केपी ओली, प्रचण्ड, KP Sharma Oli, Pushpa Kamal Dahal 'Prachanda'
 

केपी ओली ३० असारमै सत्ताबाट झरेका हुन् । त्यसपछि उनको बासस्थान पनि परिवर्तन भयो – बालुवाटारबाट बालकोट । शेरबहादुर देउवा पनि प्रधानमन्त्री भएदेखि आजसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । अरु जेसुकै अवस्था कारण बने पनि प्रधामन्त्री भएकाले सरकार चलाउने आधार बनाउने हतार देउवालाई नै हुनुपर्ने हो । यस्तै अवस्थामा सरकार चलाउने हो भने मन्त्री नभए पनि देशको शासन सत्ता चल्ने रहेछ भन्ने कुरा पुष्टि हुँदैन र ?

माधव नेपाल अलग्गिएपछि ओली एकदमै छिचरो बनेका छन् । सुरुमा दुईवटा पिलो भनेका थिए । पछि पिलो पनि धेरै ठाउँमा अएछ । पिलो निचोरिएपछि पनि खिल बाँकी रह्यो । उनकै भाषामा भन्ने हो भने बाँकी रहेका १० वटा खिलले उनलाई कुनै पनि बेला अप्ठ्यारो पार्न सक्छन् । यति मात्र होइन, पार्टी पंक्तिमा देखिएको उद्दण्डता र छुद्र आरोप पत्यारोपको प्रतिस्पर्धाले ओली गुट सारै गहिरो खाडलमा डुबेको अवस्थामा छ । विचार नमिलेपछि पार्टीबाट अलग हुनु स्वाभाविक हो । यस्तो सबैजसो पार्टीमा भइरहेको पनि छ । यद्यपि ओली पार्टीमा विग्रह ल्याउने र कम्युनिस्ट आन्दोलनलाई समाप्त पारेर पश्चिमाको तलुवा चाट्न पुगेको कथित नेताले भने पार्टी फुटेपछि आफ्नो अपराधिक कर्तुक ढाकछोप गर्नका लागि आरोप प्रत्यारोपको आरण्यरोदन गरिरहेको अवस्था टिठलाग्दो बनिरहेको छ ।

पार्टीगत राजनीतिमा टुटफुट सामान्य अनुभव भएकै कुरा हो । यद्यपि यसको कटुताले सम्बन्धित पार्टीगत राजनीति, सामाजिक अवस्था र देशको आर्थिक विकास कार्यक्रममा ठुलो चोट पुर्‍याएको हुन्छ । यसरी राजनीति कठोर परिवेशबाट गुज्रिरहँदा देशको आर्थिक सामाजिक अवस्था अझ जटिल र विकराल बन्दै गएको छ । यो विकारालता निम्त्याउनेमा अहिले प्रमुख भूमिका ओलीको रहेको पाइन्छ किनभने राजनीतिक प्रणाली अग्रगमनतर्फ रहेको अवस्थामा त्यसलाई भताभुंङ्ग पारेर कम्युनिस्ट एकतामा कडा प्रहार गर्ने मात्र नभई आफ्नै पार्टीलाई समेत ध्वस्त बनाउने काम ओलीले नै गरेका हुन् ।

कठोर जनयुद्धको नेतृत्व गरिरहेका प्रचण्डले समेत पार्टी फुटको पीडा सहन गर्नु परेकै हो । यद्यपि उनले पार्टी फोडेर जाने अथवा पर्टाीबाट अलग हुनेहरूलाई कहिल्यै गाली गरेको सुनिएको थिएन । गालीभन्दा पनि उनीहरूलाई सम्मानपूर्वक पार्टीमै बसेर सहकार्य गर्ने वातावरण बनाउन प्रचण्ड लागी परेका थिए । वास्तवमा यो नै प्रचण्डको महानता हो । अहिले त ओलीले माधव नेपाललाई सत्तोश्राप गर्ने तुच्छस्तरको गाली गर्ने जस्ता नचाहिँदो छुद्रता ओकलि रहेको पाउँदा अचम्म लाग्नु स्वाभाविक हुन्छ । यस्तै व्यवहारले कम्युनिस्टको एकतामा खलल आयो । देशको विकास कार्यक्रमलाई सहज बनाएर अगाडि बढाउन सकिएन । जनतामा एकआपसको द्वन्द्वको सुरुआत भयो । यसै कमजोरीलाई लिएर विदेशी शक्तिहरूले खेल्ने मौका पाए । छँदाखाँदाको कालापानी लिपुलेकसहितको नक्सा विवाद समाधान गरेर आफ्नो जमिन फिर्ता लिन समेत सकिएन ।

ओलीलाई प्रचण्ड, माधव नेपालको होइन सामन्त गोयलको साथ प्यारो भयो, जयमुकुन्द नरवानेलाई मानार्थ महारथीको दर्जा दिनु जत्तिको राष्ट्रवाद उनमा अर्को कुनै बन्न सकेन । उनीहरूकै आडमा संसदमाथि आक्रमण गरे । यसको विरोध गर्ने जति सबै उनका लागि राष्ट्र विरोधीमा दर्ज हुने नै भए । यसरी उद्दण्डता देखाएपछिको परिणाम उनले आफू बालकोट पुगेपछि पनि बुझ्न सकेको पाइएन । यसैले अहिले पनि पनि सत्ताको धङधङ्गीले मातिएर गाली गलौजका शब्दहरू वान्ता गरिरहेको पाउँदा ओलीको चेत खुलेको रहेनछ भन्न गाह्रो परेन ।

जे होस्, अहिले संसद चलेको छ तर चल्न नदिने अडान ओलीमा अझै छ । संविधान भने बचेकोमा सबै खुसी छन् । देश बचाउनका लागि नागरिकहरू अहिले तेस्रो जनआन्दोलनमा अग्रसर भइरहेका छन् कि भन्ने भान हुने गरी नयाँ जागरण अभियान बनेर अगाडि आएको छ । यो आन्दोलन अब देशी विदेशी दलाल तथा अहिलेको अमेरिकी साम्राज्यवादको विरुद्धमा उठिरहेको छ । यसले के स्पष्ट पार्छ भने अबका सचेत जनता कुनै चटकी नेताको टुक्कामा विश्वास गर्दैनन्, देश बचाउन आफू सक्षम छन् भन्ने कुरा स्पष्ट हुँदै जानु पनि सुखद कुरा हो ।

सृष्टिको पहिलो आधारभूमि नेपाल संसारलाई सुसंस्कृत मानवीय सभ्यताको नेतृत्व गरिरहेको थियो भने यो देशले आजको विकराल सामाजिक अवस्थाको पनि नेतृत्व गर्नु जरुरी भइसकेको छ । यस अवस्थामा नेपालको राजनीतिक आर्थिक सामाजिक स्तरमा नेतृत्व गर्ने क्षमतामा देखएका प्रचण्डले आफूलाई अझ सशक्त बनाएर अगाडि बढ्नुपर्ने बेला आएको छ ।

माओको एक्लो अवस्था स्मरण गर्दै आफ्नो पनि जटिल समस्याको कुरालाई लिएर चिन्तनशील हुनु स्वाभाविक हो । यद्यपि प्रचण्डलाई यसरी कुण्ठित हुने फुर्सद हुँदैन । विगत साठीको दशकदेखि कम्युनिस्ट उर्जालाई निस्तेज गर्ने गरी भएका हजारौँ प्रतिगामी षडयन्त्रलाई परास्त गर्दै अब एक हजार एक प्रयास भने उर्जावान बनाउन जरुरी छ भन्ने कुरा प्रचण्ड स्वयंले स्वीकारेको कुरा पनि हो । सबै नेपाली जागरुक भइरहेको बेला जनभावना अनुरूप अमेरिकी साम्राज्यवादको घेराबाट माथि उठेर एमसीसीकि उपाध्यक्षलाई सोझै जनचाहना विपरीत राष्ट्रलाई आघात पुर्‍याउने सहयोगको नाममा प्रवेश हुन लागेको अमेरिकी चालबाजीलाई अस्वीकार गर्नु प्रचण्डको महानता हो ।

यसै सन्दर्भमा अहिले प्रधानमन्त्री बनेका देउवा गठबन्धनको भावना विपरीत अमेरिका रिझाउन लाग्ने त होइनन् भन्ने आशङका छ । ओलीले आफू प्रधानमन्त्री भएकै अवस्थामा सबै पढ्न नजान्ने, आफूमात्रै जान्ने भएको कुरा संसदबाटै कुर्लेका हुन् । अहिले माधव नेपाल यस सन्दर्भमा गम्भीर देखिएका र यो सम्झौताले देशको स्वाधीनतामा आँच पुर्‍याउँछ भनिरहेका छन् । डा. बाबुराम भट्टराईले भने एमसीसीले नेपाल बनाउँछ होइन, सिङ्गापुर बनाउँछ भनिरहेका छन् । यो उनको व्यंग्य हो भने ठिकै छ । अन्यथा उनी पनि अमेरिकी हिन्द-प्रशान्त चक्रब्युहमा फसेको अवस्थामा छन् भन्दा फरक पर्दैन ।

यसै बिच देशको आर्थिक सामाजिक रूपान्तरणको सन्दर्भलाई लिएर लेखिएको ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक २७ भाद्र २०७८ मा प्रमुख अतिथिद्वय प्रचण्ड र माधव नेपालबाट संयुक्त रूपमा विमोचन भएको छ । परशुराम तामाङले लेखेको यो पुस्तक समसामयिक परिस्थितिलाई अग्रसर बनाउन उपयोगी मार्गदर्शन गर्ने खालको पाइएको कुरा पुस्तकका टिप्पणीकार माओवादी विदेश विभाग प्रमुख राम कार्की, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति, नेकपा पार्टीकी नेतृ बन्धु चन्दले स्वीकार गरेका छन् । सबैको भनाइ अत्यन्त सकारात्मक रहेको र बन्धु चन्दले भने एमसीसीको विरुद्ध कडा आन्दोलन गर्नु बाध्यता भएको कुरा समेत आफ्नो भनाइमा जोड्न पुगेकी थिइन् । युवा किसान नेता नहेन्द्र खड्काले कार्यक्रम संचालकको रूपमा आकर्षण दिएको कार्यक्रममा पुस्तकका प्रकाशक गणेश चितौरेले स्वागत गरेका थिए । समापन लेखक स्वयं परशुराम तामाङले गरेको यो कार्यक्रम कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लैजानका लागि उर्जा बनेको कुरा सबैले स्वीकार गरेका थिए ।

राजनीति पेशा हो भने पनि हुन्छ । तापनि कस्तो पेशा भन्ने हो भने यो समाज सेवा हो । समाजलाई छोडेर राजनीति हुँदैन । यो सेवाका लागि समर्पण आवश्यक पर्छ । आफै म धनी हुन्छु र मैले मात्रै सबै काम गर्नसक्छु भन्ने घमण्डमा राजनीतिक नेतृत्व कदापि चल्दैन । यसर्थ देशको नेतृत्वको जिम्मा लिएका नेता उदार र जनपक्षीय हुनु जरुरी छ । यो कुरामा प्रचण्डको अग्रसरता सकारात्मक देखिएकोले जनता उनैको भरोसामा केन्द्रित हुन पुगेका पाइन्छन् । जनयुद्धदेखि आजसम्म एकछत्र नेतृत्व गर्ने सफलता पाएका प्रचण्डले ओलीबाट पाएको ज्ञानको उचित प्रयोग गरेर कम्युनिस्ट अन्तर्राष्ट्रिय जागरण ल्याउन र उत्पीडित जनताको मुक्तिको नेतृत्व गर्ने उचाइ लिन सकून् भन्ने सबैको कामना छ । साथै नेपाललाई अब संसारकै नयाँ जागरण ल्याउने गरी उत्पादन राजनीतिक आधाशीला दह्रो बनाएर उत्पीडित जनताको नेतृत्व गर्ने अवसरलाई साकार गर्ने क्षमता प्रचण्डलाई मिलोस् । हार्दिक कामना छ ।

(लेखक अर्थशास्त्री तथा वाम विश्लेषक हुनुहुन्छ ।)