science and religion, विज्ञान र धर्म
 

हिजो न्युजक्लिकले डा. सुष्मा नैथानीसित (धर्म र विज्ञान बारे) अन्तर्वार्ता लिएछ । यो अन्तर्वार्ताको क्रममा कतिपय शिक्षित वर्ग अन्धविश्वास र धर्मान्धतामा रहेको विषयमा चर्चा आयो । यसमा डा. नैथानीले भने, “धर्ममा बन्धुत्व हुन्छ तर विज्ञानमा हुँदैन । यही कारण मान्छेलाई आफ्नो आस्था, धर्म परायणता छोड्न कठिन पर्दछ ।”

उनले यो पनि भने, “विज्ञानमा स्थायी सत्य वा सत्य भन्ने जस्तो केही हुँदैन । आजको सत्य भोलि झुटो हुनसक्छ। तर धर्म वा आस्थामा रहेको सत्य अपरिवर्तनीय हुन्छ।”

कति सरल तर कति गम्भीर ।

पहिला भनिन्थ्यो पृथ्वी सौर्य मण्डलको केन्द्रमा छ र घाम अनि अन्य ग्रहहरू पृथ्वीको परिक्रमा गर्दछ। सबैलाई यसैमा विश्वास थियो । त्यतिबेलाको सत्य त्यही थियो ।

वैज्ञानिक कोपर्निकसले भने पृथ्वी होइन, सूर्य केन्द्रमा छ र सबै ग्रहहरू यसको वरिपरि घुम्दछ। यो नयाँ सत्य भयो पहिलाको सत्य झुटो भयो ।

pempa tamang, पेम्पा तामाङ
लेखक

अहिले ब्रम्हाण्ड देख्न सक्ने दुर्बिनले हेरेपछि थाहा भयो सौर्य मण्डल आफै पनि आकाश गंगाको एक सानो झुण्ड मात्र हो । आकाश गंगा पनि बृहत्तर यस्तै असंख्य झुण्डहरूमा एउटा हो । यतिबेला एकल ब्रम्हाण्ड र बहु ब्रम्हाण्डको अनुमानमा अल्झेको छ । कोपर्निकसको सत्य पनि अर्ध सत्य हुन पुगेको छ यसरी ।

वैज्ञानिक न्युटनले भने दिक (स्पेस) र काल फरक फरक हो । दिक नरहे पनि काल रहनेछ भन्ने उनको धारणा थियो । पूर्वीय शास्त्रले पनि यसै भन्छ । यो समयमा यसकारण दिक र काल फरक रहेको सत्य थियो । तर आइन्स्टाइनले भने दिक र काल फरक हुँदैन । यो एक नभए अर्को पनि हुँदैन । स्पेस नभए टाइम पनि हुँदैन । अब यो नयाँ सत्य भयो न्युटनले भनेको सत्य झुटो भयो ।

डाल्टनले भने एटम अणु वस्तुको अन्तिम एकाइ हो अथवा सूक्ष्मतम् आकार हो । त्योभन्दा अझ सानो हुन सक्दैन । यो विचार उपनिषद्‌मा पनि भेट्टिन्छ। डाल्टनको समयमा सत्य यही थियो सबैले स्वीकार्ने । रदरफोर्ड र मेरी क्युरीले एटमलाई पनि टुक्य्राइदिए र भने एटम टुक्राएमा प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन भेट्टिन्छ । यतिबेला झन विज्ञानले भन्छ वस्तु त भर्चुअल कणले (क्वार्ज पार्टिकल) बनिएको, ठोस होइन । यो त एक कल्पना जस्तो मात्र हो । विज्ञानको सत्य फेरि बदलियो । यो नयाँ सत्य आयो ।

धर्मलाई हेर्नु हो भने यस्तो परिवर्तन आएको देखिन्न । वेदमा लेखिएको सत्य हिन्दू धर्मावलम्बीको निम्ति अझै पनि सत्य हो । दुई हजार वर्षअघि येशुले भनेका वचन अहिले पनि सत्य हो । हजरत मोहम्मदले पन्ध्र सय वर्षअघि भनेका कुराहरू ईस्लाम धर्मावलम्बीका निम्ति आज पनि सत्य हो । धर्म र आस्थामा स्थित सत्य चिरस्थायी हुन्छ ।

धर्ममा यसैले जसरी सत्य रहन्छ, विज्ञानमा त्यसरी रहँदैन । जब जब ज्ञानको विकास हुन्छ, पुरानो सत्यलाई तिलाञ्जली दिँदै नयाँ सत्य स्वीकार गर्दछ । तर धर्ममा नयाँ पुरानोको द्विचर हुँदैन । यसो भन्न सकिन्छ धर्ममा भूत, वर्तमान र भविष्य एकै बिन्दुमा समाहित भएको हुन्छ । विकास भनेको विज्ञान हो, यथास्थितिवाद भनेको धर्म हो ।

धर्मको यही मूल चरित्र भएको कारण धर्मपरायण व्यक्तिलाई विज्ञानसम्मत ज्ञान अवलम्बन गर्न स्वीकार हुँदैन ।

विज्ञान भावना बन्धुत्व परक हुँदैन । यसको निम्ति तथ्य सर्वाधिक महत्त्व हुन्छ । यसमा क्षमता प्रतिभा लगन आधारभूत आवश्यकता मानिन्छ । तर धर्ममा एउटा धर्म समुदायभित्र सहोदरपन हुन्छ । धार्मिक समुदायभित्र सबै एकसमान हुन्छ । धर्म वा त्यसको आचरण/संहिता सबैले स्वीकारेको हुन्छ । समूहभित्र बन्धुत्व हुन्छ ।

मान्छेको यही भावनात्मक संवेदनशीलताले उसलाई धर्मप्रतिको आकर्षण बनाइरहन्छ । एक्लोपन हुनेको भय, असहाय रहने डरले जीवन सन्त्रासमय रहन्छ । यसबाट मुक्ति उसले विज्ञानबाट होइन, धर्मबाट सहज हुने मान्दछ । कुटिल मानिसहरू मान्छेको यही कमजोर मानसिकताको अनुचित लाभ उठाएर उसलाई धर्मभिरु कायर र अन्धविश्वासी बनाउन सफल बन्दछ ।

र, यो पनिः

धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा – क. लोकनारायण सुवेदी

धर्मको वास्तविकताः एक मार्क्सवादी दृष्टिकोण – क. लोकनारायण ससुवेदी

(लेखक भारतीय नेपाली समालोचक हुनुहुन्छ ।)