17th g20 summit India, १७ औँ जी २० शिखर सम्मेलन
 

जी २० को सत्रौँ समिट (शिखर सम्मेलन) इन्डोनेसियाको बालीमा नोभेम्बर १५-१६, २०२२ मा भएको थियो । त्यसपछि जी २० को अध्यक्षता गर्ने पालो भारतले पायो र आज सेप्टेम्बर ९-१० भारतको राजधानी दिल्लीमा पहिलो पटक जी २० को अठारौँ समिट सुरु हुँदैछ । आजबाट सुरु हुने जी २० समिटको नारा एक पृथ्वी (वन अर्थ), एक परिवार (वन फेमिली), एक भविष्य (वन फ्युचर) रहेको छ ।

यो समिटमा विश्वभरिका २५,००० प्रतिनिधि र पर्यवेक्षकहरू सहभागी हुँदैछन् । प्रतिनिधिहरूका मनोरञ्जन लागि ३०० कार्यक्रममा १८,००० कलाकारहरू खटिएका छन् । दिल्लीका स्कुल, कलेज, कार्यालय, बैंक, सार्वजनिक यातायात र दिल्ली पुग्ने धेरै रेलहरू पनि सेप्टेम्बर ८-१० तीन दिन विदामा छन् । हिजोबाट दिल्लीमा लकडाउनको स्थिति छ । परम्परागत संस्कृति र सार्वजनिक पूजापाठमा पनि पाँच दिन रोक लगाइएको छ । जी २० समिटका लागि राजधानी दिल्लीलाई सजावट गर्न भारतले १२० मिलियन अमेरिकी डलर भन्दा बढी खर्च गरेको छ । दिल्लीका ३ लाख जति सुकुमबासीहरूलाई विस्थापित गरिएको छ ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

भारतले नोभेम्बर २०२२ मा जी २० को अध्यक्षता लिएपछि भारतका दुई दर्जनभन्दा बढी सबै राज्य र केन्द्रशासित ६० सहरहरूमा २०० जी २० सम्बन्धी मिटिङहरू गरेको छ । अहिले भारतमा मोदीका गोदी मिडियाले जति प्रचार गरे पनि जी २० मा भारतको स्थान पुछारमा रहेको देखिन्छ । जी २० का १९ देशहरूमा भारतको प्रतिव्यक्ति कुल गार्हस्थ्य आम्दानी वार्षिक २,४०६ अमेरिकी डलर मात्र छ, परचेजिङ पावर प्यारिटीमा प्रतिव्यक्ति भारतीयको आम्दानी ७,०९६ अमेरिकी डलर र मानव विकास सूचकांकमा पनि भारत ०.६३३ अंकका साथ पुछारमै रहेको देखिन्छ । हल्ला नै गर्न त भारतलाई विश्वको पाँचौ अर्थतन्त्रको देश, चौथो सैनिक शक्तिको देश र पाँचौँ सुरक्षामा खर्च गर्ने देश, आणविक हतियारको देश, चन्द्रमामा यान पठाउने देश भन्न सकिन्छ तर भारतका ९८ अर्बपतिहरूले तल्ला ४० प्रतिशत मानिसहरू बराबर सम्पत्ति कुम्ल्याएका कुरा चाहिँ मिडियामा आउँदैनन् ।

जी २० (ग्रेट २०) को स्थापना १९९९ मा भएको थियो । यसमा १९ देश र युरोपियन युनियन गरी २० सदस्यहरू रहेका छन् । जी २० का देशहरूमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्किए, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका रहेका छन् ।

विश्वको कुल गार्हस्थ्य उत्पादनमा जी २० को ८५ प्रतिशत हिस्सेदारी रहेको छ, अन्तर्राष्ट्रिय व्यापारमा ७५ प्रतिशत सहभागिता छ र विश्व जनसंख्याको दुई तिहाइ यसमा समावेश छन् । जी २० को स्थायी सचिवालय हुँदैन । यसमा तीन देश कार्यकारी सदस्य हुन्छन्, जसलाई ट्रोइका पद्धति अनुसार व्यवस्थापन गरिन्छ । योभन्दा पहिलो जी२० समिट गरेको देश, वर्तमान समिट गरिरहेको देश र आउने समिट गर्ने देशले आवश्यक निणर्य गर्छन्, एउटा देशको एकाधिकार रहँदैन । पहिलो पटक तीन विकासशील देशहरूले यो जिम्मेवारी पाएका छन् । ट्रोइकामा पहिला समिट गर्ने इन्डोनेसिया, वर्तमानमा भारत र भविष्यमा समिट गर्ने ब्राजिल रहेका छन् ।

जी २० का उद्देश्यहरू नयाँ अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सिर्जना, विश्व आर्थिक स्थायित्व र दिगो विकासका लागि नीति निर्माण, न्यून जोखिम र भविष्यमा आउने वित्तीय संकटका लागि वित्तीय नियमनमा वृद्धि, अन्तर्राष्ट्रिय वित्तीय-मौद्रिक संस्थाहरूलाई निर्देशन र वित्तीय सुशासन आदि रहेका छन् । पहिला त जी२० ले विश्व वित्तीय स्थायित्वलाई मुख्य प्राथमिकता दिएको थियो भने अहिले व्यापार, लगानी, वित्तीय समावेशिता, ऊर्जा, जलवायु परिवर्तन, महिला सशक्तिकरण, स्वास्थ्य, कृषि, विकास नीति, डिजिटाइजेसन, रोजगार नीत र आतंकवाद पनि एजेण्डामा थपिएका छन् । जी२० आर्थिक र राजनीतिक मञ्च हो ।

अब इण्डिया भारत भएको छ र भारतकी राष्ट्रपतिको निम्तो आज साँझको डिनरका लागि जी २० का वरिष्ठ अथितिहरूलाई बाँडिएको छ । जी२० समिटका दुई दिन भारतका लागि त्यति सहज छैन । हिजो अपरान्ह दिल्ली ओर्लनासाथ रुसका विदेश मन्त्री सर्गेइ ल्याभरोभले जी २० समिटमा युक्रेनको एजेण्डा आयो भने अन्तिम घोषणा रोकिदिने धम्की दिएका छन् । यद्यपि भारत नेपाल जस्तो युक्रेन मामिलामा लम्पसार परेको छैन । उसले अहिलेसम्म तटस्थताको नीति नै अपनाएको छ । चीनका राष्ट्रपति सी चिनफिङको अनुपस्थितिले समिट ओइलाएको जस्तो भएको छ । भारतलाई जी २० समिटमा एउटा एजेण्डाले तिरिमिरि झ्याँइ पार्नेवाला छ, त्यो हो समलिङी विवाह बारे । विश्वमा नेदरल्याण्डले सन् २००१ मा समलिङी विवाहलाई मान्यता दिएपछि जी २० का राष्ट्रहरू पनि त्यो एजेण्डामा लहसिएका छन् । जी २० का १० देशहरूले समलिङी विवाहको मान्यता पाइसकेका छन्, जसमा अर्जेटिना २०१०, अष्ट्रेलिया २०१७, ब्राजिल २०१३, क्यानाडा २००३-०५, फ्रान्स २०१३, जर्मनी २०१७, मेक्सिको २०२२, दक्षिण अफ्रिका २००६, संयुक्त अधिराज्य २०१३-१४ र संयुक्त राज्य अमेरिका २०१५ रहेका छन् । भारतमा यसबारे विवाद चलिरहेको छ ।

भारतलाई जी २० को अध्यक्षता भालुको कनपट भएको छ । अमेरिका-चीन भूराजनीतिक द्वन्द्व, रुस-युक्रेन युद्ध र भारतभरि जी २० विरुद्ध प्रदर्शनले भारत झस्किएको छ । भारतका प्रायः सबै ठुला सहरहरूमा जी २० का विरुद्ध प्रदर्शन भइरहेका छन्, जसमध्ये हिजोको पञ्जाब अमृतसरका किसानहरूको प्रदर्शन अभूतपूर्व रह्यो । भारत जो वाइडेनको चाकरीमा लिप्त छ र जी २० समिटमा अमेरिकाको आड खोजिरहेको छ । भारतमा हुनलागेको जी २०को समिटका एजेण्डाभन्दा पनि भारत-अमेरिका एजेण्डाको मिडियाहरूले प्रचार गरिरहेका छन् । भारतले जी २० सदस्य नरहेका आफ्ना केही रणनीतिक महत्त्वका देशहरूलाई जी २० समिटमा निम्ता गरेको छ, जसमा बांगलादेश, इजिप्ट, नाइजेरिया, नेदरल्याण्ड, मरिसस, ओमन, सिङ्गापुर, स्पेन, युनाटेड अरब इमिरेट्स आदि छन् तर छिमेकी नेपाल ‘कौन पूछे खेसारी दाल’ ।

(लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)