नेकपा (माओवादी केन्द्र) पुनर्निर्माणका लागि केही कुराहरू:
१. मालेमाको विचार, सिद्धान्त र राजनैतिक कार्यदिशाद्वारा नेपाली क्रान्तिको बाटो र अन्तर्विरोधको स्वरूप स्पष्ट गरौँ ।
२. पूर्व समूह, गुट, उपगुट र प्रायोजित स्वार्थबाट मुक्त भई सबैलाई उचित मूल्याङ्कनसहित उचित जिम्मेवारी दिऊँ ।
३. चुस्त कमिटी तर व्यापक संगठन निर्माणको पहल गरौँ । भारी भद्दा कमिटीले पार्टीभित्रको अन्तरजनवाद नाश हुन्छ र पार्टीभित्र थोरै व्यक्तिको तानाशाही सुरु हुन्छ ।
४. तात्कालिक राजनीतिको वस्तुगत मूल्याङ्कन गरी कार्यनैतिक योजना तय गरौँ ।
५. संसदवादको घेराबाट मुक्त हुँदै संसदीय र गैरसंसदीय संघर्षको माध्यमबाट वर्गसंघर्ष अगाडि बढाउने योजना सुनिश्चित गरौँ ।
६. विचार, राजनीतिको आधारमा क्रान्तिप्रतिको विश्वास पैदा गर्न हरेक नेतृत्व र कमिटीहरू जहाँ जनता छन्, त्यहाँ जाने अभियानको नियमित एवम् आवधिक कार्य योजना बनाऊँ ।
७. ढोँगी विरासत, दम्भ, अहङ्कार त्यागौँ । विलासी जीवनबाट अलग भई सोझो गोरुझैँ जनताको बिच जाऊँ ।
८. हामी अन्य पार्टीका नेता कार्यकर्ता भन्दा भिन्नै छौँ ? हाम्रो विचार, चेतना, जीवनशैली, सांस्कृतिक धरातल, कार्यशैली, आर्थिक सम्बन्ध र चलखेल, सामाजिक सम्बन्ध र उठबस, खानपिन, कमिसन, चन्दा असुली, दुई नम्बरी धन्दा, यौन जीवन आदिमा अरुभन्दा उन्नत तहमा छौँ ? स्खलित आचरण र संस्कृतिमा परिवर्तन र शुद्धीकरण नआएसम्म पार्टी बन्दैन । परिवर्तनको सुरुवात गरौँ ।
९. कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणको पहल थालौँ । मोर्चा निर्माणको कार्य योजना बनाऊँ ।
१०. मुलुकको सार्वभौमिकता इतिहासकै संवेदनशील र संकटपूर्ण अवस्थामा छ ।अतिक्रमण, असमान सन्धि, बहुआयामिक हस्तक्षेप र हिंस्रक इष्ट इण्डिया कम्पनीको रूपमा घातक एमसीसीसँगको सम्झौताको खारेज अभियान चलाऊँ ।
११. देशघाती, जनघाती, विस्तारवाद र साम्राज्यवादको दलाल, भ्रष्ट, अनैतिक सरकारको भण्डाफोर अभियान चलाऊँ ।
१२. कोरोना महामारी नियन्त्रण र उपचार सहयोगका निम्ति विशेष कुटनैतिक पहल लिऊँ । जनताको राहत र सेवाका निम्ति स्वयंसेवी संस्था परिचालन गरौँ ।
लेखक नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य हुनुहुन्छ ।