narayan sharma kamal prasad, नारायण शर्मा 'कमलप्रसाद'
 

नेपालमा विगत लामो समयदेखि भइरहेका बेथिति, अनियमितता, कमिसनखोरी, महङ्गी, कालाबजारी, दलाली र भ्रष्टाचार आदि-इत्यादि भयावह परिघटनाहरुका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या विकराल बन्दै गइरहेका छन् ।

त्यसमाथि हालैको आयातित अनिष्ट (कोरोना भाइरस नामक विश्वव्यापी महामारी) को प्रकोप र आतङ्कसँगैको सरकारी आलटाल, अस्तव्यस्तता, अनियमितता, गैरजिम्मेवारी, भद्रगोल र भाँडभैलोका बिच यस महामारीबाट बच्नका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको भयङ्कर भ्रष्टाचारलाई लिएर भइरहेका चौतर्फी भर्त्सना र भण्डाफोरका कारण दिनानुदिन खोक्रो र कमजोर बन्दै गइरहेको वर्तमान सरकारका विरुद्ध विद्रोह र विष्फोटको वातावरण बनिरहेको छ ।

यो अवस्था भनेको निकै नाजुक, संवेदनशील र गम्भीर अवस्था हो । यसै अवस्थालाई पुँजीकृत गर्दै देशी-विदेशी प्रतिकृयावादी (साम्राज्यवादी-विस्तारवादी) शक्तिहरुले प्रतिगमन र प्रलयका दुस्प्रयास र षड्यन्त्रहरु गरेर हाम्रो भविष्यप्रति निकै नै गडबड गरिरहेकाछन् ।

अहिले समाजवादी-साम्यवादी क्रान्तिकारी र वैज्ञानिक विचारधारा, व्यवस्था, विधि र व्यवहार तथा यी बारेका वैचारिक बहस आदि सबैको विघटन र विसर्जन हुँदै गइरहेको विषम र विडम्बनापूर्ण वर्तमानमा समाजवादी-साम्यवादी सिद्धान्तबाट शिक्षित, सचेत र संघर्षशील सदस्य/नागरिकका नाताले के गरौँ, कसो गरौँ, केही न केही त गरौँ भन्ने लागिरहेको थियो ।

यसै बिचमा हाम्रो दस वर्षे महान जनयुद्धका टेक्निकल साइन्स विभागका प्रमुख क. दिवाकर अर्थात देवेन्द्र श्रेष्ठले फोन गर्नुभयो र हाम्रा बिचमा देश, जनता, क्रान्ति र पार्टीको रक्षाका लागि केही गरौँ भन्ने प्रसङ्गमा राम्रो सरसल्लाह भयो । यस सन्दर्भमा सर्वप्रथम निश्चित सीमा तय गर्ने, ती सीमाभित्र समेटिने विशेष व्यक्तित्वहरुको नामावली संकलन गर्ने, उहाँहरुसँग सम्पर्क गरी एकल वा सामूहिक रुपमा पहिले साइवर र पछि सम्भव भएमा प्रत्यक्ष छलफल गर्ने गरी एउटा कार्ययोजना र एउटा सशक्त प्रभावकारी टीम बनाएर राज्य र आन्दोलनमा हुँदैगरेको प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्ने कार्यक्रमहरु कार्यान्वयन गर्ने-गराउने भन्नेमा पुगियो ।

यसो गर्दा सके त केही न केही सकारात्मक उपलब्धि पनि होला, नभए/नसके पनि कम्तिमा हामीले आफ्नो दायित्व पूरा गर्न गरेको प्रयत्न/संघर्षले हामीलाई आत्मसन्तुष्टि त देला भनेर केही गर्ने प्रस्ताव अघि सार्ने जमर्को गरिएको हो ।

हुन त आज एकातिर राज्यसत्ता, राज्यशक्ति, राज्यसंयन्त्र अनि समाज र पार्टीका पदवाला र पावरवालाहरु प्लस पद, प्लस पावर, प्लस पैसा, प्लस प्राण, प्लस प्रतिष्ठा, प्लस पहुँच र प्लस प्रेयसीका पछिपछि प्राप्त पद-प्रतिष्ठा र प्राणपखेरुको पनि प्रवाहबिना परिवारवाद, पेरिफेरिवाद र परभक्तिवादको पोखरीमा पौडिरहेको पीडादायी परिवेश छ भने अर्कातिर पछिल्ला पिँढिका प्रिय पात्रहरु पनि आफ्ना दिल-दिमाग र दैनिकीमा दलाली, दासता, दम्भ र दादागिरी दर्ज गर्दै सत्ता, शक्ति, संगठन र संघसंस्थाको उपयोग-दुरुपयोग गर्दै आफ्नो कलो, थलो र टालोको निम्ति भ्रष्ट, दुष्ट र पापिष्टसँग समेत कला-गला र गाला-माला मिलाउने ताल, चाल र ढाल चलिरहेकाछन् ।

नयाँ वा दोस्रो पुस्ताका भनिने यी उत्तराधिकारी ठानिनेहरु पनि आआफ्ना गास, बास, कपासको नाममा लासको राजनीतिमा भौँतारिरहँदा उम्कनै नसकिने भ्रष्टाचारको भयङ्कर भासमा भासिएको दुःखद विडम्बनापूर्ण अवस्था समेत भयो ।

त्यही जटील, गम्भीर र संवेदनशील घडीमा पाखा पारिएका र परपर पुगेका पुरानो वा पछिल्लो पुस्ताका पवित्र प्रतिभाहरुले क्रान्ति, मुक्ति र प्रगतिलाई मति र गति दिन ‘जेजति सकिएला दिनुपर्छ, दिऊँ र केही त गरौँ है’ भनेर नै गत फागुन १ गते जनयुद्ध दिवस विभिन्न समूहमा छरिएर रहेका संगठित वा स्वतन्त्र माओवादी जनयुद्धका नेता, कार्यकर्ता, योद्धा र समर्थक-शुभचिन्तक लगायतका केही इमानदार क्रान्तिकारी कमरेडहरुद्वारा अलि भिन्न प्रकारले स्मरण गर्दै मनाइएको थियो ।

यसरी बागबजारको हार्दिक होटलमा २५औँ जनयुद्ध दिवस मनाएर हामीले जनयुद्धको विचार, लक्ष्य, मर्म र भावना सही रहेको, त्यसको योगदान र बलिदान अमूल्य रहेको र त्यसका सहिद, बेपत्ता, घाइते र जेल-हिरासतबन्दीहरु सम्मान र सम्झनायोग्य रहेका अनि जनयुद्धको सञ्चालन गर्ने नेता-कार्यकर्ता र जनयुद्धका सहभागी, समर्थक र सहयोगीहरुको त्याग, तपस्या र लगानी र कुर्वानी स्तुत्य रहेको संश्लेषण गरिएको थियो ।

साथै, उक्त कार्यक्रमद्वारा छरिएर रहेका सम्पूर्ण नेपाली कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्ने; सहिद, बेपत्ता र घाइते योद्धाका अधुरा सपना साकार पारिनुपर्ने, कम्युनिस्ट पार्टीका राष्ट्रिय-अन्तर्राष्ट्रिय संस्थापक र गुरुहरुका अपूरा नीति, योजना र कार्यक्रमहरु पूरा गरिनुपर्ने जस्ता महत्त्वपूर्ण सन्देश संप्रेषण गर्ने प्रयत्न भएको थियो ।

त्यसैले पनि त्यसलाई निरन्तरता दिन र वर्तमानमा पार्टी र राज्यको नेतृत्व, समग्र पार्टीपंक्ति, राज्यव्यवस्था अनि समाज र संस्कार-संस्कृतिमा अन्तर्निहित व्यक्ताव्यक्त, दृश्यादृश्य र चुरप्रचुर विचलन-विघटन, विकृति-विसङ्गति तथा हालैको कोरोना महामारी र यसले गर्दा बढेका भोकमरी लगायतका तत्कालका समस्या अनि प्रतिक्रान्ति र प्रतिगमनजस्ता तत्कालीन र दीर्घकालीन समस्याहरुका विरुद्ध प्रभावकारी र परिणाममुखी संघर्ष सफल पार्न जरुरी छ ।

लाग्छ, यसरी मात्र एकातिर जनयुद्ध र जनआन्दोलनका असली नीति, निर्णय, निर्देशन, नारा र नायकहरुलाई स्थापित र सम्मानित गर्न सकिन्छ भने अर्कातिर यसका वास्तविक खलनायकहरुलाई विस्थापित र पराजित गर्न सकिन्छ । अनि, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अग्रगामी र प्रगतिशील उपलब्धिहरुलाई संरक्षण र सम्बर्द्धन गर्दै थप उपलब्धिका लागि लड्न र बढ्न सकिन्छ, जुन आजको हाम्रो प्रमुख दायित्व र अनिवार्य आवश्यकता पनि हो ।

तसर्थ, अहिल्यै सामाजिक सञ्जालमा सबैतिर रहेका सच्चा, स्वच्छ, स्वाभिमानी, स्वविवेकी, न्याय-समानता र स्वतन्त्रताप्रेमी, इमान्दार, क्रान्तिकारी र देशभक्तहरुको एउटा समूह बनाई छलफल गरौँ, कार्यक्रम बनाऔँ र जनतालाई जगाऔँ र जुटाऔँ । सबैतिरका सच्चा नेताहरुलाई सर्वप्रथम सही सुझाव दिऔँ, साहस भरौँ र साथ दिऔँ । नभए चेतावनी दिऔँ, खबरदारी र हस्तक्षेप गरौँ । जे होस्, जसरी होस्, वर्तमानको यो ज्यादै नै संवेदनशील अवस्थाबाट देश र जनतालाई पार लगाउन संयुक्त, सशक्त र निर्णायक प्रयत्न गरौँ । अस्तु ।।

[लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व सभासद हुनुहुन्छ ।]