jo yong man, AMbassador, DPRK to Nepal
 

कोरिया युद्ध र त्यसले कोरिया तथा कोरियाली जनताको जीवनमा पारेको प्रभाव बारेः

सन् १९५० जुन २५ मा अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विरुद्ध एउटा सशस्त्र युद्ध भड्कायो ।

कोरिया युद्ध विश्व इतिहासमा कहिल्यै नभएको गुण्डागर्दी युद्ध थियो । युद्धको क्रममा कब्जा गरिएका संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका धेरै ऐतिहासिक दस्तावेजहरु र अन्य ऐतिहासिक चीजवस्तुहरुले तिनीहरुले त्यति ठूलो सैन्य शक्तिसहित आक्रमण गर्नुको कारणबारे तथ्यहरु पेश गर्दछन् ।

सबैभन्दा पहिले, कोरियाली युद्ध संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित कोरिया विरुद्धको हस्तक्षेपमा अन्तरनिहित अपराधिक नीतिको विस्तार हो ।

धेरै लामो समयदेखि संयुक्त राज्य अमेरिकाले विश्व प्रभुत्व प्राप्त गर्ने आफ्नो महत्त्वाकांक्षा पूरा गर्न एसिया महादेशको प्रवेशद्वारको रुपमा रहेको कोरियालाई आफ्नो अधिनमा राख्ने सरकारी नीति अघि सारेको थियो । यसलाई लागु गर्ने क्रममा सन् १८१५ मा अमेरिकाले कोरियालाई आफ्ना लागि खुला गर्ने माग राख्दै संसदमा एउटा ऐन पेश गर्‍यो । त्यसपछि यसले निरन्तर रुपमा आफ्ना जनरल शेरमान लगायतका युद्धपोतहरुका साथै इसाई धर्म प्रचारकहरुको भेषमा युद्धका लागि पूर्वतयारी गर्ने मानिसहरु पठाउँदै सशस्त्र आक्रमणको तयारी गरिरहेको थियो ।

कोरिया विरुद्ध हस्तक्षेपको अमेरिकी नीति दोस्रो विश्वयुद्धपछि पूर्णरुपमा कार्यान्वयन गरिए पनि त्यसअघि शताव्दीऔँदेखि निरन्तर रुपमा चलिरहेको थियो । त्यतिबेला अमेरिकाले आफ्नो विश्वव्यापी प्रभुत्व कायम गर्ने महत्त्वाकांक्षा पूरा गर्नका लागि कोरियालाई समाजवाद र पुँजीवादको बिचमा राजनीतिक र सैन्य संघर्षको मैदानको रुपमा लिएको थियो, जसलाई विश्व पुँजीवादको भाग्य निर्भर रहनसक्ने एउटा वैचारिक रणमैदान बनाउन सकियोस् ।

ओरेगन जर्नलमा सन् १९५० को जनवरी २१ मा प्रकाशित एउटा आलेखबाट सो कुरा सिद्ध हुन्छ, जसमा एसिया महादेशको बाह्य घेराको रुपमा रहेको कोरिया प्रायद्वीप प्रशान्त क्षेत्रका अधिकांश अमेरिकी गतिविधिहरुको मोर्चास्थल थियो र यसको रणनैतिक महत्त्वका कारण अमेरिकाले दोस्रो विश्वयुद्ध र त्यसपछि दक्षिण कोरियामा आफ्नो कदम राखेको थियो । अमेरिकी राष्ट्रपतिका पुनर्निर्माण प्रतिनिधि एडविन डब्ल्यु. पौलेले सन् १९४६ को गृष्मयामको सुरुमा उत्तर तथा दक्षिण कोरियाको भ्रमण गरेपछि अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानलाई पठाएको पत्रबाट पनि सो कुराको खुलासा भएको थियो । उनले आफ्ना धारणाहरुलाई संक्षेपीकरण गर्दै कोरिया अमेरिकाको समग्र एसियाली सफलता निर्भर रहनसक्ने वैचारिक युद्धमैदान भएको कुरा प्रष्ट रुपले उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रुम्यानले उनको सुझावलाई कोरियासम्बन्धी अमेरिकी नीतिको रुपमा स्वीकार गरे र कोरियालाई एसियामा अमेरिकी ‘सफलता’ निर्भर रहने ‘विचारको युद्धमैदान’ घोषित गरे । अमेरिकाले सम्पूर्ण कोरियामा अधिपत्य जमाउने आफ्नो नीति लागु गर्नका लागि राजनीतिक र कुटनीतिक विधिद्वारा हरसंभव प्रयत्न गर्‍यो र तर केही काम लागेन । त्यसपछि उसले सैन्य हस्तक्षेप अर्थात युद्धको नयाँ बाटोद्वारा आफ्नो लक्ष्य प्राप्त गर्ने कोशिस गर्‍यो ।

अमेरिकाको विशेषदुतको रुपमा दक्षिण कोरिया पठाइएका जोहन फोष्टर डुल्सले सन् १९५० को जुन २० मा स्याङम्यान र्‍हीमा लेखे, “म छिटै पटाक्षेप हुन गइरहेको एउटा महान् नाटकमा तपाईंहरुको देशले खेल्नसक्ने निर्णायक भूमिकालाई उच्च महत्त्व दिन चाहन्छु ।”

म्याक अर्थरलाई सन् १९५१ को जनवरीमा पठाएको निजी टेलिग्राममा अमेरिकी राष्ट्रपति ट्रुम्यानले सोभियत संघको प्रतिरोध गर्न, चीनको राजनीतिक र सैन्य शक्तिलाई धक्का दिन र जापानलाई आफ्नो अधिनमा ल्याउन ‘स्वतन्त्र विश्व’ पक्षधर (पुँजीवादी) शक्तिहरु बिचको एकता कोरिया युद्धको माध्यमबाट हासिल गर्नुपर्छ र ताकि एसिया तथा बाँकी विश्वमा आफ्नो प्रभुत्व कायम गर्ने लक्ष्यलाई साकार पार्न सकियोस् भनी लेखेका थिए ।

कोरिया युद्ध अमेरिकाले आफूले स्वदेशमा झेल्नु परेका गम्भीर राजनीतिक तथा आर्थिक संकटहरुलाई समाधान गर्ने एउटा उपाय थियो । दोस्रो विश्वयुद्ध पश्चात हातहतियार उद्योगहरु खुम्चिएपछि अमेरिकामा बेरोजगारी बढ्यो र समग्र अर्थतन्त्र आर्थिक संकटको भयानक चक्रमा फस्यो ।

अमेरिकालाई यो संकटबाट बाहिर निकाल्न मद्दत गर्ने एउटा सहयोगी चाहिएको थियो र त्यसका लागि उसले एउटा युद्ध सुरु गर्नु अत्यावश्यक ठानेको कुरा बेलायतबाट प्रकाशित हुने द इकोनोमिस्टले पनि लेखेको छ ।

सन् १९५० मा रिपब्लिकनहरुले कम्युनिस्टहरुसँग लम्पसार परेको भन्दै गरेको तीखो प्रहारबाट ट्रुम्यान प्रशासन र उसको सत्तारुढ डेमोक्य्राटिक पार्टीमा एउटा राजनीतिक निराशा छाएको थियो । आफ्नो कम्युनिस्ट विरोधी वास्तविक चरित्र देखाउँदै संकटबाट पार पाउन र आफ्नो राजनीतिक जीवन जोगाउन ट्रुम्यानले कोरिया युद्धको जुवा खेल्नु पर्‍यो ।

अमेरिकाले सन् १९४९ देखि संकटपूर्ण राजनीतिक र आर्थिक अवस्थाबाट ग्रुजिरहेको दक्षिण कोरियाको स्याङम्यान र्‍हीको कठपुतली शासन जोगाउन पनि युद्ध सुरु गर्नै पर्थ्यो ।

‘कोरिया युद्धको गुप्त इतिहास’ नामक एउटा अमेरिकी पुस्तकले निष्कर्ष निकालेको छ, “मुर्ख स्याङम्यान र्‍हीलाई जोगाउने अन्तिम उपायको रुपमा त्यो युद्धलाई बुझ्नु सबैभन्दा सही हुन्छ । स्याङम्यान र्‍ही सरकारको अन्तिम खेलले देशलाई गृह युद्धमा धकेल्यो, जुन आर्थिक ध्वंस, आन्तरिक अशान्ति, मेको चुनावमा हारेपछि राष्ट्रिय सभाको सत्रुतापूर्ण दूव्र्यवहार र उत्तर (कोरिया)को शान्ति प्रस्तावतर्फ जनताको झुकावलाई सामना गरेर सत्तामा टिक्न सक्दैन्थ्यो ।”

ऐतिहासिक दस्तावेजहरुबाट सिद्ध हुन्छ, कोरिया युद्ध अमेरिकी राज्य नीति थियो र एउटा हस्तक्षेपकारी युद्ध थियो ।

सन् १९४५ देखि १९४९ सम्म, अमेरिकाले दक्षिण कोरियालाई १ अरब डलर बराबरको सैन्य सहयोग गर्‍यो । कठपुतली सेनाको युद्ध तयारी बढाउन लागि ३८औँ समानान्तर (सिमाना) मा ठूलो रुपमा सैन्य तैनाथ गर्‍यो । यसले नयाँ सैनिक सडकहरु निर्माण तथा मर्मत गर्‍यो र ठूलो मात्रामा भवनहरुको पनि निर्माण गर्‍यो ।

सोही समयमा अमेरिकी साम्राज्यवादीहरुले कठपुतली सेनालाई उत्तर कोरियालाई युद्धमा तान्नका लागि ३८ औँ समानान्तर (सिमाना)को क्षेत्रमा उत्तेजक सैन्य क्रियाकलापहरु बढाउन लगायो । सन् १९४७ देखि सन् १९५० को जुनसम्म तिनीहरुले ५,१५० भन्दा धेरै संख्यामा त्यस्ता युद्ध भड्काउने सैन्य क्रियाकलापहरु गरे ।

यस्ता भड्कावपूर्ण क्रियाकलापहरु सामान्य ‘सशस्त्र संघर्षहरु’ थिएनन्, बरु ‘उत्तरी अभियान’का लागि तयार गरिएको सैन्य योजना अनुसार मुख्य आक्रमणको दिशामा केन्द्रित रहेका ‘परीक्षण युद्धहरु’ थिए ।

एक जना जापानी विश्लेषक फुजिशिमा उदाईले सन् १९७५ जुलाई ४ मा भनेका छन् – कोरियामा युद्ध भड्काउने अमेरिकी षड्यन्त्र अनपेक्षित रुपमा सन् १९५० को जुन २५ मा सुरु भएको थिएन, जसलाई कोरिया युद्ध भड्किएको दिन भनिन्छ । यो सन् १९४७ मा दोस्रो विश्वयुद्धको लगत्तै सुरु भएको थियो ।

युद्ध अभ्यासका विभिन्न तयारीहरु पूरा गरेपछि अमेरिकी साम्राज्यवादीहरु त्यसलाई कार्यान्वयन गर्न कम्मर कसे ।

सोही सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रुम्यानले उत्तर कोरियाको विरुद्ध युद्धका सबै तयारीहरु पूरा भएको सुनिश्चित गर्न र उपयुक्त उपायहरु अपनाउन जापानसँग एउटा ‘शान्ति सन्धि’को प्रस्तावसहित रक्षामन्त्री जोन्सन्, अमेरिकी मुख्य सचिव स्टाफ ब्राड्ली र राज्य सल्लाहकार डुल्सलाई सोल र टोकियो पठाए ।

सन् १९५० को जुनको मध्यतिर डुल्स सोल (दक्षिण कोरियाको राजधानी) आइपुगे र कठपुतली सेनाले ३८ औँ समानान्तरको एउटा बंकरमा युद्धका तयारीहरुको अन्तिम परीक्षण गरे । स्याङमान र्‍हीलाई युद्धको ज्वाला भड्काउन निर्देशन दिँदै उसले आफू ‘उत्तरतर्फको मार्च’का लागि तयारीहरु आफ्नै आँखाले निरीक्षण गर्न र युद्धको शंखघोष गर्नका लागि सबैकुरा ठिक भएको पुष्टि गर्न ट्रुम्यानको आदेश बमोजिम आएको र अब ढिलाई गर्न नहुने कुरा बताए ।

अमेरिकी सैन्य सल्लाहकार समूहको प्रत्यक्ष कमाण्डमुनि बसेर युद्ध तयारी गरेको दक्षिण कोरियाली कठपुतली सेनाले सन् १९५० को जु २५ मा प्रजातान्तिक जनाणतन्त्र कोरियाको ३८ औँ समानान्तरको वरिपरिबाट अकस्मात सैन्य हमला सुरु गर्‍यो ।

अमेरिकी साम्राज्यवादीहरुले २० लाखभन्दा धेरै सशक्त सेनासहित ठूलो सैन्य शक्तिलाई कोरिया युद्धमा होम्यो, जसमा उनीहरुको एक तिहाई स्थल सेना, १/५ हवाई सेना र प्रशान्त क्षेत्रमा तैनाथ अधिकांश सैन्य पानीजहाजहरु, १५ भन्दा धेरै युद्धपोतहरु र दक्षिण कोरियाको सम्पूर्ण सेना र जापानको पुरानो सेना समेत सबैलाई परिचालन गर्‍यो ।

सन् १९५२ को जनवरी देखि मार्चको सुरुवातसम्ममा अमेरिकी हवाई सेनाका ९ रेजिमेन्टले उत्तर कोरियातर्फका १६९ इलाकामा रोग फैलाउने सुक्ष्म किटाणुहरु सहितका किराहरु, अन्य वस्तुहरु र बमहरुसहित कूल ८०४ वटा सैन्य उडान गरे । यो कोरियाली राष्ट्रलाई ध्वस्त गर्नका लागि गरिएको एउटा अभूतपूर्व जैविक युद्ध थियो । पछि खुलासा भएजस्तै कोरिया युद्ध सुरु भएको दुई महिना नपुग्दै अमेरिकाले कोरियाली जनताको विरुद्धमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका विभिन्न ठाउँहरुमा भयानक नरसंहार मच्चाएको थियो । सिन्चोन काउन्टीमा मात्रै मानिसहरुले कल्पनासमेत गर्न नसक्ने गरी तिनीहरुले ३५,००० भन्दा धेरै यानेकी काउन्टीको कूल जनसंख्याको एक चौथाई भन्दा धेरै मानिसहरुको पाशविक तरिकाले निर्मम हत्या गरेका थिए ।

तीन बर्ष लामो युद्धमा अमेरिकी साम्राज्यवादीहरुले कोरियाको उत्तरी आधा हिस्सा (उत्तर कोरिया) मा प्रतिकिलोमिटर क्षेत्रफलमा औसतमा १८ वटा बमहरु खसाले र त्यहाँका सहर तथा ग्रामीण वस्तीहरुलाई भग्नावेशमा परिणत गरिदिए । अर्थतन्त्रको क्षेत्रमा मात्रै नभएर उद्योग, कृषि, रेल यातायातका साथै शिक्षा, संस्कृति र जनस्वास्थ्यका पूर्वाधारहरु सबै ध्वस्त गरिदिए । कोरियाली जनताले आफ्नो वास, श्रीसम्पत्ति, खाना र लत्तकपडा सबै गुमाए ।

भर्खरै दुई वर्ष पुगेको कोरियाली जनसेना (उत्तर कोरियाको सेना) ले युद्धमा आफूलाई ‘विश्वको सबैभन्दा शक्तिशाली’ दावी गर्ने अमेरिकी हस्तक्षेपकारी शक्तिहरुको विरुद्ध लड्नु परेको थियो ।

अमेरिकाले युद्धको सुरुवातमा सो युद्ध ७२ घण्टाभित्र सकिने दावी गरेको थियो, तर कोरियाली जनसेना (उत्तर कोरियाली सेना) ले ७२ घण्टाभित्र सोल (दक्षिण कोरियाको राजधानी) लाई मुक्त गरिदिएपछि अमेरिकाका लागि स्थिति सोचेजस्तो अनुकूल भएन ।

अमेरिकी हस्तक्षेपकारीहरु विरुद्ध कोरियाली जनताको संघर्ष आफ्नो देशको पूर्ण मुक्ति र स्वतन्त्रता हासिल गर्ने संघर्ष हुनुका साथै विश्व शान्ति र सुरक्षा सुनिश्चित गर्ने संघर्ष भएको र यसले उपनिवेश तथा पराधीन देशहरुका जनताले आफ्नो राष्ट्रिय मुक्ति प्राप्त गर्ने झण्डाको रुपमा सहयोग गर्ने कुरा बुझाउँदै किम इल सुङले सम्पूर्ण सेना र आम जनतालाई युद्धमा विजय प्राप्त गर्नका लागि परिचालित हुन बेजोडले प्रेरित गर्नुभयो ।

कोरियाली जनसेनाका वीर सैनिकहरुले आफ्नो देशको स्वतन्त्रता र मुक्तिको रक्षा गर्नका लागि प्रत्याक्रमणको दिशामा अगाडि बढे । तिनीहरुले युद्ध सुरु भएको केवल डेढ महिनामा कोरियाको दक्षिणी भाग (दक्षिण कोरिया) को ९० प्रतिशत भन्दा धेरै क्षेत्र र ९२ प्रतिशत भन्दा धेरै जनसंख्यालाई मुक्त गरे । त्यहाँ कृषि सुधारहरु र अन्य जनतान्त्रिक सुधारहरु लागु गरियो ।

अमेरिकी साम्राज्यवादीहरुको हतास हर्कतहरुका कारणले युद्ध लम्बिएपछि राष्ट्रपति किम इल सुङले हतियार उत्पादनका आधार इलाकाहरुलाई सुरक्षित स्थानहरुमा सार्दै र युद्ध सामग्रीहरुको उत्पादन तथा आपूर्तीको बृद्धिलाई सुनिश्चित गर्नका लागि विभिन्न कदमहरु चाल्दै मुख्य घेरासँग तालमेल गर्दै युद्ध गर्नका लागि सत्रुहरुको घेराभन्दा पछाडि संयुक्त युनिटहरुको एउटा अर्को घेरा निर्माण गर्नुभयो ।

यसका साथै, उहाँले सबै पार्टी सदस्यहरु र जनतालाई पार्टी, सत्ता र सेनामा जडसुत्रवाद र औपचारिकतावादलाई परास्त गर्न कठोर क्रान्तिकारी अनुशासन स्थापित गर्ने संघर्ष गर्न, सैन्य मामिलाको क्षेत्रका कामहरुमा समग्र रुपमा जुछेउन्मुख कार्यविधि स्थापित गर्न र युद्धकालको उत्पादनमा बृद्धि गर्न र मोर्चालाई सहयोग गर्न आव्हान गर्नुभयो ।

उहाँले देशको वास्तविक अवस्था अनुरुपको उच्च सैन्य क्षमता बृद्धि गर्ने उपायहरु अपनाउनु भयो र सुरुङहरु, स्टोर्मिङ टोलीहरु, स्निपिङ टोलीहरु, एन्टि–ट्यांक टोलीहरु र एन्टि–एअरक्राफ्ट टोलीहरुको आडमा गरिने स्थलगत प्रतिरक्षा युद्ध लगायतका अनेकौँ विशिष्ट सैन्य रणनीतिहरु सिर्जना गर्नुभयो । कोरियाली जनसेनाका सैनिकहरुले धक्कापूर्ण तरिकाले दुश्मनलाई धुलो चटाउँदै कुशलतापूर्वक यी मोर्चाहरुमा लडे ।

अन्ततोगोत्वा कोरियाली जनता र कोरियाली जनसेनाका अगाडि अमेरिकी साम्राज्यवादीहरुले घुँटा टेके र सन् १९५३ जुलाई २७ मा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न वाध्य भए । कोरियाली जनताको महान विजयसँगै तीन वर्ष लामो पितृभूमि मुक्ति युद्धको अन्त्य भयो ।

समग्रमा, कोरिया युद्धमा अमेरिकी सेनातर्फ धेरै ठूलो क्षति भयो, प्रशान्त–युद्धमा भन्दा २.३ गुणा धेरै ।

युद्धको क्रममा कोरियाली जनसेनाका सैनिकहरु र कोरियाली जनताबाट ४,०५,००० अमेरिकी हस्तक्षेपकारी सैनिकहरु सहित १५,६७,००० भन्दा धेरै सत्रुहरु मारिए, घाइते भए वा कब्जामा परे भने १२,२०० सैन्य जहाजहरु, ५६० विभिन्न प्रकारका सैन्य पानीजहाजहरु, ३,२५० ट्यांकहरु र अन्य सैन्य सवारीसाधनहरु, १३,००० भन्दा धेरै हतियारबद्ध ट्रकहरु, ७,६९५ थान विभिन्न प्रकारका बन्दुकहरु सहित ठूलो परिमाणमा विभिन्न युद्ध उपकरणहरु तथा युद्ध सामग्रीहरु कब्जा वा ध्वस्त भए । अमेरिकी साम्राज्यवादी आक्रमणकारीहरुले दोस्रो विश्वयुद्धमा भन्दा २.३ गुणा धेरै क्षति ब्यहोरे ।

र, यो पनि पढ्नुहोस्ः

किम इल सुङ र कोरियाली समाजवादी क्रान्ति – राजदूत जो योङ मान

(संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानसँग लेफ्ट रिभ्यु अनलाइनका सम्पादक नहेन्द्र खड्काले अंग्रेजी भाषामा लिएको  अन्तर्वार्ताको नेपली अनुवादको दोस्रो अंश । अनुवादः नहेन्द्र खड्का । अंग्रेजीमा पूर्ण अन्तर्वार्ताका लागि यहाँ क्लिक गर्नुहोस्  – सम्पादक ।)