कोरोनाको महामारी एकातिर छँदैछ, अर्कोतिर आज हाम्रो देश भयङ्कर राजनीतिक संकटमा फसेको छ । ओली सरकारका गतिविधि हेर्दा यी “बोकाको मुखमा कुभिण्डो” साबित भएको देखिन्छ । जनतालाई पनि विभाजित मानसिकतामा पुर्याइयो, तल्लोस्तरको गालीगलौज गर्दै एकअर्कामा हिलो छ्यापाछ्यापको स्थिति छ, यसको प्रमुख माध्यम सामाजिक सञ्जाल भएको छ ।
आफू कार्यकारी प्रधानमन्त्री भएको भन्दै पार्टीको निर्देशन मान्न जरूरी देख्दैनन् ओली । सामन्ती स्वाँठहरु संवैधानिक अङ्गका प्रमुख बनाइएका छन् । जनताका तमाम मार्क्सवादी सिद्धान्तका आधारमा गर्नुपर्ने कामहरू फोहोरदानीमा मिल्काइएका छन् । मजदुर, किसान तथा सर्वहारावर्गप्रति अनुदारवादी अनुहारहरू मन्त्रीमण्डलको तथा संवैधानिक अङ्गको हिस्सा धमाधम बनिरहेका छन् । कम्युनिस्टका वास्तविक सिद्धान्त अंगाल्ने नेता कार्यकर्ता लाजले मुखै देखाउन नहुने तप्कामा पुगेका छन् । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको पूर्णतया खिल्ली उडाइएको छ । मूलतः मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा कम्युनिस्टले नेतृत्व गर्नुपर्ने सर्वहारावर्गलाई उपेक्षा गरिएको छ ।
यस विषम परिस्थितिलाई आम कम्युनिस्ट कार्यकर्ताले राम्ररी बुझेनन् र कम्युनिस्टको नामको ट्याग र पछ्याएको नेताको पुच्छर मात्र सर्वोपरी मानेर अघि बढ्ने वा मार्क्सवादी सिद्धान्तलाई सर्वोपरी मानेर अघि बढ्ने हो ? यो ध्रुवीकरण हुनु जरूरी छ र एकपटक सबै कार्यकर्ताले घोत्लिएर सोच्नैपर्छ । जनताको उकासिएको जीवनस्तरसहितको विकास चाहिन्छ कि गरिब जनतालाई बेवास्ता गरिएको विकास चाहिन्छ ?
हाम्रो अगाडि प्रश्नवाचक चिन्हको रूपमा खडा भएको यस महा-सवाललाई हाम्रै पार्टीको नेता तथा उनकै लहै-लहैमा केही कार्यकर्ताहरूले समेत तमाम पार्टी सदस्यहरूको ध्यान गलत दिशातर्फ मोडिरहेका छन् । यो समस्या कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै भोगिएको समस्या हो र आज २१औँ शताब्दीमा आइपुग्दा पनि समस्याको सतह ज्यूँका त्यूँ छ ।
इतिहासबाट पाठ सिकेर अघि बढे पो हुन्थ्यो ? हिजो पनि कम्युनिस्ट पार्टीमा ठ्याक्कै यस्तै घटना घटेको थियो, डा. माझीको गुट, पुष्पलालको गुट त्यस्तै तुलसीलालको गुट । यो फुटको गुटले कम्युनिस्ट आन्दोलनलाई दशकौँ दशक पछाडि धकेलिदियो, अब फेरि त्यही घटना दोहोरिँदैछ र कम्युनिस्ट आन्दोलन नै विसर्जनको दिशातर्फ उन्मुख हुँदैछ ।
अहिले पनि सोधिँदैछ, तिमी ओलीको गुटमा हो कि प्रचण्ड पट्टि ? माधव नेपालको वा झलनाथ खनालको ? कि वामदेवको ? यी यस्ता गलत र कम्युनिस्ट विरोधी सवाल हुन् भन्ने हेक्का राख्नुपर्यो । नेपाली इतिहासमै सर्वाधिक जनमतसहितको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले विधिको शासन स्थापित गर्ने हो कि व्यक्ति स्वार्थको कित्तामा उभिने हो ? जनताले प्रदान गरेको यस्तो महान अवसर त्यत्तिकै गुमाउने कि ? मार्क्सवादी सिद्धान्त अनुरुप १, २, ३, ४ गर्दै कामहरु गर्दै जाने ? यी र यस्ता सवालहरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले कार्ल मार्क्सको पुस्तक हातमा लिएर भन्नुपर्ने बेला आयो कि “मेरो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मार्क्सवादी सिद्धान्तअनुरुप चल्ने भएकोले म यो पुस्तकमा लेखिएको वैज्ञानिक सिद्धान्तअनुसार चल्न सपथ ग्रहण गर्दछु” भन्ने । अथवा “मलाई मार्क्सवादी सिद्धान्तसँग कुनै मतलब छैन, म त केवल यो वा ऊ नेताको भक्त हुँ वा अनुहार मन पर्छ ।”
देश लोकतान्त्रिक गणतन्त्र भैसक्यो, अब त केवल जनताको हितको सवालमा काम गर्ने हो । यत्रो महान अवसर यो वा त्यो गुटमा लाग्दैमा सक्कियो भने वर्तमानलाई इतिहासमा क्रुर र मानवताविरोधी कम्युनिस्ट भनेर चिन्नेछन् । यसको कालोपोतो नेतृत्व तहले आफ्नो अनुहारमा पोत्न तैयार भएर बसे हुन्छ । यस्ता प्रश्नहरुलाई बिर्सेर जसले पार्टीलाई गुटको रूपमा सम्झन्छन्, त्यसले मार्क्सवाद-लेनिनवाद मर्यो भनेर सम्झनुपर्दछ ।
हाम्रो पार्टी मार्क्सवाद-लेनिनवादको वरिपरि गठित एक क्रान्तिकारी पार्टी हो र कुनै व्यक्ति कसैको मुख हेरेर पार्टीमा आएको होइन । हामी सबै पार्टीमा आयौँ किन ? मजदुर किसान तथा सर्वहारावर्गको हितमा काम गर्न देशलाई उत्तरोत्तर प्रगतिको पथमा लैजानको निम्ति हामी पार्टीमा आएका हौँ । पार्टीको विचार एक सामूहिक विचार हो र पार्टीको काम एक सामूहिक काम हो । पार्टीलाई एक व्यक्तिले बिगारेको छ वा एकै जनाको देनले पार्टी चलेको छ भन्नु पनि गुटबन्दीलाई नै प्रश्रित गर्ने कुरा हो । यो कुरा पनि मार्क्सवाद-लेनिनवाद सिद्धान्त विपरित कुरा हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आज जुन खालको चरित्र देखियो । त्यो पार्टीभित्र लुकेको वर्ग संघर्षको रूप नै हो । फरक यत्ति हो कम्युनिस्ट पार्टी इतिहासमा यसरी सत्तामा गएको थिएन र संसदीय व्यवस्ठामा रहेरै भए पनि सत्तामा गएको कम्युनिस्ट पार्टीको सरकारको चरित्र भने कम्युनिस्ट चरित्रको देखिएन । सत्तामा नपुगेसम्म मार्क्सवाद-लेनिनवाद अलापेर नथाक्ने कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि चटक्कै मार्क्सवाद-लेनिनवाद सिद्धान्त विपरित धारमा दगुर्न थाल्यो र उनका आसेपासेहरू ढाकछोपमा लागिपर्न थाले । यतिखेर उनीहरुसँग साँच्चिकै मार्क्सवाद-लेनिनवादलाई केन्द्रविन्दु बनाएर बहस गर्ने हो भने मुख छोपेर भाग्नुपर्ने अवस्था छ तर बहसको नाममा मार्क्सवाद-लेनिनवादबाट भागेर विकासे बहसमा केन्द्रित भएर सत्ताधारी र उनका आसेपासे ढाकछोपमा लागि परिरहेका छर्लङ्ग देखिन्छन् । पार्टीभित्र लुकेको अवसरवादी तत्त्वहरूले मौकाको फाइदा उठाएर भ्रष्टाचार गर्ने, गुटबन्दीलाई प्रश्रय दिने र एकल नेतालाई गलत दिशातर्फ मोडिरहेका छन् । यस्तो गलत प्रवृत्तिलाई व्यक्तिगत रूपमा लैजानुको सट्टा पार्टीको आफ्नो समस्याको रूपमा हेरेर मार्क्सवाद-लेनिनवादलाई आधार बनाएर समाधान गर्नु अति उपयुक्त हुनेछ ।
हामीले कसैको व्यक्तिगत रिसइवी, डाह वा पक्षपात नगरी मार्क्सवादी-लेनिनवादी सिद्धान्तका आधारमा खुला तथा स्वस्थ मस्तिष्कले देशको समस्या हेर्नुपर्छ र भविष्यमा समाजवादी समाज समाज स्थापना गर्न र अन्तमा साम्यवादी समाज स्थापना गर्ने बाटोबाट विचलित हुनु हुँदैन ।
तसर्थ प्रश्न कसको गुटमा लाग्ने ? कसको पछि लाग्ने ? भन्ने नभई प्रश्न हो मार्क्सवादी-लेनिनवादी सिद्धान्त कम्युनिस्ट पार्टीको सरकारले पालना गरेको छ कि छैन ? पालना नगरेकै कारणले देश संकटमा फसेको छ कि छैन ? प्रत्येक कम्युनिस्टले एकपटक घोत्लिएर सोच्नैपर्छ, र भन्नुपर्छ सरकार तिमीले मार्क्सवाद-लेनिनवादको सिद्धान्तअनुरुप के-के काम गर्यौ ? उत्तर देऊ । होइन भने तिमी सत्तामा बसिरहनुको कुनै औचित्य छैन । तिमीलाई इतिहासले सराप्छ । व्यक्तिगत प्रभाव र व्यक्तिगत बैमनश्यताको आधारलाई त्यागेर मार्क्सवाद-लेनिनवादको सिद्धान्तलाई अंगालेर समस्याको समाधान गर्न सकिन्छ र यो मार्क्सवादी-लेनिनवादी तरिका पनि हो ।
जिउँदो पार्टीभित्र सैद्धान्तिक मत-मतान्तर आउनु स्वाभाविक हो । तर त्यसको समाधान मन परेको अनुहार हुन सक्दैन । पार्टीभित्र हुर्कन सक्ने कम्युनिस्ट विरोधी अनुदारवादी अनुहारहरू चिन्दै बहसमा ल्याउनुपर्छ । त्यसको न्यूनतम आधार भनेको मार्क्सवाद-लेनिनवाद सिद्धान्त हुनुपर्छ । आफ्नै पार्टीभित्रका मित्ररूपका कार्यकर्ताले मस्तिष्कमा ताल्चा लगाउन सक्ने सम्भावनालाई नकार्न, मार्क्सवादी सिद्धान्तका आधारलाई सामुन्नेमा राखेर बहस चलाउनुपर्छ । किन मार्क्सवाद-लेनिनवाद सिद्धान्त अनुरुप काम गर्यो ? वा गरेन ?
कम्युनिस्टको सरकार केन्द्रमा गएर पनि मजदुर, किसान तथा सर्वहारावर्गका लागि कुनै काम गरेको मैले ठोस रूपमै पाइन । जनताले जमिन पाउन, ऋणबाट मुक्त हुन र सामन्ती थिचोमिचोबाट मुक्त हुन त परै जाओस, उल्टो राज्यको संवैधानिक निकायहरूमा दलाल तथा भ्रष्टाचारमा लिप्त व्यक्तिहरूलाई नियुक्ति दिन थालिएको छ । सामन्तहरूको अगाडि आत्मसमर्पण नगर्नेहरू उपर धरपकड गर्ने झुठो मुद्धा लगाएर थुन्ने आदि काम हुन थालेको छ, सञ्चारमा आफू अनुकूल नियन्त्रण गर्न अनुदारवादी कानूनहरू ल्याइएका छन् ।
आफूलाई “भारतविरोधी हुँ र राष्ट्रवादी हुँ” भन्ने कुरा बजारमा देखाइरहँदा “मार्क्सवाद-लेनिनवाद सिद्धान्तको पनि पक्षपोषक हुँ” भनी प्रमाणित गर्नुपर्छ या पर्दैन ? कि विरोधी हुनुपर्ने हो भने कम्युनिस्ट पार्टीको नाममै किन ? तपाँईभन्दा राष्ट्रवादी त मरिचमानसिंह श्रेष्ठ थिए । कम्तिमा उनले कम्युनिस्ट पार्टीको नाम त बेचेनन् । कम्तिमा तपाईं कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्नुहुन्न भने पार्टीको नेतृत्व छोड्नुहोस् र प्रधानमन्त्री पदमा बसिरहनुहोस् र घोषणा गर्नुहोस् कि आजदेखि म कम्युनिस्ट रहिन् । कि भन्नुहोस्, म कम्युनिस्ट पार्टीको अध्यक्ष पनि हुँ र प्रधानमन्त्री पनि हुँ, मैले नेतृत्व गर्ने वर्ग मजदुर किसान तथा सर्वहारावर्ग हुन् । अहिलेसम्म जे भयो भयो, अब उप्रान्त मार्क्सवाद-लेनिनवादको सिद्धान्तअनुरुप पार्टीको निर्देशन अनुसार चल्नेछु । पार्टीसँग सम्बन्ध विच्छेद गरेर कम्युनिस्ट पार्टीको नेतृत्व कसरी अघि बढ्न सक्छ र ? के आम कार्यकर्ताहरू मार्क्सवाद-लेनिनवादको आचरण जान्दैनन् ? जान्दछन् भने के ओली, के प्रचण्ड, न माधवकुमार, न झलनाथ; मार्क्सवादी-लेनिनवादी सिद्धान्तको आधारमा राखेर बहसमा जुटौँ न ।
तत्कालीन राजा महेन्द्रले धरानमा भर्ती केन्द्र खोलेर जनताको रगत बेच्ने कार्य गरेको कम्युनिस्ट सरकार आएर पनि बन्द हुँदैन । पशुपतिमा रहेका भारतीय पुजारी हटाउन खोज्दा अवरोध श्रृजना गर्ने वा गर्न नदिने कार्य । यी कार्य भारत विरोधी हुन् र ? खाली आम जनताको भावनामा खेलेकै भरमा सत्तामा टिकिरहने दाउ लिएर कम्युनिस्ट विरोधी नीति लिएर अगाडि बढिरहेको वर्तमान कम्युनिस्ट सरकारले आत्मालोचना गर्नुपर्छ । मजदुर, किसान तथा सर्वहारावर्गको पक्षमा काम हुनुपर्छ । मार्क्सवादी सिद्धान्तअनुरुप समाजवादी कामहरू हुनुपर्छ । अनि तपाईंको राजीनामा कसले माग्दो रहेछ हेरौँ त ? म व्यक्तिगत रूपमा मार्क्सवादी सिद्धान्त बोकेर तपाईंको ढाल बनेर उभिइरहेको हुनेछु ।
आज कम्युनिस्टका महागुरु कार्ल मार्क्सको नाम बेचेर ब्याख्या गर्दै हिँड्ने महान पण्डितहरू हो, के यही पाराले समाजवादमा पुगिन्छ ? पुग्ने बाटो यही हो भने ? यस द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा तपाईंको कित्ता कता ? तपाईं कुन वर्गलाई समर्थन गर्नुहुन्छ ? यदि तपाईंको वर्ग सामन्ती हो भने भन्नुहोस्, कित्ता छर्लङ्ग पार्नुहोस् । होइन भने मार्क्सवाद-लेनिनवादको सिद्धान्त विपरित चल्ने कित्ता त्यागेर सच्चा मार्क्सवाद-लेनिनवाद सिद्धान्त अँगालेर गोलबन्द होऔँ । कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाउँदै अघि बढौँ । अब सर्वहारावर्गको क्रान्तिको बिगुल फुक्न ढिलो भइसक्यो ।
(लेखक वामपन्थी युवा नेता हुनुहुन्छ ।)