मई दिवस, अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे डे , मे दिवस, मजदुर दिवस, International workers' day, world labour day, may day, may 1
 

मजदुर वर्गको मुक्तिका महान मार्गदर्शक तथा गुरु कार्ल मार्क्सले भनेका थिए कि मजदुर वर्गको मुक्ति स्वयं मजदुर वर्गको कार्य हो । यसको स्पष्ट अर्थ हो जबसम्म मजदुर वर्गले आफ्नो मुक्तिको कार्य आफ्नै हातमा लिदैन तबसम्म उसको मुक्ति सम्भव छैन र हुन सक्तैन ।

त्यसो भए खास अर्थमा मजदुर वर्गको मुक्ति भनेको यस्तो समाज व्यवस्था कायम गर्ने कार्य हो, जुन समाजमा वर्ग नै समाप्त भएर जान्छ, त्यहाँ न शोषक वर्ग रहन्छ, न शोषित वर्ग नै रहेको हुन्छ । यो त्यस्तो समाज हो, जहाँ वर्गको अन्त्य भएको हुन्छ र मनुष्य जाति एकजुट हुने स्थिति बनेको हुन्छ । प्रष्ट छ, यस्तो वर्गरहित अवस्थाको सिर्जना हुनु नै मजदुर वर्गको मुक्ति हो ।

यसरी मजदुर वर्गको मुक्तिको प्रष्ट अर्थ हो – राज्य नामको संस्थाको अन्त्य भएको स्थिति । त्यो एउटा यस्तो समाज व्यवस्था कायम भएको अवस्था हुनु हो, जहाँ राज्य सत्ता हुँदैन, जहाँ पुलिस, सेना, जेल, न्यायालय आदि नामका कुनै संस्थाहरू हुँदैनन् । राज्य नामको संस्था वास्तवमा एक वर्गले अर्को वर्गलाई दबाउने राज्य संयन्त्र हो । मजदुर वर्गको मुक्ति पूर्णरूपमा त्यतिबेला मात्र सम्भव हुन्छ, जब इतिहासमा राज्यको अस्तित्व पूर्णरूपमा समाप्त हुन पुग्दछ । अनि यस्तो समाजमा मानिसले आफ्नो काम काजलाई त्यसरी नै सम्पन्न गर्नेछन्, जस्तो किसिमले उनीहरूले अतितमा गर्ने गर्दथे । राज्य नामको संंस्था त वर्ग पैदा भएपछि त्यससँगै उत्पन्न गरिएको हो । अतः समाजमा वर्ग मेटिनासाथै यो राज्य नामको संस्था पनि मेटिएर जान्छ ।

यहाँ मजदुर वर्गको मुक्तिको अर्थ हो – एउटा यस्तो समाज व्यवस्थाको निर्माण, जहाँ मानिसले पूरै आफ्नो क्षमताअनुसार काम गर्नेछ, अनि समाजबाट आफ्नो आवश्यकताअनुसार चिज वस्तुहरु लिनेछ । त्यो समाजमा अभाव भन्ने कुनै कुरा रहँदैन । त्यसको विपरीत हरेक कुरा प्रचुर मात्रामा उपलब्ध हुन्छ, जसले गर्दा कसैलाई मानवीय आवश्यकताका चिज वस्तुहरु न त संग्रह गर्नुपर्ने स्थिति हुन्छ, न त त्यसको चिन्ता गर्नुपर्ने अवस्था नै हुन्छ । त्यहाँ व्यक्तिले समाजको त्यसरी नै चिन्ता र वास्ता गर्नेछ, जसरी समाजले व्यक्तिको चिन्ता गर्ने गर्दछ ।

Lok Narayan Subedi, लोकनारायण सुवेदी
लेखक

मजदुर वर्गको मुक्तिको अर्थ हुन्छ कि मानिस मानिसका बिच भाषा, लिङ्ग, नश्ल, राष्ट्र, जाति आदि आदि कुराका आधारमा हुने गरेको विभाजन, त्यस आधारमा हुने झैँझगडा मेटिइसकेका हुन्छन् । मानिस मानिस बिचका यी सम्पूर्ण भेदभाव मेटिइसकेपछि त्यहाँ जस्तो समाज बन्दछ, त्यो समाज नै वस्तुतः यस्तो समाज हुन्छ, जहाँ मानिसको चौतर्फी अत्याधिक विकास हुन सक्नेछ । मानिसको उन्नतिको बाटोमा समाज कुनै पनि प्रकारले वाधक नभएर हर कदममा व्यक्तित्व विकासको साधक र सहायक हुन्छ । यथार्थतः मजदुर वर्गको मुक्तिको अर्थ यसरी सम्पूर्ण मानव जातिको मुक्ति बन्न जान्छ । यस्तो किसिमको उन्नत, वैज्ञानिक, सभ्य र सुसंस्कृत समाज व्यवस्थालाई आम रूपमा साम्यवाद या कम्युनिज्मको संज्ञा दिइएको छ ।

उन्नाइसौँ शताव्दीमा फ्रान्सको पेरिसमा विश्वमा पहिलो पटक मजदुर वर्गले आफ्नो मुक्तिको कार्यलाई स्वयं आफ्नो हातमा लियो र त्यो आफ्नो मात्र ७२ दिनको शासनकालमा यो कुरा देखाएर छोड्यो कि मजदुर वर्गको मुक्तिको कार्यलाई कसरी प्रारम्भ गर्न सकिन्छ । तिनले मजदुर वर्गको मुक्ति मात्रै होइन, बरु सम्पूर्ण मानवजातिकै मुक्तिको लक्ष्यलाई मजदुर वर्गको मुक्तिको ध्येयकोरूपमा घोषित गरेका थिए । हुन त पेरिस कम्युनको उमेर या कालखण्ड केवल ७२ दिनको मात्र थियो तर त्यस प्रभावले विश्वका देशहरुको सीमा र समयलाई सधैँका निमित्त नाघिसकेको थियो । पेरिस कम्युनको त्यो क्रान्तिले मजदुर वर्गको मुक्तिको जुन विगुल फुकेको या संखघोष गरेको थियो, त्यसको अनुगुञ्ज बिसौँ शताब्दीका कैयौँ महान क्रान्तिहरुमा पटक-पटक गुञ्जिनै रह्यो र सुनिँदै रह्यो ।

हुन पनि बिसौँ शताब्दीमा अनेक महान् क्रान्तिहरु मजदुर वर्गको नेतृत्वमा भए । ती महान् क्रान्तिहरूमध्ये दुई वटा क्रान्ति सर्वोपरिरूपमा रहन पुगे । पहिलो रुसमा १९१७ मा मजदुर वर्गको नेतृत्वमा सम्पन्न महान अक्टोबर समाजवादी क्रान्ति थियो भने दोस्रो १९४९ मा भएको चिनियाँ नयाँ जनवादी क्रान्ति, जुन मजदुर वर्गको नेतृत्वमा किसान-मजदुर एकताको अधारमा सम्पूर्ण क्रान्तिकारी तह र तप्कालाई गोलबन्द गरेर सम्पन्न भएको थियो । ती दुवै क्रान्तिहरूमा पेरिस कम्युनको गहिरो छाप परेको थियो । त्यो केवल पेरिस कम्युनको ध्येय र उद्देश्यलाई लिएर मात्र होइन, ती दुवै क्रान्तिहरूले पेरिस कम्युनको विजय र पराजयबाट धेरै शिक्षा लिएका थिए । पेरिस कम्युनले उठाएका कदमहरूबाट प्रेरणा लिएका थिए ।

वास्तवमा पेरिस कम्युनले फ्रान्स र जर्मनी (त्यतिबेलाको प्रसिया) का पुँजीवादी शासकहरूको अनुहारबाट एकैचोटि मुखुण्डो उतारिदिएका थियो । पेरिसमा मजदुर वर्गको क्रान्ति हुनासाथ दुवै देशका शासकहरूको निगाहमा उनीहरूको सबैभन्दा ठुलो दुश्मन मजदुर वर्ग बनेको थियो । पेरिस कम्युन कायम हुनुभन्दा पहिला फ्रान्स र जर्मनी महिनौँदेखि भीषण लडाइँमा लिप्त रहेका थिए, जसमा हजारौँ मानिसहरु मारिएका थिए । पेरिसका क्रान्तिकारी मजदुरहरूले पेरिसको रक्षाको भार आफ्नै काँधमा लिएका थिए । फ्रान्सको पुँजीपति वर्गले पेरिसबाट भाग्नुमा नै आफ्नो कल्याण हुने ठानिरहेको थियो । अनि जब पेरिसका क्रान्तिकारी मजदुरहरूले कम्युन कायम गरे र त्यसलाई सफलतापूर्वक चलाउन थाले, तब फ्रान्सका पुँजीपतिहरूले आफ्नो वर्ग बन्धुहरु जर्मनीका पुँजीपतिहरूसँग सुलह–सम्झौता गरे । अनि फेरि जर्मनीको सहयोगमा पेरिस कम्युनमाथि भीषण हमला गर्न थाले र यसरी पेरिस कम्युनलाई दबाएर छाडे ।

पेरिस कम्युनबाट पहिलो महत्त्वपूर्ण शिक्षा के मिलेको थियो भने मजदुर वर्गले क्रान्ति गर्दा आपसमा लड्ने पुँजीपति वर्ग पनि मजदुर वर्गका विरुद्ध एक हुने गर्दछन् । ती परस्परको दुश्मनी बिर्सेर मजदुर वर्गमाथि हमला गर्न एकै ठाउँमा खडा हुन्छन् । वास्तवमा उनीहरुका लागि क्रान्तिकारी मजदुर सबैभन्दा ठुलो दुश्मन लाग्दछ । मजदुर वर्गको क्रान्तिबाट अत्तालिएका जर्मनी र फ्रान्सका पुँजीपति शासक वर्गलाई लाग्न थाल्यो कि यदि पेरिसको यो मजदुर क्रान्तिको आगो देशका अरु सहरहरूमा फैलिन थाल्यो भने पुँजीपतिहरूको स्वर्ग पूराका पूरै जल्ने छ ।

जस्तो किसिमले सन् १८७१ मा फ्रान्स र जर्मनीका पुँजीवादीहरू मिलेर पेरिस कम्युनलाई कुल्चे, ठिक त्यसरी नै १९१७ को महान्‌ अक्टोबर समाजवादी क्रान्तिपछि रुसका विरुद्ध पनि पुँजीपतिहरूले त्यस्तै हमला गरे । वास्तवमा रुसमा समाजवादी क्रान्तिलाई केवल आन्तरिक दुश्मन – पुँजीपति, जमिन्दार र सैनिक अधिकारीहरूले मात्रै होइन, देशबाहिरका दुश्मन पुँजीपति प्रतिक्रियावादी वर्गले पनि हमला बोल्यो । रुसमा समाजवादी क्रान्तिलाई पुँजीवादी-साम्राज्यवादी खेमाले आफ्ना लागि बहुतै खतरा मानेको थियो र ती सबै रुसमा मजदुर वर्गको सत्ताका विरुद्ध खडा भएका थिए । त्यतिबेला विश्वका १४ पुँजीवादी देशहरू मिलेर नवस्थापित समाजवादी देशमाथि आक्रमण गरेका थिए । त्यो भीषण हमला दुई वर्षभन्दा बढी समयसम्म चल्यो ।

यद्यपि पेरिस कम्युनको अनुभव र त्यसको शिक्षा रुसका मजदुर वर्गलाई पनि थियो । त्यसैले उनीहरूले आफ्ना भित्री र बाहिरी शत्रुसँग डटेर सामना गरे र तिनलाई हराएर लखेटे । पेरिस कम्युनको पाठका अतिरिक्त रुसमा मजदुर वर्गको अगुवाई गर्ने क्रान्तिकारी नैतिकता र अनुशासनले सुसज्जित रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) लेनिनको नेतृत्वमा दृढतापूर्वक उभिएको थियो । त्यस पार्टीलाई रुसको क्रान्तिकारी अनुभवका साथै मजदुर वर्गको अन्तर्राष्ट्रिय शिक्षा पनि थियो । आफ्नो देशको सन् १९०५ को असफल क्रान्ति र सन् १९१७ को फेब्रुअरी पुँजीवादी-जनवादी क्रान्तिको अनुभव पनि थियो । अनि सर्वोपरि त सन् १८७१ कै पेरिस कम्युनको स्थापना गर्न भएको ठुलो क्रान्तिको अनुभव थियो ।

रुसको समाजवादी क्रान्तिलाई जस्तै विश्वभरिकै पुँजीपतिहरूले बिसौँ शताब्दीमा पनि सबै क्रान्तिहरूलाई कुल्चिनका लागि उनीहरूले जे-जे गर्न सक्तथे, सबै गरे । त्यस क्रममा कैयौँ क्रान्तिहरूलाई उनीहरूले नराम्रोसँग कुल्चिन सफल पनि भए । कतिपय क्रान्तिले तिनको हमलालाई डटेर सामना गरे र पुँजीवादी वर्गमाथि विजय प्राप्त गरेरै छोडे । पुँजीपति वर्गले जुन-जुन क्रान्तिलाई दबायो र कुल्चियो, तिनको लामो शृङ्खला र फेहरिस्त छ । युनान, इण्डोनेसियादेखि आरम्भ भएर यो श्रृङ्खला ल्याटिन अमेरिकासम्म पुग्दछ ।

अनि जुन क्रान्तिहरू सफल भए । ती मध्येमा सन् १९४९ को चिनियाँ नयाँ जनवादी क्रान्ति, भियतनाम, क्युवा, उत्तर कोरिया आदि देशहरूका क्रान्तिहरू रहेका छन् । ती सफल क्रान्तिहरूको एउटा सिलसिलाको फलस्वरूप नै बिसौँ शताब्दीको पाँचौ-छैठौँ दशकमा विश्वका १३ देशको एउटा समाजवादी खेमा अस्तित्वमा आउन सकेको थियो । अनि त्यस खेमाका विरुद्ध पुँजीवादको हमला कहिल्यै रोकिएन । अनि आ-आफ्नो देशमा पनि तिनले आम श्रमजीवी जनतामाथि भीषण दमनचक्र चलाएर क्रान्तिकारी मजदुर वर्गको आभालाई कुल्चिने काम गर्दै रहे । हजारौँ हजार मानिसहरूलाई जेलमा कोचियो भने हजारौँको हत्या गरियो । लोकतन्त्रको ढोल पिट्ने साम्राज्यवादी देश अमेरिकाको पनि यस्तै गतिविधि थियो । हुन पनि सन् १९५० को दशकमा अमेरिकामा क्रान्तिकारीहरूमाथि भीषण दमनचक्र चलाइएको थियो । ल्याटिन अमेरिकामा त झन्‌ साम्राज्यवादी शक्तिका कठपुतली सरकारहरूको माध्यमले एकपछि अर्को ठुलो नरसंहारको सिलसिला नै चलाइएको इतिहास छ ।

समाजवादलाई जत्तिको खतरा बाह्य पुँजीवादी संसारबाट रहेको थियो, त्यत्तिकै या त्यो भन्दा पनि बढी खतरा आफैभित्र छिपेर रहेको या प्रकट घरेलु दुश्मनसँग पनि रहेको थियो, छ किनभने समाजवादी समाज एउटा अन्तरिम संक्रमणकालीन व्यवस्था हो । यो एउटा यस्तो व्यवस्था हो, जसको जन्म पुँजीवादभित्रैबाट हुने गर्दछ तर यसको लक्ष्य भने साम्यवाद हुने गर्दछ । यसरी समाजवादी व्यवस्थाले पुँजीवादभित्रैबाट जन्म लिने भएकाले पुँजीवादी ब्याधी र बिमारीहरू तथा विकृतिहरूले लामो समयसम्म यस नवस्थापित समाजवादी व्यवस्थामा टाँसिएर बस्ने र यसलाई सताउने गर्दछन् । फलतः समाजवादभित्र पनि केही न केही पुँजीवादी विकृति र ब्याधीहरूले घर गरिरहेका हुन्छन्, जसप्रति निरन्तर सावधान रहनु र लड्नुपर्ने हुन्छ । स्वभाविक छ कि यदि पेरिस कम्युनले लामो उमेर पाएको भए, त्यसले पनि यस्ता समस्याहरूको सामना अवश्य गर्नुपर्ने थियो, जसको सामना सोभियत रुस र जनवादी चीनसमेत अन्य समाजवादी देशहरूले गर्नु परेको थियो, र छ ।

वास्तवमा वस्तुगत अनुभवले के दर्शाएको छ भने समाजवादभित्र पुँजीवाद पैदा हुने आधार बचेर रहने स्थितिमा यसभित्र समस्याहरू पैदा हुने गर्दछन् । त्यसका आधार हुन् – मानसिक र शारीरिक श्रमका बिचको भेद, उद्योग र कृषिको बिचमा भेद, सहर र गाउँका बिचको भेद । अनि यसका अतिरिक्त समाजवादमा मूल्यका नियम, मुद्राको प्रचलन, बजारको उपस्थिति आदिले पनि पुँजीवादलाई निरन्तरता दिन मद्दत पुग्ने गर्दछ । सोभियत संघ लगायत पूर्वी युरोपका देशहरूमा समाजवाद समाप्त हुनु र पुँजीवादको पुनःस्थापना तथा सुदृढ हुनका प्रमुख कारणहरू यिनै थिए । समाजवादभित्र पुँजीवाद हुर्कने र बढ्ने कुरालाई रोक्न समाजवादी सांस्कृतिक रूपान्तरणलाई निरन्तर जारी राख्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निस्केको छ, जुन कुरा चीनले सुरु गरेको थियो, त्यो पनि सही दिशामा नगएर दुरुपयोग भएको समेत देखियो ।

एक समय पेरिस कम्युनको चर्चा गर्दै लेनिनले भनेका थिए कि पेरिस कम्युनको ध्येय सामाजिक क्रान्तिको ध्येय थियो । त्यसको ध्येय के थियो भने श्रमजीवी जनतलाई पूर्ण राजनीतिक तथा आर्थिक मुक्ति मिल्नु पर्दछ । यो सारा संसारकै मजदुर वर्गको ध्येय हो । अनि यस रूपमा पेरिस कम्युन अमर छ । अर्थात् पेरिस कम्युनले जुन आफ्नो ध्येय राखेको थियो, त्यही ध्येय महान अक्टोबर समाजवादी क्रान्ति र पछि गएर सर्वहारा सांस्कृतिक क्रान्तिको पनि ध्येय बनेको थियो । त्यो वास्तवमा मजदुर वर्गको नेतृत्वमा क्रान्ति हुने सबै श्रमजीवी जनताको ध्येय हो । यो वर्गीय ध्येयबाट विचलित भएपछि त्यसमा विकृति र विसंगति उत्पन्न हुन्छ ।

तसर्थ मानव मुक्तिको मजदुर वर्गले उठाएको यो ध्येयको मशाललाई जगाउनु र जोगाउनु पर्दछ भन्ने सही भावधारा पैदा गर्नु, त्यसबाट मजदुर वर्गलाई सुसज्जित तुल्याउनु नै आज विश्वभरि मई दिवस मनाउनुको सार्थकता हुन्छ । पेरिस कम्युनको शिक्षालाई शिरोपर नगरी यथास्थितिमा अल्मलिने हो भने अन्तर्राष्ट्रिय मई दिवस मनाएको कुनै अर्थ हुँदैन भन्ने कुरा बुझ्न आवश्यक छ ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।)