नेपाल कम्युनिस्ट पार्टी नेकपाको झण्डा, Flag of the Communist Party of Nepal (CPN),
 

सन् १९१७ को सोभियत समाजवादी क्रान्तिको विजयले मार्क्सवाद-लेनिनवादको प्रभाव विश्वव्यापी रूपमा फैलियो । दोस्रो विश्वयुद्धमा न्याय र समाजवादी शक्तिको महान विजय भयो । त्यसपछि विश्वमा सामाजिक मुक्ति, जनतन्त्र र राष्ट्रिय स्वाधिनताका आन्दोलनहरूको व्यापक लहर आयो ।

ठिक यसैबेला नेपाली जनता पनि राणाशाही, जहानियाँ शासनको विरूद्ध प्रजातान्त्रिक आन्दोलनमा उत्रन थाले । देशमा सामन्तवाद, साम्राज्यवादको शोषण उत्पीडन समाप्त गर्नुेपर्ने वस्तुगत आवश्यकता महशुस भइसकेको थियो । यसलाई पूरा गर्नेको निम्ति सबैभन्दा पहिले राणा शासनको उन्मूलन आवश्यक थियो । यस्तो स्थितिमा देशमा सही दिशा प्रदान गर्नसक्ने राजनीतिक पार्टीको खाँचो थियो ।

सामन्तवाद, साम्राज्यवाद तथा राणा शासनलाई अन्त्य गर्ने र शोषित उत्पीडितलाई न्याय दिने मुख्य ध्येयका साथ २००६ साल बैशाख ९ अर्थात सन् १९४९ अप्रिल २२ तारिखका दिन भारतको कलकत्तामा कमरेड पुष्पलालको नेतृत्वमा नेपालको सामाजिक परिवर्तन गर्ने क्रान्तिकारी अभियानका साथ नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । यो एउटा ऐतिहासिक दिन थियो ।

रामलाल राजवंशी विके, ram lal rajvanshi bk
लेखक

त्यस यता नेपाल कम्युनिस्ट पार्टी गठन भएको ७१ वर्ष पूरा भएको छ भने वामपन्थी तथा कम्युनिस्ट आन्दोलनले सात दशक पार गरिसकेको छ । यस बिचमा ठुला राजनीतिक परिर्वतनसँगै देशले नयाँ राजनीतिक व्यवस्था र नयाँ संविधान प्राप्त गरेको छ । २००६ सालमा निर्माण भएको नेकपा पटक­­-पटक गरी धरै समूहमा विभाजन पनि भएको छ । त्यससँगै एउटा खेमा अर्थात दक्षिण एसियाकै तेस्रो ठुलो कम्युनिस्ट पार्टीले अहिले जनताद्वारा निर्वाचित भई झण्डै दुई तिहाई सहितको सत्ता हाँकिरहेको छ ।

विश्व कम्युनिस्ट आन्दोलन

औद्योगिक पुँजीवादले मजदुर तथा किसानहरूलाई आक्रान्त पारिरहेको थियो । दिनप्रति दिनको श्रमशोषण र उत्पीडनले मजदुर तथा किसानहरूलाई विद्रोहतिर धकेलिरहेको थियो । त्यसै सन्दर्भमा कार्ल मार्क्सफ्रेडरिक एङ्गेल्सले समाजलाई द्वन्द्वात्मक, भौतिकवादी दृष्टिकोण विश्लेष्ण गर्नुभयो र सन् १८४८ मा ‘कम्युनिस्ट घोषणा पत्र’ मार्फत मुक्तिको विगुल फुक्नु भयो ।

फलस्वरूप सन् १८७१ पेरिसमा मजदुरहरूले विद्रोह गरी पहिलो कम्युनको रूपमा पेरिस कम्युन स्थापना गरे । जम्मा ७१ दिन टिकेको उक्त कम्युनले धेरै जनपक्षीय निर्णयहरू गर्‍यो र त्यसको लोकप्रियता झन्झन् बढ्दै गयो । परिणाम स्वरूप मार्क्सवादी विचारधारा पनि लोकप्रिय हुँदै गयो ।

जसको प्रभाव स्वरूप सन् १८८३ मा रूसमा पहिलो मार्क्सवादी समूह देखा पर्‍यो त्यसको र्निमाण जीवी प्लेखानोवले रूस बाहिर जेनेभामा मजदुर मुक्ति दलको नाममा गठन गरेका थिए (सोभियत संघको वोल्शेविक पार्टीको इतिहास पृष्ठ ८) । रूसी मार्क्सवादी आन्दोलनमा प्लेखानोवको भूमिका महत्त्वपूर्ण रहेको छ । अपितु उनी पछि गएर मेन्सेविक अर्थात संशोधनवादी भएका थिए ।

१९१७ को अक्टोवर क्रान्ति जसको नेतृत्व कमरेड लेनिनले गर्नुभएको थियो । अक्टोबर २५ (नोभेम्बर७ ) तारिखमा वोल्सेभिकहरूले ‘रूसका नागरिकलाई’ नामक एउटा घोषणा पत्र निकाले । त्यसमा के घोषण गरिको थियो भने पुँजीवादी अस्थाई सरकारलाई पदच्युत गरिएको छ र राज्य सत्ता सोभियतहरूको हातमा आएको छ (पृष्ठ १८४ सोभियत संघ कम्युनिस्ट पार्टी (वोल्सेविक) को इतिहास ) ।

अक्टोबर क्रान्ति जसको प्रेरणाले चीन, भियतनाम, कोरिया, क्युवामा सामाजिक तथा जनवादी क्रान्तिहरू भए । चीनमा कमरेड माओत्सेतुङको नेतृत्वमा १९४९ चिनियाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । यससँगै नेपाल लगायत विभिन्न देशमा कम्युनिस्ट पार्टीहरू निर्माण हुने लहर चल्यो । विश्व कम्युनिस्ट आन्दोलनमा निर्माणसँगै फुटको श्रृंखला पनि सँगैसँगै चल्यो ।

सन् १८६४ मा श्रमिक वर्गको वास्तविक संगठनको रूपमा प्रथम अन्तर्राष्ट्रिय गठन गरियो । विभिन्न देशका श्रमिक संगठनहरू यसमा सामेल भए कार्ल मार्क्स यसका नेता हुनुहुन्थ्यो । पियर जोसेफ पुँध्रो र मिखाइल अलेक्साड्रोविच बाकुनिन पनि यसका नेता थिए । प्रुँध्रो, निम्न पुँजीवादी, संशोधनवादी नेता थिए भने बाकुनिन अराजकतावादी । फलस्वरूप प्रुँध्रोवाद र बाकुनिनवादको नाममा पहिलो अन्तर्राष्ट्रिय विघटन हुन पुग्यो । यसरी प्रुँध्रो, बाकुनिन, लासाल, कार्ल काउत्स्की, ट्राटस्की, प्लेखानोव, ख्रुश्चेव (संशोधनवादी धार ) हुँदै विश्व कम्युनिस्ट आन्दोलनमा अन्तरविरोधसँगै टुटफुटको श्रृंखला चल्दै आएको पाइन्छ ।

नेपालको सन्दर्भमा २०१७ सालको शाही “कू”पछि केशरजङ्ग रायमाझी राजावादी बने र आफ्नो पक्षकालाई राजावादी कम्युनिस्टमा पतन गराए पछाडि सैद्धान्तिक रूपमा फुट आउने क्रम सुरू भयो । २०१९ मा भएको तेस्रो महाधिवेशनमा तुल्सीलाल अमात्यले राखेको राष्ट्रिय प्रजातन्त्रको लाइन पारित भएपछि र नेतृत्व सिङ्गै पार्टीमा स्वीकार्य नभएपछि पार्टी नेतृत्वविहिन जस्तै हुन पुग्यो ।

पार्टी पुर्नगठन प्रक्रिया फेरि चल्यो र २०२५ सालमा कमरेड पुष्पलालले नयाँ जनवादी कार्यक्रमसहित पार्टी पुर्नगठनको एउटा धार अगाडि बढ्यो । झापालाई केन्द्रबिन्दु बनाएर झापा विद्रोहको लाइन, अर्को अगाडि बढ्यो र २०३५ मा आएर यो लाइन नेकपा (माले) मा परिणत भयो ।

अर्कोतर्फ मोहनविक्रम सिंह र निर्मल लामाहरूको पहलमा केन्द्रीय न्युक्लियस गठन गरे र चौथौ महाधिवेशन गरे । यसरी टुटफुट रएकताको श्रृंखला हुँदै २०४६ सालमा आइपुग्दा एकता केन्द्र र एमाले हुँदै विभिन्न समूहमा आइपुगे । २०५२ सालमा जनयुद्ध सुरू गरेको नेकपा (माओवादी) ०६२/६३ को जनआन्दोलनसँगै संसदवादी राजनीतिमा सामेल भयो । र २०६४ को पहिलो संविधान सभामा सबभन्दा ठुलो दलको रूपमा उदायो । त्यस्तै नेकपा एमालेले २०५१ को आम निर्वाचनमा सबैभन्दा ठुलो दल भयो र पहिलो कम्युनिस्ट सरकारको रूपमा लोकप्रिय कार्यक्रमसहित जनताको मन जित्न सफल भयो । २०५४ सालमा आइपुग्दा महाकाली सन्धिलाई लिएर एमाले विभाजन भयो । सहाना प्रधान र वामदेव गौतमको नेतृत्वमा नेकपा (माले) गठन भयो ।

यसरी विभिन्न चरणमा टुटफुट र एकताबाट आएका नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र) २०७४ को असोजमा एकाएक चुनावी ताालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरे । यसले सबैलाई आश्चर्यमा मात्र पारेन, सँधै एकअर्काका कटु आलोचक केपी ओली र प्रचण्ड कसरी मिले भन्ने कुराको आँकलनसम्म पनि गर्न गाह्रो बनायो । २०७५ मदन-आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी घोषणा गरियो र पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखियो । र, लगभग एकता प्रक्रिया पनि अन्तिम चरणमा पुर्‍याएको छ । हामी आज यही नेकपाको बारेमा कुरा गर्दैछौँ, जसले अहिले झण्डै दुई तिहाईको बहुमतसहित सरकार हाँकिरहेको छ ।

अब कस्तो नेकपा ?

धैरै ठाउँमा नेकपाकै कैयौँ नेताहरूले भन्ने गरेको, लेख्ने गरेको पाइन्छ ‍- अब राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्नुेपर्छ । जबकि उहाँहरू आबद्ध पार्टी वा उहाँहरूले नेतृत्व गर्नुेभएको पार्टीले मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त तथा जनताको जनवादलाई तत्कालीन कार्यक्रमको रूपमा मान्ने गरेको छ । अझ उहाँहरू भन्ने गर्नुहुन्छः समाजवाद र साम्यवाद हाम्रो उच्चतम् राजनीतिक लक्ष्य हो । उच्चतम् लक्ष्य समाजवाद वा साम्यवाद हो भने राजतन्त्र फाल्दैमा वा गणतन्त्र ल्याउँदैमा राजनीतिक क्रान्ति कसरी अन्त्य भयो ?

कमरेड एङ्गेल्सले भनेजस्तै – “वास्तविकतामा राज्य भनेको एउटा वर्गद्वारा अर्को वर्गको उत्पीडन गर्ने यन्त्र सिवाय अरू केही हैन र प्रजातान्त्रिक गणतन्त्रमा पनि यो कुरा राजतन्त्रमा जतिकै लागु हुन्छ । राज्यको पक्षमा ज्यादाभन्दा ज्यादा यति मात्र भन्न सकिन्छ कि त्यो एउटा यस्तो अनिष्ट हो, जुन सर्वहारवर्गले आफ्नो वर्गीय आधिपत्यका लागि संघर्षमा विजय पश्चात उत्तरदेनको रूपमा पाउनेछ । र, यस अनिष्टका खराब कुराहरूलाई कम्युनले जस्तै तुरून्तै काटेर फ्याँकिदिनु पर्ने कार्यबाट विजयी सर्वहारावर्गले त्यसबेलासम्म छुट्कारा पाउन सक्दैनन्, जबसम्म नयाँ र स्वतन्त्र सामाजिक अवस्थाहरूमा हुर्केको नयाँ पुस्ता राज्यको सम्पूर्ण कसिङ्गरलाई छुटाएर फ्याँकिदिन समर्थ हुँदैन ।”

यसको तात्पर्य के हो भने समाजवाद र साम्यवाद हाम्रो अन्तिम लक्ष्य भनेर हिँडेका कामरेडहरू लोकतन्त्र वा गणतन्त्र प्राप्तिसँगै किन राजनीतिक क्रान्ति सकियो भनिरहेका छन् ? विश्व भूमण्डलीकृत पुँजीवादसँग लडिरहेको अवस्थामा नेपाली जनताले विश्वास, आशा, भरोसा गरेको पार्टीसँग वा यसका नेतासँग स्पष्ट आर्थिक, सामाजिक नीति नरहनु बिडम्बना हो । समाजवादमा पुग्ने स्पष्ट कार्यनीति वा कार्यक्रम नहुनु एउटा कम्युनिस्ट पार्टीका लागि वैचारिक विचलन पनि हो ।

आज विश्वमा मानव जीवन इतिहासकै संकटमा छ । धनी झन् धनी हुँदै जाने र गरिब झन् गरिब हुदै गइरहेको अवस्था छ । पृथ्वीको कुल सम्पत्ति १% मान्छेको खातामा थुपारिएको छ । नेपालको सन्दर्भमा कालो बजारिया, दलाल, ठेकेदारहरू मोटाइरहेको अवस्था छ भने अहिलेको सत्तारूढ नेकपामा दलाल, काला बजारिया र ठेकेदारहरूको विगविगि छ । लुट्न सक्नेहरूले यसलाई अवसरको रूपमा प्रयोग गरिराखेका छन् भने लुट्न नसक्नेहरूले उपयुक्त अवसर कुरिराखेका छन् । यस्तो लाग्छ की लुट्नका लागि नेकपा एउटा बजार भएको छ । लुट्ने अवसर नपाएर बसेका नेता वा कार्यकर्ताले आफूलाई सक्कली मार्क्सवादी कम्युनिस्ट हुँ भनेर दावी गरेका छन् । ती लुट्न नपाएर सक्कली भएका हुन् वा लुट्न नचाहेर सक्कली भएका हुन्, परीक्षा बाँकी नै छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म भष्ट्रहरूको विगविगि छ । यस्तो अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनले समाजवाद वा साम्यवादको यात्रा कसरी गर्ने सक्ला ? यो आजको यक्ष प्रश्न हो ।

विश्व कम्युनिस्ट आन्दोलनमा हो ची मिन्ह, साइनिङ पाथ वा गोञ्जालो पथ वा नेपालको सन्दर्भमा कमरेड मदन भण्डारीले प्रतिपादन गरेको जबज, पूर्वमाओवादीहरू एक्काइसौँ शताव्दीको जनवाद जस्ता कार्यक्रमलाई मार्क्सवादको सिर्जनात्मक प्रयोगको नाम दिइएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा क. मदन भण्डारीले अघिसारेको जनताको बहुदलीय जनवाद (जबज) एउटा राजनीतिक कार्यक्रम हो, जसले सुधारवादी नीतिलाई प्रतिनिधित्व गर्दछ । त्यही सुधारवादी नीतिकै सेरोफेरोमा नेपाली राजनीति अल्झिरहेको भने पक्का हो । यो नेपालको सन्दर्भमा विशेष स्थितिमा, विशेष घटना र विशेष प्रयोग हो ।

अहिलेकै व्यवस्थालाई गोलमटोल गरी अगाडि बढाउने हो भने कम्युनिस्ट पार्टीले तत्काल गर्नेसक्ने र त्यसमा पनि नेकपा वा नेकपाको सत्ताले गर्नुपर्ने निम्न कामहरू देखिन्छन् ।

♠ वैज्ञानिक समाजवाद निर्माणको आफ्नै संगठन वा जनसंगठन तय गर्ने,

♠ आफूले नेतृत्व गरेको सरकारबाट बढीभन्दा बढी जनसरोकारको मुद्दालाई हल गर्ने,

♠ सामाजिक वर्ग जस्तैः दलित, जनजाति, महिला, मुस्लिम, अल्पसंख्यकका समस्या तथा विभेदलाई हल गर्ने, सरकार तथा पार्टीको तर्फबाट बिशेष पहल गर्ने,

♠ शिक्षा र स्वास्थ जस्ता क्षेत्रलाई राष्ट्रियकरण गर्ने र पूर्ण निःशुल्क गर्ने,

♠ मजदुर तथा किसानलाई पूर्ण राहत प्याकेज उपलब्ध गराउने,

♠समाजवादी कार्यक्रमहरू लागु गर्दे जाने र अन्धविश्वास तथा रूढिवादी परम्परालााई नष्ट गर्ने,

निष्कर्ष

मार्क्सवाद-लेनिनवाद सिद्धान्तमा पोख्त हुनु भनेको यसलाई कण्ठ गर्नु वा यसको भजन गाउनु पक्कै होइन । विज्ञान गतिशील छ । मार्क्सवाद-लेनिनवादको सुन्दर पक्ष नै के हो भने यो सिद्धान्त विज्ञानसम्मत छ । तसर्थ मार्क्सले कल्पना गरेकोभन्दा आजको विश्व सूचना प्रविधिले धेरै फड्को हानिसकेको छ । यसको मतलव यो होइन कि मार्क्सवादनै असान्दर्भिक भइसक्यो । मार्क्सवाद सान्दर्भिक नै छ । यसले परिकल्पना गरेको समाजमा हामी पुग्नै पर्छ । एउटा चिनियाँ उखान छ, “बाघको गुफाभित्र नछिरेसम्म बाघको बच्चालाई समाउन सकिँदैन” । मार्क्सवादको भित्रि गुदी नबुझेसम्म यसले परिकल्पना गरेका कुराहरूसम्म नपुगेसम्म यसलाई प्रयोग नगरेसम्म हामी मार्क्सवाद पक्कै बुझ्दैनौँ । मार्क्सवादको बारेमा निबन्ध मात्र लेखेर बस्यौँ भने हामी पक्कै पनि जडसुत्रवादी हौँ । यसलाई त हामीले पथप्रदर्शक बनाउन जरूरी छ । भन्नुको तात्पर्य हामीसँग अहिले जे छ, त्यही व्यवस्थामा समाजवाद लागु कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ । तत्कालीन अवस्थामा सशस्त्र विद्रोह हुने छाँटकाँट देखिँदैन । तसर्थ व्यवस्था परिवर्तन पछाडि वा अन्य कुनै चमत्कारिक विधिबाट समाजवाद आउनेवाला छैन । तसर्थ यही व्यवस्थालाई टेकेर यही साधन-स्रोतलाई प्रयोग गरेर नेकपाले समाजवादी कार्यक्रममार्फत समाजवादी क्रान्ति गर्न सक्छ तर त्यसको निम्ति अहिलेको नेतृत्वबाट सम्भावना न्यून छ । त्यसका लागि कमरेड लेनिनले भनेजस्तै ठोस परिस्थितिलाई ठोस विश्लेषण गरी युवा विद्यार्थीहरूनै जाग्ने बेला आएको छ ।

(लेखक नेकपा निकट विद्यार्थी नेता हुनुहन्छ ।)