उत्तराधुनिक सिद्धान्तका किताबहरू पढदा एउटा प्रसङ्ग “इतिहासको अन्त” पनि आउँछ। यही इतिहासको अन्त शीर्षकमा फ्रान्सिस फुकुयामाको किताब विश्व प्रसिद्ध रहेको छ । यो किताब प्रकाशित भएको त झण्डै तीन दशक हुनलाग्यो तर मलाई भने केही समयअघि मात्र पढ्ने संयोग मिल्यो । यस किताबमा हेगेल (हिगल)को प्रसङ्ग बारम्बार उठ्दो रहेछ । फुकुयामाको यो किताब हेगेलको दर्शनमा आधारित रहेछ । हुन त यो किताबले सम्पूर्ण विश्वको राजनीतिलाई समेटेको छ, देशको नीति निर्धारक, राजनीतिज्ञ र विश्व घटिरहेको घटनाक्रमको जानकारीको निम्ति यो किताब एक श्रेष्ठ सन्दर्भ ग्रन्थ हो रहेछ ।
यो किताबमा हेगेल र मार्क्सवादमा रहेको द्वन्द्ववादको विषयमा पनि निकै लेखिएको रहेछ । यो पढ्दा मलाई आभास भयो मैले द्वन्दवादको सही अर्थ बुझेको छुइन रहेछु । द्वन्द्ववादको बारे पढ्न हेगेलको सिद्धान्त जान्नुपर्ने आवश्यकता लाग्यो मलाई । यसैले मैले हेगेलको Phenomenology of Spirit किताब किनेँ ।
यो किताब पढ्न कठिन लाग्यो । एक महिनाभन्दा बढी लाग्यो पढिसिध्याउन र थाहा लाग्यो राम्ररी बुझ्नलाई धेरै पल्ट पढ्नुपर्ने र यसको व्याख्या पनि पढ्नुपर्ने रहेछ । मैले पढेको क्लिष्टतम पुस्तक मध्ये यो एक हो ।
हेगेलले विश्वको इतिहासलाई नयाँ प्रकारले व्याख्या गरेका रहेछन् । उनले मानव समाजलाई दुई भाग गरेर हेरेका रहेछन्ः दास र मालिक । मालिकलाई कुनै समस्या छैन र उ आत्मसन्तुष्ट छ किनकि उसको सेवा पुर्याउने उसको दास छँदैछ । यसैले मालिक वर्ग परिवर्तनवारी हुँदैन, उसलाई परिवर्तनको खाँचो छैन । दुःख र कष्ट त दास वा नोकर-नोकर्नीलाई छ । यसैले यहीँ तल्लो वर्गको मान्छेले प्रयास गर्छ, उसको दुःख कसरी घट्ने । कसो गर्दा उसलाई सहज हुन्छ । यही आफ्नो दुःख घटाउने प्रयासबाट नयाँ नयाँ तकनिक विकास भयो, समाजमा परिवर्तन भयो र इतिहास कायम भयो वा इतिहासको गतिमा परिवर्तन आयो ।
हेगेलले अर्को के कुरामा विचार गरेका रहेछन् भने मान्छे आफूलाई आफ्नो परिचयको सकंट भइरहेको हुन्छ । उसको यही परिचयको संकट उद्घाटनले उसलाई अन्य प्राणी जगतबाट अलग गराउँछ किनकि अन्य पशुमा परिचयको संकट हुँदैन । मान्छेको यही चेतनाले उसलाई प्रकृतिबाट अलग गराउँछ। मान्छेले यसलाई आफ्नो आत्मसम्मानको निम्ति संघर्ष गर्छ । प्राचीन कालमा राजा वा ठूला ठूला सामन्ती बिचको युद्ध यसैकारण पनि हुन्थ्यो । समाजमा आफ्नो उपस्थिति देखाउन एवम् आफ्नो प्रवलता देखाउन उसले युद्ध निम्त्याउँछ । यही आफ्नो शान देखाउने प्रयासले मानव समाज एक-अर्कामा भिडन्त हुन्छ ।
हेगेलको दर्शनले भन्दछ – मान्छेले आफ्नो समाज वा राष्ट्र निर्माण गर्न निरन्तर प्रयास गरिबस्दछ । तर यो प्रयास अनन्त नभएर एक निश्चित व्यवस्थामा स्थिरता आउनेछ । यही हो इतिहासको अन्त ।
यो निरन्तर प्रयासको प्रक्रिया द्वन्दात्मक रुपमा हुन्छ । एउटा विचारको प्रचलनपछि त्यो विचार सफल वा असफल छ, त्यदमाथि विचार हुन्छ । हेगेलले यसलाई अमूर्त (abstract) र विरोधी (negative ) विचार भनेका रहेछन् । यस विचारको द्वन्द्वबाट एक ठोस (concrete ) प्रत्यय विकास हुन्छ । फेरि पुनः यसको शिलशिला अघि बढ्छ ।
हेगेलको दर्शनलाई ‘जर्मन आदर्शवाद’ भनिन्छ । यसमा बुझिनुपर्ने कुरा के रहेछ भने ख्रिष्टान धर्मलेझैँ यसले पनि समाजको निम्न वर्गको उन्मुक्तिको कुरा गर्दछ । तर धर्ममा मरेपछि मात्र मुक्ति पाउदँछ भने हेगेलले जीवनकालमा नै मुक्तिको कुरा गर्दछ ।
हेगेल उन्मुक्त प्रजातन्त्रको समर्थनमा रहेछन किनकि उनी मान्दछन् उन्मुक्त (liberal) प्रजातन्त्रमा मात्र मानव जीवन सन्तुष्ट हुनसक्दछ ।
कार्ल मार्क्स र हेगेलमा गहिरो सम्बन्ध रहेछ । हेगेलको यही द्वन्दवादी दर्शनको आधारमा मार्क्सले उनको विचारधारा निर्माण गरेका रहेछन् । हेगेलको दर्शन नबुझी मार्क्सवाद बुझ्न गाह्रो पर्ने रहेछ। कार्ल मार्क्सलाई हेगेलको सर्वोत्कृष्ट व्याख्याता पनि भनिँदो रहेछ । कार्ल मार्क्सकै व्याख्याले गर्दा हेगेल व्यापक चर्चामा आउन लागे । यद्यपि कार्ल मार्क्सले आफ्नो लेखनमा हेगेलको व्यापक आलोचना पनि गरेका रहेछन् ।
हेगेलको मालिक र दासको द्विचर सम्बन्ध मार्क्समा आएर वर्ग द्विचर बन्दछ – बुर्जुवा र सर्वहारा ।
हेगेलले समाज परिवर्तन अथवा इतिहासमा मोड सामूहिक इच्छा वा चेतना ( Spirit) को कारण हुन्छ भनेका छन् । मार्क्सले (Spirit) सामूहिक इच्छाले होइन, आर्थिक कारणले हुन्छ भनेका छन् ।
हेगेलको अनुसार आदर्श राष्ट्र उन्मुक्त प्रजातन्त्रमा मात्र हुन सक्छ भनेका छन्, जहाँ सब नागरिकको समान अधिकार हुन्छ र समाज भेदभावरहित हुन्छ । मार्क्स उन्मुक्त प्रजातन्त्रको विरोध गर्दै भन्छन् – शासनमा बुर्जुवाको कुनै भूमिका हुनु हुँदैन र पूर्णतयाः सर्वहाराको शासन हुनुपर्छ । समाजको निम्नतम वर्गले गरेको शासन नै न्यायपूर्ण हुन्छ ।
हेगेल मानवीय उद्वेग वा उद्दीपन महत्त्वपूर्ण ठान्छन् समाजमा हुने धेरै घटनाहरूको निम्ति । निम्न वर्गको इच्छाशक्ति र सृजनात्मकता नै इतिहास परिवर्तनको कारण मान्छन् । तर मार्क्सको दर्शनमा मानवीय भावनाको कुनै स्थान छैन । मान्छेमा त्यसप्रकारको वैचारिक परिवर्तनको अपेक्षा राखिन्छ । परिवार भावना मात्र हो । निजी सम्पत्ति हुनु हुँदैन र सबै सार्वजनिक हुनुपर्छ ।व्यक्तिवादी धारणा नकारिन्छ ।
मार्क्सको प्रसिद्ध राजनीतिक नारा “Workers of all the world, unite ” पनि हेगेलको विचारमा आधारित देखिन्छ । हेगेलले भनेका थिए – इतिहास दासबाट प्रेरित छ र उनीहरूले मात्र परिवर्तन गर्न सक्छ । श्रमिक समाजको निम्नतम् वर्गमा आउदँछ र उनीहरू मात्र परिवर्तनको पक्षमा आउन सक्दछन् । यसैले मार्क्स आह्वान गर्दछन् ।
बीसौँ शताब्दी मार्क्सवादी धारणाले पूर्ण प्रभावित थियो र विश्वको आधा भागमा मार्क्सवादबाट प्रेरित शासन व्यवस्था थियो । तर सोभियत सघंको विघटनसँगै मार्क्सवादको अवसान प्रारम्भ भयो । सोभियत सघं विघटनपछिको रसियामा कम्युनिस्ट पार्टी खोल्न प्रतबन्ध लगाइयो । चीनमा कम्युनिस्ट शासन रहेता पनि अर्थव्यवस्था पुँजीवादी छ । भियतनाममा पनि शासन कम्युनिस्ट रहे पनि अर्थव्यवस्था पुँजीवादी राखियो । जाक डेरिडाले भनेका छन् – मार्क्सवाद मरेर प्रेत बनिसकेको छ । तर प्रेत दृश्य/अदृश्य भएर रहन्छ र यो अमर रहन्छ । यसैले मार्क्सवाद मरे तापनि यसको भय हामीसित रहनेछ ।
फ्रान्सिस फुकुयामा बताउँछन् – “अहिले समकालीन समयको घटना परिघटनालाई व्याख्या गर्दा हामीलाई मार्क्सवाद होइन तर हेगेलको दर्शन सहायक देखिन्छ । वर्तमान समय भइरहेका धेरै राजनैतिक परिवर्तन र घटनाक्रम हेगेलको सिद्धान्तले मात्र सटीक विश्लेषण गर्न सक्दछ ।”
(पेम्पा तामाङ नेपालीभाषी भारतीय समालोचक तथा विश्लेषक हुनुहुन्छ । लेखमा व्यक्त विचार लेखकका निजी हुन् । नेपालमा हेगेलबारे धेरै बहस नभएकोले बहसमा सहयोग पुराउने उद्देश्यले प्रस्तुत लेख उहाँको सामाजिक सञ्जालबाट साभार गरी राखिएको हो ।)