अहिले संसार नै कोरोना नामक सरुवा र घातक महामारीले ग्रसित छ । दैनिक हजारौँ मानिसहरू कोरोनाको कारण यस धर्ती छोडी अकालमै मरिरहेका छन् । नेपालमा पनि अहिले कोरोनाले यहाँ दैनिक जीवन चलाउन धौधौ हुने मजदुर वर्गले बढ्दो समानको मूल्य र पैसाको अभावले ढाड सेक्नुपर्ने पीडा रहेको छ । “काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो” भन्ने समाचारले हामी सबैलाई त्रसित बनाएको छ ।
एकजना भारी बोक्दै एक छाक रोटीका लागि खटिरहने बुवालाई सोध्दा उहाँले मलिन हुँदै ‘रोग र भोकको त्रास बोकेर काठमाडौँमा बस्न सकिएन’ भन्दै बसपार्कबाट बस चढ्नुभयाे । हिजोसम्म दिनरात चर्को घाममा खटिरहने मजदुरहरूलाई फेरि पनि आफूलाई बेरोजगार र गरिबीको चपेटामा धकलिरहेको छ ।
हे सरकार, यति हुँदाहुँदै पनि किन तिमी मौन हुन्छौ? झन् मध्यम वर्गका मानिसहरूलाई आफ्नो करारको जागिर पनि फुत्किने हो कि भन्ने छुट्टै पीडा रहेको छ । मध्यम वर्गका मानिसरूलाई राहत माग्न पनि गाह्रो छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को बजेट यस्ता आफ्नो रोजगारी गुमाएका मजदुरहरूलाई दिँदा ‘सुनमा सुगन्ध’ हुने थियो । यो जनता र प्रत्येक नागरिकको मन जिती अर्को चुनावमा उच्च मतले सत्तामा आउने सुनौलो अवसर हो ।
कसैले यो ‘कानमा तेल हालेको’ सरकारलाई मजदुरको पनि आफ्नो परिवार हुन्छ भनेर सम्झाइदेऊ । अनि सम्झाइदेऊ कि आफ्नो शरीरबाट खलखल पसिना काडेर पाखुराको बलले हामी सबैलाई अन्न खुवाउने ‘किसान’ लाई पनि राहत दिन जरुरी छ । झन् अबको निषेधाज्ञाले कैयौँ तरकारीहरू बारीमै नष्ट हुने सम्भावना छ । जसका कारण, काठमाडौँमा तरकारीको मूल्य वृद्धि भई कालो बजारीको सिकार ती मजदुर र मध्यम वर्गका मानिसहरू हुनेछन् ।
यी सबैबाट बच्न र देशको अर्थतन्त्र जोगाउन सरकार र सम्पूर्ण प्रदेशले एकचोटि गम्भीर भएर सोच्नैपर्ने छ । यसका वैकल्पिक विधिहरू प्रयोग गरी फेरि पहिलेको जस्तो निषेधाज्ञामा एकछाक खान नपाएर सडकको पेटीमा सुत्ने, त्यो पीडा र रोदन हामीले फेरि यसपटक देख्न नपरोस् । यति विन्ति गर्छु ।
(लेखक युवा संगठन नेपाल काठमाडौँ महानगर कमिटीका संयोजक हुन् ।)