भोजन अर्थशास्त्र, भरत पोखरेल, Edible Economics, इडिबल इकोनोमिक्स
 

हा–जुन चाङ कोरियन मुलका अर्थशास्त्री हुन् । चाङले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा १९९० देखि २०२१ सम्म प्राध्यापन गरेका थिए । उनी विश्वका सेलिब्रेटी अर्थशास्त्री मानिन्छन् । चाङका केही बेस्टसेलर अर्थशास्त्रका किताब विश्वमा चर्चित छन्‌ः किकिङ अवे द ल्याडर, २३ थ्री थिंग्स दे डोन्ट टेल यु अबाउट क्यापिटालिज्म, रिथिकिङ डेभलपमेन्ट इकोनोमिक्स, ब्याड समारिटन्स, र त्यही मध्येको एउटा पुस्तक हो – इडिबल इकोनोमिक्स । यो पुस्तकमा चाङले विश्वका धेरै देशहरूका भोजनसम्बन्धी विवरणहरू दिएका छन् ।

चाङलाई मार्क्सवादी अर्थशास्त्री पनि भनिन्छ तर यथार्थमा उनी किन्सवादी अर्थशास्त्री हुन् । सन् २०२२ मा प्रकाशित इडिबल इकोनोमिक्स पुस्तकमा लेखकले केही देशहरूका भोजनबारे विवरण दिएका छन् । लेखक दक्षिण कोरियाली भएकाले पुस्तकको प्रारम्भ कोरियनले गरेको भोजनबाट नै प्रारम्भ भएको देखिन्छ । सन् २०१०–१७ मा एक कोरियनले प्रतिवर्ष प्रतिव्यक्ति ७.८ केजी लसुन उपभोग गरेका थिए भने एउटा इटालियनको लसुन उपभोग प्रतिवर्ष ७२० ग्राम रहेको थियो । यही अवधिमा एउटा फ्रान्सेलीको लसुन उपभोग प्रतिव्यक्ति प्रतिवर्ष २०० ग्राम मात्र थियो ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

अंग्रेजी बोलिने धेरै देशका आमाहरूले आफ्ना बच्चालाई हरिया तरकारी स्वादिलो नभएकाले आइसक्रिम दिने गरेको पाइएको छ तर भारत, कोरिया र इटलीका आमाहरूले बच्चाहरूलाई हरियो तरकारी बढी दिने गरेको पाइन्छ । लेखकले पहिलोपल्ट लन्डनको दक्षिण एसियाली रेस्टुराँमा भिन्डीभाजी खाएको तर यसको नाम फरकफरक पाएको उल्लेख गरेका छन् । भिन्डीलाई बेलायतमा लेडी फिंगर भन्ने चलन पनि छ तर यसलाई टुक्राटुक्रा पारेर काटिने प्रक्रियाले नामको शोभा दिँदैन । बेलायतमा भिन्डीको प्रचलित नाम मुरिलागिनोअस बोल्न अप्ठेरो भएकाले लेडी फिंगर प्रचलनमा आएको रहेछ । यसलाई अमेरिकामा ओक्रा भन्छन् । जापानमा ओकुरा टेम्पुरा भन्ने रहेछन् ।

लेखकले नरिवल (कोकोनट) बारे विविध प्रयोगको चर्चा गरेका छन् । नरिवलको प्रयोग ठाउँअनुसार दुधको रूपमा, करीको रूपमा, तेलको रूपमा, तरकारीको रूपमा, पानीको रूपमा, साबुनको रूपमा, सौन्दर्य प्रशाधनको रूपमा, इन्धनको रूपमा, चकलेट बारको रूपमा प्रयोग भएको पाइन्छ ।

मासु उपभोगमा अस्ट्रेलिया सबैभन्दा अगाडि छ । एउटा अस्ट्रेलियनले एकवर्षमा ८९.६ केजी मासु खान्छ, एउटा अमेरिकीले ८९.३ केजी, एउटा जापानीले ४८.५ केजी, एउटा भारतीयले ३.९ केजी, एउटा इथोपियालीले १.२ केजीमात्र मासु खान्छ ।

कोकाकोलाको प्रतिव्यक्ति उपभोग अमेरिकाभन्दा बढी मेक्सिकोमा रहेको छ । एउटा मेक्सिकनले एक वर्षमा १६३ लिटर कोकाकोला खान्छ, एउटा अमेरिकीले १५४ लिटर, एउटा बेलायतीले ६८ लिटर, एउटा जापानीले ३४ लिटर, एउटा भारतीयले २० लिटर कोकाकोला खान्छ । वाइन खान पोर्चुगिज अगाडि छन् । एउटा पोर्चुगिजले वर्षदिनमा ५२ लिटर वाइन खान्छ, एउटा अमेरिकीले १२ लिटर, एउटा बेलायतीले १० लिटर, एउटा जापानीले ४ लिटर वाइन खान्छ ।

प्राउन र स्रिम्पमा एउटै कुराको दुई नाम भनिन्थ्यो तर त्यो होइन रहेछ । बेलायती र अस्ट्रेलियन प्राउनलाई प्राथमिकता दिन्छन् भने उत्तर अ‍मेरिकीहरू स्रिम्पलाई । प्राउनको खुट्टामा तीनवटा पञ्जा हुन्छ भने स्रिम्पकोमा दुईवटा । साङ्लालाई बुस प्राउन र फट्याङ्ग्रालाई फिल्ड प्राउन भनेर खाइन्छ । केही देशहरूमा किराफट्याङ्ग्रा धेरै खाने चलन छ । चिनियाँ, मेक्सिकन र थाइहरू किराफट्याङ्ग्रा धेरै खान्छन् ।

नुडल खानेमा नेपालीले पनि नाम कहलाएका छन् । कोरियनले वर्षमा ७९.७ पटक, भियतनामीले ७२.२ पटक र नेपालीले ५३.३ पटक नुडल खाने रहेछन् । इटलीमा नुडललाई म्याकरोनी र पास्ता पनि भनिन्छ । इटलीमा गहुँका २०० प्रकारका पास्ता बनाइन्छन् जसको आकार ट्युब, औँठी, पुतली, कान, शंख, अन्न, भ्यागुता आदि आकारमा देखिन्छ । भैरव अर्यालले आलुका दर्जन परिकारबारे आफ्नो निबन्धमा लेखेका छन् । कैलाली टीकापुरमा केराका दुई दर्जन परिकार पाइन्छन् । विश्वमा एकहजार प्रकारका केरा उत्पादन हुन्छन् । अफगानिस्तानमा सेतो गाजरबाट उत्पादन सुरुवात भएको गाजर निदरल्यान्ड्समा सत्रौँ सताब्दीदेखि सुन्तला रंगमा उत्पादन हुन थाल्यो । एसियामा सबैभन्दा धेरै खाने चामल (राइस इज नाइस) भिटामिन ए कमीको द्योतक मानिन्छ ।

पेट पोल्दै आखाँबाट आँसु झार्दै खुर्सानी खानेको पनि विश्वमा कमी छैन । मेक्सिको, पेरु, क्याराबियन देशहरू, उत्तरी अफ्रिका, दक्षिण एसिया, दक्षिणपूर्व एसिया, चीन र उत्तर कोरियामा पनि खुर्सानी निकै खाने चलन छ । स्ट्राबेरी बेरी होइन, ब्ल्याकबेरी र र्‍यासबेरी पनि बेरी होइनन् । केरा, काँक्रो, टमाटर, तरबुजा, क्रेनबेरी, ब्लुबेरी र गुजबेरी चाहिँ बेरी हुन् ।

आज माघे संक्रान्ति । नेपालभरि आजको दिन विभिन्न खानेकुरा खाने चलन छ । आलु, पिँडालु, तरुल, अलुआ (सखरखन्ड) घिउ, चाकु, तिलको लड्डु, मुरहीको लाइ, खिचडी खाने प्रचलन माघे संक्रान्तिमा बढी देखिन्छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय बैठकहरू चलिरहेको बेला काठमाडौँमा अन्डाको मूल्य १५ रुपियाँबाट २० रुपियाँ पुग्यो बैठकमा सहभागी कमरेडहरूलाई अमलेट बढी नै मिठो लाग्यो होला ? नेकपा (एमाले) ले आफ्नो प्रतिवेदन लिखित रूपमा प्रस्तुत गरेको पाइयो भने नेकपा (माओवादी केन्द्र) को लिखित प्रतिवेदन मिडियामा पाइएन । मौखिक गफमै माओवादी केन्द्रको प्रतिवेदनमाथिको छलफल सकियो । पुस महिनाका जाडोको तीनदिन प्रतिवेदनमा धेरै कुरा भजन भए तर नेपाली जनताको भोजनबारे केही आएन ।

म केही वर्षदेखि टोखाको चाकु र टुँडिखेलको माघे संक्रान्ति मेलाका खाना परिकार बजार अवलोकन गरिरहेको छु । माघे संक्रान्तिको भोलिपल्ट टोखा बजार र टुँडिखेल सुनसान हुन्छन् । माघे संक्रान्तिमा भोजनबारे सामाजिक सञ्जाल रंगिएको छ तर विडम्बना विश्वमा आठ अर्ब जनसंख्यामा एक अर्ब मानिसले आधारभूत भोजन पनि पाएका छैनन् र धेरै मानिसहरूको खाद्यान्न अभावले मृत्यु भइरहेको छ । यही हो अहिलेको विश्वको भोजन अर्थशास्त्र ।