देश यतिबेला अग्रगमन र प्रतिगमनको भीषण टक्करबाट गुज्रिरहेको छ । नवउपनिवेशवाद र नवउदारवादद्वारा निर्दिष्ट दलाल पुँजीवादी उपभोक्तावादी विकृत संस्कृतिबाट जेलिँदै गइरहेको छ । नवउदारवादी चाहनाअनुसार कस्सिँदै गएको साङ्लो तोड्न नसक्दासम्म नेपाल राष्ट्रको स्वतन्त्र स्वनिर्णयको अधिकार र अन्तरनिर्भर स्वभिमानपूर्ण स्वाधीन आर्थिक विकास, उन्नति र प्रगतिमा लाग्दै आएको कालो ग्रहण हट्न संभव देखिँदैन । वैदेशिक हस्तक्षेप तथा नवउदारवादी दलाल पुँजीवादको चङ्गुलबाट मुक्तभएर नेपालीहरूले आफ्नै स्वविवेक र आफ्नै स्वतन्त्र क्षमतामा अन्तरनिर्भर स्वाधीन राष्ट्रिय पुँजीको विकास, स्थिर सुशासन सञ्चालन गर्ने प्रण, प्रतिज्ञा र साहस नगर्दासम्म यो मुलुकको अस्थिरता, अराजकता, अवचलन, भ्रष्टाचारजस्ता विसंगति नियन्त्रण संभव देखिँदैन ।
वैदेशिक प्रतिक्रियावादको आशिर्वादमा स्वेच्छाचारी हुकुमी प्रवृत्ति हाबी रहँदासम्म नेपालमा लोकतन्त्र र राष्ट्रिय स्वाधीनता सुरक्षित रहँदैन । यो आज ब्रिटिश प्रवृत्ति र जंगबहादुर प्रवृत्तिको सिकार भइरहेको छ । राष्ट्रिय स्वाधीनता, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने प्रतिगामी षडयन्त्र बेलगाम घोडाजस्तो हिनहिनाउँदै दौडिरहेको छ । अहंकारी, घमण्डी, स्वार्थी धूर्त शासक केपी ओलीका दर्जनौँ राष्ट्रघाती र जनविरोधी कार्यहरू, दुईपटकसम्म जननिर्वाचित सार्वभौम संसद विघटन, नेकपाको विभाजन, विवादित नागरिकता अध्यादेश, भारतलाई रिझाउन चुरेको गिट्टी बालुवा निर्यात गर्ने लगायतका दर्जनौँ संविधान-कानुन विपरीत असंवैधानिक अलोकतान्त्रिक, निरंकुश स्वेच्छाचारी निर्णयहरूबाट देश गम्भीर संकटमा परेको छ । संविधानको घाँटी निमोठ्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कत्लेआम गर्न केपी ओलीको राष्ट्रघात र जनविरोधी षडयन्त्र देखिन्छ ।
नेपाललाई सार्भभौम स्वतन्त्र देशका रूपमा रहन नदिने षडयन्त्रअनुरूप योजनाबद्ध चीनविरोधी शैन्य गठबन्धन हिन्द प्रसान्त रणनीति (आइपीएस) को सदस्यमा नेपाल सामेल भइसकेको सुनिँदैछ । नेपाल राष्ट्र स्वतन्त्र रहनका लागि यसले कुनै पनि शक्ति राष्ट्र विरूद्ध बनाइने सैन्य गठबन्धनमा सामेल हुनु हुँदैन । महाशक्ति राष्ट्रहरूको अन्तरविरोधमा नेपालको भूमिका तठस्त हुनुपर्छ । यो वा त्यो सैन्य गठबन्धनमा सामेल हुनुको अर्थ नेपाल राष्ट्रको स्वतन्त्र अस्तित्व समाप्त पार्ने गम्भीर अपराध हुन्छ । केपी ओली सरकारले मध्यरातमा ‘र’ प्रमुख सामन्त गोयलसँग गोप्य मत्रणागरी नेपाललाई आइपीएस गठबन्धनमा सरिक गराएर नेपालको स्वतन्त्रभूमिमा विदेशी सेनाको बुट बजार्ने आधार तयार पारिदिएर गम्भीर राष्ट्रघात गरेका छन् ।
कम्युनिस्ट आन्दोलनमा घुसेको दलाल पुँजीपति वर्गले राज्यशक्तिको चरम दोहन गरी अकुत धनराशी मात्र बटुलिरहेका छैनन् कि उनीहरूले राजनीतिलाई नै विकृत पार्दै, अस्थिरतातर्फ धकेल्दै लगिरहेका छन् । मुलुक आज घुस, भ्रष्टाचार र कमिसनतन्त्रमा चुर्लुम्म डुबेको छ । महंगी, बेरोजगारी बढेको छ । आधारभूत मजदुर भोकले आत्महत्या गर्न विवश छ । कोरोना महामारीबाट आहतमा परेको छ । वर्ग संघर्ष शिथिल बन्दै जानु र प्रतिक्रान्ति विजयी हुने विडम्बनापूर्ण स्थिति विकास हुनुमा सर्वहारा वर्ग कति जवाफदेही छ ? ओली प्रवृत्तिका विरूद्ध सर्वहारा वर्गको पार्टीका नेता कार्यकर्ताहरू खुलेर प्रतिवाद गर्न किन सकिरहेका छैनन् ? बुर्जुवा वर्गको जस्तो प्रतिसपर्धी क्षमता आधारभूत श्रमिक वर्गबाट आएका, नेता, कार्यकर्ता जो इमान र जमानको राजनीति निष्ठाबाट विचलित छैन, त्यो क्षमता र योग्यताको कदर किन हुँदैन ?
हाम्रो मूल्याङ्कनको कसी के हो ? विभेदको दृष्टि र व्यवहार हुन्छ । बुर्जुवा वर्गको जस्तो जोसँग घर-घडेरी, सेयर लगानी, बैङ्क ब्यालेन्स, महंगा गाडी,आइफोन, महंगा ब्राण्डका सुट-टाई छैन, ऊसँग ठुलठुला रात्रिकालीन डान्स बार र तारे होटलहरूमा डिनर र पार्टी गराउन सक्ने औकात छैन, त्यो पार्टीको नेता र जनप्रतिनिधि बन्न योग्य छैन भन्ने हो त ? योग्यता र क्षमता जाँच्ने यो शैली सर्वहारा शैली हो त ? यो प्रवृत्ति पार्टीमा हाबी हुँदै जाने हो भने पार्टी दलाल, ठेकेदार, जमीनदार र पुँजीपती वर्गले मात्र यस्तो प्रतिस्पर्धा गर्न सक्छ । आधारभूत वर्ग किनारालाग्दै जानुपर्ने हुन्छ ।
राज्यसत्ता बदल्न सबैभन्दा धेरै माओवादी लड्यो । सबैभन्दा धेरै ठुलो बलिदान माओवादीको भयो । मुलुकमा यतिबेला माओवादीको एजेण्डा लागु भइरहेको छ । नीति एजेण्डा माओवादीको, नेतृत्व माओवादी र परिवर्तन विरोधीको हातमा पुग्नु दुर्भाग्य थियो । नीतिअनुसार नेतृत्व लिन कार्यनीतिमा तालमेल मिलाएर अग्रगामी राजनीतिक पार्टीहरूसँग शक्ति सन्तुलन बनाइराख्न माओवादीभित्रको दायाँ वा बाँया प्रवृत्ति अवरोध बन्यो । संसदीय अभ्यासमा माओवादी पार्टी कमजोर हुनु, ‘जसको नीति उसले नेतृत्व’ गर्न नपाउनु वा संसदीय अभ्यासमा माओवादी फेल हुनु भनेको संसदीय अभ्यासमा नेताहरूमा अनुभवको कमी हुनु मात्र होइन । मुख्यतः आफ्नो वर्ग धरातल छाडेर क्रान्ति, आन्दोलन परिर्वतनविरोधी वर्गसँग आवश्यकता भन्दा बढी भर पर्नु र बहकिएर अलमलिनु हो । पार्टी नेतृत्व विजातीय घेराबन्दीमा पर्नु, नेतृत्वलाई भुइँतहका पार्टी कार्यकर्ता, सहिद, बेपत्ता परिवार, घाइते अपाङ्ग योद्धा, आधारभूत श्रमिक जनता र पार्टीको हित चाहने शुभचिन्तक, समर्थकबाट टाढा पुग्नु, राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूको माओवादी आन्दोलन र परिवर्तनविरोधी शक्तिहरू आन्दोलन र लिडरशिप समाप्त पार्न अपनाइरहेको रणनीतिक दाउपेचबारे सही र तथ्य सूचनाहरू बेलैमा नेतृत्वमा सम्प्रेषण गराउन नसक्नु हो ।
बुर्जुवा वर्गले उनीहरूको मेसिनभित्र हालेर उनीहरूको इच्छामुताबिक आकार र साइजमा ‘हामीलाई ढाल्न प्रयत्न गर्नेछन्’ भन्ने कुरा सिद्धान्ततः हामीलाई थाहा थियो । ‘हामीलाई बिगार्न खोज्छन्’ भन्ने थाहा हुँदाहुँदै पनि व्यवहारतः हाम्रो सिङ्गो पार्टीपंक्ति सचेत र सर्तक हुनपर्ने ठाँउमा लापरबाही गर्न थालियो । विचार, आचार, व्यवहारलाई चुस्त-दुरूस्त राख्नुपर्ने ठाँउमा झन्झन् लत्रँदै गएर चालै नपाउने किसिमले बुर्जुवा वर्गको साँचोमा फस्दै गइयो । हाम्रो उठबस, हिँडडुल र शैलीमा सामूहिकता हराउँदै त्यसको स्थान नीजि सोख, शान, तडकभडक हाइफाइतिर जान थाल्यो । राष्ट्र र जनताको मुक्तिका लागि पार्टी र क्रान्तिमा त्याग र बलिदानमा रमाउने हाम्रो संस्कृति निजी धनसम्पत्ति आर्जनमा रमाउन थाल्नु त्यसकै द्योतक हो । अतः हाम्रा आनीबानी, आचारविचार, संस्कार र शैली बदल्नुको अर्को विकल्प छैन ।
हाम्रो रूप र सार मिलेको छैन । भनाइ र गराइको एकरूपता छैन । सर्वहारा राजनीतिभित्र बुर्जुवा संस्कृति मौलाउँदै जानु वर्गउत्थान होइन र ? राष्ट्र, जनता, परिवर्तन र क्रान्तिप्रतिको इमान्दारिता, त्याग, निष्ठा, समपर्ण, लगाव र क्षमताको कदर नहुनु वर्ग स्खलन होइन र? बुर्जुवा वर्गको जस्तो ऐसआरामको जीवन पद्धतिको अन्धनक्कल गरेर आधारभूत सर्वहारा श्रमजीवी जनतालाई विश्वासमा लिन सकिएला र ? साँचो कुरा भन्ने हो भने हाम्रो पार्टी न सर्वहारा, न पुँजीपतिकोजस्तो अकर्मण्यतामा फसेको छ । पुँजीपति वर्ग र हामी सर्वहारा वर्गको राजनीति गर्नेहरूका बिचमा आचारमा उस्तैउस्तै देखियो भने जनताले हामीलाई भोट हाल्ला र ? आधारभूत जनताको आर्थिक जीवनस्तर उठाँउदै, वर्ग सापेक्षितरूपमा पार्टी नेता र प्रतिनिधिहरूको आर्थिक जीवन बनाउनु पर्ने होला ?
हिजो जनयुद्ध र आन्दोलनमा एउटैएउटै आर्थिक स्तर भएका सहयोद्धाहरू पूर्णकालीनरूपमा पार्टी काममा लागियो । युद्धामा हामी मर्छौं कि बाच्छौँ, केही ठेगान थिएन । त्यतिबेला हामीसँग भएका पैत्रिक सम्पत्तिमध्ये सुन, धन, जमीन, नगदजिन्सी जो जोसँग जे जे थिए, त्यसमध्ये केही ऋण तिरेर, केही पार्टीकरण गरेर र केही परिवारलाई जिम्मा लगाएर हामी भूमिगत भएका हौँ । जनयुद्धमा हाम्रो आर्थिक आचार के थियो ? यहाँ भनिरहन नपर्ला । दश वर्षको युद्धमा हाम्रो आर्थिक जीवनचक्र सादा र सामूहिक थियो । हाम्रो निजी खर्च साबुन, मन्जन, ब्रुश र भित्री कपडामा हुन्थ्यो । झोलामा लाखौँ करोडौँ पैसा हुन्थ्यो । युद्धाकालभरि त्यो पैसाले लोभ्याएन । एकाध लोभीपापीहरूदेखि बाहेक हामी कोही लोभीपापी बन्यौँ र ? मृत्यु पाइलापाइलामा थियो । ‘मर्छौँ वा मारिन्छौँ’ भन्ने जानीजानी हाँसीखुसी आफ्ना बालबच्चाको शिक्षादीक्षाको पनि ख्याल नगरिकन परिवारलाई पार्टीकरण गरेर युद्धमा होमेका हामी नै हैनौँ र ? खै त म, मेरो परिवार र मेरा नजिककाहरू बाँच्नुपर्छ, बचाँउनु पर्छ, धनसम्पत्ति लुकाउन-छिपाउन र बचाउन पर्छ भन्ने आएन त ? गणतन्त्र प्राप्तिको आन्दोलनमा हामीले आफ्नो सम्पूर्ण निजी स्वार्थलाई समर्पण गरिएको थियो र त आज भलै माओवादीको नेतृत्व नभएता पनि माओवादी एजेण्डाको सफलतामा यो मुलुक चलिरहेको छ ।
राष्ट्र, जनता र वर्गमुक्ति आन्दोलनलाई प्रमुख स्वार्थ मानेर आफ्ना निजी इच्छा, आकांक्षा र चाहनाहरूलाई एक निमेसमा कुरबानी गर्न तयार हाम्रो पार्टीपंक्ति क्रान्तिका कार्यभारहरूले पूर्णता नपाउँदै यति छिटै सर्वहारा मूल्य-मान्यताको आदर्श भुलेर पुँजीवादी मोहपासमा डुबुल्की मार्न उद्धेलित भएर प्रतिक्रान्तिको निम्तो हामीले नै दिने अक्षम्य भुलबाट बँच्नैपर्छ । हाम्रो वर्गको उन्नति र प्रगति नहुँदै, तिनको मुहारमा खुसीपनको बदलाव नआउँदै, तिनका राजनीतिक प्रतिनिधिहरूको वर्ग उत्थान कसरी ? या त हामीले हिम्मतका साथ घोषणा गर्न पर्यो – हाम्रो पार्टी सर्वहारा वर्गको प्रतिनिधि संस्था होइन भनेर । या त हाम्रो विचार, आचार र व्यवहार बदल्दै ढृढ संङ्कल्पका साथ अगाडि बढ्नु पर्छ ।
जतिबेला वर्गनिष्ठाका साथ हिँड्दै थियौँ, दिन बितेको थाहा भएन, रात बितेको थाहा भएन, महिना र वर्षहरू बितेको पनि थाहा भएन । सहिदहरूको रगतको बदला, क्रान्तिको सफलता र देश र जनताको मुक्तिभन्दा अरू केही हाम्रो मथिङ्गलमा छँदै थिएन । हामीले कमाएको त्यो पुँजी, त्याग, समपर्ण, बलिदान र वर्गनिष्ठा र इमान-जमानको राजनीतिक जीवनपद्धति, सादा, सरल, सामूहिक भावनाको त्यो अतुलनीय राजनीतिक पुँजी । आज एक दशक पनि बित्दा नबित्दै हाम्रै आँखामा किन मूल्यहीन, बेसहारा र लावारिस पर्दै गइरहेको छ ?
हामी सहर पस्दै गर्दा हामीले सचेततापूर्वक एउटा प्रतिज्ञा गरेका थियौँ कि ”हामीलाई बुर्जुवा वर्गले उनीहरूको भट्टीमा हालेर उनीहरूको साँचोको आकारमा हामीलाई ढाल्न खोज्नेछन्, हामी बुर्जुवा वर्गको साँचोमा ढलेर उनीहरूको आकारमा निस्कने होइन, बरू उनीहरूलाई हाम्रो आकारमा ढाल्न कोशिस गरिने छ ।” बुर्जुवा वर्गले हाम्रा हरेक पाइलामा अवरोध खडा गर्नेछ भन्ने सचेतरूपमा बुझेर पनि हामीले आफूलाई बदल्न नसकेर होइन र? खुला समाजमा प्रवेश गरिसकेपछि हाम्रा आचार व्यवहारसँगै जनताले हामीलाई नजिकबाट नियाल्दै, यिनीहरू बुर्जुवा वर्गले खडा गरेको मोहपासको जालोमा नफसुन् भन्नका लागि गरेको रचनात्मक आलोचना सही छ । माओवादीलाई जनताले काँग्रेस-एमाले भन्दा फरक ठानेर नै प्रश्न उठाएका हुन् । विचार जे छ, विचारले मागेको आचार-व्यवहारमा लागु गरून् भन्ने जनचाहना हो । हाम्रो त्याग, बलिदान, रगत र पसिनाबाट धर्मनिरपेक्षता, समानुपातिक समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो भन्ने कुरा जनताले राम्रोसँग बुझेको छ । आज पनि जनताले बुर्जुवा वर्गको भिन्नतामा हाम्रो उपस्थिति खोजिरहेको छ ।
देशमा राजनीति परिवर्तनपछि राज्यको पुनर्संरचना, संविधान र कानुन निर्माणसँगै आर्थिक विकास, सामाजिक र सांस्कृतिक रूपान्तरणको अभियानले गति लिनुपर्ने थियो । त्यसो हुन सकेन । ‘जसको नीति, उसको नेतृत्व’ कायम गर्न बुर्जुवा वर्गले खडा गर्दै गएको अवरोध र हाम्रा अनुभवजन्य तथा आफ्नो वर्ग आधारलाई सुदृढ गर्ने प्रश्नमा रहेका सीमा कमजोरी कहाँ कहाँ भयो? मनोगत र संकृर्ण नभइकन सिंहावलोकन गर्नै पर्छ । हाम्रो वर्ग, पार्टीपंक्ति र जनताको बिचमा संगठितरूपमा सुसूचित गराउँदै, भ्रम चिर्दै आफ्नो वर्गलाई सुदृढ गर्दै एकताबद्ध शक्तिकारूपमा अगाडि बढाउन वैचारिक, राजनीतिक, सांगठानिक, आर्थिक, प्राविधिकरूपमा विचार, संगठन, उत्पादन, प्रचारको एकीकृत कार्ययोजना र कार्यशैलीमा सुधार हाम्रो अहिलेको प्रमुख आवश्यकता हो ।
मार्क्सवाद, लेनिनवाद, माओवादको मार्गदर्शनमा जनयुद्ध, जनआन्दोलन लगायत नेपाली जनक्रान्तिका यहाँसम्मका अनुभवहरूका आधारमा नेपाली मौलिकताको वैज्ञानिक समाजवादी विचार विकास गर्दै पार्टी अगाडि बढ्न आवश्यक छ । माओवादी आन्दोलनको दुर्भाग्य विमति, विभाजन र तितरबितरको स्थिति हुँदै साम्राज्यवाद, विस्तारवाद र देशी-विदेशी प्रतिक्रियावादको चाहनाअनुसार माओवादी आन्दोलन कमजोर बन्यो । यही क्रममा चुनावी वाम गठबन्धन र एमालेसँग पार्टी एकता भयो ।
कम्युनिस्ट आन्दोलनको विघटन, संविधान विघटन र गणतन्त्र समाप्त पार्न उनीहरू कम्युनिस्ट खोलभित्रबाट एउटा उपयुक्त खलपात्रको खोजी गर्दै थिए । केपी ओली उनीहरूका लागि बरदान सावित भएर पूर्व नेकपा र सरकारको नेतृत्वमा उदाए ।
यही विन्दुबाट प्रथमतः उनीहरूले संविधान निर्माणमा अवरोध खडा गरे । पहिलो संविधान सभा विघटन भयो । ‘फुटाऊ र राज गर’को तरिकामा प्रतिक्रियावादीहरू सफल भए । दोस्रो संविधान सभामा माओवादीको आकार घट्यो । दोस्रो संविधान सभालाई पनि संविधान नै नबनाएर तुहाउने, त्यसो गर्न परिस्थितिले नदिए “रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको नाम र सारमा २०४७ को संविधानको अन्तरवस्तु’ समेटेर जनयुद्ध र जनआन्दोलनको मर्म र भावना विपरीत नाम मात्रको टालटुले संविधान घोषणा गर्ने देशी-विदेशी प्रतिक्रियावादी चाहना विपरीत अध्यक्ष कमरेड प्रचण्डको बुद्धिमतापूर्ण चलाखीका कारण २०७२ को संविधान निर्माण सफल त भयो तर राष्ट्र र जनताको अपेक्षा जनयुद्ध तथा आन्दोलनको मर्मअनुसार संविधान कार्यान्वयन भएर सुशासन, समृद्धि, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्य सरकारीकरण, कृषि, पर्यटनमा सुधार, रोजगार सिर्जना, राष्ट्रिय उत्पादनलाई प्राथमिकता दिएर अन्तरनिर्भर आर्थिक विकास गर्दै समाजवादको आधार तयार पार्दै लाने उद्देश्यमा तगारो लगाइएको वर्तमान परिस्थितिमा पार्टीले नवउपनिवेशवाद, नवउदारवाद, दलाल पुँजीवाद र सच्चा देशभक्त, वामपन्थी कम्युनिस्ट र प्रगतिशील लोकतन्त्रवादीहरू बिचको अन्तरविरोधको स्थितिलाई प्रष्ट पार्दै, विचार र राजनीति कार्यदिशाका आधारमा कम्युनिस्ट एकता, संयुक्त मोर्चा, कार्यगत एकता र तालमेल गर्दै अगाडि बढ्नु पर्छ ।
संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू संविधानमा संस्थागत हुन पाएनन् । द्वित्तीय: संविधान निर्माणपछि कार्यान्वयनमा अवरोध खडा गरियो । तृतीय, गणतन्त्रका लागि लडिएको जनयुद्धलाई आतङ्कवाद र जनआन्दोलनलाई बयलगाडा चडेर अमेरिका पुगिँदैन भन्ने आन्दोलनविरोधी, अहिलेको राजनीति परिर्वतनप्रति अनुदारवादी वितृष्णा देखाउँदै पुरानै सत्तामा रमाइरहेको व्यक्तिको हातमा भुलवस सत्ताको तालाचाबी सुम्पिएर “लौ गणतन्त्रको वध गर” भनेकोजस्तो रूनु न हाँस्नुको विडम्बनापूर्ण स्थिति बनेको छ ।
सत्ताको कुर्सीबाट धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि दिनानुदिन घाँटी निचोर्दै निचोर्दै लगेर अन्तत: सम्पूर्णरूपले समाप्त पार्ने षडयन्त्रमा तल्लीन रहेको राष्ट्रघाती र जनघाती केपी ओली सत्ताको अन्त्यविना हामीलाई विश्राम गर्ने समय छैन । प्रतिगमनलाई पूर्णरूपमा पराजित नगर्दासम्म अहिलेको पाँच राजनीतिक दलको गठबन्धनलाई अझ सुदृढ र मजबुत पार्दै अगाडि बढ्नु अहिलेको तत्कालीन प्रमुख कार्यभार हो ।
यस दृष्टिबाट अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा पार्टीको विचार, आचार र व्यवहारमा सुधार गर्दै अगाडि बढ्नुको विकल्प छैन । चार दशक यता विश्वसामु नेपालको कम्युनिस्ट आन्दोलनको जे पहिचान बनेको छ, त्यो अध्यक्ष कमरेड प्रचण्डको सबल नेतृत्वका कारण हो । कम्युनिस्टविरोधी शक्तिहरू त्यसलाई मेटाउन एकजुट भएका छन् र पनि असफल बन्दै आएका छन् । यसपटक पनि उनीहरू पराजित हुनेछन् । देशी-विदेशी प्रतिक्रियावादीहरू एकातिर र अध्यक्ष कमरेड प्रचण्ड अर्कोतिर खडा भएर स्थिति टक्राइरहेको छ । अध्यक्ष कमरेड प्रचण्डको सबल कार्यकौशलताबाट प्रतिक्रान्तिकारीहरू पछाडि हट्न बाध्य हुनेछन् ।
देशी-विदेशी प्रतिक्रियावादीहरूको दिनानुदिनको दबाब, धम्की, चौतर्फी विरोध र आलोचना, अवसरवादी स्वार्थ झुण्डहरूको घुर्की, धम्की, घेराबन्दी, पीडा, दबाब, प्रेसर, तनाब लगायतका दिनानुदिनको दर्जनौँ घेराका बिचबाट अध्यक्ष कमरेड प्रचण्ड निर्भीकताका साथ संघर्ष गर्दै, असाधारणरूपमा दृढताका धैर्य र साहसका साथ अगाडि बढिरहनुभएको छ । उहाँभित्रको यो उर्जा वर्गनिष्ठा, राष्ट्र र जनताप्रतिको समपर्णभाव, वर्ग उद्देश्यप्रतिको प्रतिबद्धता र इमान्दारिताका कारण हो ।
नेतृत्व व्यक्तिको इच्छा र चाहनाले मात्र तयार हुने कुरा होइन । समाज, वर्गचरित्र र वर्ग संघर्षको आवश्यकताले जन्माउने विषय हो । एउटा परिपक्व नेतृत्व हुनका लागि विचार र वर्ग संघर्षको भट्टीमा खारिँदै आउनु पर्छ । सबल नेतृत्व बन्नु सफाचट राजमार्ग हिँडेकोजस्तो सजिलो छैन । हजारौँ आरोह, अवरोह, हण्डर, ठक्करका कहालीलाग्दा घुम्तीहरूबाट गुज्रनु, अदृश्य कहालीलाग्दा चट्टानहरूमा ठोकिनबाट जोगिनु र कडा मेहनत तथा परिश्रमबाट मात्र सबल नेतृत्वको निर्माण संभव हुन्छ । विचार निर्माण, युद्ध, शान्ति, संविधान हुँदै असंभव लाग्ने एमाले-माओवादी एकतासम्म – भलै त्यो अहिले देशी-विदेशी प्रतिक्रियावादी सेटिङमा अलग्याइएको छ – प्रचण्ड क्षमताको अभिव्यक्ति नै हो ।
प्रतिक्रियावादीहरू र अवसरवादीहरूले बाहिर हल्ला पिटेको वा पिट्न लगाएकोजस्तो अध्यक्ष कमरेड प्रचण्डको नेतृत्व क्षमता कमजोर भएको छैन । उनीहरूलाई प्रचण्ड कमजोर भएको लागेको भए यति ठुलो जालझेल, टिक्डम र षडयन्त्रमा उनीहरू उत्रिन किन पर्थ्यो र ? हाम्रो यो पुस्ताले प्रचण्ड कमरेड जस्तो गतिशील, साहसिक, योग्य र सबल नेतृत्व पाउन कुनै पनि मूल्यमा संभव छैन । अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको थप रक्षा र विकासमा जोड गर्दै टिमबद्धरूपमा एकढिक्का भएर उहाँलाई अझ धेरै साथ र सहयोग गर्न रचनात्मक भूमिका खेल्नु आवश्यक छ ।
अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टीलाई फेरि एकपटक शक्तिशाली पार्टीमा बदल्न सकिन्छ । पार्टी र सिङ्गो कम्युनिस्ट आन्दोलनको भविष्य अध्यक्ष कमरेडमा अन्तरनिहित छ । वर्ग संघर्ष र अन्तरसंघर्षको चार दशक लामो निरन्तर कष्टसाध्य यात्राबाट अध्यक्ष कमरेड प्रचण्ड आजको प्रचण्ड बन्नु भएको हो, प्रचण्ड बनाउन सकिएको हो । अध्यक्ष कमरेड प्रचण्डको दिशानिर्देशनमा पार्टीमा नेतृत्व विकासको प्रष्ट नीति, विधि र मापदण्ड बनाएर पारदर्शीरूपमा समाजवादी क्रान्तिको विकास प्रक्रियामा क. प्रचण्डपछिको नेतृत्व निमार्णको दिशामा अगाडि बढ्नु पर्छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा सिङ्गो पार्टीलाई सुदृढ र सुद्धीकृत पार्दै पुनर्ताजगीयुक्त आचार-व्यवहारसहित सिङ्गो पार्टीलाई जनतामा फर्काउनुबाहेक हामीसँग अहिले अर्को विकल्प छैन ।
(लेखक नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ।)