हामी गाईबान्नाको ढिकमा उभिएका छौँ । गुराँस मन खोलेर फुलिरहेको छ । कुनै समयको गुल्जार गाईबान्नाको बजार आज खण्डहर बनेको छ । वि. सं. २०२९ सालमा चर्चित भुगोलविद् डा. हर्क गुरुङ दैलेखबाट सुर्खेत जाने क्रममा बास बसेको घर आज यहाँ छैन । समयको कालखण्डमा उहाँजस्तै लाखौँ यात्रीहरुले रात बिताए होलान् गाईबान्नामा । तर आज यहाँ न मानिस बस्ने घर नै छ, न त सुस्ताउने चौतारी । मोटरबाटो बन्यो, गाडी गुड्न थाल्यो, गाईबान्नामा रोकिने कोही भएन । बजारले गुराँसेमा बसाइ सर्यो ।
सुनसान गाईबान्नाको ढिकमा उभिएकै बेला एक जना कमरेडको फोन आयो – देवकोटा चोकमा आउनुहोस् । छुट्टिने बेला एक चिम्टी अबिर घसौँला । उहाँले सर्वोच्च अदालतले भर्खरै गरेको एक आदेशतर्फ संकेत गर्नुभएको थियो । फागुन २३ गतेको उक्त आदेशमा “… नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग रुपमा साविककै अवस्थामा कायम रहने हुँदा …..” भनिएको छ ।
वि. सं. २०७५ सालको मंसिरमा ऋषि कट्टेलको नामबाट पार्टीको नामसम्बन्धी मुद्दा परे पनि हालसम्म पेशी दस पटक स्थगित भएको रहेछ । पार्टी एकता भएको झन्डै तीन वर्षपछि फुटको फैसला गर्नुपर्ने भएछ । पार्टी फुटको पक्षमा रहेको समूहले आदेश आउनेबित्तिकै खुसी मनायो । अदालतमार्फत पारिवारिक सम्बन्ध विच्छेदको फैसला त सुनिएकै थियो, तर पार्टीको सम्बन्ध विच्छेद पहिलोपटक सुनेर छक्क परेको मनले यो फुटमा अबिर दल्न मानेन ।
हामी गाईबान्नाबाट घोडाबासतर्फ बढ्यौँ । वसन्त आएर होला जताततै फूल फुलिरहेको छ । दुई ठुला कम्युनिस्ट पार्टीको एकताले धेरै गाउँबस्ती र सहरहरुमा खुसीको फूल फुलेको थियो । सोचेका थिए – देशमा अब स्थिरता छाउनेछ । कम्युनिस्ट पार्टी जनताको आँगनमा आउनेछ र सुख दुःख बाँड्नेछ। ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा चरितार्थ हुनेछ । काम गर्ने संरचना बनेको थियो । जाँगर बढेको थियो । मात्र सोचमा खिया लाग्नबाट जोगाउनु थियो । तर सत्ता सञ्चालनमा रहेको कम्युनिस्ट पार्टीले आन्तरिक अन्तरविरोध हल गर्न सकेन । आफै फुटेको घोषणा गर्ने आँट पनि गर्न सकेन । अदालतको सहारा लिएर फुट्यो । यो फुटले स्थिर सरकारको अवधारणामाथि धावा बोलेको छ ।
तालपोखरीमा केहीबेर रोकियौँ । चिया पसलमा कसैले सोध्नुभयो – अदालतले त पुरानै पार्टीहरुलाई बिउँझाइदियो रे, हो? गाउँ टोलमा स्थानीय नेताहरुले पार्टी फुट्दा या जुट्दा त्यसको मतमा पर्ने असरको विश्लेषण गर्छन् । अर्को एक जनाले भन्नुभयो – अदालत त बहाना मात्र हो । यिनीहरु आफै फुट्न आत्तिएका थिए । नेपालका कम्युनिस्ट मिलेर बस्लान् भनेर कसैले नसोचे हुन्छ ।
तर्क र प्रतिक्रिया आ-आफ्नै छन् तर मानिसले मुख बन्द गरेको छैन । धेरैको अपेक्षा छ – अझै पनि पार्टी एकता कायम गर्नुपर्छ । वि. सं. २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीले देशकै ठूलो पार्टी बन्न सत्तरी वर्ष कुर्नुपरेको थियो । निर्वाचन आयोगले तोकेको मितिभित्र एकताको निमित्त साविकका दुई पार्टी गएनन् भने फेरि एकताबद्ध हुन शायद लामो समय कुर्नुपर्नेछ ।
सातसल्लीको पुछारमा डुङ्गेश्वरको बजार छ । त्यहाँ पनि चर्चा अदालतको त्यही आदेशकै छ । खाना खाने क्रममा होटेलकी दिदीले भन्नुभयो – “छुट्टिने फैसला त मलाई कति पनि मन परेन । भर्खर भर्खर हुन थालेको घरजम भताभुङ्ग पार्ने त्यो निष्ठुरी फैसलालाई भेटेको भए म लोहोरेमा बगाइदिन्थे।” अर्को एक जनाले थप्नुभयो – “फैसला गर्ने न्यायाधीश बालुवाटार जग्गा काण्डवाला हो रे त । मैले त यो फैसला पनि बालुवाटारमा तयार भएको हो भन्ने सुनेको थिएँ ।”
कोही पनि चुप छैन । बोल्नका लागि मानिसले औपचारिक सभा समारोह पर्खिंदैन। चोकमा, बारीमा, पसलमा, होटलमा जहाँ पनि मानिस बोलेको छ ।
पार्टीको नाम पनि हुबहु त कहाँ थियो र । ऋषि कट्टेल संयोजक भएको पार्टी “नेपाल कम्युनिस्ट पार्टी” हो भने एकता भई दर्ता भएको पार्टीको नाम सो पार्टीको अन्तरिम विधानको धारा २ अनुसार “नेपाल कम्युनिस्ट पार्टी (नेकपा)” हो । आदेशमा भनिएको छ – ” ….. मूल नाम नेपाल कम्युनिस्ट पार्टी र कोष्ठभित्र रहने नाम छुट्टै अलग्गै पार्टी हो भन्ने प्रष्ट खुल्ने हुनुपर्दछ। …”
राजनीतिक दलसम्बन्धी ऎन २०७३ को दफा ६(१) (ङ )मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दल दर्ता हुन नसक्ने भनेको छ । यदि नाम मिलेको भए त यो दफा अनुसार निर्वाचन आयोगले दल नै दर्ता गर्ने थिएन । उक्त पार्टीले सरकारमा सहभागी भएर थुप्रै संवैधानिक निर्णयहरु गरेको छ । पार्टीभित्र आन्तरिक विवाद तीव्र भएको र विभाजित समूहहरुले निर्वाचन आयोगसँग आधिकारिकताको माग गरिरहेको अवस्थामा यस्तो आदेश हुनुलाई अर्थपूर्ण मानिएको छ । सर्वोच्च अदालतले के त्रुटि गर्दैन त? के त्यो सत्ताको कार्यकारी अङ्गको प्रभावमा पर्दैन त? भुईँ तहमा प्रश्नहरु उब्जिएका छन् । बहसहरु भएका छन् ।
डुङ्गेश्वरमा खाना खाएर हामी चुप्रातर्फ बढ्यौँ । चुप्रा बजारको किनारमा दुई वटा खोला मिसिएका छन् । भूगोलविद् डा. हर्क गुरुङले “मैले देखेको नेपाल” मा चुप्राबारे लेख्नुभएको छ – “यहाँ गाड र खोला मिसिन्छन् । यस्तो दुई भिन्न संस्कृतिको सङ्गम भएको स्थल नेपालमा अन्यत्र कतै मैले भेटेको छैन ।” पूर्वी भागबाट आउने लोहोरे खोला र पश्चिमबाट आउने छाम गाडको चुप्रामा भेट हुन्छ । अर्थात् खोला र गाडको यहाँ मिलन हुन्छ । दुई वटाको मिलनबाट बनेको नदीलाई भने लोहोरे भनिन्छ । कति आनन्द छ, जति सुसाए पनि यी नदीहरुको एकता र विवादको विषयमा कुनै अदालतले फैसला गर्नुपर्दैन ।
चुप्रा बजारमा श्याम कमरेडले सोध्नुभयो – पार्टी एकता नजोगिने नै भयो त? पार्टी एकताको निर्णय एकाध नेताहरुले गर्नुभएको थियो । उहाँहरुको बिचमा फुट आए पार्टी नै फुट्ने खालको बिडम्बनापूर्ण रित बसेको छ । पार्टी एकतामा ताली बजाउनेले पार्टी फुट्दा पनि ताली नै बजाएको छ । कमिटी प्रणाली निरीह बनेको अवस्थामा एकता र फुटको समय अनुमान गर्न नै सकिँदैन । जस्तै कठिन परिस्थितिमा पनि जीवनप्रतिको आशा गुमाउनु हुँदैन । असहमतिहरु त सीमित हुन्छ्न् । तर यो आशा भन्ने कुरा असीमित हुन्छ । एकताको आशै मारिहाल्नु पर्ने छैन ।
पूर्ण कमरेडले चिन्ता प्रकट गर्नुभयो – राजनीतिमा षड्यन्त्र हाबी भयो भने इमान्दार नेतृत्वलाई जोगाउन कठिन हुन्छ । प्रचण्ड कमरेडका विरुद्ध ठूलो आक्रमण केन्द्रित भएको देख्छु म त । परिस्थितिको ठिक ठिक आँकलन गर्न सक्ने क्षमता छ उहासँग । केही त सोच्नुभएकै होला । अब अन्य वाम घटकहरुसँग एकता नभए पनि मोर्चाको पहल गर्नुपर्यो । बाबुरामसँग पनि कुरा बढाउनु पर्यो ।
माओत्सेतुङले कति सही कुरा गर्नुभएको छ – “राजनीतिक विचारधारा सही वा गलत हुनुले सबै चिजको निर्धारण गर्छ।” पार्टी सानो किन नहोस्, त्यसको लाइन सही छ भने त्यो जनतामा स्थापित हुन्छ, ठुलो हुन्छ । लाइन नै बेठिक भयो भने ठुलो पनि सानो मात्र हुँदैन, समाप्त पनि हुन्छ । एकता आदर्श हो भने फुट तितो यथार्थ । यी दुई बिच धेरै ठुलो दुरी हुँदैन ।
केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा साविक पार्टीका बोर्डहरु धमाधम राखिँदैछ। केही ठाउँमा झडपहरु भएका छन् । विशेषतः एमालेको ओली समूहले सर्वोच्चको पछिल्लो आदेशबाट आफू विजयी भएको महसुस गरेको छ । स्थानीय तहहरुमा भएका कार्यलय स्थापना गर्ने कार्यक्रमहरुमा नेपाल समूहको सक्रिय उपस्थिति देखिँदैन ।
प्रतिक्रियाजन्य घटनाहरुबाट आत्तिनु र मात्तिनु हुँदैन । नाम र चुनाव चिन्ह पार्टीलाई विशेषतः चुनावमा चाहिने प्राविधिक कुरा हुन् । मूल कुरा सही विचार हो, सही सिद्धान्त हो । अनि सोही अनुरुपको कार्यनीति हो ।
लेनिन भन्नुहुन्छ – “आजसम्म जति पनि क्रान्तिकारी पार्टीहरु खतम भएका छन्, ती खतम हुनाको कारण के हो भने तिनीहरु घमण्डी भए, तिनीहरुले आफ्नो शक्ति रहेको ठाउँ देख्न सकेनन् र तिनीहरु आफ्ना कमजोरी बताउन डराए । तर हामी नष्ट हुने छैनौँ, किनभने हामी आफ्ना कमजोरीहरु बताउन डराउँदैनौँ र तिनीहरुलाई हटाउन सक्नेछौँ ।” (लेनिन, चुनिएका रचनाहरु, रुसी संस्करण, भाग २७, पृष्ठ २६०-६१)
(लेखक नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय सचिव हुनुहुन्छ ।)