Janayuddha Poster, People's War in Nepal, PW, महान् जनयुद्ध
 

आज फागुन १, जनयुद्ध दिवस । यस अवसरमा महान् जनयुद्धको नेतृत्वकर्ता तत्कालीन पार्टी नेकपा (माओवादी) को १९ सदस्यीय केन्द्रीय समितिको एक सदस्यका नाताले र २०५२ फागुन १ गते महान् जनयुद्धको शङ्खघोष गर्ने एक सिपाहीका हैसियतले यसको निर्णय र नेतृत्वकर्ता नेता-कार्यकर्ताहरुलाई, जनयुद्धको प्रत्यक्ष कमाण्डिङ गरेका कमाण्डर-कमिसारहरुलाई, युद्धमा प्रत्यक्ष होमिएका जनमुक्ति सेना-जनमिलिसियाका योद्धाहरुलाई र जनयुद्धका दौरानका शहीद, बेपत्ता, घाइते, जेल-हिरासतका बन्दीहरु लगायत यो समग्र युद्धमा विभिन्न रुपमा आफ्नो सहभागिता, सहयोग र समर्थन जनाउनु हुने नेपाली माओवादी जनयुद्धका सम्पूर्ण हिमायतिहरुलाई सुमधुर सम्झना, हार्दिक श्रद्धा र क्रान्तिकारी सलाम ।

साथै, जनयुद्धका लक्ष्य-उद्देश्य, जनयोद्धाका सपना-जपना र नेता-कमान्डरका प्रतिबद्धता-कटीबद्धतालाई पूरा गर्न-गराउनका लागि समयमै सम्बन्धित सबैको बुद्धिको बिर्को खुलोस् र हाल बलशालीहरुमा बढिरहेको व्यक्तिवादी र वैचारिक विचलन, व्यावहारिक विकृति र विडम्बनापूर्ण विसङ्गति विरुद्ध लड्ने सोच र शक्ति सिर्जना होस् । अनि निमुखा बने-बनाइएका व्यक्ति वा शक्तिहरुमा “विद्रोह अधिकार हो, जो बिल्कुल ठिक हो ” ( It is right to rebel which is quite right ” ) भन्ने सद्बुद्धि वृद्धि होस् र हाल झाङ्गिदै गरेका दास मानसिकता, दलाल चिन्तन, हनुमान चरित्र र गणेश प्रवृत्ति आदिका विरुद्ध लड्ने र विजयी बन्ने शक्ति पैदा होस् भन्ने आत्मीय शुभकामना ।

फेअर फाइटर्स फाउण्डेसन सम्बन्धी अवधारणाः

Narayan Sharma, Kamal Prasad
लेखक

आज संसारमा जतासुकै पनि स्वच्छता, सदाचार र समर्पणको खडेरी पर्दै गएको छ भने साम्राज्यवादी उपभोक्तावादको प्रकोपका कारण भ्रष्टाचार, कमाओवाद र खाओवादको बिगबिगी बढेको छ । फलस्वरुप मूल्य-मान्यता र आस्था-निष्ठाको राजनीति र संस्कृति लुप्तप्रायः छ । त्यसैले नीति र नैतिकताको जगमा आधारित सहयोग सद्भावको संस्कार र संस्कृति अनि लक्ष्य-आदर्श केन्द्रित विचार-राजनीतिको संरक्षण, सम्बर्द्धन, अवलम्बन र कार्यान्वयन गर्नु-गराउनु ऐतिहासिक आवश्यकता भएको छ । त्यसकारण:

१. सामान्यत: नेपालको निर्माणदेखि क्रान्ति, मुक्ति, प्रगति र समृद्धिसम्मका लागि लडेका आस्था-आदर्श, निष्ठा-नैतिकता र लक्ष्य-उद्देश्यमा अविचलित, अथक, अडिग र अलङ्घ्य अग्रणी योद्धाहरुको र विशेषत: वामपन्थी विचार र राजनीतिबाट स्वतन्त्रता, समानता र न्यायका लागि योगदान गरेका नेता, कार्यकर्ता र जनताको अनि मुख्यतः दस बर्षे महान् जनयुद्धमा होमिएका आस्थाका योद्धाहरुको सम्झना र सम्मान गर्दै उहाँहरुका विचार, आचार, त्याग, तपस्या, बलिदान र योगदानको मूल्यांकन र श्रद्धा, अवलम्बन र कार्यान्वयन, रक्षा र विकास अनि प्रचार र प्रबर्द्धन गर्नका लागि अत्यावश्यक देखिएकोले सच्चा, स्वच्छ र स्वाभिमानी स्वतन्त्रता र समानताका सेनानीहरुको संघ अर्थात् “Fair Fighters’ Foundation” नामक संस्थाको स्थापना वान्छ्नीय भएको छ ।

२. सामान्यतया हाम्रो आजको सन्दर्भमा Fair Fighters भन्नाले निम्नानुसारका यशस्वी तपस्वीहरुलाई बुझ्नुपर्ने भएको छ:

क. संसारका हामी मानवजातिलाई स्वच्छ (fair) हुन र संघर्ष ( fight ) गर्न शिक्षित-दीक्षित गर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय संस्थापक-निर्देशक गुरुहरु ।

ख. प्रमिथस/स्पार्टाकस लगायतका आदि विद्रोहीहरु ।

ग. सामान्यत: संसारभरका न्याय-समानताका आन्दोलनका शहीदहरु, विशेषत: नेपाली जनक्रान्तिका लखन थपादेखि गंगा-शुक्र-दशरथ र धर्मभक्त हुँदै २०२८/२९ को झापा विद्रोह, २०३६, ४६ र ६२/६३ का जन आन्दोलन र मुख्यत: २०५२-२०६२ को नेपाली माओवादी जनयुद्धका महान शहीद र बेपत्ता योद्धाहरु ।

घ. नेपाली राष्ट्रियता, जनतन्त्र, जनजीविका र समाजवादी-साम्यवादी आन्दोलनका सम्पूर्ण घाइते-अपाङ्ग र अयोग्य घोषित माओवादी लडाकू योद्धाहरु ।

ङ . क. शिवराज गौतम, क. अम्बिका साँवा, क. शक्ति लम्साल आदि जस्ता दिवङ्गत अथक योद्धाहरु ।

च . जिउँदा शहीदका रुपमा कृयाशील स्वच्छ, निष्पक्ष, न्यायप्रेमी, सदाचारी, आदर्शवान र नैतिकवान क्रान्तिकारी नेता-कार्यकर्ता र आम जनसमुदायहरु आदि ।

३. आज प्रायः संसारैभरि र त्यसमा पनि नेपालमा मालेमावादी क्रान्तिकारी विचार-सिद्धान्त, मूल्य-मान्यता, नीति-नैतिकता र आस्था-निष्ठाजन्य राजनीतिको खडेरी पर्दै गैरहेको अनि विगत र वर्तमानमा यसको निम्ति रगत-पसिना बगाएका सिधा-सादा, स्वच्छ-स्वस्थ, इमान्दार र नैतिकवान अग्रज-दिग्गजहरुलाई सम्मान गर्नेभन्दा पनि उपेक्षा र उपहास गर्ने अन्यायपूर्ण र प्रतिक्रान्तिकारी संस्कार र संस्कृति बढ्दै गैरहेको दुःखद अवस्था छ । यो अवस्थामा क्रान्तिकारी इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै वर्तमान र भावी पिँढीलाई यसतर्फ आकर्षित र उत्प्रेरित गर्न नित्तान्त जरुरी भएको छ ।

४. यससन्दर्भमा विश्व इतिहास र नेपालको इतिहासमा हालसम्मकै गौरवशाली इतिहास हो माओवादी जनयुद्ध र गणतन्त्रको इतिहास । त्यसैले यो इतिहास निर्माणमा निशङ्क, निस्वार्थ र निर्भिक रुपमा लगानी र कुर्बानी गर्ने शहीद, बेपत्ता योद्धा र घाइते-अपाङ्गलगायत सम्पूर्ण सतीसालजस्ता आस्थाका योद्धाहरुको विशेषरुपले सम्झना, सम्मान र सलामी गर्नु यस संस्थाको उद्देश्य र कार्यभार हुनेछ ।

५. अहिले नेपालको इतिहासमा एक महान्, भव्य र दिव्य परिघटनाको रुपमा स्थापित माओवादी जनयुद्धको सुरुवात गरिएको अविस्मरणीय र ऐतिहासिक दिन फागुन १ मा नै २०५२ सालमा देशभरमा जम्मा दुई वटा बन्दुक र ७० जना पूर्णकालीन नेता, कार्यकर्ता र लडाकाहरु मात्रले सामान्यत: विविध जाति, वंश र कालखण्डमा १८०० बर्षभन्दा पहिलेदेखि रहिआएको र विशेषत: २४० बर्षदेखि निरन्तर रुपमा एउटै वंश अन्तर्गत शाहवंशको रुपमा जरा गाडेर बसेको सामन्तवादको शक्तिशाली प्रतिनिधि संस्था राजतन्त्र र पछिल्लो अवधिमा विश्व साम्राज्यवादको आडभरोसामा थोपरिएको प्रतिकृयावादी राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध “प्रतिकृयावादी राज्यसत्ताको ध्वंस गरौं ! नयाँ जनवादी व्यवस्थाको स्थापना गरौं !!” भन्ने मूल नाराका साथ महान् जनयुद्धको घोषणा भएको थियो ।

६. उक्त ऐतिहासिक दिन र उक्त दिन थालनि गरिएको महान् जनयुद्धमा बलिदान र योगदान गर्ने महात्माहरुको तत्कालैदेखि सम्मान गर्नुपर्ने जरुरी भएकोले उपरोक्त उद्देश्य र कार्यभार पूरा गर्नका लागि आस्थाको राजनीतिमा समर्पित, सकृय र सादगी व्यक्तित्वहरुको पहल र प्रयत्नमा यो संस्थाको स्थापना गरी काम अघि बढाउन वान्छनीय भएको छ ।

७. तसर्थ सम्पूर्ण न्याय, समानता र स्वतन्त्रताका पक्षमा लडेका र अझै पनि लड्ने, स्वाभिमान, स्वनिर्भरता, स्वविवेकमा बाँचेका र अझै पनि यसरी नै बाँच्न चाहेका, वर्गीय र राष्ट्रिय क्रान्ति, मुक्ति र प्रगतिका लागि सकृय र समर्पित रहेका अनि स्वच्छता, सदाचारिता र नैतिक मूल्य र मान्यतामा अडेका सम्पूर्ण सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु, पक्का देशभक्त र जनवादी योद्धाहरु तथा वास्तविक वामपन्थी र प्रगतिशील व्यक्तित्वहरु एवम् राज्यसत्ता वा पार्टीसत्ताका विविध जालझेल, अन्याय-अत्याचार, शोषण-दमन र हेला-होँचोमा परेर पनि तिनका विरुद्ध सक्दो विरोध, अवरोध र प्रतिरोध गरेका वा गर्न चाहेका सम्पूर्ण महानुभावहरुलाई यस संस्थामा समेटिएर सक्दो योगदान दिन र यथोचित आत्मसन्तुष्टि र आत्मसम्मान प्राप्त गर्नका लागि हार्दिक आग्रह गर्दै एकीकृत र केन्द्रीकृत हुँदै समष्टिगत र संस्थागत रुपमा अघि बढ्नु अत्यावश्यक भएको छ ।

८. आज हामीले यस संस्थामार्फत उठाउनुपर्ने नाराहरु यसप्रकार रहेको देखिएको छ:

क. न्याय, समानता र स्वतन्त्रताको अभियान ! स्वच्छता, सदाचारिता र त्याग-बलिदान !!

ख. स्वस्थ, संघर्ष, समर्पण र स्वाभिमान ! क्रान्ति, मुक्ति र प्रगतिमा योगदान !!

ग. आस्था-निष्ठा र मूल्य-मान्यताको राजनीति ! सहयोग-सद्भाव र सोद्देश्य कुर्बानीको संस्कृति !!

घ. राष्ट्रियता, जनतन्त्र र जनजीविका ! जनहितमा होस् हाम्रो भूमिका !!

ङ. समाजवाद-साम्यवाद र विकास-समृद्धि ! हाम्रो राम्रो ऋद्धि-सिद्धि !!

च. फेअर फाइटर्सका सपना-जपना ! साकार पारौँ हाम्रा विपना !!

९. यसो गर्न सक्यौँ भने मात्र विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा योगदान दिने सच्चा सपुतहरुको सही रुपमा स्मरण, श्रद्धा र सलामी हुनेछ ! अस्तु !!