नेकपा पार्टी एकता अभियान, ncp party unity campaign, bamdev gautam
 

नेपालको सन्दर्भमा दुई ठुला तत्कालीन कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को २०७५ जेठ ३ गते पार्टी एकीकरण भएको घोषणा यो पंक्तिकारको कानसम्म आइपुग्यो । त्यो दिन जिल्लाका नेताको अनुहार खुसीले बिहानीको लालीझैँ तेजोमय भएको थियो । यो पंक्तिकार त्यसदिन सुर्खेतमा थियो, काठमाडौँमा एकता भएको अवसरको साक्षी हुन पाएन ।

एकीकरणपश्चात सुरुवात भएको एउटा विषय थियो मर्यादाक्रमको । कसैलाई तेस्रो त, कसैलाई चौथो, पाचौँ र सातौँमा धकेलिएको पीर थियो । अनि कसैले पुरस्कार पनि पाएका थिए भने कोही टाकुरे पार्टीको नेता भइरहने र टाकुरे पार्टीको उत्तराधिकारी घोषित गर्दै नहिँडेका भने होइनन् । आज तिनैले पार्टी एकीकरण भन्दा फुटाउनमा खुसी प्रकट गरिरहेका छन् ।

जुनसुकै राजनीतिक पार्टीको आफ्नौ सिद्धान्त र त्यसलाई समेटेको राजनीतिक-सैद्धान्तिक दस्तावेज हुन्छ । यही सिद्धान्तअनुसार तत्कालीन नेकपा एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ रहेको थियो भने नेकपा (माओवादी केन्द्र) को ‘२१औँ शताब्दीको जनवाद’ रहेको थियो । यसबारे बहस गर्नतर्फ लाग्न जरुरी छैन । जरुरी के छ भने यी दुबै सिद्धान्तलाई थाँती राखी ‘जनताको जनवाद’को मध्यमार्ग अपनाएर आउने एकीकृत दशौँ महाधिवेशनवाट निष्कर्ष निकाल्ने गरी साविक दुबै सिद्धान्तलाई छोडी जनताको जनवादमा आइपुगेको अवस्था हो । पंक्तिकार यी सिद्धान्तको व्याख्याको जिम्मा विद्वान पाठकलााई छोड्दै यहाँ उठान गर्न खोजेको विषयमा सिधै प्रवेश गर्न चाहन्छ ।

जगत उपाध्याय, जगत वाशिष्ठ, वाशिष्ठ, jagat bashishtha
लेखक

माथि जाहेर गरिसकियो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद सुरुमा मर्यादाक्रमको विषय हुँदै आएर बस्ने आसन नमिल्ने र त्यस्तै हुँदै गर्दा आएर २०७७ साल पुष ५ गते एकातिर अविश्वासको प्रस्ताव र अर्कोतिर प्रधानमन्त्रीले मन्त्री परिषदको सिफारिसमा सार्वभौम संसद विघटनपछि उत्पन्न परिस्थितिबारे सबै जानकार भएकै कुरो हो । यसबारे असंवैधानिक कदम भनी नेपालको सर्वोच्च अदालतमा रिट दायर भई बहसको क्रममा रहेको छ । यसबारे पनि सबैलाई अवगत नै रहेको छ । वामदेव गौतमद्वारा अघि सारिएको एकता अभियानको अवधारणाभित्र पनि ती कुराहरु ल्याइएका छन् । म त्यतातिर पनि जान चाहन्नँ ।

यसमा खासगरी अलिकता खड्केको विषय भनेको वामदेव गौतमले थालेको भनिएको एकता अभियानले पछिल्लो विकसित सिद्धान्तलाई किन छोड्यो ? ‘जनताको जनवाद’को एक शब्द अवधारणा पत्रमा किन अटाएन ? भनेको लेख्दा छुट्यो वा बिर्सियो भन्ने हैन त पक्कै होइन होला । किनभने यसको मूल सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ प्रष्ट भनेको छ । यो भनेको मेरो अल्पज्ञानले साविक नेकपा (एमाले)को सिद्धान्त हैन र भनेर प्रश्न गर्‍यो । किन त्यसरी छाँयामा त्यो राख्नुपरेको र एकता गर्ने मध्यमार्गले ‘जनताको जनवाद’ किन छोडेको र अगाडि हिँडेको बाटोबाट पछाडि किन फर्किएको भन्ने बेसरी खट्केको र नबुझिएको अवस्था रहेको छ । त्यहाँ भनिएको छ, “कुनै कालखण्डमा संगठित नभएका र साना शक्तिलाई एक गर्ने” भनेर ठाउँठाउँमा उल्लेख गरिएको छ ।

पंक्तिकार राजनीतिक प्राणी भएकाले राजनीतिमा राजनीतिक भाषा र दस्तावेज अलिकता सुन्दै आएको पनि छ । जसमा अहिलेकै नेकपाका दुबै समूहको दोहोरी अतिवादमा गएको छ । कहिल्यै नमिल्ने र चिया पनि सँगै खान नसक्ने गरी एक अर्काप्रति गाली गलौजको तहमा दुबै पक्ष उत्रेका छन् । मध्यमार्ग र दुबैलाई मिलाउन एकता गर्नेले पनि उक्लेर टेकेको चुचुरो छोडी गल्छितिरै ओरालो झरेर आराम गरेको अवस्थामा रहेको छ । ‘जनताको जनवाद’ छोडी ‘जनताको बहुदलीय जनवाद’ मूल सिद्धान्त हुने प्रष्ट लेखेको छ ।

पंक्तिकार २०७७ साल माघ १४ गते धोवीघाटको शिद्धार्थ कटेजमा भएको घोषणा सभाको एक कुनामा बसेर यो अवधारणा पत्र पढिरहेको थियो । त्यहाँ नमिलेका पेज नम्बर १० का दुई नम्बर बुँदामा अन्डरलाईन गरेको थियो । उद्घाटन सत्र सकिएपछि छलफल होला, आफ्ना कुरा राख्न पाइएला भनेको त त्यहाँ उपस्थित जतिलाई केन्द्रीय सदस्यको सपथको लिखत हात हातमा आइपुग्यो । केन्द्रीय सदस्यको सपथको भाषा भरेर पनि राखियो तर मुठी उठाएर लालसलाम गर्ने आँट आएन ।

त्यो विषय मैले बुझिन वा त्यही सत्य हो, अलिकता दर्शनको अल्पज्ञान भएर हो कि, मनले यो मिलेन भनेर बेसरी घोत्ल्यायो । कारण त्यो शब्द थियो, अवधारणापत्रको पृष्ठ १०को संगठन सञ्चालन सम्बन्धी नियमहरूको (२) – यस अभियानको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवाद हुनेछ । यसैको ५ मा अभियानमा अध्ययन गर्नै सैद्धान्तिक दस्तावेजहरू निम्नानुसार हुनेछन् भनेर (क) मा भनिएको छः जनताको बहुदलीय जनवाद तुलनातमक अध्ययन । यो पुस्तक सोही दिन नेकपाका उपाध्यक्ष समेत रहेका एकता अभियानका संयोजक वामदेव गौतमद्वारा लिखित र विमोचित पुस्तक हो । त्यस पुस्तकभित्र पछि पसौँला गहन ढंगले छलफल गरौँला । मलाई खाली खट्केको विषय मात्र यो जनताको जनवादको एक शब्द किन यो अवधारणापत्रमा अटेन भन्ने प्रश्न दिमागमा नाचिरह्यो ।

यही प्रश्नले छटपटी लगाएकाले उत्तर नपाएर मैले केही मित्रलाई छलपल चलाएँः मध्यमार्ग बुझिएन भनेर । मध्यमार्ग कहाँ बुझिनेगरी छर्लङ्ग हुन्छ त भन्ने उत्तर पाइयो । त्यस्तै एक अर्का मित्रलाई यो विषयमा छलफल चलाउँदा भने – यो विषयमा अहिले छलफल हुँदैन, बरु तपाई त्यहाँ नबस्दा राम्रो भनेर सुझाव दिनुभयो । उहाँले भन्नुभयो तपाईंले उठान गरेको विषय ठिक छ तर अहिले छलफल हुने अवस्था देखिएन भनेपछि मेरा मनमा बेसरी यो कुरा खेल्यो ।

यो कसैलाई आग्रह पूर्वाग्रहबाट प्रेरित भएर कोतर्न लागिएको होइन । गम्भिर भएर नै लेखिएको हो । के यसरी जनताको वहुदलीय जनवाद भनेर साविक नेकपा (एमाले) को जनमत तयार गर्न खोजेको हो र ? भनिँदैछ कानूनी रूपमा र दस्तावेजीकरणमा साविक दुबै पार्टी विघटन र एउटा पार्टीको निर्वाचन चिन्ह नै फ्रिज भएको होइन र ? अहिले दुबै समूहले सूर्य चिन्ह आफ्नो दावी गरिरहेको अवस्थामा निर्वाचन आयोगको भर्खरै केही दिनअघिको निर्णय नेकपाको जीवनका लागि हितकर रहेको छ । जसले ४४१ सदस्यीय नेकपालाई मात्र चिन्यो र अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मात्र । यो स्वागतयोग्य निर्णय मान्नुपर्छ । त्यसले नेकपालाई जुटाउने सेतु बनाउने छ । आशा गरौँ, दुबै पक्ष जुटतिर लागून् ।

यस्तै पार्टी एक गराउन अगाडि सारिएको मध्यमार्गको अवधारण पत्रमा पनि पार्टीको मध्यमार्गी धारको वडा तहसम्मको संरचना अगाडि सारिएको छ ।  कि प्रष्ट भन्नुपर्‍योः साविक नेकपा (एमाले)लाई बिउँताउने हो र साविक एमाले जति एक ठाउँमा उभिने हो भनेर । त्यसैले साविक एमालेजति संगठित-असंगठित जतिलाई संगठित गर्न लागेको प्रष्ट पार्नुपर्छ । अन्यथा मध्यमार्गी धारको अवधारणाले मूल कुरो उठाएको छः कार्यशैलीमाथिको आरोप । कार्यशैलीको १९ पाने त मध्यमार्गको पनि हो । त्यसको जस कति लिने, मध्यमार्गले पनि लिनुपर्छ भन्ने लाग्छ । जब दुर्घटना भइसकेपछि मलाई थाहा थिएन भन्न पनि पाइँदैन होला । बिउ आँप फलाउन डोब्ने, अनि आँप नउम्रेर नीम उम्रिएपछि म यसलाई खाँदिन भनेर पनि सुख पाइँदैन होला । झुक्किएर आँपको बिउ हाल्नेमा नीमको बिउ परेछ भन्दा चाँहि हुन्छ ।

अर्को मध्यमार्गले संसद बिउँतिएमा यसलाई मिलाउन दुई वर्ष लाग्छ भनेको छ । यसमा अलि सजिलो हुने छ रे । कारण दुई वर्ष संसद रहन्छ । यस समयमा मिलाउन प्रयास गर्ने रे । जब संसद नबितिउँतिएर चुनावमा जान पर्‍यो भने फेरि पनि हामी यिनै दुईथरी उमेदवारलाई भोट हाल्छौँ, जसलाई मन लाग्यो त्यतै भोट हाल्छौँ । तर अन्य पार्टीलाई भोट हाल्दैनौँ । र, मन नपरे कसैलाई भोट हाल्दैनौँ भनेर संयोजक रहेका बवादेव गौतमले मन्तव्यमा भनेका छन् ।

कसैलाई भोट हाल्दैनौँको मतलब २०७० को निर्वाचनमा नै स्वतन्त्र नागरिक समाजका तर्फबाट स्वागत नेपाल लगायतको रिटबाट नेपालको सर्वोच्च अदालतले ‘राइट टु रिजेक्ट’ र ‘नो भोट’को अवधारणको लागू गर्न अन्तरिमकालीन आदेश गरिसकेको छ त । यसलाई निर्वाचन आयोगले राजनीतिक दलले नमानेका कारण लागू गर्न नसकेको अवस्था रहेको छ । यो भन्दा त अहिलेको स्वागत नेपालको अध्यक्षतामा सञ्चालित स्वतन्त्र राष्ट्रिय अभियान नेपालले प्रष्ट पारेको छ ।

यदि मध्यमार्गमा लागेर पनि अन्तमा ‘नो भोट’ भनी टुलुटुलु हेर्नु भन्दा अहिले नै ‘नो भोट’को मतपत्रमा व्यवस्था गर्न किन नलाग्ने ? सचेत नेपाली नागरिक एक पटक ‘नो भोट’ को अभियानमा पनि सामेल भएर पुराना नेतालाई पन्छाउन तयार छन् । ‘नो भोट’ भनेको के हो भने पहिलाजस्तै मत पत्रमा सबै उमेदवारको चुनाव चिन्ह जस्तै ‘नो भोट’ को पनि कुनै चिन्ह हुन्छ । यही ‘नो भोट’मा मतदान गरी सबैभन्दा बढी मत पाएमा त्यो बेला उमेदवार भएका जति उमेदवार त्यो चुनावमा एक पटकका लागि उमेदवार हुन पाउँदैनन् । यो जतनाको मतदानबाट उमेदवार अस्वीकृत गर्ने अन्तर्राष्ट्रिय मान्यता हो र धेरै मुलुकमा यो विधि सुरु भइसकेको र हाम्रो छिमेकी मुलुक भारतमा समेत लागू भइसकेको अवस्थामा नेपालमा पनि यसको बहस अगाडि बढेको र जनता सचेत भइरहेको अवस्था भएकाले साँचो अर्थमा कसैलाई भोट नगर्ने हो भने । जनताका लागि ‘नो भोट’ को व्यवस्था गर्नु अपरिहार्य भएको छ ।

अन्तमा, मध्यमार्गी धार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको अवधारणा पत्रमा छोटकरी टिप्पणी गर्ने धृष्टता राखेँ । यसको नेतृत्वलाई ध्यान पुग्नेछ र यसमा उठान गरिएका विषयमा गम्भिर बहस हुनेछ भन्ने आशा र भरोसा लिएको छु । मध्यमार्गले बोकेको मूल राजनीतिक सिद्धान्त बाहेक अन्य विषय गहन तरिकाले उठान गरेको छ । सफलताको शुभकामना । नेकपालाई एक साझा चौतारीमा पुनः ल्याउने सेतुको काम गरोस् । लाखौँ शुभचिन्तकले नेकपा एक भएको हेर्न चाहेका छन् । त्यो दिन नजिकै आओस् । साधुवाद ।

(लेखक प्रगतिशील लेखक हुनुहुन्छ ।)