मई दिवस विश्वका श्रमिक वर्गको गौरवको दिन । मैले मई दिवस विभिन्न ठाउँमा बेग्लाबेग्लै परिवेशमा प्रत्यक्षीकरण गरेको छु । मई १, १८८६ अमेरिका र विशेष गरी शिकागो सहरमा यही दिन ८ घण्टा कामको माग राखेर ४० हजार मजदुरहरू सडकमा ओर्लेका इतिहास पढियो ।
नेपालको औद्योगिक सहर विराटनगर विरासत भएकाले मजदुरहरूसँग सामिप्यता बढ्यो । विराटनगरका जुट मिलहरूका मजदुरहरूसँग हडताल र जुलुसमा सहभागी भइयो । रिक्सा मजदुरको हडतालमा नेपाली नबुझ्ने मजदुरको आन्दोलनमा हिन्दीमा भाषण ठोकियो । २०३९ सालमा पञ्चायतले बिराटनगर जुट मिलमा मई दिवस मनाउन मनाही गरेको बेला महेन्द्र मोरङ आदर्श क्याम्पसको ग्यालरीमा मई दिवस मनाइयो । मनमोहन अधिकारी, भरतमोहन अधिकारी, कमल कोइराला, महेश उपाध्याय, मदन भण्डारी, विद्यादेवी पाण्डे आदि सहभागीमा देखिन्थे । मई दिवसको उमङ्ग र उत्साहमा निकै ऊर्जा खर्चियो ।
नेपालमा मई दिवसबारे मैले पहिलेका पोस्टहरूमा पनि केही लेखेको छु । सन् २०१३ डेढ महिने अष्ट्रेलिया भ्रमणमा रहँदा त्यहाँ देखेको मई दिवसबारे सानो संस्मरण लेख्न आज जमर्को गरेको छु । मेरो ठुल्दाइको दोस्रो पुस्ता झण्डै दुई दसकदेखि अष्ट्रेलियामा छ । उनीहरूको आतिथ्यमा म र शान्ता २०१३ को अप्रेलमा अष्ट्रेलिया गएका थियौँ । धेरै समय सिड्नीमा बसे पनि मेलबर्न र क्यानबेरा पनि हाम्रो गन्तव्य रह्यो ।
सन् २०१३ को मई १ को दिन हामी अष्ट्रेलियाको क्यानबेरामा मई दिवस समारोहमा सहभागी भयौँ । अष्ट्रेलियाको राजधानी क्यानबेराको संसद भवन अगाडि ठुलो संख्यामा श्रमिकहरू जम्मा भएका थिए । धेरैले आफ्नो साधन गाडीमा ब्यानर, झण्डा र तुल टाँगेर आएका थिए । केही बस, भ्यान र ट्रकमा आएका थिए । दुई-तीन ठाउँमा भेला र भाषण चलेको थियो । केही मानिसहरू खाना आफै लिएर आएका थिए भने धेरैले त्यही पकाउने व्यवस्था गरेका थिए । त्यहाँ पिकनिकको माहोल थियो । हामी सबैतिर घुम्यौ, केहीसँग कुरा गर्यौँ ।
विकसित देश अष्ट्रेलिया र विकासशील देश नेपालको मई दिवसका मागहरूमा स्थानीयता छन् तर मजदुरहरूको एकतामा अन्तर्राष्ट्रियता छ । हामीले कुन वर्गका मानिसहरू त्यहाँ मई दिवस मनाउन जम्मा भएका छन्, बुझ्न खोज्यौँ । त्यहाँ मई दिवस मनाउन जम्मा भएका अधिकांश मानिसहरू श्रमिक रहेको थाहा भयो तर अष्ट्रेलियाका श्रमिकहरूको आर्थिक अवस्था हाम्रो देशका मध्यवर्गभन्दा माथिको छ ।
मई दिवस मनाउन जम्मा भएका मजदुरमा पनि त्यहाँ एउटा तप्का औपचारिकताका लागि आएको थियो भने धेरै मजदुर आन्दोलनका अगुवाहरू आगामी कार्यका लागि कार्ययोजना प्रस्तुत गरिरहेका थिए । अष्ट्रेलियाको राजधानी क्यानबेराको संसद भवन अगाडि यी सबै क्रियाकलाप भइरहेका थिए तर सरकारको कुनै अवरोध थिएन ।
मई दिवसको कार्यक्रमपछि हामी अष्ट्रेलियाको संसद भवनमा घुम्यौँ । त्यहाँको संसद भवनमा भ्रमण गर्न कुनै अवरोध छैन । बेलुका शान्ताकी भदैको क्यानबेराको घरमा बास बस्यौँ । अष्ट्रेलियामा हाम्रो मई दिवसमा सहभागिता नयाँ अनुभवको अनुभूति बन्यो ।
समयको अन्तरालमा मई दिवसको महत्त्वलाई उदारवादी र विशेष गरी नवउदारवादीहरूले अवमूल्यन गरिरहेका छन् । विश्वमा मजदुरहरूको आन्दोलनलाई कमजोर पार्न संगठन निषेधको प्रयास देखिएको छ । अमेरिकामा सन १९५५ मा ३३ प्रतिशत श्रमिकहरू युनियनमा आबद्ध थिए तर २०२० मा यो घटेर १०.५ प्रतिशत पुगेको छ । निजी क्षेत्रमा त ७ प्रतिशत श्रमिकहरू मात्र युनियनमा आबद्ध देखिएका छन् । २०१८ मा ९२ देशहरूले श्रमिक युनियन बनाउन प्रतिबन्ध लाएको थियो भने २०१९ मा युनियन बनाउन प्रतिबन्ध लगाउने देशहरू १०७ पुगेका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार अहिले विश्वमा १२ करोड बालश्रम जोखिममा काम गरिरहेको छ र प्रत्येक वर्ष २२ हजार बालबालिकाको जोखिमपूर्ण काममा ज्यान गुमिरहेको छ । विश्वमा १ अर्ब ६० करोड मानिसहरू कामको खोजीमा छन् ।
यही समयमा सरकारी उद्योगहरू मासेर भ्रष्टाचार गर्ने ठुलो नेपाली तप्का ‘ह्याप्पी मे डे’को शुभकामना सामाजिक सञ्जालमा बाँडिरहेका छन् । नेपाल सरकारका मन्त्रीहरू संगठन र युनियन बनाउन पाइँदैन भनेर हुँकार गरिरहेका छन् । विचरा प्रधानमन्त्री लाचार छाँया देखिएका छन्, हाम्रो नेपालमा ।