पार्टीलाई झन्पछि झन् स्पातिला र अपराजेय बनाइरहेको हुन्छ । विज्ञानको नियम नै यस्तो छ कि त्यसरी मात्र विकासको गतिसँग एकरूपता कायम हुनसक्छ। समस्याको वास्तविक पहिचानले समाधानको सुरुवातलाई प्रतिनिधित्व गर्दछ ।
माथि उल्लेखित समस्याबारे चर्चा गर्दा देखापर्ने ती गलत दृष्टिकोणबारे पार्टीको ध्यान जान जरुरी छ। एउटा दृष्टिकोण ‘पार्टीमा यति धेरै समस्या थुप्रिसकेपछि अब यसको रूपान्तरण सम्भव छैन, सब खत्तम भइसक्यो’ भन्दै सबैतिर अन्धकार देख्ने निराशा (पलायन) बाटो पक्डने निम्नपुँजीवादी दक्षिणपन्थी विर्सजनवाद। यसप्रकारको प्रवृत्ति र दृष्टिकोणको सिकार हुने व्यक्तिहरू पार्टी, आन्दोलन र नेतृत्वलाई धारेहात लगाउँदै आफूले आफैलाई सही भएको आदर्शवादी आत्मरति गर्दै समस्यासँग जुध्ने होइन, भाग्ने बाटो अवलम्बन गर्दछन् । दोस्रो दृष्टिकोण समस्यालाई ठिक ढङ्गले स्वीकार गर्न नै तयार नहुने, सबैतिर ठिकठाक चलिरहेको र पार्टीले जित्दै गएको मात्र देख्ने वा देखेको आत्मरती गर्दै हिँड्ने निम्नपुँजीवादकै सङ्कीर्ण वामपन्थी अतिवाद। यसप्रकारको दृष्टिकोणको शिकार हुने व्यक्तिहरू के ठिक हो, के बेठिक हो र के गर्ने हो र के नगर्ने हो भन्ने टुङ्गोमा पुग्न नै सक्तैनन् । यस्ता मानिसहरू जसको कुरा सुन्यो, उसैको ठिक मान्ने वा कसैको कुरा पनि ठिक नमान्ने र के ठिक हो भन्ने पनि थाहा नहुने अज्ञेयवादीको स्थितिमा रहन्छन् । उपर्युक्त ती गलत दृष्टिकोणमध्ये अहिले पार्टी र आन्दोलनका लागि प्रमुख समस्या भने पहिलो गलत दृष्टिकोण नै हो।
यहाँ यो कुरा स्वतः स्पष्ट छ कि समस्याको सही पहिचान गर्नु र त्यसको समाधानका लागि धैर्यता र दृढतापूर्वक सङ्घर्ष गर्नु नै सर्वहारावादी क्रान्तिकारी दृष्टिकोण हो। दृष्टिकोणको यो स्पष्टतासँगै अब पार्टीको ध्यान समस्याको कारण र समाधानको खोजीमा केन्द्रित हुन जरुरी हुन्छ ।
(पृष्ठ ७४-७७ बाट)
(नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महान् जनयुद्धका सर्वोच्च कमाण्डर क. प्रचण्डको ‘संस्कृति, कला र सौन्दर्यचिन्तन‘ नामक पुस्तक प्रकाशित भएपश्चात त्यसका केही लेखांशहरूलाई साभार गरी ‘कलम‘ साहित्यिक त्रैमासिक (प्रगतिशील साहित्यको प्रतिनिधि पत्रिका) को वर्ष-१४, अङ्क-१, पूर्णाङ्क ४१-४२, चैत्र-भदौ २०६२्-६३ अंकमा ‘विशेष सामग्री’को रूपमा प्रकाशित यस आलेखको सान्दर्भिकता यतिबेला अझै बढेको महसुस भएकोले सो पत्रिकामा छापिएको भूमिकासहित पुनः प्रकाशन गरिएको छ – सम्पादक ।)