दिलबहादुर, दिल बहादुर रम्तेल, Dil Bahadur Ramtel, First Martyr, Great Peoples' War, Fagun 14, 2052
 

देशका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिका लागि सुरु भएको महान् जनयुद्धको थालनीको प्रथम चरणमा सहादतको प्रथम प्रकरण सर्वाधिक उत्पीडित वर्ग, जाति र समुदायका एक दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो । न्याय, समानता र स्वतन्त्रताको प्राप्तिका लागि चलाइएको यो मुक्तियुद्धको महाभियानमा बलिदान दिने एक महात्मा हुन् रम्तेल ।

विद्यालयमा आफूहरुलाई पढाउँदै गरेका आफ्ना गुरुलाई विद्यालयबाटै प्रहरीले अन्यायपूर्वक पक्डेर घिसार्दै लैजान थालेपछि सच्चा न्यायप्रेमी शिष्य भएकाले विद्यार्थीहरुले विरोध, अवरोध र प्रतिरोध गर्नु अत्यन्त स्वाभाविक र एकदमै न्यायपूर्ण कदम हो । विद्यालयका बालबालिकाको यस्तो न्यायपूर्ण रोदन, क्रन्दन र चित्कारलाई नसुनेर उल्टै गोली वर्षाउनु र नाबालक विद्यार्थी दिलबहादुरको हत्या गर्नुले तत्कालीन संसदीय सत्ताको चरम दमनकारी चरित्र सहजै पुष्टि हुन्छ । यही पुष्टिले नै जनयुद्धको आवश्यकता र औचित्य पनि स्वत: प्रमाणित भयो र जनयुद्ध एक न्यायपूर्ण मुक्तियुद्धको रुपमा स्थापित र विकसित हुने आधार तय गर्‍यो ।

Narayan Sharma, Kamal Prasad
लेखक

तत्पश्चात् देशमा शोषण-दमन, अन्याय-अत्याचार र उपेक्षा-अपहेलनामा पारिएका देशका सम्पूर्ण शोषित-उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, धर्म, संस्कृतिका जनसमुदायहरुको जनयुद्धप्रति आकर्षण बढ्यो र तीव्र गतिमा सद्भाव, समर्थन, सहयोग र सहभागितामा अत्यधिक वृद्धि हुँदै गयो । यसले गर्दा जनयुद्ध साँच्चिकै जनताको युद्ध सिद्ध भयो र यो सबल, सुदृढ र विजयी पनि हुँदै गयो । त्यसैले २०५२ साल फागुन १ मा सुरु भएको जनयुद्ध र यसक्रममा फागुन १४ मा पहिलो सहिद बनेका बालक दिलबहादुर रम्तेलको सहादतको विशेष अर्थ र महत्त्व छ । तसर्थ दिलबहादुर धेरै महान् छन्, उनको जाति कर्मठ मात्र नभएर श्रम, सीप, शौर्य र सहादतका लागि समेत सह्रानीय छ । त्यसैले उनको सपना स्वीकार्य र साकार्य छ । त्यस निम्ति उनी सदा सर्वस्मरणीय र स्तुत्य छन् । हार्दिक श्रद्धाञ्जली र सलाम छ दिलबहादुर रम्तेललाई ।

२०५२ फागुन १४ गतेको दिलबहादुरको सहादत त एउटा सुरुवात मात्र हो । यसपछि अर्को दिन १५ गते नै जाजरकोटका दुई युवाहरुलाई गिरफ्तार गरी हत्या गर्ने प्रक्रियालाई पनि निरन्तरता दिइयो, जो क्रम अद्यापि जारी छ र हालसम्म दशौँ हजार वीर-वीराङ्गनाहरुको बलिदान भएकोछ ।

यद्यपि यसअघि पनि २०२८ सालमा झापाबाट तत्कालीन नेकपा कोअर्डिनेसन केन्द्र (को.के.) को नेतृत्वमा कम्युनिस्ट क्रान्तिकारीहरुद्वारा सुरु गरिएको पहिलो सचेत र संगठितरुपमा झापा विद्रोह भएको हो । त्यसैका क्रममा गिरफ्तार परेकालाई जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर नेत्र घिमिरे, कृष्ण कुईँकेल, रामनाथ दाहाल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई निर्ममता र नृशंसतापूर्वक पञ्चे शासकका जल्लादहरुद्वारा सामूहिक हत्या गरिएको थियो ।

त्यसो त राणा शासनविरुद्ध सचेत र सामूहिक विद्रोहको पहिलो सानो तर महत्त्वपूर्ण सुरुवात गोरखामा वि. सं. १९३३ मा लखन थापाद्वारा गरिएको थियो । त्यसैले तत्कालीन राणा शासक जङ्गबहादुर राणाको आदेश र योजनामा त्यसै वर्ष फागुन २ गते उनको हत्या गरिएको थियो र लखन थापा समग्र नेपाली क्रान्ति र मुक्ति आन्दोलनका सबैभन्दा पहिला सहिद बन्न पुगेका थिए । तत्पश्चात ६ दशकयता राणा शासनका विरुद्धमा सचेत र संगठित रुपमा व्यापक, विस्तृत र निर्णायक विद्रोह गर्ने क्रममै १९९७ सालमा गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमाको उच्च सहादत भएको थियो ।

तत्कालीन नेकपा माओवादीले आफ्नो नेतृत्वमा २०५२ पछि जनयुद्ध गर्दैगर्दा त्यसक्रमका सहिदहरुलाई सम्मान गर्ने सन्दर्भमा २०५८ सालमा माओवादी विद्रोह र झापा विद्रोह दुवै क्रान्तिकारी विद्रोह भएको नाताले दुवै विद्रोहका विचार र भावना तथा तिनका सहिदहरुको स्वच्छ, उच्च र सत्य मूल्याङ्कन गर्दै फागुन १४-२१ लाई सहिद सप्ताहको रुपमा मनाउने महत्त्वपूर्ण निर्णय गरी दुवै आन्दोलनलाई संयोजन गरेको थियो ।

स्मरणीय छ कि राणाशासन विरोधी आन्दोलनका क्रममा भएका उपरोक्त ४ सहिदहरुलाई मात्र संसदवादी र पञ्चे शासकहरुले मान्यता दिएका थिए र हालसम्मका सबै शासकहरुले माघ १०-१६ लाई मात्र सहिद सप्ताहको रुपमा मनाउने औपचारिकता पूरा गर्दै आएका पनि छन् ।

हालसम्म जो जसले जे जस्तो भने वा गरेपनि अब हामीले इतिहासका सबै आन्दोलन र विद्रोहहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको समग्र र समुचित मूल्यांकन, स्मरण र श्रद्धा गर्दै उहाँहरुको बलिदान र योगदानको उच्च सम्मान गर्नु पर्दछ । यसनिम्ति प्रारम्भ १९३३ फागुन २ मा भएको लखन थापाको पहिलो सहादत र हालसम्मको उच्च, सशक्त, असंख्य र निर्णायक युद्ध र सहादत भएको हिसाबले दिलबहादुरको सहादत भएको फागुन १४ अनि झापा विद्रोहमा सहादत प्राप्त गरेको ऐतिहासिक दिन फागुन २१ हुनाले यो फागुन महिनालाई सहिद महिना र माघ १०-१६ जहानियाँ हुकुमी शासन विरुद्धको आन्दोलनका सहिद भएको सातालाई सहिद सप्ताह र मदन-आश्रित वा वीरेन्द्र अथवा यस्तै उच्च नेतृत्व बलिदान भएको कुनै एक दिनलाई राष्ट्रिय सहमति गरी सहिद दिवसको रुपमा मनाउनु न्यायपूर्ण हुने देखिन्छ ।

जे होस्, जहानियाँ हुकुमी राणा शासन, निर्दलीय निरङ्कुश पञ्चे शासन, जनविरोधी र राष्ट्रविरोधी बहुदलीय संसदीय शासनहरुका विरुद्धका संघर्ष, आन्दोलन, विद्रोह र युद्धका क्रममा योजनाबद्ध वा स्वतस्फूर्त रूपमा क्रान्ति र मुक्तिसँग सम्बन्धित नेपाली जनविद्रोहका विविध आयामहरु आए र आजसम्म आउँदा दसौँ हजार सर्वोत्तम सन्ततिहरुको गौरवपूर्ण सहादत समेत हुँदै आएको छ ।

सहादतको यो शृङ्खलासँगै यसप्रकारका विद्रोहरुपी जनयुद्ध र जनआन्दोलनहरुमा बेपत्ता हुने, घाइते-अपाङ्ग हुने, जेल-हिरासत पर्ने, भूमिगत जाने, निर्वासित हुने, पेसा-व्यवसायबाट हात धुने र घरपरिवारबाट विस्थापित हुनेहरुको संख्या अनगिन्ती रहेको छ । यसरी यी आन्दोलन र विद्रोहहरुमा सचेत, संगठित र स्वस्फूर्तरुपमा सहभागी हुने, सहयोग पुराउने र सद्भाव-समर्थन गर्नेहरु असंख्य छन् र तिनको योगदान असीमित नै रहेको छ ।

तर विडम्बना देश र जनताको मुक्ति र प्रगतिका लागि विगत डेढ सय वर्षको लामो समयदेखि अनगिन्ती जनसमुदायहरुद्वारा हुँदै आएको संघर्ष, त्याग, तपस्या र बलिदानको योगफल स्वरुप प्राप्त लोकतान्त्रिक गणतन्त्रमा पनि न देश र जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित न्यूनतम्‌ आधारभूत हक-अधिकारका प्रश्नहरु हल भएका छन्, न त सहिद, बेपत्ता, घाइते-अपाङ्ग, जेलबन्दी, भूमिगत, निर्वासित, यातनापीडित आदि नेता, कार्यकर्ता र जनताका सपना, जपना र ध्याउन्न नै साकार भएका छन् ।

यति मात्र होइन, युद्ध र आन्दोलनमा पीडित यो देश र यहाँ दिनप्रतिदिन दीन दुःखी बन्दै-बनाइँदै गरिएका जनतालाई एकथरी दरिद्र दमनकारीहरुले दया र दानका पात्रको रुपमा देखाएर मागी खाने भाँडो बनाएको अवस्था छ भने अर्कोथरी दमनकारी दानवहरुले तिनै दीन दुःखीहरुलाई देखेर द्रवित भई दान दिई दानी र ज्ञानी बन्ने-बनाउने प्रपञ्च गरिरहेको दुःखद अवस्था छ । यसरी आज एकातिर जनताको दैनन्दिन जीवन झन्‌झन्‌ कष्टकर बन्दै गएको छ भने राष्ट्रिय स्वाधीनता, स्वाभिमान, अखण्डता र अस्मिता झन्झन धरापमा पर्दै गएको छ ।

हुँदाहुँदा त आजको यो बहुदलीय लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्था र अवस्थामा पनि अभिव्यक्तिको स्वतन्त्रता, संगठन गर्ने र विरोध गर्नेजस्ता मौलिक अधिकारमाथि समेत नियन्त्रण र निषेध (प्रतिबन्ध) नै गरिएको छ । यहाँसम्म कि देश र जनताको पक्षमा क्रान्ति र मुक्तिका लागि लाग्ने र लड्ने गरेका र गरिरहेका संघ-संगठन र शक्ति-व्यक्तिहरुलाई दमन, धरपकड र हत्या-आतङ्क मच्चाउने समेत गरिएको दुःखद अवस्था छ ।

यसै दुःखद विडम्बनापूर्ण स्थिति र अवस्थामा सत्ताधारी पार्टी नेकपाभित्र र पेरिफेरिका शक्ति र व्यक्तिहरुका बिचमा पद, प्रतिष्ठा, पावर र पैसाका लागि लुछाचुँडी र मरिहत्ते नै गर्ने चासो, चिन्तन र चरित्र हावी भएको छ । यसले गर्दा एकातिर देश अराजकता, अन्यौलता, अस्थिरता, असमञ्जस र अस्तव्यस्तताको अत्यन्त संकटपूर्ण स्थितिबाट गुज्रिरहेको छ । देश अहिले एकातिर एउटा भीषण र भयावह चक्रव्यूहमा पसेर त्यसबाट ननिस्कन सक्ने गरी फस्दैछ छ भने अर्कातिर सत्ताधारी कम्युनिस्ट नाउँको ठूलो पार्टी र त्यसका मुख्य नेताहरु नै वैदेशिक शक्तिकेन्द्रको उक्साहटमा परेर फुट र लुटको जालझेल र चलखेलमा व्यस्त छन् । यसरी सच्चा इमान्दार क्रान्तिकारी जनसमुदायहरुका लागि यो देश, देशका राजनीतिक पार्टी र सत्ताको वर्तमान अवस्था र व्यवस्था ‘चोक्टा खान जाँदा झोलमा डुबेर मरेको’ भनेझैँ अथवा ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ भनेजस्तो परम पीडादायी परिस्थिति बन्न पुगेको छ ।

यसै जटिल, गम्भीर र पीडादायी परिस्थितिबाट देश, जनता र क्रान्तिलाई सही मति र गति दिन भनी केही महिना अघिमात्र ‘मार्क्सवादी एकता अभियान’ गठन भएको छ । यसले सबै नेपाली जनविद्रोह, जनआन्दोलन र जनयुद्धका समग्र विचार र भावनाहरुको तथा त्यसक्रमका सम्पूर्ण सहिद, बेपत्ता, घाइते, बन्दी लगायतका आम जनता, योद्धा, कार्यकर्ता र नेताहरुको सम्झना र श्रद्धास्वरुप फागुन १४ गते नै एक अन्तरक्रिया कार्यक्रम गरेको छ, जसले आन्दोलनको औचित्य र आवश्यकता तथा मर्म र महत्त्वबोध गर्ने-गराउने र सम्बन्धित सबैमा रुपान्तरण हुनु-गराउनु पर्ने सन्देश दिन सफल भएको विश्वास गरिएको छ ।

यसका अतिरिक्त केही वामपन्थी संघ-संस्था र संगठनहरुले गत वर्षदेखि कार्यगत एकताको रुपमा एउटा बृहत् अस्थायी मोर्चा बनाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ज्वलन्त सवालहरुलाई लिएर संघर्ष गर्दै आएका छन् । त्यस्तैगरी चार कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुले पनि हालै एक रणनीतिक संयुक्त मोर्चा निर्माण गरी देशलाई वर्तमान संकटबाट निकास दिनका लागि आफ्ना कार्यक्रममार्फत एकैसाथ कार्यनीतिक नाराको रुपमा अन्तरिम समीक्षा सभा र अन्तरिम सरकार तथा रणनीतिक नारा वा लक्ष्यका रुपमा जनगणतन्त्रलाई अघिसारेको छ । हाल जनगणतन्त्र सम्भव नहुने स्थितिमा त्योभन्दा मुनिको अस्थायी व्यवस्थाको नारा नदिँदा संघर्ष निर्णायक हुने देखिन्न ।

उता वामपन्थीहरुको कार्यगत एकता सुसुप्त छ र करिब करिब यो विघटन (defunct) को सङ्घारमा छ भने विभाजितहरुलाई एकताबद्ध गराउने ठूलो लक्ष्य लिएको एकता अभियानले पनि आफ्नै एकता सुदृढ गर्न सकेको छैन । बरु, अभियन्ताहरुकै आपसी चिन्तन र कार्यशैलीमा देखिएका आग्रह र पूर्वाग्रह, अहम् र जिद्दीजस्ता कमी कमजोरीका कारण मनोमानिल्य, कुण्ठा, कचिङ्गल र प्रतिशोधरूपी रोगले छोएको दुःखद अवस्था आएको छ । यसैगरी कान्छो तर सशक्त र दीर्घजीवी ठानिएको रणनीतिक मोर्चा पनि यसको मूल नेतृत्वपंक्तिमा रहेको संकीर्ण र यान्त्रिक अनि स्वच्छ, ठूलो र पुरानो भएकोमा गरिने गर्व र गौरवको अतिशयोक्तीकरण गर्ने चिन्तन र चरित्रका कारण गठनको पूर्व सन्ध्यामै उछिनापाछिन, आग्रह-दुराग्रह र नियन्त्रण-निषेधको मन्सायबाट मुक्त हुन नसक्दा हालसम्म पनि न यसको विस्तारका लागि कुनै प्रयास भएको छ, न त यसले कार्यक्रमहरुको निरन्तरता र वृद्धिलाई नै ध्यान दिएको छ । यसरी यो पनि त्यति शक्तिशाली र प्रभावकारी बन्न सकेको छैन । तथापि आशा गरौँ विभिन्न कमी कमजोरीका बाबजुद पनि यी मोर्चा र अभियानले ढिलो-चाँडो केही न केही सकारात्मक र क्रान्तिकारी सन्देश पक्कै पनि दिन सक्नेछन् ।

यही सन्देशलाई अवलम्बन, संरक्षण, सम्बर्द्धन र कार्यान्वयन गर्न सकेमा नै जनयुद्ध, जनआन्दोलन, जनविद्रोह र जनक्रान्तिका सम्पूर्ण सहिद, बेपत्ता, घाइते-अपाङ्ग, बन्दी, मुद्दापीडित, योग्य-अयोग्य बनाइएका योद्धा, उपेक्षित-अपहेलित इमान्दार नेता, कार्यकर्ता र शोषित-पीडित जनता र राष्ट्र आदि सबैको उचित स्मरण, श्रद्धा र सम्मान हुनेछ ।

[लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य हुनुहुन्छ ।]