NATO and WARSA Pact, नेटो, वार्सा सम्झौता, नाटो
 

विश्वमा आर्थिक असमानता, वातावरण विनास, युद्ध, मानव अधिकार हनन र कतिपय देशमा नरसंहारको अवस्था छ । युक्रेन युद्ध, इजरायल प्यालेस्टाइन युद्ध र त्यसले गरेको नरसंहार, भारत पाकिस्तान द्वन्द्व (युद्ध र युद्ध विरामको अवस्था), पश्चिमा राष्ट्रहरूले समाजवादी खेमाका देशहरू र रुसमाथि लगाएको प्रतिबन्ध, अमेरिकाद्वारा लादिएको कर युद्धलाई उदाहरणको रूपमा लिन सकिन्छ । पश्चिमा विकसित र शक्ति राष्ट्रहरू ठाउँ ठाउँमा शैन्य शिविर खडा गरेर तेस्रो विश्व खास गरी अल्पविकसित र विकाशोन्मुख राष्ट्रमाथि दवाव र दमनको स्थिति सिर्जना गरिरहेका छन् । यस्तो अवस्थामा हामीले बाङ्डुङ शिखर सम्मेलनलाई सम्झिरहेका छौँ । आजको विश्व परिस्थितिमा तेस्रो विश्वका मुलुकहरू अर्थात् ग्लोबल साउथका मुलुकहरूले के कस्तो रणनीति अपनाउनु उचित हुन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने आवश्यकता भएको छ । यस लेखमा नाटो, वार्सा प्याक्ट र असंलग्न राष्ट्रहरूको बाङ्डुङ शिखर सम्मेलनको बारेमा छलफल गरिनेछ ।

दोस्रो विश्वयुद्धपछि आ-आफ्ना स्वार्थ अनुकुल विभिन्न सैन्य संगठनहरू शीतकालीन युद्धका प्रतीकका रूपमा उम्रन थाले । यसको सुरुवात सर्वप्रथम अमेरिकाले सन १९४९ मा उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को निर्माण गरेपछि भएको हो । नाटोको स्थापना कालमा अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, बेल्जियम, डेनमार्क, आइसल्याण्ड, लक्जमबर्ग, पोर्चुगल, इटाली, नेदरल्याण्ड, नर्वे देशहरूको सहभागिता रहेको थियो । पछि सन् १९५२ मा ग्रीस र टर्की सामेल भए भने सन् १९५५ मा पश्चिम जर्मनी सामेल भयो । सन् १९८२ मा स्पेन पनि सहभागि भएको थियो । सन् २०२४ सम्म नाटोमा ३२ वटा सदस्य राष्ट्रहरू सहभागी भए । अमेरिका र पश्चिमी युरोपेली देशहरूले सुरक्षा सहयोगको नाममा यस संगठनको स्थापना गरेका थिए । यसको उद्देश्य सोभियत संघ र समाजवादी देशहरूको प्रभावलाई निस्तेज गर्नु थियो । यसले तत्काल पोल्यान्ड, चेक गणतन्त्रलाई समेत समावेश गरी गतिविधि बढाउन थाल्यो । यसले सोभियत संघसँगको दुरी झन बढायो । यसरी नाटोले आफ्ना गतिविधि बढाउन थालेपछि सोभियत संघले पनि नाटोको सैन्य गतिविधि रोक्ने उद्देश्यले पूर्वीयुरोपका समाजवादी देशहरूसँग मिलेर वार्सा प्याक्ट गठन गर्‍यो । वार्सा प्याक्ट भित्र पूर्वी जर्मनी चेकोस्लाभाकिया, हङ्गेरी, रोमानिया, बुल्गेरिया, अल्बानिया लगायतका देशहरू सहभागी भएका थिए ।

बलराम बाँस्कोटा, balaram banskota
लेखक

सन् १९९१ मा सोभियत संघको विघठन र पूर्वी युरोपमा कम्युनिष्ट शासन व्यवस्थाको अन्त्यपछि वार्सा प्याक्ट विघटन भयो । यसमा आबद्ध कतिपय देशहरू नाटो सैन्य गठबन्धनमा समावेश भए ।

सोभियत संघ र वार्सा प्याक्टको विस्तारवादी नीतिबाट युरोपलाई जोगाउने भनेर अमेरिकी साम्राज्यवादको अग्रसरतामा गठित नाटो सोभियत संघ विघठन गराउन समेत सफल भयो । नाटो अहिले पनि सक्रिय छ । युक्रेनमा संकट निम्त्याउन, रुस र पश्चिमाहरूको दुरी बढाउन यसले टुप्पीदेखि पैतालासम्मको बल प्रयोग गरिरहेको छ । यसरी शीतयुद्धको अन्त्यपछि पनि छाडा साँढे जस्तै आफ्नो गतिविधिलाई तीव्रता दिइरहेको छ भने वार्सा प्याक्ट विघटन भइसकेको छ । विगतमा यी दुई शैन्य संगठनहरूले २०औँ शताब्दीको भूराजनीतिमा ठुलो प्रभाव पारेका थिए । वार्सा प्याक्टले समाजवादी सैन्य शिविरलाई सशक्त बनाउँथ्यो भने नाटोले पुँजीवादी पश्चिमी गटबन्धनको । तर बिडम्बना नै मान्नु पर्दछ कि सोभियत संघको विघटनसँगै वार्सा प्याक्ट पनि विघठन भयो ।

बिसौँ शताब्दीको उतरार्धदेखि विश्व राजनीतिले नयाँ रोड म्यापको खोजी गर्न थाल्यो । एक ध्रुवीयता र दुई ध्रुवीयताको विकल्पमा बहुध्रुवीय शक्तिको खोजी हुन थाल्यो । पश्चिमी मुलुकहरूद्वारा बर्चस्व कायम गरिएको राजनैतिक एवम् आर्थिक संरचनाप्रति तेस्रो विश्वका मुलुकहरूको विमति हुन थाल्यो । यिनै असन्तुष्टिहरूले वैकल्पिक बाटो खोज्न बाध्य हुन थाले । यसको मूर्त रूप बाङडुङ सम्मेलन बन्न पुग्यो । बाङ्डुङ सम्मेलन एउटा वैकल्पिक खोजको परिणाम थियो । यसको थालनी सन् १९५५ मा इन्डोनेयिाको बाङ्डुङमा भएको थियो । यस सम्मेलनमा विशेषतः एसिया र अफ्रिकाका नवस्वतन्त्र देशहरू सहभागी भएका थिए । यस सम्मेलनले एसिया र अफ्रिकाका देशहरू बिच ऐतिहासिक सहकार्यको थालनी गरेको थियो । यो सम्मेलन १९५५ अप्रिल १८ देखि २४ सम्म इन्डोनेसियाको बाङडुङ सहरमा भएको थियो । अफ्रिका र एसियाका नवस्वतन्त्र राष्ट्रहरूले आफ्नो छुट्टै र स्वतन्त्र नीति अबलम्वन गर्ने, शीतयुद्धबाट टाढा रहने प्रयास अनुरूप इन्डोनेसियाका राष्ट्रपति सुकार्नो, चीनका चाउ एनलाई, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु, इजिप्टका सादात, मिश्रका गमाल जस्ता नेताहरूको पहलमा यो सम्मेलनको आयोजना गरिएको थियो । यस सम्मेलनमा नेपाल लगायत २९ देशका प्रतिनिधिहरूले भाग लिएका थिए । यो सम्मेलन विश्व इतिहासमा एक महत्त्वपूर्ण घटना थियो, जसले एसिया र अफ्रिकाको एकतामा सेतुको काम गरेको थियो । उक्त सम्मेलन उपनिवेशवाद र जातिवादको विरुद्ध संघर्ष गर्ने साझा मञ्चको रूपमा स्थापित हुन पुग्यो । अझ स्पष्ट रूपमा भन्ने हो भने शीतकालीन अन्तरराष्ट्रिय राजनीतिमा तेस्रो विश्वको उद्गम भयो । यो सम्मेलनले तृतीय विश्वको आवाजलाई मुखरित एवम् व्यवस्थित बनायो र विश्व राजनीतिको धार नै परिवर्तित गरिदियो ।

विश्वव्यापीकरण, नवउदारवाद र निजीकरणको वर्तमान परिवेशमा विश्वमा विद्यमान आर्थिक असमानता र सांम्राज्यवादले सिर्जना गरेको युद्धको परिस्थितिमा तेस्रो विश्वका मुलुकहरूले बाङ्डुङ सम्मेलन र यसले पारित गरेका सिद्धान्तहरूको स्मरण गरिरहेका छन् । शक्तिशाली देशहरूले आ-आफ्नो सामरिक शक्ति बृद्धि गरिरहेको वर्तमान परिस्थितिमा विश्व शान्तिको पक्षमा भएका मुलुकहरूले असंलग्न परराष्ट्र नीति अपनाउनु उपयुक्त हुन्छ । बाङ्डुङ सम्मेलन विविधताको बिचमा एकता, पारस्परिक सम्मान, सहयोग, विश्व शान्ति र  विकासका आधार भएको थियो । अहिले बाङ्डुङ सम्मेलनको निरन्तरताको खोजी भइरहेको छ । बाङ्डुङ सम्मेलन सम्पन्न भएको ५५ वर्ष बितिसक्दा पनि हामीले अहिले यसको आवश्यकताबोध गरिरहेका छौँ ।

बाङ्डुङ सम्मेलनको उदघाटन गर्दे गर्दा इन्डोनेसियाका राष्ट्रपति सुकार्नोले नयाँ एसिया र नयाँ अफ्रिकाको जन्म दिऊँ (लेट बर्न न्यू एसिया एण्ड अफ्रिका) शीर्षकको ऐतिहासिक भाषण दिए । सम्मेलनले तपसिल बमोजिमका विषयहरूमा छलफल गरेको थियोः

१. उपनिवेशवाद र जातिवाद विरुद्ध संघर्ष
२. आर्थिक सहयोग र विकास
३. विश्व शान्ति र सुरक्षा

सम्मेलनले १० बुँदे सिद्धान्त स्वीकार गरेको थियो । जसलाई हामी बाङ्डुङ सिद्धान्त भन्दछौं । जुन यस प्रकार छन्ः

१. हरेक राष्ट्रहरूले एक आपसमा सम्मान गर्ने,
२. सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने,
३. जाति, लिङ्ग, भाषा र धर्मको आधारमा भेदभाव नगर्ने,
४. अर्को देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने,
५. आत्मरक्षाको अधिकारको सम्मान गर्ने,
६. सामूहिक सुरक्षा व्यवस्थामा सहभागी नहुने,
७. आक्रमण र बल प्रयोगबाट अलग रहने तथा अन्तरराष्ट्रिय विवादहरू शान्तिपूर्ण तवरले हल गर्ने,
९. पारस्परिक हित र सहयोगको अभिबृद्धि गर्ने,
१०. न्याय र अन्तर्राष्ट्रिय कर्तव्यको सम्मान गर्ने,

बाङ्डुङ सम्मेलनले गुट निरपेक्ष आन्दोलनको जग खडा गरेको थियो । यो सम्मेलनले एउटा आन्दोलनको रूप लिएको थियो । बाङ्डुङ सम्मेलन उपनिवेशवाद र जातविाद विरुद्धको संघर्षको बाहक बनेको थियो । जसले तेस्रो विश्वको अवधारणाको विकास गरी अल्पविकशित र विकासशील देशका आकांक्षा र समस्याहरू विश्व मञ्च समक्ष उजागर गरेको थियो । सम्मेलनले दक्षिण-दक्षिणको अवधारणालाई बलियो बनायो । साथै उपनिवेशवाद विरुद्धको आन्दोलनलाई गति प्रदान गरेको थियो ।

बाङ्डुङ सम्मेलनले उत्पन्न गरेको चेतनाले साम्राज्यवाद र उपनिवेशवाद विरोधी तेस्रो विश्वका राष्ट्रहरूको संगठनात्मक संभावनाको जग हालेको थियो । ग्लोबल साउथले त्यसलाई एउटा विचारधारात्मक आयाम दियो । अहिले ब्रिक्सको अवधारणा अगाडि आएको छ । ब्रिक्सले आफूलाई गन्तव्यमा पुर्‍याएमा संरचनात्मक र रणनीतिक स्वरूप प्रदान गर्ने छ । यसरी विश्लेषण गर्दा ग्लोबल साउथ र ब्रिक्सको जग बाङ्डुङ सम्मेलन हो भन्नुपर्ने हुन्छ । बाङ्डुङ सम्मेलनले परिकल्पना गरेको विकल्पलाई ब्रिक्स र ग्लोबल साउथले अंगिकार गरेको छ । यसले आजको विश्व परिस्थितिमा पश्चिमी साम्राज्यवाद केन्द्रित व्यवस्थाको विकल्प बन्नसक्ने संभावनालाई पनि नकार्न सकिन्न ।

विश्वमा अहिले शक्ति राष्ट्रहरू आफ्नो सामरिक सामर्थ्य बढाउनका लागि शैन्य शिविरहरू खडा गरिरहेका छन् । आर्थिक रूपले सबल राष्ट्रहरूले सुरक्षा क्षेत्रको बजेट बढाइरहेका छन् । त्यसले गर्दा जनजीविकाको सवालहरू समेत ओझेलमा परेका छन् । साम्राज्यवादी शक्तिहरूले तेस्रो विश्वका अर्थात् ग्लोबल साउथका देशहरूका प्राकृतिक स्रोत–साधनहरू र जनशक्तिलाई आफ्नो कब्जामा लिइरहेका छन् र सधैँ लिन चाहन्छन् । आजको विश्व परिस्थितिमा हामी सबैले बाङ्डुङ सम्मेलन जस्ता ऐतिहासिक प्रयासहरूलाई द्वन्द्वात्मक ढंगले बुझ्नु र विश्लेषण गर्नु पर्दछ । विश्व शान्तिका पक्षमा हाम्रा आवाजहरूलाई बुलन्द गर्नु पर्दछ । बाङ्डुङ सम्मेलनको मर्म र भावना अनुरूप मिलेर अघिबढ्नु आजको आवश्यकता हो ।

(लेखक नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य र राष्ट्रिय सभाका पूर्व सदस्य हुनुहुन्छ ।)