अहिले जति दुधले धुन खोजे पनि प्रधानमन्त्री ओली सुकिलो हुने अवस्था देखिएन । यिनकै कारण देश भ्रष्टाचारको दलदलमा फस्दै गयो । सरकारी जमिन समेत व्यक्तिको हुँदै सकिने भयो । जुनसुकै सार्वजनिक खारिदमा अरबौँ भ्रष्टाचार हुने र जनताले तिरेको कर कुनै व्यक्तिको मोजमस्तीमा खर्च हुने क्रम तीव्र बनिरह्यो । कोरोनाको संक्रमणले पीडित जनताको सामान्य परीक्षण समेत हुन नसक्ने गरी सिंगो देश अहिले थलिएको अवस्थामा पुगिसकेको छ ।
गणतन्त्रमा प्रत्येक व्यक्तिको विचारको कदर हुन सक्नुपर्ने थियो । त्यो अहिले भएन । प्रधानमन्त्रीको पदमा पुगेका ओली आफै पार्टीको अध्यक्ष हुन् तर पनि उनी अब आफ्नो पार्टी कमिटी नै चाहिँदैन भन्ने अडानमा देखिन्छन् । हुन पनि उनी आफू प्रधानमन्त्री भइसकेपछि उनलाई प्रधानमन्त्रीको पदमा आसिन गराउने पार्टीको खासै काम पनि नहोला । यसैले उनी पार्टीको बैठकमा समेत आउन चाहिरहेका छैनन् । पार्टी अध्यक्ष आफै भएर पनि पार्टी कमिटीको निर्णय मान्दिन भन्ने नौलो प्रथा प्रधानमन्त्री ओलीले चलाइरहेको पाइयो । यो उनको जडता अथवा मुर्खता नै हो भन्ने कुरा बुझ्न गाह्रो परेन किनभने अहिले पार्टी बैठकलाई गुटको भेला भन्ने र जे मन लाग्यो गर्नु भनेर जथाभावी बोल्ने मात्र नभई त्यस्तै व्यवहार समेत देखाउने अवस्थामा सरकारको नेतृत्व रहनु नै यो देशको दुर्भाग्य बन्न गएको छ ।
सत्तामा बस्नेले भागबण्डाका लागि झगडा गरिरहने र जनता भने अलपत्र पर्ने अवस्था नाजुक हो देशका लागि । यो कुरा नहोस् भनेर सत्तासिन पार्टीकै जिम्मेवार नेता अथवा कार्यकारी अध्यक्ष प्रचण्डले सरकारका कमजोरी औँल्याएर प्रतिवेदन प्रस्तुत गरेको पाइयो । प्रचण्डले पटक पटक प्रधानमन्त्री ओलीसँग छलफल गर्दा पनि उनले नमानेपछि यो प्रतिवेदनको रुपमा आएको दस्तावेज नै प्रचण्डले लिखित रुपमा दिएको सुझाव हो । यसलाई प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा सहयोगका लागि आएको सुझाव अथवा पार्टीले दिएको मार्गदर्शन हो भनेर आफ्ना कमजोरी सुधार गर्नुपर्ने थियो । यो नगरेर उल्टै प्रचण्डले दिएको सुझावको प्रतिवाद गर्दै विगतमा भएका घटनाक्रमलाई कोट्याएर लामो गन्थनसहितको प्रत्युत्तर दिनु भनेका प्रधानमन्त्री ओलीको छुद्र प्रवृति हो भन्ने बुझ्न गाह्रो परेन ।
अध्यक्ष प्रचण्डले ओलीलाई सरकार चलाउँदा गम्भीर गल्ति नहोस्, उनले गरेको निर्णयबाट देशको सार्वभौमिकतामा कुनै छिमेकीले पनि आँखा लगाउन नपाओस् र जनताले सरकारको कार्यक्रमबाट सुविधाजनक अवस्थामा आफ्नो पेशागत क्षेत्रमा कृयाशील रहने वातावरण बनोस् भन्ने सदासयका साथ लिखित प्रतिवेदनको रुपमा सुझाव दिइएको पाइयो । यसरी अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्री ओलीका हरेक कदममा सहयोगी बन्न खोजे तापनि प्रधानमन्त्री ओलीले यसरी दिइएको सदासयतालाई आरोप पत्रको रुपमा लिनु नै अहिलेको राजनीतिक वृत्तका लागि आश्चर्य बनेको छ ।
प्रधानमन्त्री ओलीले पटक पटकको सुझाव नमानेपछि पार्टीमा गतिरोध उत्पन्न भएको अवस्थामा पार्टी महासचिवको संयोजकत्वमा सुझाव समिति नै बनाएर त्यो समितिले प्रतिवेदन समेत दिएको हो । तर पनि यसरी दिइएको सुझाव समेत नमानेर सरकार एकलौटी आफ्ना आसेपासेको भागबण्डामा चलाउने प्रधानमन्त्री ओली प्रवृतिले यो वितण्डा सिर्जना गरेको हो । उनले पार्टी एकताको समयमा आधा आधा समय दुई अध्यक्षले सरकार सञ्चालन गर्ने समझदारीलाई समेत प्रचण्डले दावा नगरेर ओलीलाई पाँचै वर्ष सरकार चलाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । यसरी प्रचण्डको सदासयतालाई ओलीले कमजोरी ठानेर पार्टीका सबै वरिष्ठ नेताहरुलाई खुइल्याउँदै आफू भ्रष्टाचारीको नाइके बन्नुले अहिलेको गतिरोध निम्त्याएको छ ।
यतिखेर प्रम ओली “आफू सबै थोक हुँ र अरु केही होइनन्” भन्ने घमण्डले चुलिएका छन् । अन्यथा पार्टीको स्थायी समितिले यो भ्रष्टाचार भयो, यहाँनेर सरकारले गरेको काम सच्याउनु पर्यो, जनताको मर्का बुझेर काम गर्न सुझाव दिँदा आरोप हुन्छ त ? आफ्नै समर्थन गर्ने राष्ट्रपति छन् भन्दैमा जे पनि गरिहाल्ने ? पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरुलाई र सचिवालय समेतमा छलफल नै नगरी मनोमानी अध्यादेश ल्याएर पार्टी फुटाउने सुर कस्नु कत्तिको राम्रो काम थियो ? यति मात्र नभएर जनता समाजवादीका पार्टीका सांसदलाई रातारात अपहरण शैलीमा होटलमा ल्याएर थुन्ने, पार्टीका नेतालाई आफ्नो गुटमा रहन खरिद विक्रिको ताण्डव खेल खेल्न आफ्ना मतियारहरुलाई लगाउने जस्ता प्रम ओलीका गम्भीर गल्ति हुन् ।
यसरी ओलीबाट भएका गल्ति सच्याउन पार्टीका कार्यकारी अध्यक्ष लगायत सचिवालयका सदस्यहरु अग्रसर हुने बाध्यता आइपरेको हो । हुन पनि पार्टी र सबै क्षेत्रबाट विरोध भएपछि अध्यादेश भने फिर्ता भएको थियो । यसै गरी उनले गरेका अरु गलत कामहरु पनि सुधार गर्नका लागि प्रचण्डले प्रतिवेदनमा सुझावहरु बुँदागत रुपमा उठाएका हुन् भन्ने कुरा बुझ्न नसक्नु ओलीको घमण्ड सिवाय अरु के नै भन्न सकिएला र?
अहिले ओलीकै कारण प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोजिरहेका छन् । उनीहरु “राजा आऊ, देश बचाऊ” भन्दैछन् । देशलाई के भएको छ र यतिखेर “बचाऊ” भन्ने शब्दमा आफ्ना मालिकलाई पुकार गर्नु परेको हो? यो सोचनीय कुरा भएको छ । के राजा आएपछि सबै समाधान हुन्छ र देश स्वर्ग बन्छ त ? त्यो त होइन । देशको दुर्दशा लामो समयको निरंकुश राजसत्ताको कारण हो भन्दा धेरै हुँदैन । राजपरिवारको ज्यादती विगतमा हामीले भोगेकै कुरा हो । राजतन्त्रमा नमिता-सुनिताजस्ता होनाहार युवतिहरुको हत्या हुनु, प्रविण गुरुङजस्ता सांगीतिक हस्तीको दुर्घटना गराएर समाप्त गर्ने काममा राजसंस्था चोखो थियो र ? भनिन्छ देशभरका मूर्ति चोरी गर्ने मात्र नभएर, भक्तपुरको दरवार चोकमा रहेको भूपतिन्द्र मल्लको पेटीको बहुमूल्य धातु प्रयोगमात्र नभएर यान्त्रिक महत्त्व विक्रिबाट ठूलो रकम आर्जन गर्ने काममा कसको हात रहेको हो भन्ने कुरा सबैले बुझेका छन् । भक्तपुरबासीहरु भन्छन् एकाएक बत्ति निभाएर त्यो पेटी समेत गायब भएको थियो । त्यस्तै पुरातात्विक सामग्री बेचेर सम्पत्ति आर्जन गर्ने जस्ता काम राजतन्त्रकै संरक्षणमा भएका गम्भीर अपराध थिए भन्ने कुरा सर्वसाधारणले समेत उठाइरहेका छन् ।
राजसंस्थाबाटै देश बन्ने भए सोझो प्रकृतिको विरेन्द्र परिवारलाई सेनाको संरक्षण हुँदा हुँदै हत्या भएको होइन? आफ्नो दरवारको समेत संरक्षण हुन नसक्ने अवस्था राजतन्त्रमै थियो भने राजसंस्थाबाट देश कसरी बन्ने हो? यसरी राजसंस्थामा भइरहेको सँधैको किचलो र आफ्नै मोज मस्तीमा राज्यको श्रोत साधन खर्चिनुको कारण नेपाल आजसम्म पनि गरिबीको जटिल समस्या भोगिरहेको हो भन्ने कुरामा कसको दुई मत रहला र?
दरवार हत्याकाण्ड भयो । यत्रो हत्याकाण्ड हुँदा ज्ञानेन्द्र बाहिर हुनु, पारस र कोमल कार्यक्रममा सहभागी भए पनि उनीहरुलाई केही नहुनुबाट पनि यो घटना सँधै संकास्पद बनिरहको छ । यति मात्र नभएर मरिसकेको दीपेन्द्रलाई राजा घोषणाको नाटक मात्र थियो । फेरि ज्ञानेन्द्रले राज्यारोहणपश्चात नारायणहिटी लगायत देशभरको हजारौँ रोपनी र हजारौँ बिगाहा जग्गा आफ्नो नाममा दर्ता गराउनु मात्र नभई श्रुतिको नाममा रहेको २५ लाखको होटेलको शेयर समेत आफ्नो छोरी प्रेरणाको नाममा सार्नुजस्तो कन्जुसयाइँपूर्ण ज्ञानेन्द्रको व्यवहारले यिनी को हुन् र के गर्छन् भन्ने कुरा स्पष्ट पारिसको छ । यति मात्र नभएर ज्ञानेन्द्र राजा भइरहेको अवस्थामा पशुपति भण्डारमा आगलागीको नाटक गरेर प्राचीन भोजपत्र लगायत बहुमूल्य रत्नहरु चोरिएका थिए भन्ने पनि सुनिन्छ ।
यिनै ज्ञानेन्द्र अहिले केही खर्चेर सडकमा मान्छेहरु उतार्न लागेको कुरा सञ्चार माध्यमले समेत भन्न छाडेका छैनन् । यो कुरा संयोगवश सही पनि हुनसक्छ किनभने यो जुलुस नारा चलिरहेको बेला उनी भनिरहेका छन् । अब सकृय हुने बेला आएजस्तो छ तर त्योबेला के हो त उनका लागि? आफू राजा हुँदा पाएको त्यति ठूलो विरासत गुमाएर दरबार छाडेका फिरन्तेले केही मान्छेलाई भत्ता ख्वाएर सडकमा उतार्दैमा फेरि पुरानो सत्ता पाइएला र? फेरि राजा नै चाहिन्छ भने ज्ञानेन्द्र र उनकै वंश खोजिरहनु पर्छ र? अर्को वंशको सुरु गरे हुदैन? यसैले मैले पनि सामाजिक सञ्जालमा राजा हुने नै भए म पनि राजा हुन तयार छु भनेर गरेको दावा पनि सोचनीय हुनसक्छ ।
ज्ञानेन्द्रले यतिखेर आफू राज्यसत्ता लिइसकेपछि उनले राजनीति नै बुझेका थिएनन् जस्तो लाग्ने व्यवहार देखाएर इच्छुक नेपालीलाई प्रधानमन्त्री हुन दर्खास्त मागे । यद्यपि प्रधानमन्त्री संसारको राजनीतिक प्रणालीले दर्खास्त मागेर छानेको पाइएको छैन । फेरि यसरी दर्खास्त माग्ने पनि ज्ञानेन्द्रबाहेक कुनै देशको राष्ट्रप्रमुख पाइँदैन होला ।
निश्चय पनि यस्तै अनेकौ कारण बनेर यिनको राज्य सत्ता गुमेको हो । यदि यिनले राज्य आफ्नो हातमा परिसकेपछि सम्पत्तिमा लोभ नदेखाएको भए राजपाटबाट यिनलाई हटाउन कसले आँट गर्ने थियो र? यद्यपि उनको यो व्यवहार गणतन्त्रवादीका लागि राम्रो वातावरण पनि बनिरहेको थियो । भनिन्छ यिनैको मुर्ख्याइँका कारण गणतन्त्रका लागि युद्धको नेतृत्व गर्ने प्रचण्डलाई गणतन्त्र स्थापित गर्न सहयोग पुगेको पनि हो ।
अहिले राजनीतिक क्षेत्र पछि फर्कन सक्ने अवस्थामा छैन । यसैमा अग्रगामी सुधार र रूपान्तरण आवश्यक छ । प्रचण्डको प्रयास देशलाई समाजवादी अवस्थामा पुराउने पनि हो । यसर्थ ज्ञानेन्द्रले चुपचाप आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न आफूले विदेशमा राखेको सम्पत्ति देशभित्रै ल्याउनु राम्रो हुन्छ । यसरी उनले उद्योग व्यवसायमा सकृयता राख्न सके युवाहरुलाई रोजगारीका अवसरहरु प्राप्त हुँदा उनकै श्रेयस्कर प्रयासको प्रशंसा हुने थियो ।
अब सबै खाले उत्ताउलोपनाको कुनै काम छैन । हिलोमा माछा मार्न पल्केकाहरुको दाउ समाजलाई अस्तव्यस्त बनाउने मात्र हो । सायद त्यही दाउमा ज्ञानेन्द्र पनि होलान् । सायद अरूलाई पनि त्यतै लामबद्ध हुन मन होला, कतिपय मानिसहरूका एकांकी मनोवेगले नै त्यो स्पष्ट पार्दछ । ओम्नी समूहको मिलेमतो, यति होल्डिङप्रतिको प्रेम, एमसीसी सम्झौता र विकास गर्छु, जनतालाई सुविधा दिन्छु भन्ने काल्पनिक कथाहरु यी सबै उनका विकृत दिमागका उपज हुन् । अब स्वास्थ्यको बिग्रँदो अवस्थाले पनि उनी काम गर्नसक्ने अवस्थामा भएनन् । यसैको कारण दिमाग पनि बिग्रिसकेको अवस्था रह्यो । यसैले पनि होला काँग्रेस भ्रष्टाचार विरोधी भएको छ । काँग्रेस के दुधले धोएको हो र? युवा नेता गगन भनिरहेछन्, बाँसबारी छालाजुत्ता कारखाना बेच्नु ठिक हो, जनकपुर चुरोट कारखान बेच्नु ठिक हो, कागज कारखाना र यस्ता संस्था सबै बेच्नु ठिक हो । होला ठिक तर त्यो बेचिएको सम्पत्ति कसले कुम्ल्याएको छ अहिलेसम्म । अनि यस्तै समूह भ्रष्टाचारको विरोधी हुने । राम्रो हो मति सुध्रिएको भए स्वागत गरौँ ।
अहिले प्रचण्डलाई अनेकौँ आरोप लगाउने गर्छन् र उनलाई निस्तेज बनाएपछि फाइदा लिन पाइन्छ भन्नेले यो काम गरिरहेका छन् । उनका छोरी, बुहारीको कुरा सँधै आउँछ । महान् जनयुद्धका सिपाही बनेका छोरी-बुहारीले गर्ने काम के हो त ? अर्कालाई गाली गर्ने, अनि आफू चाहिँ आफ्नो मान्छे भर्ती गर्न कुलमान जस्तो देशको सकृय र कुशल व्यवस्थापकको मानमर्दन गर्ने? कुलमानको माग जनताले गरिरहेका छन् । खै त सुनेको? कुलमानको के गल्ति थियो त? यस्ता विकृति निराकरणका लागि दर्बिलो नेतृत्वको खाँचो कमरेड प्रचण्डबाट पूरा हुने आशा सबैको छ । यतिमात्र कि संसारका शोषित पीडित जनता समेत प्रचण्डको सफलताको कामना गरिरहेका छन ।
देशको अवस्था मात्र होइन अहिलेको कोभिड महामारी लगायतका संक्रमणको निराकरण गर्ने ताकत आर्जन गर्न सबै जनतालाई समृद्ध बनाउने दिशामा लाग्नुपर्छ । यो समृद्धिले आर्थिक असमानता, सामाजिक दुरी र विभेद कम हुन्छ । यसरी देशको समृद्धिसँगै गणतन्त्रका नायक क. प्रचण्डको नेतृत्वमा समाजवादी दिशामा जाने आम जनताको आशा छ । समाजवाद निर्माणको सन्दर्भमा अध्यक्ष प्रचण्डको नेतृत्वमा हामी सबै लामबद्ध हुन तयार छौँ ।
(लेखक वामबुद्धिजीवी तथा विकास अर्थशास्त्री हुनुहुन्छ ।)