पिपलको ठूलो रुखले आफ्ना पातहरु बजाइरहेको छ । बजिरहेका पातहरुमाथि निलो आकाश छ र आकाशको गहिराइबाट चहकिलो सूर्यले आँखा तिरिमिरी हुने गरी प्रकाश खन्याइरहेको छ। सहरदेखि टाढा गाउँको चौतारी हो यो । छेवैको बारीमा गहुँ मन खोलेर पसाउन सकेको छैन, यो हिउँदको खडेरीले गहुँबाली प्रभावित भएको छ ।
वि. सं. २०७७ साल पुस ५ पछि बितेका दुई महिना गाउँ पनि निश्चिन्त सुत्न सकेन ।गोठाला जाँदा होस् या घाँस दाउरा गर्दा होस्, गाउँ चिन्तित भइरह्यो । गाउँमा पनि देश दुखिरह्यो, राजधानी दुखिरह्यो । संविधानको धारामा पहिरो खस्दा यता गाउँमा घरीघरी ऎठन परिरह्यो । आखिर गाउँसँग पनि सहरको जस्तै भावना छ, सोच्ने दिमाग छ । अभाव छ त के भयो, हरेक अन्यायपूर्ण कदमका विरुद्ध संघर्ष गर्ने स्वाभिमान छ ।
सम्मानित सर्वोच्च अदालतको वि.सं. २०७७ साल फागुन ११ गते साँझको प्रतिनिधि सभा विघटन बदर गर्ने आदेश फागुन चैतको हुरीभन्दा अझ वेगले उड्दै गाउँ आइपुग्यो । साँझको समय गाउँ खुसीले उज्यालो भयो । धेरैलाई चिन्ता थियो – देश दुर्घटनातिर जान्छ । गणतन्त्र गुम्छ । तर सर्वोच्च अदालतको फैसलाले आशा मर्न दिएन ।
हामी बजारबाट गाउँतर्फ हिँड्यौँ । खुर्सानीबारीदेखि अगाडि सडक धुलाम्मे छ । धुलोमा घरीघरी भुमरी पर्छ । सेतो पहरामा पहिरो गएर सडक अवरुद्ध भएको महिनौ भइसक्यो । अहिलेसम्म मर्मत हुन सकेको छैन । हामीहरु भैँसेखोरतर्फ लाग्यौँ । त्यहाँबाट बोझोघारी हुँदै बिनिखोला निस्कियौँ । दैलेख नौमुले सडक खण्डलाई पक्की बनाउन कर्णाली सरकारले बहुवर्षीय योजना बनाएको छ र काम पनि हुँदैछ ।
खजुरीदेखि माथि सल्लोघारीमा हामी सुस्तायौँ । हावा चलिरहेको छ । खुला आकाशमुनि खुला चौर, यसै पनि वातावरण शान्त छ । पारिपट्टि भलायडाँडा, गोगनपानी र तल्लो नाउली गाउँहरु मध्यान्हको घाममा टल्किरहेका छन् ।
कुनै समय यही डाँडामा गणतन्त्र प्राप्तिका निमित्त लडिरहेका पाँच जना नौजवानहरुको कब्जापश्चात गोली हानी हत्या गरिएको थियो । उनीहरुको रगत पोखिएको चौरमा केही आवाज प्रतिध्वनित भएको अनुभूति हुन्छ ।
मार्क्सले कति सटिक विश्लेषण गरेका छन – मानवजातिको इतिहास वर्ग संघर्षको इतिहास हो । वर्ग विभाजित समाजमा रक्तपातपूर्ण होस् या रक्तपातविहीन संघर्ष त भइरहने रहेछ । आज पनि संघर्ष जारी छ, मात्र त्यसको स्वरुप बदलिएको छ । हरेक मानव सभ्यताहरु अथक संघर्ष र उच्च बलिदानको जगमा उभिएका छन् ।
पिपल चौतारीको छायाँमा हामी गोलो घेरा बनाएर बस्यौँ । भेलामा भाङघारी, लेकतोली, अवलतोली, भुर्सु र नौमुलेबाट सहभागीहरु आउनु भएको छ । यहाँ वि. सं. २०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचार गर्ने कम्युनिस्टदेखि गणतन्त्र प्राप्तिका निमित्त सशस्त्र संघर्षमा होमिएका कम्युनिस्टहरुको जमघट छ । युवा पुस्ताकी कमरेड टीकाद्वारा सञ्चालित भेलाको अध्यक्षता प्रौढ पुस्ताका कमरेड बलबहादुर थापाले गर्नुभएको छ । कम्युनिस्ट पार्टी विभाजित हुन थालेकोमा चिन्ता छ । प्रतिनिधि सभा विघटनबाट जोगिएकोमा खुसी छ । पार्टी एकता घोषणा भएको तीन वर्ष नपुग्दै एउटै पार्टीको नाममा दुई-दुई वटा भेला, बैठक र कार्यक्रमहरु हुन थालेका छन् ।
नेपालमा कम्युनिस्ट पार्टीले काँग्रेसभन्दा बढी फुट व्यहोरेको छ । पञ्चायतको सुरुआतमा झण्डै विघटित कम्युनिस्ट पार्टी विभिन्न समूह हुँदै पुन सङ्गठित भयो । पञ्चायतको अवसानपछि एक मुख्य पार्टीको रुपमा कम्युनिस्ट पार्टी स्थापित भयो । वि. सं. २०४८ सालको चुनावपछि संसदमा दोस्रो र तेस्रो ठूलो दलका रुपमा दुई कम्युनिस्ट घटकहरुले आफ्नो उपस्थिति जनाएका थिए । भेला इतिहासतर्फ सोझियो । भेलाले जनयुद्धका कठिन क्षणहरु सम्झियो । त्यसका सकारात्मक एवं केही नकारात्मक विम्बहरुमा टिप्पणीहरु भए । बहुदलपश्चातका चुनावहरुमा यो गाउँले कम्युनिस्ट पार्टीलाई बहुमत दिएको छ । कम्युनिस्ट पार्टीको एकताको खबर सुनेपछि खोकिलामा अभाव सँगालेर बाँचिरहेको गाउँको अनुहारमा खुसी नाचेको थियो । एकता प्रक्रिया अवरुद्ध हुदा गाउँले नेताहरुप्रति शंका गरेको थियो । संसद विघटनको सिफारिसले गाउँलाई आक्रोशित बनायो । जतनपूर्वक दिएको आफ्नो मतको अपमानले गाउँको मन असाध्यै दुखेको थियो । नेताले मात्र सबैथोकको ज्ञान राख्ने तर गाउँले केही पनि नजान्ने भनेर कसैले नठाने हुन्छ । आजभोलि प्रत्येक घरमा मोबाइल फोन छ । इन्टरनेटको सुविधाले प्रत्येक घटनाक्रमको जानकारी हासिल हुन्छ । चुच्चे नक्सा पारित गर्ने तर एमसीसी टेबुल गर्न समेत नमान्ने प्रतिनिधि सभा विघटन गर्नुपर्ने षड्यन्त्रबाट गाउँ बेखबर छैन । नेपालको संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका प्रधानमन्त्रीलाई पनि संविधानतः संसद विघटन गर्न पाइँदैन भन्ने कुरा थाहा थियो । गाउँले बालुवाटार नदेखे पनि त्यहाँको मनोदशा बुझ्छ । सहरमा रहेका आफ्ना सन्तानहरुमार्फत गाउँले यसै पनि बितेका दुई महिनाभरि नजिकैबाट खबरदारी गरिरहेको थियो । इतिहासको निर्माण एक-दुई जना चमत्कारिक व्यक्तिले गर्दैनन्, त्यो त भुईँतहका यिनै लाखौँ जनताले निर्माण गर्दछन् ।
देश एउटा ठूलो दुर्घटनाबाट बचेको छ । हजारौँ लाखौँ जनताको रगत र पसिनाले लेखिएको संविधानको हत्या गर्ने षड्यन्त्र हाललाई टरेको छ । तर पनि गाउँ अझै ढुक्क छैन । मुलुकलाई जहिल्यै अस्थिरताको सिकार बनाइरहने जालमा सरकार चलाइरहेको पार्टी अल्झिएको देखेर गाउँ दुःखी भएको छ ।
पार्टी एकता गर्ने तर म आफै पार्टी हुँ भनेझैँ गरी पार्टी कमिटी प्रणालीलाई बेवास्ता गर्ने प्रवृतिले गाउँलाई झस्काइदिएको छ । पार्टी सामूहिक निर्णयबाट चल्छ । यो कुनै तानाशाह या नौकरशाहको मनपरि चलाउने हतियार होइन ।
तल्लो तहका कार्यकर्ता जसको जनतासँग प्रत्यक्ष सम्बन्ध हुन्छ, उनीहरु चाहन्छन् कि नेताहरुले कुनै निर्णय लिनुपूर्व संस्थागत ढंगले आफूहरुको राय लिऊन् । आफ्नो कमिटीमा नेताहरु तोकेर पठाउने चलनलाई पनि भुईँपार्टीले राम्रो मान्दैन । आफ्ना नेताहरु ठुला नेताहरुका चाकरीबाज जस्ता मात्र बनेको भुईँपार्टीले मन पराउँदैन । कार्यकर्ता र जनताबाट नेताहरुका क्रियाकलाप गोप्य रहन सक्दैनन् । कार्यकर्ताले गाउँमा उपभोक्ता समितिको पदाधिकारी बनेको, ठेकेदार बनेको, सट्टेबाज बनेको र सहरमा सम्पत्ति थुपारेको आफ्नो नेताको खराब आचरणमा रुपान्तरणको अपेक्षा गर्छन् । पार्टी विभाजनमा निजी सम्पत्तिप्रतिको लोभ र त्यसको प्राप्तिका निमित्त अपनाइने अपारदर्शी बाटोले पनि भूमिका खेलेको हुन्छ । कम्युनिस्टहरुको निजी सम्पत्तिप्रतिको मोहले उनीहरुको सैद्धान्तिक मूल्यलाई जिस्काइरहेको हुन्छ । पार्टी केन्द्रले नेताहरुको एक कम्युन निर्माण गर्नुपर्छ । त्यसैगरी हरेक तहका कमिटीहरुको कम्युन हुनुपर्छ । तिनै कम्युनमार्फत कम्युनिस्ट नेताहरुले आफ्नो दैनिक गुजारा र पारिवारिक व्यवस्थापन गर्नुपर्छ ।आफ्नो नेता दलाल जस्तो, माफिया जस्तो कुनै अर्कै वर्गको जस्तो भएको कार्यकर्तालाई र जनतालाई मन पर्दैन ।
घाम अब पिपलको रुख पार गरेर सालघारीभित्र पसिसकेको थियो । अन्तरक्रिया अब बिट मार्नुपर्ने भयो । सहभागीहरुले घर जानुछ । वस्तुभाउलाई खानाको जोहो गर्नुछ । आफ्नो र जहानको निमित्त खाना पकाउनुछ । एक जना प्रौढ कमरेडले भन्नुभयो – “सर्वोच्च अदालतले हाम्रो कुरा बुझिदियो । अदालतलाई मुरीमुरी धन्यवाद छ । अब निर्वाचन आयोगले पनि हामीजस्ताको कुरा बुझ्नेछ । पार्टी नेतृत्वले पनि कुरा बुझोस् । सही र गलतको हिसाब राखोस् ।”
सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । मनमौजी ढङ्गले चल्न खोज्ने शासकहरुलाई सोच्न बाध्य बनाएको छ । हो, हिसाब त पक्कै राख्नुपर्छ । प्रतिनिधि सभा विघटन गरेर बेमौसमी चुनावको वकालत गर्ने प्रधानमन्त्रीज्यूका निमित्त पनि गल्ती महसुस गर्ने यो एक अवसर हो । अरुलाई आरोपित गर्नु कुनै समाधान होइन । प्रधानमन्त्रीज्यूको त्यो कदममार्फत घाइते बनेको कम्युनिस्ट अभिमत गुम्न सक्छ । बेलैमा उपचार गर्ने तर्फ सोच्नुपर्छ ।
झम्के साँझ धर्तीमा ओर्लिसकेको छ । मायाराम कमरेड र म विदा माग्दैछौँ । सहभागी कमरेडहरु बहसमै हुनुहुन्छ । कति जिउँदो छ गाउँको मन, अनि त्यतिकै सफा पनि । भूमण्डलीकरणको युग छ । अमेरिकामा बस्ने छोरासँग भुर्सुबाट आमाले कुरा गर्न सक्छिन् । त्यसैगरी पुँजी, विचार, रीतिरिवाज सबै सीमाविहीन भएका छन् । यसो हुँदा गरिब मुलुकहरुले उन्नत, बलियो पुँजीको धार धान्न सक्दैनन् । हाम्रो देशले त्यही दुर्दशा भोग्नु परिरहेको छ । विदेशीको सामान बेच्ने बजार बनेको नेपालमा बाह्य राजनीतिक प्रभाव छैन भन्न सकिँदैन । तर पनि कुनै परिवर्तन या दुर्घटनामा बाह्य कारण सहायक हुन्छ, प्रधान कारण आन्तरिक नै हुन्छ । संसद विघटनको सिफारिसको केही अघिदेखि विकसित घटनाक्रमले राम्रो संकेत गर्दैनन् । विदेशी सामान बेच्ने र कमिसन खाने तरिकाले त जति खरो भाषण गरे पनि राष्ट्रवादी बन्न सकिँदैन । राष्ट्रको नेतृत्वले गम्भीर भएर सोच्नुपर्दछ । हामी फर्कियौँ । पाँच जना नौजवानको सामूहिक चिहान नजिकै छ । त्यो चिहान बोल्न त सक्दैन र पनि मुठ्ठी उठाएर धेरै कुरा भनिरहेझैँ लाग्यो । के ती नौजवानहरुलाई बाँच्ने रहर थिएन होला र?
[लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा बुद्धिजीवी संगठनका नेता हुनुहुन्छ ।]