एमाले, नेकपा (एमाले), cpn uml, communist party of nepal unified marxist and leninist
 

नेकपा (एमाले) दोस्रो पुस्ताका मुख्य नेतृत्व विघटित कार्यदलका सदस्य छन् र आफूलाई युवा नेतृत्व भन्दै एकताबद्ध हुने बहसमा छन् । केपी ओली र माधवकुमार नेपाललाई बिदाइ गरेरै भए पनि नयाँ नेतृत्वको एमाले निर्माण गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

केपी ओली तत्काल दोस्रो पुस्ताले भने जसरी न त नेतृत्व छोड्न तयार छन्, न त त्यो कार्यदल केपी ओलीलाई पार्टी अध्यक्षबाट विस्थापन गर्न नै सक्छ ।

ओली र नेपाललाई विस्थापन गर्नेगरी दोस्रो पुस्ताका नेताहरू मौजुदा एमालेको दुवै समूहमा सर्वसम्मत, नेतृत्व क्षमता र नेतृत्व नै निर्माण भएको छैन । नेतृत्व निर्माण एउटा आन्दोलनले जन्माएको हुनुपर्छ ।

दुवैतर्फका तेस्रो पुस्ता दोस्रो पुस्ताका नेताहरूलाई नेतृत्व स्वीकार गर्न तयार छैनन् । दोस्रो पुस्ता सिङ्गो एमाले र सूर्य चिन्हको मात्र गफ गरिरहेका छन् । विचार र दृष्टिकोणमा बहस छैन । तेस्रो पुस्ता केपी ओली र माधवकुमार नेपाललाई मात्र नेता मान्न तयार छ । दश बुँदे सहमतिलाई अस्विकार गरेबाट नै पुष्टि भएको छ।

शंकर अधिकारी, Shankar adhikari, teachers leader, UANTA
लेखक

अबको १७ महिनापछि निर्वाचन छ । केपी असफल भइसकेको एक खेमाको बुझाइ छ । माधवकुमार नेपालले नेतृत्व अवसर प्राप्त गर्दैनन् किनकि उनी अल्पमतमा छन् र उनका समूहका दोस्रो पुस्ता उनको मृत्युमा जीवन देखिरहेका छन् । दोस्रो पुस्तासँग न त एजेण्डा छ, न त नीति, न राष्ट्र हाँक्न सक्ने नेतृत्व ? सिङ्गो एमाले हुँदा त ‘न भाले, न पोथी’ भन्ने उखान फेरि चरितार्थ हुन्छ किनकि हिजोसम्म प्रतिगमन भन्ने कुनै रियलाइजेसन नहुने, हिजोसम्म अर्को पार्टीको पुच्छर भन्ने कुनै कार्बाही नहुने, जनतामा सही र गलत धारणा दिनै नसक्ने, कुनै धारको पनि प्रतिनिधित्व नहुने आदि, जसले गर्दा एमालेको मत झन कमजोर हुन्छ । ०६४ मा एजेन्डा नहुँदा, एकताबद्ध एमाले र सूर्य चिन्हले पनि पार्टी तेस्रो भएको थियो नै।

केपी ओली र माधवकुमार नेपाल दुवै तत्काल नेतृत्व त्याग्न तयार छैनन् किनकि ओली अन्तर्राष्ट्रिय अनुदारवादी शक्ति, परम्परागत शक्ति, यथास्थितिवादी र हिन्दु धर्मभिरूहरूको मत आफूलाई आउने र दरिलो उपस्थितिसहित १० वर्ष एमाले हाँक्न चाहन्छन्, त्यसमा बाधक माधवकुमार नेपाल र एमालेभित्र भएको वामपन्थी प्रवृत्ति देखेका छन्, उनी त्यसलाई निषेध गर्न चाहन्छन् । माधवकुमार नेपाल साबिक एमालेमा दक्षिणपन्थी शक्ति हाबी भयो; पुनः देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरूलाई एकताबद्ध बनाएर विगतमा कम्युनिस्ट पार्टी निर्माण, एमालेको विकास र विस्तारसहित माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याउँदा नेतृत्व गरेको भूमिकालाई संस्थागत गर्न चाहन्छन् ।

दोस्रो पुस्ताको भावानात्मक धारणाले मात्र कार्यकर्ता र जनता आकर्षण हुने अवस्था रहँदैन । सिङ्गो पार्टी एकताबद्ध हुने स्थिति पनि हुँदैन । यदि यस्तो अवस्था आएमा एमालेभित्र ओली, माधवकुमार नेपाल र दोस्रो पुस्ताका तीनवटा पार्टी बन्छन् ।

ध्रुवीकरणमा जान दोस्रो पुस्ता नचाहनुको प्रमुख कारण विभाजित पार्टी हुँदा विभिन्न सजातीय प्रवृत्तिहरूको एकता हुने र त्यसमा आफ्नो राजनैतिक भविष्यको अनिश्चय देख्नु नै हो । जुन सोचाइ दोस्रो पुस्तालाई अझ घातक सिद्ध हुने देखिन्छ ।

समग्रमा संश्लेषण गर्दा दोस्रो तहका कैयौँ नेताहरू यतिबेला देशी-विदेशी प्रतिक्रियावादी षड्यन्त्रको गोटी बन्न खोजेको देखिन्छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू नेपालमा नेकपा निर्माण हुँदादेखि नै क्रान्तिकारी धाराको प्रभावशाली कम्युनिस्ट पार्टी निर्माण हुन नदिने, प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व स्थापित हुन नदिने रणनीतिमा छ, जसले गर्दा तिनले दोस्रो तहका नेताहरूलाई प्रभावमा पार्दै तिनलाई राजकीय र पार्टी नेतृत्वमा स्थापित गरिदिने आश्वासन दिइरहेका छन् । उनीहरू ‘सग्लो एमाले’को नारा दिँदै आम कार्यकर्ता पंक्तिमा भ्रम छरिरहेका छन् । हामी सबै वामपन्थी कार्यकर्ताहरू सचेत हुन र सही तथा गलत छुट्याउँदै बृहत वाम ध्रुवीकरणमा सहभागी हुन जरूरी छ ।

(लेखक एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हुनुहुन्छ ।)