चीनको वुहानबाट सुरू भएको कोरोना आज भारत र नेपालमा भयावह भएर मुख्य समस्या बनेको छ । ७ महिना लकडाउन वा निषेधाज्ञा हुँदा अर्थतन्त्र र सबै क्षेत्रमा गरिब र मध्यम वर्गले विभिन्न चुनौती सामाना गरिरहेको छ । नेपालीको महान चाड दशैँको बेला कोरोना भयावह रुप लिएर देशको सबै भूभागमा भुसको आगोझैँ नदेखिने गरी सल्किएको छ । महान चाड दशैँ विगतमा जस्तैगरी मनाउने अवस्थाबारे सोच्न सकिने अवस्था छैन, त्यो गम्भीर ठूलो भुल हुनेछ । दशैँको बेला देशका सबै अस्पतालहरु कोरोना संक्रमितहरूले भरिभराऊ भएर उपचार गर्न नसक्ने अवस्थमा माहान पर्व भनेर आवागमन भिडभाड र रमझम गरेमा हामी आफैलाई विष पिए सरह घातक हुनेछ ।
लामो समय लकडाउन गर्दा नियन्त्रण नभएको कोरोना सरकारले दशैँको मुखमा आएर निःशुल्क उपचार नगर्ने घोषणा गरेको छ । यसले आम जनतालाई प्रभावित बनाउने र राज्यको उतरदायित्वमा सरकारका कमजोरीको रुपमा जनताले लिएका छन् । सानो भुलबाट पनि होशियार भएर दशैँ मनाएमा मात्र कोरोनाबाट बँचिने छ ।
म आफैले पनि यो वर्ष जन्मघर र परिवारलाई भेट्न नजाने सपरिवार निधो गरी कर्मघर बागलुङ नै बसेर कोरोनाबाट परिवारलाई बचाउने प्रयत्न गरेको छु । दशैँ भनेर गाडी चढेर बजार जाने, भिडभाडमा गएर, परिवार लगेर किनमेल गर्ने, साथीभाइ भेटेर रमझम गर्ने जस्ता काम हाललाई स्थगित गरी चाडपर्व सकिएपछि सुनसानमा किनमेल गर्ने निर्णय लिएका छौँ । यति मात्र हैन, दशैँमा ठुलाको आशिष लिन टीका थाप्ने आफन्त र नातागोताकोमा गएर टीका नलगाउने मेरो सिंगो परिवारले नै योजना बुनिसकेका छौँ । दशैँमा ठुला बडाको आशिष र भेटघाट अनलाइनबाट गरिनेछ । त्यसैले सिंगो परिवारको खाली निधार राखेर कोरोनाबाट जोगिन हामी आफै नमुना बनेर देखाउन सके मात्र वास्तविक र व्यावहारिक अर्थमा शिक्षित भएको हुनेछ । सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पालनामा दशैँमा झनै सतर्कता बढाउने प्रतिबद्वता गरेका छौँ । दशैँमा हुने भेटघाट पनि सचेतना अपनाउने कोशिस गरिनेछ । दशैँमा लेख्ने, पढ्ने, टेलिभिजन र अनलाइनबाट मनोरञ्जन लिने सोच बनाएका छौँ ।
कोरोना महामारीमा दशैँमा निम्न कुरा ख्याल राख्नु उचित हुन्छः
१. कोरोना लागेपछि मात्र थाहा नहोस् । आफ्नै सानो होशियारी नपुग्दा कोरोना भयो । म मात्र त हो नि जोगिन्छु भनेर वा रिसाउँछन् कि भनेर पुजनीय र मान्यजनकहाँ टीका थाप्न नहिडौँ । राज्यले हिँड्न दिएको भन्दैमा यातायातमा भिडभाड गरी नहिडौँ । आफ्नै घरपरिवारमा टीका लगाउन परे खुल्ला फराकिलो ठाउँमा लगाऊँ । टीका लगाउँदा मास्क, फेससिल्ड, सेनिटाइजर लगाई टाढै बसेर, पालो पर्खेर कडाइपूर्वक सुरक्षा विधि अपनाऔँ । मान्यजन र बृद्धहरु, दीर्घ रोगी र बालबालिकालाई ख्याल गरौँ ।
२. राजधानी र जिल्ला सदरमुकामबाट गाउँमा र गाउँबाट सहरमा कोरोना सर्ने क्रम बढेकाले सकभर यस्तोमा जाने आउने काम यसपटक नगरौँ । अति आवश्यक परे आफ्नो परिवार सुरक्षा गरी सानो र निजी गाडीमा जाऔँ । मान्यजन, घरपरिवार र आफन्तजनलाई कोरोनाले ज्यानै लिने, उपचार नहुने र महङ्गो लाग्ने बारे फोन वा अनलाइनबाट जानकारी दिऔँ । उहाँहरुलाई नआउँदै खुसी हुने बनाऔँ ।
३. मन्दिर जाने, पुजाआजा, बली, खेलकुद, नाचगान गरी भिडभाड नगरौँ । सरकारले लकडाउन नगरे पनि आफ्नो ज्यान आफै जोगाऔँ । स्वअनुशासन पालना गरौँ । स्थानीय सरकारलाई चाडपर्वमा कोरोना सचेतना फैलाउन अनुरोध गरौँ ।
४. कोरोना संक्रमण जसलाई पनि हुन सक्छ भन्ने ख्याल गरौँ । दशैँमा खानेकुरा र उपहार बोकेर नहिँडौँ । बजारबाट संक्रमण बोकेर आफन्तलाई नसारौँ । चाडपर्वमा कोरोना फैलने निश्चित छ भन्ने बुझेर व्यवहार गरौँ । चाडपर्व मनाउन पैसाको अभाव भएको बेला दशैँमा कोरोना सारेर उपचार गर्न झनै पैसाको समस्या खेप्न नपरोस् भनेर सजगता अपनाउनुहोस् । सरकारले पनि उल्लेखित कुराहरुलाई दृडतापूर्वक लागू गराउने दायित्वमा चुक्नु हुँदैन ।
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।)