ओली, ओलीजी, खड्ग ओली, खड्गप्रसाद, ex PM kp sharma oli, ex prime minister, khadga, केपी ओली,
 

राजनीति नै कुनै पनि देशको मूल नीति हो । भनिन्छ खराब इतिहास दोहोरियो भने विध्वंस निम्तिन्छ र राष्ट्रले ठुलो नोक्सानी ब्यहोर्नु पर्छ । तर हाम्रो देशको राजनीतिमा बारम्बार यस्तो भइरहेको छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले गरेको ‘कू’ले देशलाई तहस-नहस र जनताका हक अधिकारहरुलाई कुल्चने काम गर्‍यो ।

आम जनताको आन्दोलनको बलमा २०४६ सालमा प्रजातन्त्रको पुन: बहाली भयो । योसँगै आम जनताले धेरै आशा र अपेक्षा गरेका थिए – प्रजातान्त्रिक नेता र योद्धाहरुसँग । तर अवस्था आम जनताले सोचेजस्तो रहेन । प्रजातान्त्रिक नेता र योद्धाहरु दलीय झगडामा व्यस्त रहे सत्ता प्राप्ति कै लागि । शासनतन्त्र अपेक्षाकृत प्रजातान्त्रिक मूल्य-मान्यता अनुरुप हुन सकेन । राणाकाल र पञ्चायती हुकुमी शैली हावी रह्यो प्रजातान्त्रिक शासनतन्त्रमा पनि । पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गरेका काँग्रेस कम्युनिस्ट नेता, योद्धाहरु पनि बदलिएनन्‌ । उल्टो पञ्चायती निर्दलीय भागबण्डाको शैली देखेका नेताहरु त्यही संस्कारमै रम्न पुगे ।

किशोर सुबेदी, दैलेख, kishor subedi, dailekh
लेखक

संसदीय व्यवस्थालाई नरुचाएको अर्थात संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने थलो हो, त्यसैले यो व्यवस्थालाई ध्वस्त पारी नयाँ जनवादी व्यवस्था लागू गर्नुपर्छ भनेर २०५२ फागुन १ मा नेकपा (माओवादी) ले जनयुद्ध सुरु गर्‍यो, जसमा चतुर राजनीतिक खेलाडी प्रचण्डदेखि बौद्धिक नेता लालध्वज र दार्शनिक नेता किरणसम्म व्यवस्था विरुद्धको लडाइँमा एक भए र दीर्घकालीन जनयुद्धको घोषणा गरे । उहाँहरूको बुझाइमा यथास्थितिको चुनाव प्रणाली र संसदीय राजनीतिबाट नेपालमा आमूल परिवर्तन ल्याउन सम्भावना थिएन । जनयुद्धले नेपालको मुहार नै फेरिदियो ।

जनयुद्धमा शासक पक्षले जुन दमन र हत्याको शृंखला चलायो, नेपालीले नेपालीलाई यस्तो क्रुर किसिमले, यति पाशविक ढंगले यातना दिएर मार्न सक्छन् भन्ने कुरा पत्याउन पनि गाह्रो भयो । २०६३ सालको युद्ध विरामसम्म पुग्दा १५ हजार नेपालीहरुले ज्यान गुमाइसकेका थिए, हजारौँ विधुवा र टुहुरा बने । लाखौँ आफ्नो गाउँघरबाट विस्थापित भए । मर्ने र पीडित हुनेमा धेरैजसो सर्वसाधारण नै परे ।

नेपालको आर्थिक असमानता र सामाजिक अन्यायको कारण क्रान्तिको वातावरण बन्दै गएको थियो । देशको सामन्ती शासन व्यवस्थासँग गाँसिएको सैनिक शक्ति र त्यसमा विभेदमा परेको वर्ग, जात र लिङ्गले गर्दा नेपालमा जनयुद्ध सम्भव भयो ।

जनयुद्धका केही नकारात्मक असर भए पनि समग्रमा आमूल परिवर्तन ल्यायो । जनयुद्ध सुरु भएपछि देशका सामाजिक विकृतिहरुमा सुधार आयो । छुवाछूत, छाउपडी प्रथा धेरै ठाउँमा निर्मूल भए । महिला सशक्तीकरण स्थापित भयो । समाजमा उपेक्षामा परेका वर्गहरु समावेश हुन थाले । दशक लामो जनयुद्धले नेपाली राजनीतिक इतिहासमा ठुलो उथलपुथल ल्यायो । हामीले प्रजातन्त्र ल्यायौँ, गुमायौँ, फेरि लोकतन्त्र पुन:स्थापना गर्‍यौँ । हामीले संसारको इतिहासमै कहिल्यै नभएको शाही संहार देख्यौँ । रक्ताम्य युद्ध भोग्यौँ । तत्कालीन राजाले गरेको शैनिक ‘कू’ देख्यौँ र त्यही राजाको पराजय पनि हेर्‍यौँ ।

तत्काल मात्रै नयाँ राजाको अवतारका रूपमा उदाउन खोजेका खड्गप्रसाद ओलीले २०७७ पौष ५ को प्रतिनिधि सभाको घाँटी निमोठेको पनि देख्यौँ र जनताको सम्मानित सर्वोच्च अदालतले संसद विघटन फागुन ११ साँझ बदर गरिदिएपछि खड्गप्रसादको सपना हुरिले उडाइदिएको पनि देख्यौँ ।

अनेक आशंकाहरुलाई पन्छाउँदै सम्मानित सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ, गणतन्त्र जोगाएको छ । २०७७ पौष ५ को असंवैधानिक संसद विघटनलाई २०७७ फागुन ११ गते नेपालको सर्वोच्च अदालतले गरेको फैसला न्यायिक इतिहासमा सारा विश्वलाई नै एक राम्रो नजिर बन्नेछ ।

सम्मानित अदालतको यो फैसलाले देशको गणतन्त्रलाई गम्भीर दुर्घटना हुनबाट बचाएको छ । सर्वोच्चले गणतन्त्र विरोधीहरुलाई ठेगान लगाएको छ । अब देशको राष्ट्रियता र लोकतन्त्रको पक्षमा रहेका सबै दलका सामु नैतिक परीक्षाको घडी सुरु भएको छ ।

राज्यसत्तालाई जनताको सेवामा होइन, आसेपासे भ्रष्टहरुको सेवामा लगाउने गरेको खड्गप्रसाद ओली पक्षबाट दाहाल-नेपालले नेतृत्व गरेको नेकपालाई कमजोर बनाउन अनेक प्रयास भए । खड्गप्रसाद ओलीले आफू प्रधानमन्त्री हुनका लागि मात्रै पार्टी एकता गरेका रहेछन् भन्ने कुरा घामजस्तै छर्लङ्ग भइसकेको छ । तीन वर्षसम्म उनले पार्टी एकताको कामलाई अगाडि बढ्न दिएनन् । तर अब प्रचण्ड-माधवले नेतृत्व गरेको र बहुमत रहेको पार्टीमा बाँकी एकताको कामलाई कसरी अगाडि बढाउँछन् भन्ने प्रश्न त अगाडि तेर्सिएको छ ।

मापदण्ड र विधि नमान्नु खड्ग ओली प्रवृत्ति हो भने त्यसका विपरीत आफूहरुले नेतृत्व गरेको नेकपाको बहुमत पक्षलाई मापदण्डका आधारमा एकीकृत गर्नका लागि दृढ भएर उभिने नैतिक साहस प्रचण्ड-माधव पक्षले देखाउनै पर्छ ।

खड्ग ओली नाम मात्रै होइन, विकृति र विसङ्गगतिको एक प्याकेज हो । आफूले गरेका काम सबै ठिक भन्नु तथा आफूबाट गल्ती हुनै सक्दैनन् भन्ने मान्यता राख्नु खड्ग ओली प्रवृत्ति हो । खड्ग ओलीलाई आफ्नै गनगन् गरिराख्ने आसेपासेले डुबाए भने त्यही प्रवृत्तिका मानिसहरु कतै आफ्नै नजिक त छैनन् भनेर प्रतिगमनको विरुद्ध आन्दोलन गरी विजय प्राप्त गरेको नेतृत्वले पनि सोच्नै पर्दछ । बहुमत पक्षले बुझ्नुपर्दछ – सानो प्रयासले मात्रै गतिलो पार्टी बन्दैन, सही मार्क्सवादी-लेनिनवादी पार्टी बनाउनका लागि म र मेरो भन्ने प्रवृत्तिबाट माथि उठ्ने नेतृत्वले मात्रै अबको युगको नेतृत्व गर्न सक्छ र देशलाई तुफान गतिमा हाँक्न सक्छ ।

नेपाली राजनीतिको तापमानमा खासै स्थिरता छैन । तापमान कहिले तीव्र बढ्ने त कहिले स्वात्तै घट्ने भइरहेको छ । राजनीतिक आकाशमा थरीथरीका काला बादल अझै मडारिइरहेका छन् । कहिले खडेरी त कहिले बाढी-पहिरो, कहिले हिमपात त कहिले असिनापानी निरन्तर जारी छ । स्वभाविक रूपमा अग्रगामी सामाजिक रुपान्तरणबिना शान्ति, स्थिरता र समृद्धि असम्भव छ । अझ पछिल्ला राजनीतिक घटनाक्रमहरुले प्रतिगमन, अस्थिरता, अशान्ति र पराधीनता झन्‌ निम्त्याउने खतरा बढेर गएको छ ।

संसदीय राजनीति यति घिनलाग्दो तरिकाले खेलिँदोरहेछ भन्ने कुरा हाम्रा नेताहरुले बारम्बार पुष्टिजस्तै गरिदिएका छन् । रातो पासपोर्ट दुरुपयोग गर्नेदेखि घुस माग्नेसम्मका सांसद देखा परे । कोही सांसद यौनकर्मीसँग भेटिए, कोही चोरीको गाडीमा फेला परे । कोही जुवा खालबाट समातिए । अदालतबाट कर्तव्य ज्यान मुद्दामा सजायँ पाएका र जेलभित्रै मान्छे मारेकाहरू माफी पाएर अहिले खड्गप्रसादको जयजयकार गरेर हिँडिरहेका छन्‌ । थुप्रै विकृतिहरु यो संसदीय कालखण्डमा देखिए ।

पञ्चायतको अन्तिमसम्म सिद्धान्त र विचारको लडाइँ हुन्थ्यो काङ्ग्रेस र कम्युनिस्टमा । तर प्रजातन्त्रपछि उनीहरुले सिद्धान्त र आदर्श होइन, सत्तास्वार्थको लडाइँमा समय खर्चिए । पञ्चायती दिनका बेइमान, भ्रष्ट, दलाल, माफिया, तस्करहरु प्रजातन्त्रवादी नेताहरुको बार्दलीमा पुगे । तिनै पात्रहरु गणतन्त्र स्थापनापछि गणतन्त्रवादी नेताहरुको बार्दलीमा पुगे । अहिले झनै यो प्रवृत्ति झाँगिदो क्रममा छ । त्यस्ता पात्रहरु बढी क्रान्तिकारी कुरा गर्छन् । पार्टी नेतृत्वले जे निर्णय गर्छ, त्यसमा असहमति जनाउँदैनन्‌ । उल्टो तिनको निर्णयको तारिफ गरेर नेतृत्वप्रति वफादार बन्छन् । नेताहरुको विचारमा ‘हो’मा ‘हो’ मिलाएर नेतृत्वलाई खुसी पार्न माहिर हुन्छन् । त्यस्ता पात्र नेतृत्वप्रति भक्तिभाव प्रदर्शन मात्रै गर्दैनन्‌ कि तारिफ गरी नेतृत्वप्रति अति वफादारपन देखाउँछन्‌ ।त्यसैले छिटो नेतृत्वसँग घुलमिल भएर व्यक्तिगत फाइदा लिन सफल हुन्छन्, जो प्रवृत्ति अहिले सतहमा छताछुल्ल भएको छ – ओली बा’का नाममा गरिएको स्तुतिगान ।

त्यसैले अहिले राजनीतिक सतहमा देखा परिरहेका दुर्गन्धका बाछिटालाई सही तरिकाले हल गर्दै शुद्धीकरण अभियान चलाउन जरुरी छ । नेपाली समाज र नेपाली राजनीतिको अग्रगमनका लागि अब नयाँ नेतृत्व, नयाँ विचार र नयाँ प्रक्रिया आवश्यक भइसकेको छ ।

(लेखक प्रेस संगठन कर्णालीका नेता हुनुहुन्छ ।)