कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलनमा ‘माओ’ भनेर चिनिएका नेता क. मोहन विक्रम सिँह र ‘चाओ’ भनेर चिनिएका क. निर्मल लामा एउटै पार्टीमा थिए । क. मोहन विक्रम र निर्मल लामाका बिचमा सिद्धान्ततः कुनै ठूलो मतभेद थिएन । तर, क. मोहनविक्रमले क. निर्मल लामालाई सि.आइ.डि. को संगीन आरोप लगाएपछि पार्टीमा फुट आयो । नेपालको कम्युनिस्ट आन्दोलनमा अहिलेका देशका प्रमुख नेतामा गनिने नेतृत्व समेत उत्पादन गरेका क. मोहनविक्रम सिंहको नेकपा (मसाल) मा प्रायजसो फुट नै आएको देखिन्छ । तत्कालीन एकताकेन्द्रसँग गरेको एकता चार वर्षमा नै टुट्यो भने मसाल महामन्त्री भएर पार्टी हाँकेका नेता रामसिंह श्रीस सहितका कैयौं नेता कार्यकर्ताहरु पनि मसालबाट अलग्गिए ।
त्यो फुटपछि नेकपा (मसाल) को पुनर्स्थापनामा दिलोज्यान दिएर लागेका नेता डिलाराम आचार्य र गिरीधारीलाल न्यौपाने पनि त्यसको करिब चार वर्षमा पार्टीबाट बाहिरिए । उनीहरु त्यसरी बाहिरिनुका पछाडि उनीहरुको मात्र दोष थियो कि पार्टी नेतृत्वको पनि दोष थियो ? त्यसको समीक्षा कहिल्यै भएन । बाहिरिनेहरुलाई तथानाम गाली गर्ने बाहेक अर्को कुनै समीक्षा भएको इतिहास छैन । तथानाम गाली गरेर मात्र पनि पार्टी बन्दैन् भन्ने त इतिहासले प्रमाणित गरिसकेको छ ।

‘पार्टीबाट बाहिरिनेहरु सबै गलत हुन्, अवसरवादी हुन्, धोकेबाज हुन्’ भनेर उनीहरुलाई गाली गर्नेहरुले पनि नेकपा (मसाल) लाई एउटा गतिशील पार्टी बनाउन सकेनन् । क. मोहनविक्रम र क. चित्रबहादुरको बैसाखी टेकेर कतिपय नेताहरुले अहिले पनि आफ्नो योजना पार्टीमा अनुमोदन गराउने काम गरिरहेका छन् । पार्टी नेता क. चित्रबहादुर के.सी. उपप्रधानमन्त्री हुँदा पनि त्यस प्रकारको चालबाजी देखिएको थियो, त्यसलाई त पूरै लुकाउन प्रयत्न गरियो । क. मोहनविक्रम र क. चित्रबहादुर के.सी. नेपालको राजनीतिमा इमान्दार छन् भन्ने कथन पनि अब लाजले पानी पानी भएको छ ।
अहिले नेपालको राजनीतिक बजार हाँक साप्ताहिकको विवादले तातिरहेको छ । हाँक साप्ताहिकको विवादसँगै नेकपा (मसाल) फुटाउन खोजिएको छ भनेर सामाजिक सञ्जालमा निकै प्रचार गरिएको छ । कहिल्लै पार्टीको काम नगर्ने, पार्टीको कार्यक्रमलाई सफल बनाउन पर्यत्न नगर्नेहरु नै अहिले पार्टी बचाउँछौँ भनेर निकै उफ्रिरहेका छन् । त्यो भ्यागुतो उफ्राइले पनि मसालको गतिहीनतालाई खास दम दिने सम्भावाना छैन ।
हाँक साप्ताहिकको विवादमा परेका नेता क. गोविन्दसिंह थापादेखि त्यसको पक्षमा लागेका कुनै नेता तथा कार्यकर्ताहरुले पार्टी छाडेर जाने सम्भावाना छैन । भाग, छोड भन्दैमा मैदान खालि गर्नेवाला कोही छैन । छोडेर जालान् र यहाँ हजारौं पार्टी कार्यकर्ताहरुको रगतले सिँचिएको पार्टी सम्पत्तिमा हालिमुहाली गरौँला भनेर परिस्थितिलाई अतिरञ्जित गर्नेहरुको कमी छैन । राजनीतिमा लागेको दुई दशक पनि नभएका केही कमरेडहरु क. गोविन्दसिंह थापालाई बच्चालाईझैँ सामाजिक सञ्जालमा सम्झाउँदैछन् । त्यो प्रकारको रोदनले पार्टी चल्ने भए आज मसाल धेरै अगाडि बढ्ने थियो ।
मिसन पत्रकारितामा अद्वित्तीय, विचारधारात्मक संघर्षमा सँधै क्रान्तिकारी विचाराधारको पक्षमा सगरमाथा भएर उभिएको, निमुखा जनताको पक्षमा, राष्ट्रियताको पक्षमा कुनै विश्राम नलिएको, शहीदहरुको सपना पूरा गर्न निरन्तर आवाज बोकेको, सर्वाहारावर्गको राजनीतिक विचारधारा प्रवाह गरिरहेको, संकटकालीन कालकोठरीको समयमा पनि कुनै सम्झौता नगरिकन निरन्तर परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको, कम्युनिस्ट आन्दोलनमा देखिएका उग्रवामपन्थी भड्काव, दक्षिणपन्थी अवसरवाद, नवसंसोधनवादका विरुद्ध वैचारिक लडाईं लड्दै आएको पत्रिका हो – हाँक साप्ताहिक ।
चुनौतीका पहाडहरु भत्काउँदै आफ्नो मिसनमा सम्झौता नगरिकन अगाडि बढिरहेको पत्रिका हाँक साप्ताहिकलाई नेकपा (मसाल)को केन्द्रीय समितिले बन्द गर्ने जुन अप्रिय निर्णय गर्यो, त्यो नेकपा (मसाल)को आठौं महाधिवेशनले लिएको दक्षिपान्थी कार्यदिशाको परिणाम हो ।
हाँक साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक गोविन्दसिंह थापा माथि जुन अभियोग लगाइएको छ, त्यो कार्यकर्ताहरुलाई भ्रममा पार्न गरिएको एउटा प्रपञ्च मात्र हो, त्यसमा कुनै वास्तविकता छैन ।
जुन दिनसम्म नेकपा (मसाल)ले मार्क्सवाद, लेनिनवाद र माओविचारधाराको पक्षमा आफूलाई इमान्दारिताका साथ पक्रेको थियो, त्यो बेलासम्म हाँक साप्ताहिकलाई प्रा.लि. मा लैजाने कुनै प्रकारको योजना नै थिएन । जब नेकपा (मसाल) ले नवसंशोधनवादी बाटो समात्दै गयो, हाँक साप्ताहिकलाई पनि नवसंशोधनवादी विचार बोकाउनका लागि भरमग्दुर प्रयत्न गरियो । पार्टीका उर्जावान तथा गतिशील नेता कार्यकताहरुका लेखहरु हाँक साप्ताहिकमा छाप्नका लागि प्रतिबन्ध लगाइयो । केही कामरेडहरुका लेखहरु हाँक साप्ताहिकमा पार्टी नेतृत्वले प्रतिबन्ध लगायो र हाँकलाई दक्षिणपन्थी संशोधनवादी विचार बोक्ने पत्रिकाको रुपमा विकास गर्न धेरै प्रयत्नहरु भए तर त्यो सम्भव भएन ।
त्यसरी सम्भव नभएपछि नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विरासत बोकेको हाँक पत्रिकालाई क. गोविन्दसिंह थापाले नदिएको आरोप लगाएर, उहाँमाथि गालीगलौज गरेर हाँक साप्ताहिकलाई समाप्त गर्ने गरी त्यसलाई बन्द गर्ने नाटक नेकपा (मसाल) ले गर्यो । मसालको यो निर्णय कुनै अस्वभाविक होइन । आठौँ महाधिवेशनले लिएको दक्षिणपन्थी कार्यदिशाको कार्यान्वयनको पहिलो अभ्यास हो ।
क. गोविन्दसिंह थापाले पार्टी जीवनमा सँधैभरी पार्टी, क्रान्ति, देश र जनताको पक्षमा संघर्ष गरे । उनले कहिल्यै पदका लागि मरिहत्ते गरेनन् । आफू बिरामीको हुनुको बाबजुद पनि निरन्तर पार्टी काममा लागिरहे । हाँक साप्ताहिकको उन्नति-प्रगतिका लागि उनले कुनै कसुर बाँकी राखेनन् । क. गोविन्दसिंहले ‘हाँक’लाई ‘क’ वर्गको पत्रिका बनाउन निरन्तर संघर्ष गरे । प्रतिक्रियावादी, अवसरवादीहरुले दिएका कैयौँ दुःख र कष्टहरुको सामना गर्दै हाँकलाई अगाडि बढाइरहे ।
कुरा नबुझ्नेलाई बुझाउन सजिलो हुन्छ तर कुरा बुझेर बुझ पचाउनेहरुलाई भने जति बुझाए पनि नबुझेको नै नाटक गर्छन् । अहिले पनि ठिक त्यही गरेका छन् । कतिपय मान्छेहरु आकाश खसे झैँ लौ पार्टी सकिने भयो भनेर अतालिएका छन् । तिनीहरुको मुखको माड बन्द हुने भएपछि अतालिनु अस्वभाविक पनि भएन ।
एकथरी सानो जमात क. गोविन्दबहादुर थापा (मामा) लाई तथानाम गाली गर्न व्यस्त छन् । उनीहरुको पीर यो छ कि मामाले हाँक दिएनन् । मामाले हाँक दिएनन् भन्नेहरुले कुरा बुझेर पनि नबुझे झै गर्छन् । मामाले हाँक नदिएका नै होइनन्, त्यसमा मामाको स्वामित्व नै छैन । मामाले त ‘हाँक’ प्रा.लि.मा लान हुन्न मात्र भनेका हुन् । ‘हाँक’लाई तीन जनाको प्रा.लि.मा लगेर जसले आफ्नो दुनो सोझाउन खोजेका थिए, त्यसमा मामाको कदमले बज्रप्रहार भयो । त्यसरी बज्रप्रहार भएपछि रोइकराई गर्नु पनि अस्वभाविक त भएन । अहिले भएको त्यही हो ।
हाँक साप्ताहिकलाई प्रा.लि. मा लैजाने जुन कुरा छ, त्यो प्रा.लि. मा नियुक्ति गरिएका मान्छेहरु के सँधै पार्टीमा बस्छन् भन्ने कुनै ग्यारेन्टी छ ? छैन भने हाँक झन् कसरी सुरक्षित हुन्छ ? प्रा.लि. मा बहुमत बनाएर पार्टीबाट भागे भने त्यसको जिम्मा कसले लिन्छ ? क. गोविन्दसिंहले त पार्टीले नै हाँक चलाओस् भनेकै छन् ।
अर्कोतिर हाँकले सँधैभरी क्रान्तिकारी विचारलाई साथ दिँदै आएको छ । अहिले पनि हाँकले त्यो जिम्मेवारी निभाउनु पर्दछ । दक्षिणपन्थीहरुको वैधानिक पत्र बन्नु हाँकको इतिहासमाथि कै धोका हुन्थ्यो । त्यस अवस्थामा ‘हाँक’लाई दक्षिणपन्थीहरुको बनाउन नदिनु नै सही हुन्थ्यो । मामाले प्रा.लि.मा लैजान हुँदैग भनेर जे गर्नुभयो ठिक गर्नुभयो ।

कुरा रह्यो पार्टी अनुशासनको । अनुशासन निरपेक्ष त हुँदैन । क्रान्तिकारी विचारधाराको रक्षाका लागि कहिलेकाँही यस्ता परिस्थितिहरु आउँछन, त्यतिबेला हामीले मान्दै आएका नियम कानुनहरुलाई पनि तोड्नुपर्छ । सामन्ती व्यवस्थामा भएका नियम कानुनहरु नतोडेसम्म पुँजीवादी व्यवस्था आउँदैन, पुँजीवादी व्यवस्थाका नियम कानुनहरु नतोडेसम्म समाजवादी व्यवस्था पनि आउँदैन । त्यसैगरी दक्षिणपन्थीहरुको नियम कानुनहरु नतोडेसम्म क्रान्तिकारी धार बलियो त बन्दै बन्दैन । लेनिनले पनि भनेका छन्, क्रान्तिकारी विचारधाराको रक्षाका लागि कहिलेकाँही नियम कानुनहरु पनि तोड्नुपर्छ । अहिले पनि भएको ठिक त्यही हो । त्यही आधारमा हाँक साप्ताहिकको गौरवशाली इतिहासलाई निरन्तरता दिनु आजको आवश्यकता हो ।
कतिपय साथीहरुले पार्टी फुट्छ कि भनेर पीर मानेका छन् । पार्टी फुटाउने नियत त यहाँ कसैको देखिएन । नियत पार्टीमा मौलाएको दक्षिणपन्थी कार्यदिशा र व्यवहारलाई सच्चाउने देखियो । अनि केही मान्छेहरु नेतृत्वको ज्यू-हजुरी गरेर भए पनि नेता बन्न जो चाहन्छन्, उनीहरुले परिस्थितिलाई उचाल्न खोजिरहेका छन् । चिजलाई गलत व्याख्या गरिरहेका छन । त्यसरी पार्टी अगाडि बढ्ने त कुनै संभावना छैन ।
पार्टीका माथिल्लो तहका नेताहरु नै तल्लो तहकालाई गालीगलौजमा उत्रिँदै गएपछि के पार्टीमा भावानात्मक एकता संभव छ ? त्यो कुरा ख्याल नगरिकन डिलाराम र रामसिङको उदाहरण पेश गरेर त हुन्न । विगतका कतिपय घटनहरुलाई अहिलेको स्थितिमा जोडेर अतिरञ्जित गरेर केही मान्छेहरु आफ्नो दुनो सोझाउन व्यस्त छन । यो तरिका कामचोर प्रवृत्ति हो । कामचोरहरु सबैभन्दा बढी नेतृत्वको रक्षाको नाममा आफ्ना कुकृत्यहरु दबाउन खोजिरहेका छन । हाँक साप्ताहिकको सन्दर्भमा देखिएका कैयौँ मान्छेहरुको नियत पनि त्यही छ । क. गोविन्दसिंह थापा ‘मामा’ले जे गरे ठिक गरेका छन् । त्यो बाटो आजको सही बाटो हो । उनले दक्षिणपन्थीहरुको धज्जी उडाएका छन् । दक्षिणपन्थीहरुको धज्जी उडाइदिएपछि केही मान्छेहरु बरबराउनु अस्वभाविक पनि होइन ।
देश-विदेशमा रहेका समर्थक शुभचिन्तकहरुले यो बुझ्नुहोस्, यहाँ नेकपा (मसाल)लाई सक्नका लागि होइन, पार्टीको गौरवशाली इतिहासलाई बचाउनका लागि संघर्ष चलेको छ । त्यसप्रकारको संघर्षमा क. गोविन्दसिंहलाई निस्कासन गरिएको हो ।
क. गोविन्दसिंह दक्षिणपन्थी विचारका विरुद्ध संघर्ष गरेकै कारणले कारबाहीमा परेका हुन् । पाँचौ महाधिवेशनले साधरण सदस्य समेत नरहने गरी कारबाही परेका क. मोहनविक्रमलाई तिनै क. गोविन्दसिंहले साथ दिएर विचारधाराको रक्षाका लागि पार्टी फुटाएर महामन्त्री बनाएर पार्टी बनाएका थिए । तिनै क. गोविन्दसिंहको काँधमा चढेर बनाएको पार्टी महामन्त्रीले बुढेसकालमा क. गोविन्दसिंहको उपचार गर्नुपर्ने र क. गोविन्दसिंहको जिम्मा लिनुपर्नेमा पार्टीबाट अनिश्चितकालीन निस्कासन गर्दै गालीगलौज गर्नु कहाँको न्याय हो ? यो उपयोगितावादको राजनीतिले पार्टी राम्रो बन्छ कि झन् सकिँदै जान्छ ? आम कार्यकर्ताले यो विषयमा सोच्नुहोला ।