ओली, केपी ओली, KP sharma Oli, Chairman of Nepal Communist Party (NCP), केपी शर्मा ओली, खड्ग प्रसाद शर्मा ओली
 

मेरो पेशाभन्दा फरक कुरा लेख्दा धेरैले सम्मान प्रकट गर्नुहुन्छ, हौसला प्रदान गर्नुहुन्छ, उहाँहरू सबैलाई सम्मान प्रकट गर्न चाहन्छु । केही साथीहरूले एकपक्षीय अझै ओलीविरोधी भन्ने आरोप लगाउनुहुन्छ तर म त्यस्तो हैन भन्ने अवश्य एक दिन बुझ्नुहुनेछ ।

वास्तवमा म मेरो उमेरको १३औँ वसन्तमै आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तबाट प्रभावित हुँदै मार्क्सवादी दर्शनतर्फ आकर्षित भएकी हुँ । आजसम्म मैले गरेको कम्युनिस्टको दर्शन, कम्युनिस्ट नेता-कार्यकर्तामा हुनुपर्ने नैतिकता र आचरणजस्ता विषयहरू अध्ययन गर्दा हाम्रा नेपाली कम्युनिस्ट नेताहरू उमेर बढ्दै गएपछि कम्युनिस्ट पार्टीको आदर्श, दर्शन र नैतिक आचारण सबै त्यागेर जातभात, धर्मकर्म र उँचोनिचोको बाटो हिँडेर नेपालको कम्युनिस्ट आन्दोलनलाई नै बद्नाम गराएका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य समस्या पहिला आफूलाई बदलेर मात्र अरूलाई बदल्न सकिन्छ भनेर नबुझ्नु नै हो ।

डा. पुनम पाण्डे, dr punam pande
लेखक

मार्क्सवादी हुनुको अर्थ सम्पूर्णत: भौतिकवादमा आधारित जीवनको मार्गमा हिँड्नुपर्छ र मलाई पनि भौतिकवादी सांस्कृतिक परिचय मनपर्छ । मलाई जीवनको द्वन्द्वात्मक भौतिकवादी अवधारणा र प्रयोग औधी मनपर्छ । अझै भन्नुपर्दा मलाई मन पर्ने वैज्ञानिक सिद्धान्त द्वन्द्ववादका तीन आयामहरू: १. विपरीतहरूको एकता र द्वन्दको नियम, २. परिमाणहरूबाट गुणतर्फको रूपान्तरण कार्य र ३. निषेधको निषेधसम्बन्धका नियमहरू हुन् ।

आझसम्मको कम्युनिस्ट आन्दोलनको अध्ययनगर्दा तत्कालीन माओवादी पार्टीबाहेक (जसले आफ्नो स्पष्ट लाइनअनुसार नेपालको संविधानमै आँठ बुँदामा ‘नोट अफ डिसेन्ट’ लेखेको छ) नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा लोकतन्त्र र बहुलतामा जातीय पहिचानहरूको मनोवैज्ञानिक हल गर्ने कुनै पनि योजना प्रयासका प्रगतिशील योजना, विचार, दर्शन, भिजन केही पनि रहेनछ भन्ने प्रष्ट भएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनको अध्ययनगर्दा नेपालका धेरै कम्युनिस्ट नेताहरू आफ्नो राजनीतिक यात्रामा पुरातनवादी र अन्धविश्वासमा अल्झिएको नेपाली समाजको पछाडि लागेर आफ्नो व्यक्तिगत अभिष्ट पूरा गर्न खोज्नु अक्षम्य अपराधको रूपमा देखापरेको छ ।

आज केपी शर्मा ओली आफ्नो दुईतिहाइ बहुमतलाई लात हानेर त्यो मेरो अनुभवमा महेन्द्रवाद ग्रसित सिकार भएर अहिले धर्मसापेक्ष हिन्दुराज्य बनाउने, संघीयता सिध्याउने, घुमाइफिराइ राजतन्त्र र सामन्तवादी अवशेषका पछाडि लागेको देखिन्छ ।

नेपाली समाजले बल्लतल्ल आत्मसात गर्न लागेको लोकतान्त्रिक गणतन्त्र, विभेदरहित समाज, समावेशी संघीयता, सिंहदरबारबाट खोसेर स्थानीय पालिकामा पुराएको अधिकार देशकै प्रधानमन्त्री, त्यो पनि कथित कम्युनिस्ट प्रधानमन्त्रीले नै आत्मसात नगर्नु । यहाँ भन्दा ठुलो विडम्बना के होला ?

नेपाली कम्युनिस्ट आन्दोलनबाट प्राप्त उपलब्धि र जनताले दिएको अभिमतको नेतृत्वमा ओली प्रवृत्ति पुग्नु र सम्पूर्ण आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि विरुद्ध आफ्नो व्यक्तिगत र गुटगत मनोवृत्ति पूर्ण गर्न, राणाकालीन हैकम, शाहकालीन शासनको झल्को दिने गरी गणतन्त्रलाई भत्काउन खोज्नु पूर्णतः कम्युनिस्ट चरित्रबाट स्खलित हुनु, उनी मात्र लोकतान्त्रिक गणतन्त्र विरोधी गोटी भएको स्वतः प्रमाणित हुनजान्छ ।

यो आरोप मैले व्यक्तिगत रूपमा लगाएको भनेर बुझ्ने भन्दा पनि उनको अहंकारको मनोवैज्ञानिक समस्या आज चौतर्फी खुलै छ । म त ओली मनोवृत्ति र ओली सिन्ड्रोमको रूपमा भारत र अमेरिकी योजनाको स्पष्ट रूपमा अन्त चाहन्छु र जस्तोसुकै बलिदान दिन पनि तयार छु ।

के नेपालले राजनीतिक र मनोवैज्ञानिक रूपमा प्रधानमन्त्री ओलीको नेतृत्वमा भारतमा बिलय हुने हो ? के नेपाललाई राणाकालीन वा पन्चायतकालीन युगमा फर्काउने हो ? के नेपाललाई पुनः जातीय, धार्मिक, वर्गीय, भाषिक, क्षेत्रीय विभेदको चरम अवस्थामा फर्काउने हो ? होइन भने उनलाई अब राजनीतिबाट सधैँका लागि बिदा गरौँ ।

देश र जनताका लागि कम्युनिस्ट नेताहरूले अरू केही दिनुपर्दैन, मात्र ओलीलाई आवरणमा राखेर राजतन्त्र फर्काउने अमेरिकी र भारतीय रणनीतिले नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीको विरुद्ध जुन मनोवैज्ञानिक युद्ध लडिरहेका छन्, त्यसको अन्त गरिदिए पुग्छ ।

नेपाल र नेपालीको अनि सम्पूर्ण देशभक्त कम्युनिस्ट नेताकार्यकर्ताको एउटै आवाज छ – सम्पूर्ण कम्युनिस्ट घटकहरूको बिचमा एकता गर्नुस्, मार्क्सवाद-लेनिनवाद-माओवादका मान्यता, विधि, पद्धति र दर्शनलाई आत्मसात गर्दै वैज्ञानिक समाजवादमा पुग्ने स्पष्ट खाका तयार पार्नुस् । अब कम्युनिस्ट नेताहरूले रोज्नुस् – मर्ने कि विद्रोह गर्ने र प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको शासन प्राप्त गर्ने ?

(लेखक प्रगतिशील चिकित्सक हुनुहुन्छ ।)