नेकपाका अध्यक्षद्वय, केपी ओली, प्रचण्ड,KP Sharma Oli, Pushpa Kamal Dahal, Prachanda, ओली-प्रचण्ड
 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डलाई खुलेरै समाजवादको पक्षमा वकालत गरिरहेको देख्न सकिन्छ भने अर्का अध्यक्ष ओली समाजवादको पक्षमा काम गर्न रूचाइरहनु भएको छैन । बरू समाजवादका पक्षधरहरूलाई लडाएरै अघि बढ्ने मनस्थितिमा हुनुहुन्छ र सजिलै समाजवाद विरोधीहरुको चाललाई जित्न दिने मनस्थितिमा प्रचण्ड नभएको प्रष्टै देख्न सकिन्छ ।

नेपाल कम्युनिस्ट पार्टीमा देखिएको यो रस्साकस्सी नयाँ भने होइन । यो कम्युनिस्ट पार्टीको रोग नै हो । जुन कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै रोगकै रूपमा निरन्तर चल्दै आइरहेको छ ।

यो रोगलाई एकथरी अमेरिकी साम्राज्यवादी चाल भन्छन् भने अर्काथरी भारतीय विस्तारवादको चाल भन्छन् । जसले जे भनेपनि नेपाल कम्युनिस्ट पार्टी समाजवादी लाइनमा हिँड्नुपर्छ । यस मानेमा अध्यक्ष प्रचण्ड सही मार्गमा छन् र समाजवाद उन्मुख यात्रामा आएका वाधाहरु पन्छाउँदै अघि बढ्न दृढ छन् भन्ने देखिन्छ भने अर्का अध्यक्ष ओली सानोतिनो विकासे नारा दिएकै भरमा भ्रष्टाचारीको ढाकछोप गरेरै २ वर्ष कटाइसके र बाँकी अवधी पनि समाजवाद विरोधीकै रूपमा शासन गर्ने मनस्थितिमा देखिन्छन् । यो रोगलाई समय छँदै उपचार गरिएन भने सिंगो नेपाल कम्युनिस्ट पार्टी थल्लिने लगभग निश्चित छ ।

आशा छ समाजवादले विजय हासिल गर्ने छ । सँगसँगै इतिहास मै पहिलोपल्ट शक्तिशाली भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा फुट्न दिनु हुँदैन । अझै दुई वर्ष भित्र धेरैधेरै समाजवादी कामहरु गर्न सकिन्छ । यो समयलाई गुम्न नदिन सबै आम कार्यकर्ता एकजुट भएर लाग्नुपर्दछ ।

कार्ल विक्रम थापा, karl bikram thapa
लेखक

नेपाल कम्युनिस्ट पार्टीभित्र आएको विचलन सम्बन्धमा “रोगीलाई बचाउनका निम्ति रोग निको तुल्याऊ” अर्थात “पार्टीलाई कम्युनिस्ट र मार्क्सवादी धारमा ल्याउन गैर कम्युनिस्टहरुको उपचार गर” । यो एउटा उक्ति नभएर पद्धतिको रूपमा नै विकास गरेर पार्टीको आन्तरिक शुद्धता ल्याउनमा दरिलो निष्कर्ष हुनेछ । यो पद्धतिलाई २ वटा धारमा कडाईका साथ अघि बढाउँदै लानुपर्छः १. आन्तरिक र २. बाह्य  ।

१. आन्तरिकः

क. अनुशासन

ख. सम्पत्ति

ग. भ्रष्टाचार नियन्त्रण

घ. प्रचारप्रसार तथा शिक्षा

क. अनुशासन:

नेपाल कम्युनिस्ट पार्टी भनेकै अनुशासनको जगमा उभिएको एउटा संगठनात्मक नेतृत्व प्रदायक जनउत्तरदायी सभा हो । हरेक कुरामा पार्टीको निर्देशन अनुसार चल्नु पार्टीको हरेक पदाधिकारी वा साधारण सदस्यको कर्तव्य हुन्छ र अनुशासनको उल्लङ्घन गर्ने पार्टीको सर्वोच्च पददेखि साधारण सदस्यसम्मलाई एकैनाशले कारवाही हुनुपर्दछ । यो कम्युनिस्ट पार्टीको सुद्धासुद्धिका लागि महत्त्वपूर्ण र अत्यावश्यक विधि हो । अनुशासनको पालना विना कम्युनिस्टहरुले जनाताको विश्वास जित्न सक्ने छैनन् किनकि कम्युनिस्ट पार्टी जनतामाझ जन्मेको हुन्छ । जनताले विश्वास गरेको नेतृत्वले पार्टीभित्र वा सरकारमा भूमिका खेल्नुपर्ने हुन्छ । त्यही भूमिका राष्ट्र निर्माणको निम्ति नीति बन्नेछ । यसकारण पार्टीमा सर्वोच्च पदभन्दा अनुशासन कार्यान्वयन समिति शक्तिशाली हुनुपर्दछ । कम्युनिस्ट पार्टीमा रहेको सचिवालय, स्थायी समिति र पोलिटब्युरो अनुशासनको दायरामा रहनुपर्छ ।

कतिसम्म भने एकपटक माओत्सेतुङलाई एकजना बृद्धले आफ्नो नातिलाई चिनी नखानका लागि भन्दिन अनुरोध गरे र भने “कमरेड मेरो नातिले धेरैनै चिनी खायो यसलाई चिनी नखानु भनेर तपाईंले भन्दिनु भयो भने यसले मान्ला कि ? “

माओत्सेतुङले यति सामान्य कुरा पनि तत्काल भनेनन् र भने “यो बच्चालाई लिएर तपाईं २ महिनापछि लिएर आउनुहोस् । त्यसपछि भनौँला “ती बृद्ध अचम्ममा पर्दै रिसाएर घर फर्के र २ महिना बितेपछि फेरि माओत्सेतुङकहाँ बच्चा लिएर पुगे र भने लौ कमरेड यसलाई चिनी नखानका लागि भन्दिनु पर्‍यो । तब माओत्सेतुङले भनिदिए “बाबु, चिनी नाखानू है” । बच्चाले पनि “हस्” भनेर तत्काल स्विकारोक्तिमा टाउको हल्लायो । ती बृद्धले रिसाउँदै माओत्सेतुङलाई भने “कमरेड यत्ति कुरो २ महिनाअघि भन्दिनुभएको भए यसले उहिल्यै चिनी खान छोड्ने थियो । त्यतिखेरै किन नभन्नु भएको ?”

माओत्सेतुङले भन्नुभयो “२ महिनाअघि म आफै चिनी खान्थेँ, अनि म त्यो बालकलाई कसरी चिनी नखानका लागि भन्दिन सक्थेँ ?, मैले अहिले चिनी खान छोडेको २ महिना भयो र चिनीको स्वाद बिर्सें । तब तपाईंको नातिलाई चिनी नखानका लागि भन्न सकेँ ।”

यो हो अनुशासन । कम्युनिस्ट पार्टीका लागि नागरिक सर्वोच्चता हुनुपर्दछ, मजदुर, किसान तथा सर्वहारावर्गका लागि केही गर्न नसक्नु कम्युनिस्ट अनुशासनहीनता हो ।

कम्युनिस्ट पार्टीको प्रत्येक सदस्य अनुशासित हुनु जरुरी छ । मुख्य कुरा पार्टीको निर्देशन कडाईका साथ पालना गर्नु गराउनु पर्दछ । कम्युनिस्ट पार्टीको निर्देशक सिद्धान्त पालना गर्न कटिबद्ध रहनुपर्छ । वर्तमान अवस्थालाई नियाँल्दा पुँजीवादी संसदीय व्यवस्ठाभित्र रहेको अवस्थामा पाएको जनमतलाई सदुपयोग गर्दै पार्टीले न्यूनतम् मार्क्सवादी सिद्धान्तको आसपासमै पुग्ने गरी भए पनि सरकारलाई निर्देशित गर्नुपर्दछ र सरकारले पार्टीको त्यस्तो निर्देशनलाई लत्याउन पाउँदैन । लत्याएको खण्डमा अनुशासनको कारबाही गरेर सरकारमा रहेका व्यक्तिलाई सरकारी पदच्यूत गर्न कम्युनिस्ट पार्टीले रत्तिभर खुट्टा कमाउन हुँदैन र मार्क्सवादी सिद्धान्तको नजिक पुग्ने बाटोमा आफूलाई उभ्याउनुपर्छ ।

ख. सम्पत्ति:

कम्युनिस्टहरुले निजी सम्पत्ति राख्न सक्दैनन् । कम्युनिस्टहरुका निमित्त कम्तिमा सम्पत्ति पार्टीलाई बुझाएको हुनुपर्दछ । सम्पत्ति नीजि कब्जामा राख्ने बित्तिकै त्यो कम्युनिस्ट हुन सक्दैन । “कम्युनिस्ट” भन्ने बित्तिकै समान equal हो, नेतृत्वमा रहनेले निजी सम्पत्ति राख्न सक्दैनन् । यही नै कम्युनिस्ट नेतृत्वको न्यूनतम् आधार हो ।

ग. भ्रष्टाचारः

कम्युनिस्ट सत्तामा पुगेपछि पनि भ्रष्टाचार नियन्त्रण नहुनु कम्युनिस्ट चरित्र विपरित कार्य हो । भ्रष्टाचारी विरूद्ध कम्युनिस्टहरुले कडा कानून बनाएर नियन्त्रण गर्दछन् । कुनै पनि भ्रष्टाचारी प्रमाणित भएमा क्षमायोग्य हुने छैनन् ।

घ. प्रचार-प्रसार तथा शिक्षाः

कम्युनिस्ट पार्टीको आधार मजदुर, किसान तथा सर्वहारावर्ग हुनुपर्दछ र पार्टीलाई जीवन्त राख्न प्रचार-प्रसार तथा शिक्षा निरन्तर चालु राख्नुपर्छ, जसले गर्दा कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास अटुट रूपमा रहिरहोस् र भ्रामक सन्देशहरुका विरूद्ध हरेक क्षण नागरिक जागरुक रहिरहुन् ।

२. बाह्य

क. सैन्य हस्तक्षेप मिश्रित सहयोग

ख. सबै तिरको सिमानामा भिसा, पासपोर्ट प्रणाली ।

क .सैन्य हस्तक्षेप मिश्रित सहयोगः

दुईतिर विशाल भारत र चीनले घेरेको भूपरिवेष्ठित हाम्रो मुलुक, भारतसँग सबैभन्दा धेरै दक्षिण, पूर्व र पश्चिममा सिमाना जोडिएको छ भने उत्तरमा सबै भू-भाग चीनसँग जोडिएको छ ।

साम्राज्यवादी मुलुकहरू कम्युनिस्ट पार्टीलाई फुटाएर छिन्नभिन्न तुल्याउन हरेक दिन प्रयत्नरत रहन्छन् । कुनै पनि बाह्य सैन्य हस्तक्षेप हुनसक्ने सम्झौता वा आर्थिक चलखेल अस्विकार हुनुपर्दछ । यो कम्युनिस्टहरुको चरित्रभित्र पर्दैन । कम्युनिस्टहरुले आत्मनिर्भर हुने कार्यदिशातर्फ थुप्रै कामहरु गर्नुपर्छ ।

अ.  कृषिमा मध्यम वर्गको खेतीयोग्य जमिन चक्लाबन्दी गरेर सरकारी विशेषज्ञको निगरानीमा वैज्ञानिक खेती गर्ने र अन्न वा उपजको बजार व्यवस्थापन पनि सरकारले नै गरेर न्यायोचित मूल्यांकनमा किसानहरुलाई बाँड्ने, खेतीयोग्य जमिन जमिन्दारहरूको हातबाट खोसेर गरिब किसानमा बाँड्ने वा अधिग्रहण गरेर राज्यको मातहतमा राखेर सामूहिक खेती कै माध्यमबाट कृषकहरुलाई लाभान्वित गराउँदै लैजानुपर्छ । हाम्रो जस्तो मुलुक पूरै समाजवादमा प्रवेश गर्न पनि यी चरणहरु पार नगरी सम्भव पनि छैन ।

आ. धनी किसान वर्गको जमिनलाई एउटा हदबन्दी लागू गरेर बढी भएको जमिन तिनै गरीब कृषकहरुलाई नै बाँड्ने र जमिन्दारहरूको हकमा तिनीहरुले आफ्नो परिवारभित्रै लुकाएर राखेको जमिन पहिचान गरेर चेतावनी दिएर मध्यमवर्ग सरह जमिन राख्न लगाउने । नत्र सम्पूर्ण जमिन राज्यले तुरून्त कब्जामा लिनुपर्छ र गरिब किसानमा बाँड्नुपर्छ ।

माथिका यी दुई प्रणालीबाट उत्पादित उत्पादनलाई सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारको पहिचान गरेर निर्यात गरेर कृषकहरुलाई लाभान्वित गराउँदै लैजानुपर्छ । राज्यले कर लिन आवश्यक ठानेमा कर कट्टा गरेर कृषकहरुलाई बाँकी रकम उपलब्ध गराउनु पर्छ ।

इ. औद्योगिक मजदुरहरुको हकमा अहिले विद्यमान सहकारीलाई राज्यले तुरून्त कब्जामा लिनुपर्छ । यिनीहरु नवसामन्त हुन् । यिनीहरुले गरिब जनताको रगत चुसिरहेका छन्, (*सहकारीले कसरी जनताको रगत चुसिरहेका छन् अर्को लेखमार्फत प्रस्तुत गर्नेछु) ।

ई. हालको सहकारी खारेज गरेर औद्योगिक अवधारणासहितको सहकारी संस्थाको विकास गर्नुपर्छ । जुन सहकारी संस्थाले औद्योगिक विकासको लागि मात्र काम गर्नेछ । उदाहरणका लागिः  एउटा सिमेन्ट फ्याक्ट्रीमा कार्यरत अनुभवी २५ वा सो भन्दा अधिक मजदुरहरुको संगठनले सिमेन्ट फ्याक्ट्री खोल्ने प्रयोजनार्थ सो उद्देश्यका साथ सहकारी संस्था खोल्न सक्नेछ र सो सहकारी संस्थाले त्यही सिमेन्ट फ्याक्ट्रीमा मात्र लगानी गर्नेछ । त्यसको अनुगमनसहित सरकारले आवश्यक जमिन, कच्चा पदार्थ, ऋण उपलब्ध गराउनुपर्छ, जसले गर्दा रोजगारी श्रृजना हुन्छ । त्यो सहकारी संस्थालाई अन्यत्र लगानी गर्न प्रतिबन्ध लगाइनुपर्छ । तर त्यो फ्याक्ट्रीबाट उत्पादित वस्तुको खपत ग्यारेन्टी सरकारले सुनिश्चित गर्नुपर्छ । उत्पादित वस्तुको आयात कम गर्दै लग्ने प्रणालीको विकास गर्नुपर्छ । फ्याक्ट्री धराशायी हुने अवस्थाको निरन्तर अनुगमन, लेखा परीक्षण राज्यले गर्नुपर्छ । त्यस्तो धराशायीको अवस्था श्रृजना भएमा राज्यले तुरून्त नियन्त्रणमा लिने र सुचारु गर्ने प्रक्रिया थाल्नुपर्दछ । किसान र मजदुर वर्गमा उलेख्य प्रयोगले देश समृद्धितर्फ उन्मुख हुँदा, विदेशी सहयोग लिनुपर्ने अवस्था कम हुँदै जानेछ ।

यो दुई प्रकारका प्रणालीको विकाश कसरी गर्न सकिन्छ भन्ने प्रयोजनार्थ घनिभूत छलफल गर्दै समाजवादतर्फको यात्रा अघि बढाउँदै लानुपर्छ ।

यी प्रणालीको साथसाथै शिक्षा, स्वास्थ्य, स्थानीय यातायात अनिवार्य निःशुल्क गर्नुपर्छ ।

ख. सबै तिरको सिमानामा भिसा र पासपोर्ट प्रणालीः

चीनतर्फ यद्यपि भिसा र पासपोर्ट प्रणाली लागू भैरहेको अवस्था छ भने भारततर्फ खुला सिमानाको कारण देश विकासमा वाधा श्रृजना भैरहेको छ ।

अ. आतंकवाद, आ. स्वदेशी रोजगारीमा वाधा र, इ. राष्ट्रियतामाथि आघात

अ. आतंकवाद
आतंकवादको ठ्याक्कै मापदण्ड सहितको परिभाषा नभएतापनि छिमेकी देश लक्षित आतंकवाद, छिमेकी देशमा संचालित आतंकवाद यी दुई वा अन्य कारणले श्रृजना हुने आतंकवाद खुला सिमाना र मिल्दोजुल्दो अनुहार भएको कारणले सजिलै विना रोकतोक आवतजावत गर्न सक्ने भएको कारणले सिमाना नियन्त्रण पर्खाल वा काँडेतार लगाएर भिसा र पासपोर्टको ब्यबस्थापन गर्नु अत्यन्तै आबश्यक भैसकेको छ । “रोगीलाई बचाउन निम्ति रोग निको तुल्याउ” पद्दती कै रूपमा बिकाश गर्नुपर्छ र त्यसका निम्ति सबै तिरको सिमानामा भिसा, पासपोर्ट प्रणाली लागू गर्नुपर्दछ ।

आ. स्वदेशी रोजगारीमा वाधाः

खुला सिमानाकै कारणले अत्यन्तै गरिब भारतीयहरु रोजगारीको खोजीमा नेपाल प्रवेश गर्ने गरेकाछन् । त्यसले हाम्रो समग्र अर्थतन्त्रमा नै निरन्तर प्रभाव पारिरहेको छ । वार्षिक अर्बौं-खर्बौं रूपैयाँ भारतीयहरूले रोजगारी बापत लाने गरेको छ । उदाहरणका लागिः कपाल काट्ने व्यवसायमा ९०% भारतीय नागरिकको दबदबा रहेको पाइन्छ र कपाल काटे बापत मात्र बार्षिक २७ अर्ब रूपैयाँ भारतीयहरूले लाने गरेका छन् । यस्ता व्यवसायको पहिचान गरेर स्वदेशी युवाहरुलाई तालिम दिएर रोजगारीको श्रृजना गर्नुपर्छ ।

यसको मतलव भारतीयहरूलाई रोजगारी नदिने भनेको पनि होइन तर अनियन्त्रित र जथाभावी भने होइन । भिसा लगाएरै प्रवेश गर्नेछन् र स्विकृती लिएर व्यवसाय वा रोजगारी निश्चित अवधिका लागि गर्नेछन् ।

यसो गर्नाले हाम्रा स्वदेशी युवाहरूका लागि अधिक रोजगारीको श्रृजना हुन पुग्दछ र वैदेशिक रोजगारीमा जाने संख्या निरन्तर कम हुँदै जान्छ र एकदिन अन्त्य हुनेछ ।

एकातिर स्वदेशी युवाहरु रोजगारीको सिलसिलामा खाडी मुलुक लगाएतका देशहरुमा भौँतारिन बाध्य छन् भने अर्कोतिर भारतीयहरूले हाम्रो रोजगारीमा निरन्तर हस्तक्षेप गरिरहेका छन् ।

यो असमान रोजगारीको खाडललाई वैज्ञानिक तथा व्यावसायिक शिक्षा दिँदै लैजानु पर्छ । यसले स्वदेशी रोजगारीका बाधाहरु हटाउँदै लानेछन् । कम्तिमा विद्यालय तहमै व्यावसायिक शिक्षा २०० अंक सहित अनिवार्य गरेर लानुपर्छ ।

कम्तिमा यस्ता व्यवसायः कपाल काट्ने, सवारी साधन चलाउने, लुगा सिलाउने, प्लम्बर, ईलेक्ट्रिसियन, ग्रिल व्यवसाय, घर बनाउने, पुल बनाउने, बाटो बनाउने, विद्युत उत्पादन, विद्युतीय यन्त्र उत्पादन आदि जस्ता अरु थुप्रै व्यवसायको पहिचान गरेर रोजगारीको श्रृजना गर्न सकिन्छ । विदेशी नागरिकमाथि नियन्त्रण गर्न सके मात्रै यो सफल हुन्छ ।

आ. राष्ट्रियतामाथि आघातः

नियन्त्रित भिसा पासपोर्ट प्रणाली लागू नहुँदा समुदायमै रहेर राष्ट्रियतामाथि धाबा बोल्ने तत्त्वहरु निरन्तर सक्रिय भइरहने र अराष्ट्रिय गतिविधिमा सकृय भइरहने हुँदा यस्तो अवान्छित गतिविधि नियन्त्रण नगरे राष्ट्रियतामाथि गम्भीर प्रश्न उठ्न सक्छ ।

हाम्रो देशमा जनताको श्रेणीमा अन्तरविरोधको श्रृङ्खला बुद्धिजीवीहरूमा पनि प्रकट भइरहेका छन् । नयाँ समाजका लागि काम गर्न दशौँ लाख बुद्धिजीवीहरू अग्रसर छन् । तिनको पहिचान मार्क्सवादी विद्यालय मार्फत मात्र हुन सक्दछ । समाजवादप्रति सशंकित हुने, समाजवादको विरोधीहरुको खेमामा उभिने र कम्युनिस्ट पार्टीभित्र बसेर विकासे नाराहरुमा अल्मल्याएर समाजवादको विरूद्ध नेतृत्व गर्नेहरूलाई पार्टीको हाई-कमाण्डले अटल रहेर कारबाही गरिहाल्नु पर्दछ । यो नै कम्युनिस्ट पार्टीभित्रको महारोग हो । “रोगीलाई बचाउनका निम्ति रोग निको तुल्याऊ” वा शल्यक्रिया गरेर समाजवाद विरोधी रोगी अंग पन्छाएर अघि बढ । यो नै कम्युनिस्ट पार्टीको आजको आवश्यकता हो ।

(लेखक क. तुलसीलाल अमात्य निकट रहेर काम गरेका वामपन्थी नेता हुनुहुन्छ ।)