गान्धी, मोहनदास करमचन्द गान्धी, महात्मा गान्धी, mohan das karamchanda, mahatma gandhi,
 

डिसेम्बर १४, १९४८ मा अमेरिकी पत्रकार लुइस फिसरसँगको साक्षात्कारमा मोहनदास करमचन्द गान्धीकी दिदी रैलियत बेनसँग सोधिएको एउटा प्रश्न थियो गान्धीको स्कुले जीवनको पढाइ कस्तो थियो ? रैलियतको उत्तर थियो गान्धी जेहेन्दार विद्यार्थी थिए र स्कुलका कक्षाहरूमा प्रथम रहन्थे । तर ऐतिहासिक दस्तावेजहरूले यो कुराको पुष्टि गर्दैन ।

गान्धीको स्कुलले जीवनको पढाइमा विविधता पाइन्छ । सन १८७९ मा गुजरात पोरबन्दर नजिक दरबारगढको तालुक प्राथमिक स्कुलमा पढ्दा गान्धी २३८ दिन स्कुल चल्दा उनी ११० दिन मात्र उपस्थित भएका थिए जसको असर वार्षिक परीक्षामा पर्‍यो र ४१.२५ प्रतिशत अंक मात्र पाए ।

सन् १८८० मा गान्धी काठियावाडा हाईस्कुलमा भर्ना भएका थिए, जहाँ उनले अंग्रेजी पहिलोपल्ट पढ्न पाए । गुजराती, अंकगणित र अंग्रेजीमा उत्तीर्ण भए पनि तीन जनाले भूगोलमा शून्य ल्याए, जसमा गान्धी पनि एक थिए । कक्षाका ३४ जनामा गान्धीको स्थान ३२औँ आयो ।

सन् १८८२ मा गान्धीको १३ वर्षको उमेरमा आफ्नै बनिया जातीय कस्तुरबा कपाडियासँग विवाह भयो (गान्धी: आत्मकथा) । अनि पढाइमा प्रगति पनि । सन १८८३ को परीक्षामा गान्धीले ६८ प्रतिशत अंक ल्याएका थिए भने १८८४ मा ५८ प्रतिशत अंक प्राप्त गरेका थिए । केटलको स्पेलिङ भन्न नसकेका गान्धी केही समयपछि एडिसनको २०० पृष्ठको स्पेकटेटर र मिल्टनको प्याराडाइज लस्ट लगभग कण्ठ पार्न सफल भएका थिए ।

सन् १८८५ को पाँचौँ ग्रेडको परीक्षामा गान्धी कक्षामा तेस्रो भए । सन १८८६ मा छैठौँ ग्रेडमा पनि राम्रै गरे तर त्यही साल ग्रेड सातमा गान्धीले राम्रो गर्न सकेनन्,  ३१.८ प्रतिशत मात्र अंक पाए (जी. एम. उपाध्याय: महात्मा गान्धी एज अ स्टुडेन्ट) ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

नोभेम्बर १८८७ मा बम्बई विश्वविद्यालयबाट लिइने म्याट्रिकुलेसनको परीक्षा दिन गान्धी पहिलोपल्ट रेल चढेर अहमदावाद गएका थिए । जनवरी १८८८ काठियावाडा गजेटमा म्याट्रिकुलेसनको नतिजा प्रकाशित भएको थियो । ३,००० बढी विद्यार्थीहरूले परीक्षा दिएकोमा ३० प्रतिशत उत्तीर्ण भएका थिए, जसमा गान्धी पनि एक थिए । काठियावाडाबाट ८२३ छात्रहरू परीक्षामा उत्तीर्ण भएका थिए, जसमा गान्धीको स्थान ४०४ नम्बरमा थियो । गान्धीले यो म्याट्रिकुलेसनको परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेका थिए (रामचन्द्र गुहा: इण्डिया विफोर गान्धी) । परीक्षामा कुनै डिभिजन तोकिने प्रावधान थिएन । उत्तीर्ण र अनुत्तीर्ण मात्र जानकारी हुन्थ्यो ।

सायद भारत र नेपालमा गान्धीको ४० प्रतिशत अंकलाई आधार मानेर थर्ड डिभिजनलाई ‘गान्धी-डिभिजन’ भनिएको हो । हामीले म्याट्रिक (एसएलसी) दिनुभन्दा पहिला र पछि पनि थर्ड डिभिजन ल्याउनेले ‘गान्धी-डिभिजन’ आयो भन्ने सान्त्वना जवाफ दिएको सुनेकै हो तर यसको आधिकारिकताको प्रमाण प्राप्त भएको पाइँदैन ।

जनवरी १८८८ मा चार वर्षे बीए डिग्री कोर्सका लागि गान्धी भावनगरको सामलदास कलेजमा भर्ना भएका थिए तर आमा पुतलीबाईको माया र पत्नी कस्तुरबाको कायाको सम्झनाले त्यहाँ पढ्न सकेनन् र त्यही सालको अप्रिलमा घर फर्के ।

पारिवारिक मित्र मावजी दवेले गान्धीलाई कानुन पढ्न लन्डन जाने सुझाव दिए । गान्धीलाई यो सुझावले सही बाटो तिर डोरायो । सेप्टेम्बर ४, १८८८ मा २० वर्षको उमेरमा बम्बईबाट एसएस क्लाइड जहाज चढेर ब्यारिस्टर पढ्न गान्धी लन्डन प्रस्थान गरे । सेप्टेम्बर २९, १८८८ यात्राको २५ दिनपछि टिलवरी बन्दरगाह पुगे । त्यहाँबाट रेलमा २० माइल टाढा लन्डनको भिक्टोरिया होटलमा बासबस्न पुगे । नोभेम्बर ६, १८८८ मा ब्यारिस्टर पढ्न इनर टेम्पलमा नाम दर्ता गराए । पहिलो वर्ष ४६ जनामा छैठौँ स्थान र आखिरी दोस्रो वर्ष जनवरी १८९१ मा १०९ मा ३४औँ स्थान प्राप्त गरेर जुन १०, १८९१ विदाइ भोज खाएकै दिन अष्ट्रेलियन स्टीमर ओसियानामा चढेर जुलाई ५, १८९१ मा गान्धी ब्यारिस्टर बनेर बम्बई ओर्लिएका थिए । लन्डनको बसाइले गान्धी अब्बल अंग्रेजीका जानकार बनिसकेका थिए ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)