मदन कुमार भण्डारी, प्रचण्ड, madan kumar bhandari, prachanda,
 

बुवा सुँक्क सुँक्क गर्दै रुदै हुनुहुन्थ्यो । मलाई उमेर घर्की सक्नुभएको मान्छे यसरी किन रुनु भयो भनेर अचम्म लागेको थियो । मैले सोधे “किन रुनु भयो ? के अप्ठयारो पर्‍यो ?” उहाँको बोली फुट्न सकेन । एकछिनपछि मन सम्हाल्दै भन्नुभयो “एउटा हुँदोखादो देशभक्त तारा, नेपाली राजनीतिको आकाशबाट झर्‍यो ।”

उहाँले भन्नखोज्नु भएको कुरा मैले बुझेँ मेरो पनि आँखाबाट आँशु झर्न लाग्यो । तत्कालीन नेकपा (एमाले) का महासचिव क. मदन भण्डारी चढेको जीप दुर्घटना भएको भोलिपल्ट बुवाले त्यसो भनिरहँदा मेरो मन झन धेरै भक्कानिएको थियो तर सम्हालिनु बाहेक अरु उपाय केही थिएन । धेरै कुरा नगरिकन म बुवाको कोठाबाट बाहिरिए ।

म त त्यतिबेला स्वयम् मदन भण्डारी महासचिव रहेको पार्टीमा काम गर्ने कार्यकर्ता थिएँ, तर मेरो बुवा आजीवन गैह्रकम्युनिस्ट रहनुभयो । अझ भन्नुपर्दा राणाशाही विरुद्ध लड्न निर्माण भएको राजनीतिक दल नेपाली काँग्रेस कास्कीका संस्थापक हुुनुहुन्थ्यो । किन उहाँलाई कमरेड मदनको देहावसानले त्यति पिरोलेको रहेछ ? त्यो कुराले मलाई मदन भण्डारी भण्डारीको राजनीतिक जीवन र उहाँले लेख्नु भएको जनताको बहुदलीय जनवाद कार्यक्रमप्रति अनुसन्धान गर्न सघायो ।

kusum keshab parajuli, कुसुम केशव पराजुली
लेखक

नेपाल कम्युनिस्ट पार्टी र आन्दोलनको इतिहास एकीकृतभन्दा बढी टुटफुट हुने प्रवृत्तिको थियो । कम्युनिस्ट पार्टी स्थापनादेखि विभिन्न महाधिवेशन सम्मको अध्ययन गर्ने हो भने पार्टीको महासचिव वा नेता आजीवन आफै बनिरहनु पर्दछ भन्ने प्रवृत्ति थियो । त्यस्तो गलत कम्युनिस्ट संस्कार र संस्कृतिलाई तोड्दै नेकपा (माले) का महसचिव मदन भण्डारीले मनमोहन अधिकारी अध्यक्ष रहनु भएको नेकपा (मार्क्सवादी) सँग पार्टी एकीकरण गर्ने काम गर्नुभयो ।

जसको नीति, सिद्धान्त वा कार्यक्रम महाधिवेशनबाट पारित हुन्छ, उही नेतृत्वमा रहनु पर्दछ । यसमा कुनै फरक मत हुनुपर्ने थिएन । नेपालको कम्युनिस्ट आन्दोलनले सफलता नपाउँदै वा सरकार नबनाउँदै टुटफुट आउनु अप्राकृतिक नियम थियो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पुर्‍याउँदै आउनु भएका शीर्षस्ठ नेताहरु आदरणीय हुनुहुन्छ । उहाँहरुको ऐतिहासिक योगदान र भूमिकाप्रति हामी कति सहमत या असहमत हुन सकौँला, भिन्दै कुरा हो । पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ महाधिवेशन वा सम्मेलनसम्म आइपुग्दा क. पुष्पलाल, मनमोहन अधिकारी, मदन कुमार भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धर, साहना प्रधान, चन्द्रप्रकाश मैनाली, निर्मल लामा, मोहन वैद्य ‘किरण’, खडगप्रसाद ओली कम्युनिस्ट आन्दोलनमा अग्रणी नामहरु थिए । उपरोक्त नामावली बाहेक डा. बाबराम भट्टराई, रामबहादुर थापा ‘बादल’, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीको नाम पनि आउने गर्दथ्यो । अहिले पछिल्लो चरणमा फेरि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समेत कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।

आज कमरेड मदन भण्डारीको स्मरण गर्ने र उहाँले उठाउनु भएको जनताको बहुदलीय जनवाद बारे चर्चा गर्ने दिन हो । कमरेड मदन भण्डारीको विचार त्यो परिवेशमा आएको थियो, जुनबेला नेपालमा राजतन्त्रको निरंकुश राज्यव्यवस्था, केही अधिकार प्राप्त भएको बहुदलीय व्यवस्था थियो ।

नेपालको राज्यव्यवस्था भर्खरै सामन्तवादबाट पुँजीवादमा प्रवेश गर्दै रहेको थियो । त्यतिबेला पूर्ण सामन्तवाद पनि होइन, पूर्ण पुँजीवादी राजनीतिक व्यवस्था पनि थिएन । त्यस्तो नवसामन्त र दलाल नोकरशाहीसहितको नवऔपनिवेशिक राज्य प्रणालीमा प्रवेश गर्दै थियौँ । कमरेड मदन कुमार भण्डारीले भन्नु एको जनताको बहुदलीय जनवादी कार्यनीति त्यतिबेलाको आर्थिक समाजिक धरातलमा सृजना भएको हो ।

केही कम्युनिस्ट पार्टीहरुले र स्वयम कमरेड मदन भण्डारीको पार्टीमा समेत उहाँको उक्त विचारप्रति असहमति जनाउँदै निरन्तर वैचारिक संघर्ष गर्दै आएका थिए । कुनै विचार वा कार्यनीतिमा कसैले असहमति जनाउँदैमा त्यो बाटो गलत वा सही हुने कुरा थिएन । इतिहासको एउटा कालखण्डमा त्यो समय सापेक्षतामा सही विचार हुनसक्यो होला । अहिले नेपालका नदीहरुमा धेरै पानी बगिसकेको छ । विश्व सामाजिक व्यवस्थामा परिवर्तन आएको छ, त्यसैले तीन दशक अगावै निर्धारण गरिएको त्यो कार्यनीतिमा परिमार्जन गर्नुपर्ने भएको छ ।

त्यतिबेला राजतन्त्र सत्ताको केन्द्रमा थियो । संविधानभन्दा माथि रहेको राजतन्त्रले आफू अनुकूलको राज्यव्यवस्था नभएमा जहिले पनि सरकार परिवर्तन गर्नसक्ने, सिधै सत्ता आफैले लिनसक्ने, वा आफ्नो कठपुतली व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने अवस्था कायम थियो ।

निश्चितै हो, राजा आफू सर्वेसर्वा त हुन्थे नै तर मुलुकलाई विभिन्न प्रशासनिक ईकाई बनाएर राज्य नगरी साध्य थिएन । पचहत्तर जिल्ला, चौध अञ्चल र पाँच विकास क्षेत्र बनाएर प्रशासनिक विकेन्द्रीकरणको ढाँचा तयार पारिएको थियो । क्षेत्रपाल, अञ्चलाधीश, शाही सेना, न्याय क्षेत्र, प्रशासनिक ईकाईका प्रमुख, प्रहरीका प्रमुख सबै ठाउँमा राजदरबारले पत्याएका मान्छे मात्रै भर्ती गरिन्थ्यो ।

उनीहरुमध्ये केही इमान्दार हुन्थे भने धेरैजसो राजदरबारलाई खुसी बनाउने र गलत काम गर्नेहरु थिए । त्यही अवसरमा उनीहरुले राज्यकोषबाट थुप्रै रकम लिने गर्दथे । जग्गा जमिन आफू वा आफन्तका नाममा दर्ता गर्दथे । भ्रष्टाचार त्यतिबेला पनि थियो तर अनियमितता, भ्रष्टाचार र अत्याचार गर्ने शासकहरु विरुद्ध बोल्दा जनताले यातना भोग्नुपर्ने, बेपत्ता हुनुपर्ने, कारागारको सजायँ भोग्नुपर्ने अवस्था थियो । त्यस्तो व्यवस्थामा मनपरि गर्न नजानेका सोझासाझा सरकारी मान्छेले पनि दुःख पाउनुपर्ने अवस्था थियो । पञ्चायती व्यवस्थाको बागडोर धेरै समय हाँकेका पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापालाई समेत तानाशाही व्यवस्थाको शिकार बन्नु परेको थियो ।

त्यस्तो तानाशाही व्यवस्थालाई नेपालमा उदयमान हुँदै गएका नव कम्युनिस्टहरुले मात्रै उखेलेर फाल्नसक्ने अवस्था थिएन, जुन कुरा कमरेड मदनलाई थाहा थियो । हुन त नेकपाको स्थापनाकाल र घोषणा पत्र लेखिँदा क. पुष्पलालले कम्युनिस्टहरुको एक्लो शक्तिले राजतन्त्रलाई उखेलेर फाल्न नसक्ने देखेर नै नेपाली काँग्रेससँग मिलेर संयुक्त आन्दोलन आवश्यक ठहर्‍याएको हुनु पर्दछ ।

राजतन्त्रको समाप्तिपछिका प्रतिस्पर्धी राजनीतिक शक्ति भनेको नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी नै हुन् भन्ने कुरा नेपाली काँग्रेसका संस्थापक विशेश्वरप्रसाद कोइराला र नेकपाका क. पुष्पलाललाई थाहा थियो । त्यति हुँदाहुँदै पनि संयुक्त आन्दोलनको कार्यनीति आजको कार्यभार हो भन्ने त्यतिबेलाको कम्युनिस्ट पार्टीले उठाएको सवाल अहिले आएर सत्य साबित भएको छ । लोकतान्त्रिक राजनीतिमा प्रतिस्पर्धा हुनु नराम्रो हुँदै होइन । यो कुरालाई नेकपाका क. पुष्पलाल, मनमोहन, झापा विद्रोहबाट प्रभावित मदन भण्डारी र हतियार उठाउन बाध्य भएको बताउनु हुने क. प्रचण्डले समेत स्वीकार गर्नुभएको देखिन्छ । त्यही परिवेशमा आएको जबजको कार्यनीतिलाई अनावश्यक भन्न मिल्दैन । आफ्ना निकटम प्रतिस्पर्धी काँग्रेस वा कम्युनिस्टले राज्य सञ्चालनको जिम्मेवारी लिन्छन् कि भन्ने लघुताभाषी भएका लोकतन्त्र विरोधी काँग्रेस वा कम्युनिस्टहरु भित्रको चिन्तन अहिले राजतन्त्रको समाप्तिसँगै अन्त्य भएको छ ।

शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र जनयुद्धका सबै कार्यक्रम र कार्यनीतिहरु परीक्षण हुँदै आएको नेपालको राजनीतिक आन्दोलनले आखिर एकल संघर्षबाट मात्रै राजतन्त्र ढालेन, नेपाली काँग्रेस, नेकपाहरु र अन्य लोकतान्त्रिक शक्तिसँग सहकार्य, संयुक्त आन्दोलन गरेर मात्रै अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको हो । यो तथ्य घाम जस्तै छर्लङ्ग भएको हुनु पर्दछ ।

नेपाली कम्युनिस्टहरुले मात्रै होइन, यो इतिहासलाई नेपाली काँग्रेस र अन्य लोकतान्त्रिक शक्तिहरुले समेत मान्नुपर्ने हुन्छ । मधेश आन्दोलन, जनजाति, पिछडा समुदाय, विभेदमा परेका महिला, अपाङ्ग, ज्येष्ठ नागरिक, शोषित पीडित वर्ग, लगायत उपेक्षित भौगोलिक क्षेत्रका नागरिकले अहिले त्यो कुरा बुझ्न थालेको महशुस हुँदैछ । जनताको बहुदलीय जनवादी व्यवस्था आफैमा तत्कालीन नेकपा (एमाले) को सिद्धान्त थिएन, कार्यनीति थियो । कम्युनिस्ट पार्टीले बहुदलीय व्यवस्था मान्दछ भनेर विश्वास नदिलाएसम्म नेपाली काँग्रेस राजतन्त्र हटाउने तहमा आउदैन भन्ने विश्वास कमरेड मदनलाई पनि थाहा थियो । त्यसैले उहाँले जबजको कार्यनीति पाँचौ महाधिवेशनबाट पारित गराउनु भयो ।

सशस्त्र जनयुद्धको सर्वोच्च कमाण्डर हुनुभएका क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यो कुरा बुझ्नुभयो, आफ्नो पार्टी पनि शान्ति प्रक्रियामा आइसकेपछि एक्काइसौँ शताब्दीको जनवाद अहिलेको आवश्यकता हो भनेर अगाडि ल्याउनु भयो । कतिपय कम्युनिस्ट पार्टीले बदलिएको परिस्थितिमा समेत पुरानै ‘नयाँ जनवादी क्रान्ति’ को कार्यक्रम बोकिराखेको अवस्था छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भइ नेकपा बनिसकेको अवस्थामा यो पार्टीको कार्यनीनि जनताको जनवाद भनेर अगाडि ल्याएको छ । यो कार्यनीतिलाई विशिष्ट परिस्थितिमा विकास र परिस्कृत गर्दै कम्युनिस्ट आन्दोलनमा समाहित गर्ने र वर्तमान नेपालको संविधानमा प्रत्यक्ष सहभागिता जनाएको बुझ्न सकिन्छ ।

जनताको जनवाद हिजोको नयाँ जनवादी क्रान्ति, जनताको बहुदलीय जनवाद वा एक्काइसौँ शताब्दीको जनवादभन्दा परिमार्जित हुनुपर्दछ भन्ने आशय अहिलेको नेकपा (नेकपा) को आशय हो ।

यो जनताको जनवादको कार्यक्रम कस्तो हुने ? यस्को राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र विदेश नीतिको वैज्ञानिक विश्लेषण हुनु जरुरी छ । त्यो काम सम्पन्न गर्न यो पार्टीको नेतृत्वले सक्छ कि सक्दैन ? विज्ञहरुको परामर्श, कम्युनिस्ट आन्दोलनका सम्पत्तिका रुपमा रहेका सिद्धान्तनिस्ट पुरानो नेतृत्वका कम्युनिस्टहरु, विज्ञान र प्रविधिमैत्री युवाहरु र सबै तप्का र समुदायसँग छलफल चलाउन बाँकी नै छ ।

त्यो छलफलबाट आएका कतिपय निष्कर्षहरुलाई मार्क्सवादी दर्शनमा आधारित भएर आगामी महाधिवेशनमा साझा कार्यक्रमको रुपमा लैजान सके अत्यन्त वैज्ञानिक सैद्धान्तिक आधार बन्ने छ । यस्तो बौद्धिक कार्य गर्न व्यक्तिगत लोभ-लालच नराख्ने, गुटपरस्त नभएका विज्ञहरुलाई पनि जिम्मेवारी दिन सकिन्छ । यसले गर्दा नेकपाको दीर्घकालीन रणनीति र तात्कालिक कार्यनीति निर्माणमा ठुलो सघाउ पुग्दछ भन्ने मलाई लाग्दछ । कमरेड मदनले त्यतिबेला चाहेको मार्क्सवादको सृजनात्मक प्रयोग भनेको पनि यस्तै हो ।

मदन भण्डारीको जबज उत्पत्ति मात्रै होइन, प्रचण्डपथको र एक्काइसौँ शताब्दीको जनवादपछिको परिस्थिति यति विकसित भइसक्यो कि यसको उद्देश्य र परिभाषामा परिमार्जन नगरी नहुने भयो । त्यही कार्यनीतिलाई अहिले पुनः एकीकृत भएको कम्युनिस्ट पार्टीले जनताको जनवाद भनेर एकीकृत अवधारणा ल्याएको छ ।

नेपाली जनताले ०७ सालमा प्राप्त गर्नुपर्ने संविधान सभाको निर्वाचन झण्डै ६ दशकको संघर्षपछि प्राप्त गरे । त्यसमा पनि अहिले त इतिहासमा पहिलो पटक नेकपाको नेतृत्वमा नेपालमा बहुमतको निर्वाचित सरकार बनेको छ । यतिबेला पार्टीले काँचुली फेरेर एकीकृत कम्युनिष्ट आन्दोलन हाँक्नु परेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विकास गर्न समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गरेर परिस्कृत तुल्याउनु छ । जनताले निर्माण गरेको वर्तमान संविधानलाई कार्यान्वयन गर्न नेपालका कम्युनिस्टहरुले बहुमत प्राप्त गर्दागर्दै प्रमुख राजनैतिक दलसहित सबै लोकतान्त्रिक शक्तिहरुलाई सँगै लिएर जानुपर्ने अवस्था छ ।

यो कार्यभार पुरा गर्नु अहिलेका कम्युनिस्टहरुको दायित्वमा पर्दछ । यसरी मदन भण्डारीबाट प्रतिपादित जबजको नयाँ रुपान्तरित कार्यनीति जनताको जनवादी व्यवस्था स्थापना गर्न अझै बाँकी छ ।

कमरेड मदन कुमार भण्डारीकै शब्द सापटी लिएर भन्ने हो भने कम्युनिस्टहरु जडसुत्रवादी बन्न सक्दैनन्, न त दक्षिणपन्थी विसर्जनवादको शिकार भएर क्रान्तिकारी झण्डा माटोमुनि पुर्न चाहन्छन् ।

जनताको जनवादलाई कार्यनीति बनाउने हो भने नेपाल कम्युनिस्ट पार्टी विचारका आधारमा अग्रगामी र कार्यनीतिका आधारमा प्रगतिशील बनाउनु पर्दछ । पुरानो नीति, कार्यक्रम, सत्ता सञ्चालनको कार्यशैलीले परिवर्तनको अनुभूति जनतालाई दिन सकिन्न ।

अहिले सशस्त्र संघर्ष र शान्तिपूर्ण जनआन्दोलको फ्युजन, कम्युनिस्ट आन्दोलनको चरित्र बुझेको कार्यकारी अध्यक्ष जस्तो नेतृत्वमा कमरेड प्रचण्ड हुनुहुन्छ । हामीले आशा र बिश्वास गर्ने हो भने उहाँको नेतृत्वमा आम नेता कार्यकर्ता गोलबन्द हुँदै नेपाल कम्युनिस्ट पार्टीको सामूहिक नेतृत्वले कमरेड मदन भण्डारीले परिकल्पना गरेको जबजको परिस्कृत रुप समाजवाद उन्मुख ‘जनताको जनवाद’ स्थापना गर्नेछ ।

यो पनि भन्न सकिन्छ कि नेपालमा समाजवाद उन्मुख आर्थिक सामाजिक व्यवस्था कार्यान्वयन गर्न आवश्यक परे क्रान्तिकारी कदम चाल्नका लागि सरकारको सबै हकदार अहिलेको युवा नेतृत्वलाई बनाउनु पर्दछ । यो नै कमरेड मदन भण्डारीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । आउनु होस्, यसै विषयमा सबै कम्युनिस्ट र वामबुद्धिजीवीहरुले छलफल गरौँ ।

(लेखक प्रेस स्वतन्त्रताका लागि निरन्तर लडिरहने बामपन्थी सामाजिक अभियन्ता हुनुहुन्छ ।)