हरेक वर्षको सेप्टेम्बर ९ माओ स्मृति दिवस मनाउन सबै प्रगतिशील विश्व एकमना एकाकार भएको पाइन्छ । नेपालका प्रगतिशील शक्ति आफूलाई कम्युनिस्ट भन्न रुचाउने र पार्टी पार्टीमा आबद्ध सबै माओको सम्झना गरिरहेका छन् । एउटै देशमा एउटै उद्देश्यसँग सम्बन्धितले पनि यो सम्झना किन ठाउँ-ठाउँमा मनाइरहनु परेको हो ? यसको जवाफ मसँग छैन र खोजौँ भने पनि कसैले यसको जवाफ दिनसक्छ भन्ने लाग्दैन । त्यसैले आशा राख्दै जाऊँ यस्ता दिवसहरुमा सम्झनका लागि कमसे कम एकै ठाउँमा बस्दा केही बिग्रँदैन है ।
हुनतः माओलाई मन नपराउने पनि छन् । उनीहरुले भन्ने गर्छन्ः “विदेशको नेता”, “के यो हाम्रो देशको हो र मान्नु पर्ने?” “विदेशको मान्छेको गुण गान गाएर देश बन्छ ?” यो पनि साँचोजस्तै लाग्छ । तर पनि माओलाई नै सम्झँदा उनको जन्म अवस्था, किशोर र संघर्षका दिनहरुमा उनले गरेको नेतृत्व नै चीन जस्तो विशाल देशको एकीकृत उत्थानको जग बनेको कुरा सम्झेर हामीमा पनि त्यस्तै दर्विलो सोच बनोस् भन्ने नै हो । हामी पनि हाम्रो देशको नेतृत्व गर्ने नेतालाई त्यस्तै दर्बिलो बन्ने प्रेरणा माओको सम्झनाले मात्र होइन, जनताको उत्साहप्रद सम्मानले खारिएको नेता बनाउन सकिन्छ भन्ने आशय पनि हो ।
चीनको हुनान प्रदेशको शाओशानमा २६ डिसेम्बर १८९३ मा जन्मेका माओत्सेतुङ मात्रै चीनका अरबौँ जनतामा एक्लो शक्ति हुनुको कारण के थियो त ? अरु पनि त अगुवा भएको भए हुने थियो भन्ने गम्भीर प्रश्नले सबैलाई काउकुती लाउन पनि सक्छ । उनको जन्मपछिका झण्डै ८३ वर्षमा त्यति ठूलो पौरख गरेर देशलाई सधै सबल र सक्षम बनाउन फराकिलो अवसर प्रदान गर्ने नेता माओलाई सम्झेर यहाँका उच्चस्तरमा नेतृत्व गरिरहेका नेतामा पनि त्यस्तै पौरख गरौँ न भन्ने सोच आउन सकोस् ।
अहिले त्यो क्षमतामा उभिनसक्ने नेता भनेको प्रचण्ड नै देखिन्छन् । यसो भनिरहँदा फेरि प्रचण्डको प्रशस्ती भन्ने आरोप पनि लाग्न सक्ला । परन्तु साँचो कुरा भन्न डराइरहनु जरुरी छैन । होइन भने, के हामीले गालीमात्र गरेर त्यो नेतृत्व हामीले सोचेकैजस्तो हुन सक्ला त? उसले गरेको कामलाई सराहना गर्दै अगाडि बढ्न प्रेरणा दिने त जनताले हो ।
अनवरत नेतृत्व दिएर आफ्नो विचारलाई स्थापित गर्दै माओ ९ सेप्टेम्बर १९७६ मा यो संसारबाट विदा हुँदा पनि उनको सजीव सम्झना संसारभर नै भइरहेको छ । म पनि त्यस्तै सजीव सम्झनाको पात्र बनिराखौँ भनेर अगाडि आउनेसक्ने क्षमताको नेता भने पक्कै पनि प्रचण्ड नै हो । किनभने त्यसो गर्नलाई सही कामहरूको जस लिन र गल्तिहरुको आत्मालोचना गर्नसक्ने सासह चाहिन्छ । प्रचण्डले आफूले गरेको गल्तिको आत्मालोचना गर्न सक्छन्, गर्दै पनि आएका छन् । जनयुद्धको नेतृत्व गरिरहँदाको अवस्थामा १७ हजार जनता मारिए भन्ने कुरामा प्रचण्डलाई आरोपित गरेर नथाक्नेहरुले पनि बुझ्नुपर्ने कुरा के भने सुरुकै दिनमा प्रचण्डको नेतृत्वले सरकारलाई दिएको माग पत्रमा समझदारी गर्न सकेको भए त्यो हताहत त हुने थिएन । के त्यो हत्याको दोष प्रचण्डलाई नै लगाई रहने? वास्तवमा यो हत्या र धनजनको क्षतिको पूर्ण जिम्मेवार सरकार नै हो । सरकारले टाउकाको मोल नतोकेर समयमै यो समस्या समाधान गरेको भए देशले यति ठूलो क्षति बेहोर्नु पर्ने थिएन ।
फेरि जनयुद्ध नै किन गर्नु परेको थियो त भन्ने पनि छन । जनयुद्ध नगरेको भए काँग्रेसको निजीकरण, उदारीकरण, भूमण्डलीकरणले देशै नरहने अवस्थामा पुर्याइरहेको कुरा टुलुटुलु हेरेर बस्न सकिने अवस्था पनि थिएन । कोशी, गण्डकी गर्दै महाकालीको सिङ्गो सीमा क्षेत्र छिमेकीलाई सुम्पिँदा नेपाली जनताको कुँडिएको मनलाई सही सोचका साथ देशको रक्षाका लागि अगाडि बढाउने नेतृत्वको खाँचो पूरा गर्ने काम नै जनयुद्धले गरेको थियो ।
अहिले नेपाली कांग्रेसका अर्थविद् तथा कांग्रेसका पटके अर्थमन्त्री डा. रामशरण महतले भनिरहेका छन्, “म एकजनाले गरेजति पनि सरकारले गरेन ख्वै?” हो नि । उनी एकै जनाले देशका ४५ भन्दा बढी संस्थानहरुको बेचबिखन गरे । देशको उत्पादन क्षेत्र तहस नहस गर्ने गरी वैदेशिक रोजगारीका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट २ जना पठाउने सुविधा दिन्छु भनेर बजेट भाषणमै भनेका थिए । अनि बिस्तारै युवाको जमात खाडीतिर लाग्यो । कम्तिमा पनि खनी खोस्री गरेर जीविका चलाइरहेका जनताको बारी बाँझो राखेर देशलाई भारतीय बजारमा परिणत गर्नमा डा. महतको नै षडयन्त्रपूर्ण सकृयता थियो भन्दा कतिलाई नराम्रो लाग्न सक्छ । तर, यो नै यथार्थ हो ।
उनले भनेको ठिकै हो । कमसेकम ओली सरकारले यस्तो त गरेको छैन नि । यद्यपि ठट्यौलीमानै जनतालाई भोको बस्न दिन्न, पानी जहाज ल्याउने र घरघरमा ग्याँस पाइप जोड्ने जस्ता गफ गरिरहे भने ओलीको सरकारले पनि केही गर्छ भन्न सकिने अवस्था छैन । अन्यथा कालापानीको नक्सा निकाले पनि त्यहाँ रहेको भारतीय सेना फिर्ता गराउने पहल नगरेर “ठोरीमा राम जन्मेका हुन्” भन्ने अर्को ठट्टा ओलीले किन गरिरहेका हुन् ? यसमा पनि ठूलो रहस्य लुकेको छ । यतिमात्र नभएर प्रधानमन्त्री जस्तो सम्मानित ओहदाको नेता कोरियाकी श्रीमती मुन आउँदा क्रिश्चियनिटीको प्रचारमा होली वाइनको स्वाद लिन सोल्टीमा बसाइँ सर्नु सुहाउने कुरा हो र? फेरि एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको मतियार बन्दै अध्यादेश समेत ल्याएर त्यो सम्झौता पारित गराउने र नेपाललाई एसिया-प्यासिफिक अमेरिकी सैन्य अखडा बनाएर चीनलाई घेर्ने रणनीतिमा किन मतियार बन्न पुगेका हुन् त ?
अब नेपाललाई दर्बिलो नेता चाहिएको छ । त्यो नेतामा हुने गुण प्रचण्डमा नै छ । उनले भर्खरै दिएको अन्तर्वार्तामा आफ्ना सबै प्रष्ट ढंगले राखेका छन् । आफ्ना नातागोतालाई पद दिएको आरोप लाउनेलाई उनले बन्दुक बोकेर संघर्षको नेतृत्व गरिरहेका परिवारका सदस्यमा भएको क्षमताको प्रयोग कहाँ गर्ने हो त ? भन्ने मीठो जवाफ दिएका छन् । यस्तै पूर्वप्रधानमन्त्री भएका नगेन्द्र रिजालले आफ्नो छोरालाई कुन क्षेत्रको जिम्मेवारी दिएका थिए ? सम्झना त भएन । तर जवाफमा “उनले मेरो छोरा के नेपाली नागरिक होइन” भन्ने जवाफ दिएका थिए । यसैले आफ्नो क्षेत्रमा खारिएकै अवस्थामा प्रचण्डको छोरी, छोरा, नातागोता नेतृत्वमा हुन सक्लान् भन्ने अनुमान पनि नगरी आरोपित गुर्न प्रचण्डको मानमर्दन गर्ने दुस्प्रयाश होइन र ?
फेरि घरबेटिको ठेक्काको कारण उनलाई बद्नामा गर्ने प्रयासमा पनि निजी व्यवसायमा आफ्नो सरोकार नै नभएको कुरा उनले बताएका छन । यतिमात्र नभएर आफूसँगै काम गरेका नेता बाबुराम, मोहन वैद्य लगायतका नेताहरुले पुनर्स्थापना, मेलमिलाप, देशको समृद्धि, युद्धमा अपांग भएकाहरुको व्यवस्थापन जस्ता कुरा प्रचण्ड एक्लैलाई छाडेर गैरजिम्मेवार रहेको कुरा पनि तर्कसंगत छ । यसमा के बाबुराम र अरु नेताले घाइतेको व्यवस्थापन भएन अथवा देशको विकासको काम भएन भनेर प्रचण्डलाई आरोपित गरेर उम्कने ठाउँ रहन्छ र ?
आफ्नो ध्यान देशको समृद्धिमा रहेको र जस्तोसुकै आरोप अपहेलना सहेर भए पनि कम्युनिस्ट पार्टीलाई दह्रो बनाउने, आफ्नै कार्यावधिमा देशलाई सम्पन्न बनाउने भन्ने प्रतिबद्धताको कदर गर्नु पर्छ । फेरि विप्लव, वैद्य, बाबुराम, माधव, ओली, झलनाथ सबै नेतालाई सम्मानित तहमा सम्मानित गर्दामात्र वाम एकता सुदृढ हुने र देश समृद्ध हुने कुरा पनि सही हो ।
चीनसँगको दह्रो मित्रता र सन्तुलित सम्बन्ध विकास गर्दै भारतीय जनतामा रहेको उथलपुथल र अन्योलको अवस्थालाई समेत समेटेर विशाल नेपालको दह्रो बाटो बनाउन पनि प्रचण्ड नै बलियो नेता बन्नुपर्छ । भारत सँधै अकण्टक होस् भन्ने कामना हो तर अहिले नेपाल लगायतका छिमेकी देशलाई निचोरी रहने हो भने हाम्रो कामना काम नलाग्न पनि सक्छ ।
अहिले माओले जस्तै लामो समयसम्म सत्तामा नभए पनि पार्टी नेतृत्वको प्रमुखमा रहेर कृयाशील भइरहने र जनयुद्ध जस्ता कठोर अभियान हाँकेर प्रतिकृयावादीलाई छेउलगाउन सक्षम तथा जनयुद्धबाट जनतामा भइरहेको ठूलो नोक्सानी बचाउन दोश्रो जनआन्दोलनको नेतृत्व लिँदै शान्ति सम्झौमा आउने र शान्तिपूर्ण एवं राजनीतिक स्थायित्व कायम गर्दै निरङ्कुश राजतन्त्रको समाप्ती, संघीय लोकतान्त्रिक गणतन्त्र जस्ता कुरा स्थापित गर्न के प्रचण्डको नेतृत्व बिना संभव थियो ? यसैले प्रचण्ड त्यत्रो विद्रोहबाट शान्तिपूर्ण अवस्थामा देशलाई अवतरण गरेर विश्वलाई नै उदाहरणीय प्रस्तुती दिन सक्षम भएका छन् । यदि नोवेल शान्ति पुरस्कार विश्व शान्तिका लागि योगदान गर्नेहरूलाई दिन बनाइएको हो भने त्यो पुरस्कार प्रचण्डलाई दिइनुपर्छ भन्ने तर्क हो मेरो । फेरि के नोवेल पुरस्कार चाहिँ नेपालका लागि होइन र?
प्रचण्ड नेपालको मात्र नभएर विश्वको उदाहरणीय अग्रणी नेता बनेर अगाडि बढ्ने प्रशस्त संभावना बनेका छन् । प्रचण्डले कुनै राष्ट्रघाती काम र विवादित काम केही गरेका छैनन् । अरू विभिन्न पक्षलाई हेर्ने हो भने पनि भने उनको तुलनामा अरु नेताले इज्जत निर्वाह गरेर देशलाई सबल बनाउन सकेको पाइएन ।
भनिन्छ प्रचण्ड जनयुद्धको क्रममा भारतमा आश्रय लिने मात्र नभई शान्ति सम्झौताका लागि आधार तयार गर्ने १२ बुँदे समझदारी भारतमा भएको भनेर आरोपित गर्नु कुनै जरुरी छैन । यो प्रचण्डले जहाँ सजिलो पर्छ, त्यही गर्न तयार भएका हुन् । यदि दलहरुले यो सन्धि भारतमा नगरौँ भनेको भए नेपालमै हुनसक्ने थियो । यहाँ सन्धि कहाँको कुरा होइन, नियत के थियो भन्ने कुरा नै प्रमुख हुन आउँछ ।
यसैले प्रचण्डले नै अब देशको विकास कार्यक्रमसहितको राजनीतिक नेतृत्व दिनुपर्ने अवस्था आएको कुरा बुझ्नु जरुरी भइसकेको छ । यसका लागि हामीले सुरु गरेको कृषि व्यावसायीकरण अभियानलाई उनले साथ दिएर यसमा संलग्न जतालाई प्रेरणा प्रदान गरेर अघि बढ्ने बातावरण प्रचण्डले नै बनाउनु पर्छ । हामीले अहिले नमूना गाउँ कार्यक्रम अगाडि बढाएका छौँ । उत्पादकत्व बृद्धि गर्ने, सबै खाले सहकारीलाई एकीकृत गरेर बजार स्थापना गर्ने, गैरआवासीय नेपालीसमेतबाट स्थापित मुना कृषि कम्पनी, ओक्राल्याण्ड व्यावसायिक कम्पनीहरु र रबर उत्पादन तथा उद्योग स्थापना लगायतका क्षेत्रलाई सबल बनाउन प्रचण्डले नै अग्रसरता लिनु पर्छ । यसका लागि निम्न क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेर कार्यक्रम तयार गर्न जरुरी देखिन्छः
१. नमूना गाउँ विकास कार्यक्रम
२. उद्यमशीलता विकास कार्यक्रम
३. तराई विशेष विकास तथा सामाजिक सुरक्षा कार्यक्रम
४. पुनःनिर्माण तथा पूर्वाधार विकास बैंकको स्थापना
५. गाउँ सहर विकास तथा सामाजिक सुरषा शिक्षा कार्यक्रम
६. कृषि व्यावसायीकरण, प्रांगारिक उत्पादन, जडिबुटी अनुसन्धान तथा उत्पादन, तथा कृषि तथा धार्मिक सांस्कृतिक पर्यटन विकास कार्यक्रम
७. सहकारी तथा वित्तीय क्षेत्र व्यवस्थापन एवं नमूना कृषि क्षेत्र विकास, घरेलु, तथा आधारभूत औद्योगिक क्षेत्र व्यवस्थापन कार्यक्रम
प्रचण्डले यस्ता कार्यक्रमहरूलाई अघि बढाएर नीतिगत भूमिका खेले देश बलियो बन्छ । प्रचण्डको उचाइ पनि दक्षिण एसिया मात्र नभएर विश्वकै समाजवादी आन्दोलनमा अग्रस्थानमा पुग्ने कुरामा शंका छैन । अहिले कोरोना महामारीको कारण देश मात्र होइन, विश्व नै थलिएको छ । यसरी महामारीबाट पीडित जनतालाई पुँजीवादी अर्थ नीति, उदारवादी अथवा अन्य गफबाट राहत दिन र समाजको उत्थान गर्न सकिँदैन । यसर्थ आर्थिक आधार दर्बिलो बनाएर नेपाल विश्व आर्थिक प्रणालीमा अघि बढ्ने र विश्व मानव समुदायका लागि शान्ति कायम राख्न प्रचण्डको अगुवाई प्रभावकारी हुन सक्छ ।
माओले गरेका योगदानहरूको प्रेरणाप्रद सम्झनाले नेतृत्वले समन्वयकारी विकास कार्यक्रम सञ्चालन गर्न सकून् । देश समृद्ध होस् । माओप्रति हार्दिक श्रद्धाञ्जली ।
(लेखक विकास अर्थशास्त्री तथा कृषि अभियन्ता हुनुहुन्छ ।)