चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोगको प्रभाव विश्वभरि फैलिएको छ । विकासोन्मुख राष्ट्रदेखि महाशक्ति राष्ट्रहरु समेत कोभिड-१९ को आतङ्कबाट निरिह भएका छन् । ठुलो मानवीय क्षति भएको छ । विश्व अर्थतन्त्र धरासयी भएको छ । मानिसहरूको दैनिक जीवन अस्तव्यस्त भएको छ ।
कोभिड-१९ माथि विजयका लागि वैज्ञानिकहरु शोध, अनुसन्धानमा निरन्तर लागिरहेका छन् । विगतका विश्वव्यापी प्राणघातक भाइरस रोगमाथि पनि मानिसले विजय प्राप्त गरेका छन् तर धेरै मानवीय क्षतिपछि मात्र । कोभिड-१९ फैलिने तरिकाको वैज्ञानिक आधार यही हो भनी ठोकुवा गर्ने कुनै तथ्यसंगत प्रमाण छैन । शोधकार्य जारी छ । शोधविनाको अभिव्यक्ति दिनु हुँदैन् । यसले जनमानसमा भ्रम सिर्जना गर्दछ । नेपाल भने यसबाट अछुतो रहन सकेन ।
छिमेकी राष्ट्र चीनमा कोभिड-१९ ले हजारौँ मानिसको ज्यान लिइसक्दा पनि रोगप्रति बेवास्ता गर्दै सरकार उदासिन रह्यो । नेपालमा अग्ला सेताम्यै हिमालहरु छन्, नेपालीहरुलाई सित्तिमित्ती रोगले छुँदैन, सानातिना रोगहरु त नेपालीहरुले हिँड्दा हिँड्दै पचाई हाल्छन् भन्ने भ्रमपूर्ण अभिव्यक्ति दिँदै सरकार पन्छिन थाल्यो । महामारी विरुद्ध लड्ने र जित्ने कुनै तयारी भएन । फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस देखा परेपछि मात्र सरकारले लकडाउन घोषणा गर्यो । जनताले सरकारको उक्त निर्णयको स्वागत गर्दै सफल पार्न समर्थन जनाए । जनताबाट समर्थन पाएको “लकडाउन”को निर्णयप्रति सरकार मक्ख बन्यो । अर्को छिमेकी राष्ट्र भारतबाट कोरोना भाइरस भित्रिनेतर्फ वास्तै गरेन । खुल्ला सिमाना भारत नै कोभिड-१९ को मुख्य श्रोत बन्थ्यो – नेपालका लागि । भइदियो त्यही – “नेपाल-भारत खुल्ला सिमाना” बाट भारतमा रहेका लाखौँ नेपाली र नेपालमा बसोवास गर्ने भारतीयहरु जबर्जस्त सिमाना पार गर्ने, भागेर, लुकेर,चोरबाटो भएर नेपाल प्रवेश गर्नु, सिमानामा क्वारेन्टाइन नहुनु, गाउँमा पसी लापरबाही भेटघाट गर्नु, सरकारबाट कुनै प्रकारले उनीहरुको खोजतलास नगर्नुले रोग फैलिने अनुकूल वातावरण बन्यो । स्थानीय तहमा स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री, क्वारेन्टाइन, आइसोलेसनको अभावको कारण रोग बढ्ने खतरा रह्यो । विदेशमा रहेका आफ्ना नागरिकको उद्धार, राहत र सुरक्षाप्रति नेपाल सरकार पुरै गैरजिम्मेवार रह्यो ।
कोभिड-१९ महामारीले देश र जनतामाथि आतङ्क मच्चायो । सरकारले रोग नियन्त्रणका लागि “कोरोना भाइरस नियन्त्रणको नाउँमा कोभिड-१९ (नोवेल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति, कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष” गठन गर्यो । उद्धार, राहत र उपचारका लागि गठित समितिहरुले भ्रष्टाचारको खेलोमेलोमा लागेको भन्ने समाचारले विभिन्न पत्रपत्रिका, अनलाइन, मिडिया, सामाजिक सञ्जालहरु भरिए । गरिबका झुपडीदेखि शासकका महलसम्म सरकारी र सुविधा सम्पन्न व्यक्ति केन्द्रित भ्रष्टाचारले खैलाबैला मच्चायो । देशभर प्राणघातक रोग कोरोना भाइरसले अहिलेसम्म १२६ जनाको मृत्यु भैसकेको छ भने २९,६४५ संक्रमित रहेकोमा १७,९६४ जनालाई रिकभर भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । महामारी देशव्यापी तीव्ररुपमा फैलिरहेको छ । उच्च सतर्कता र सचेतताको आवश्यकता छ ।
लकडाउनमा ज्यालादारी मजदुरहरको रोजीरोटी खोसिँदा, एक छाक खान नपाई सडकमा भौँतारिँदा, भोकभोकै पैदल यात्रा घरतिर फर्किँदा सरकार भने चौरासी व्यञ्जनसहित भ्रष्टाचारमा “मालामाल” । औषधि सामग्री खरिद, राहत, उद्धार सबैमा अनियमितता । सरकारको काम जनतालाई साथ र सहयोग गर्नु होइन, बोलिदिए पुग्यो । राज्य कोषमा जम्मा गरेको अरबौँ रकमको हिसाबकिताब छैन । अप्राकृतिक र अपारदर्शी योभन्दा अरु के हुन सक्छ र नेपालमा ?
सरकारको बेवास्ता, लापरबाही र गैरजिम्मेवारीको कारण राजधानी काठमाडौँ कोरोना भाइरसको केन्द्र बन्दैछ, सरकारी नियन्त्रणभन्दा बाहिर जाँदैछ – महामारी । दिनप्रतिदिन संक्रमित र मृत्यु दर बढिरहेको छ । देशका मुख्य शहर र राजधानी काठमाडौमा निषेधाज्ञा जारी गरिएको छ । देशव्यापी जनजीवन कष्टकर बनिरहको छ । रोगको महामारी र भोकमरीको हाहाकार मच्चिएको छ । लकडाउन बिचमा देशव्यापी रुपमा हत्या, बलात्कार, लुटपाट लगायत अपराधिक घटनाहरु घटिरहेका छन् । सरकार कानमा तेल हालेर बसिरहेको छ । जनताका लागि सरकार “कागलाई बेल पाक्यो हर्ष न विस्मात” सरह भएको छ ।
कोरोना भाइरसको कारण मानव सभ्यता र संस्कृतिमै नकारात्मक असर पारेको छ । लाग्छ, घरभित्र बन्दी जीवन बिताउनु पर्दा मानिसको स्वतन्त्रताको अधिकार नै गुम्यो । “सरकार भन्छ, “क्वारेन्टाइन, लकडाउन, आइसोलेसन, घरभित्र बस्नु, बाहिर ननिस्कनु, सामाजिक दुरी कायम गर्नु, साबुनपानी, स्यानिटाइजर, पञ्जा, चश्मा, पिपिई प्रयोग गर्नु, बेसारपानी खानु, हाँच्छ्यु-साच्छ्यु गर्नु, कोरोना भाग्छ ।” रिङटोन बजाउने, राष्ट्रिय गान गाउने र दिमागबाटै कोरोना हटाउने, सरकारको सुझाव यस्ता छन् । उता संक्रमित बिरामीहरुले औषधोपचार पाउनु त परै जाओस्, अस्पतालमा बेड नै नपाई दिनप्रतिदिन मरिरहेका छन् । पिसिआर पर्याप्त नहुँदा अझै कति छन् बिरामी, कुनै एकिन डाटा छैन । भयाभहलाग्दो परिस्थितिको सिर्जना हुँदै गएको छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ज्यानको बाजी थापेर उपचार र सुरक्षामा अहोरात्र खटिएका छन् । सुरक्षा कवजको अभाव छ । सुरक्षाकर्मीहरुले सडकमा नाङ्गै हात मानिसहरु समात्नु, बल्छी लिएर तानेर भ्यानमा कोच्नु निश्चित रुपमा जोखिमपूर्ण कार्य थियो । औषधि किन्न गएका बिरामी/उपचारमा खटिएका डाक्टरले समेत सुरक्षाकर्मीबाट निर्घात कुटिन पुग्दा जनसम्बन्धमा केही गम्भीर प्रश्नहरु पनि उठे ।
क्वारेन्टाइनको अवस्थाबारे अध्ययन-अनुगमन छैन । नाम मात्रका क्वारेन्टाइनमा मृत्युदेखि बलात्कार, जातीय छुवाछूत र विभेदका कैयौं घटनाहरु घटिरहँदा सरकार जवाफदेही बन्न सकेको छैन । स्वास्थ्यकर्मीमाथि स्पष्टीकरण लिने, गरिबीको पीडालाई धज्जी उडाउने काममा लाग्नु सरकारको नियतमा समस्या रह्यो । प्रधानमन्त्री बेडमा थलिएका बेला आसेपासेहरु सल्बलाएर भ्रष्टाचारमा लिप्त भए, अनियमितताले सीमा नाघ्यो । अनियमितताको समाचार इन्टरनेटबाटै हटायो । सवारी पास र सरकारी साधनको चरम दुरुपयोग भयो । जसको आज कुनै छानबिन गरी दोषीउपर कार्बाही छैन, दण्डहीनताको अवस्था छ ।
कोभिड-१९ ले नेपाल जस्तो विकासोन्मुख देशमा गम्भीर असर पारेको छ । लकडाउनको अवधिमा कालोबजारी र मूल्य वृद्धिले प्रशय पायो, भ्रष्टाचार मौलायो । पेशा, व्यवसायी, व्यापार, उद्योग, कलकारखाना, शैक्षिक, पर्यटन, उत्पादन क्षेत्रहरु ठप्प भएका छन् । रेमिटेन्स घटेको छ, बेरोजगारी बढेको छ, लगानी ठप्पै छ । देशको अर्थतन्त्र धरासायी भएको छ । कृषि क्षेत्र अस्तव्यस्त छ । कोभिड-१९ माथि मानव समुदायको विजयपछि नेपालको अवस्था के? सरकारको “भिजन र मिसन” के? कसैलाई चिन्ता र मतलब छैन । सरकारमा बसेकाहरूले “सर्वदलीय राजनीतिक संयन्त्र” बनाई कोरोना भाइरस विरुद्ध लडेर विजय प्राप्त गर्ने कुराको पनि विरोध गरियो । भ्रष्टाचार त्यसको मूल कारण रहेको बुझ्न कुनै कठिनाइँ छैन ।
जस्तो “कोरोना भाइरस, उस्तै सरकार” भएर नेपाल र नेपालीलाई “सुखी नेपाली र समृद्ध नेपाल”को सपना र जनताको जनवाद हुँदै समाजवादको लक्ष्य चुम्न सकिँदैन । सरकार ! देश र जनताको सेवक र अभिभावक बन्नुपर्छ । कोरोना भाइरसबाट अस्तव्यस्त बनेको नेपाललाई विकासको उचाईमा पुर्याउने अवसर पनि प्राप्त भएको छ ।
(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व युवा तथआ खेलकुद विकास मन्त्री हुनुहुन्छ ।)