Dr Baburam Bhattarai Laldhwoj
 

जनयुद्धको २५ बार्षिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विचार, आन्दोलन र नेतृत्वको विषयमा चर्चा गर्दै चुनबाङ भेटमा ७ बुँदे आचारसंहिता (७ दल र माओवादीको बिचमा) को जग, १२ बुँदे समझदारीको जग, जनयुद्ध र जनआन्दोलनको जगको विषय राख्नुभयो । त्यही प्रसंगमा दिवङ्गत नेता तथा नेकाँका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नाम लिएर भन्नुभयो “अब लँडाई साँगुरिएर आयो, तपाईंहरुले कार्यबाही घनीभूत बनाउनुस् !” । यो एउटा भआवमा भनेको कुरा थियो ।

यही प्रसंगलाई लिएर डा. बाबुराम भट्टराईले आफ्नो ट्विटरमा “२०६२ नगरपालिकाको चुनाव बिथोल्न त गिरिजाले भन्नुभएकै हो, अरु त ठाउँ अनुसार बोल्ने प्रचण्डको बानी जाने मानेकै हो !”

विद्वान डा. सापलाई “छोटी मुँह, बढी बात” हुन्न भने केही भन्न चाहन्छु । विषयलाई सबै नेताले समान ढंगले बुझ्ने भए डा. साप अध्यक्ष भई हाल्नुहुन्थ्यो । उपाध्यक्षबाटै पर सर्नुपर्ने थिएन । “२०६२ चुनाव बिथोल्नु पर्‍यो” भनेको आफैले सुन्नुभएछ र स्विकार गर्नुभयो । चुनाव बिथोल्नु पर्‍यो भनेको के राज्यलाई निवृदन हाल्ने कुरा हो ? या शान्तिपूर्ण जुलुस गरेर हुने कुरा थियो ? यदि त्यसो हुँदो हो त दलहरु खुलै थिए, तिनै काफी थिए । डा. साप जस्तो अन्तर्राष्ट्रिय विद्वानले गिरिजाबाबुले भनेको कुरा बुझ्न नसक्नु अनौठो हो ।

Kali Bahadur Malla, कालीबहादुर मल्ल
लेखक

प्रसंगवस अर्को कुरा जोड्न मन लाग्यो । चुनबाङ बैठकमा डा. सापले क. प्रचण्डको मुक्तकण्ठले प्रशंसा गर्दै भन्नुभयो, “क. प्रचण्डसँग टावर छ । मसँग छैन, प्रचण्ड धर्ती हेरेर हिँड्नु हुन्छ । म अन्तरिक्ष हेर्छु र भुईंमा लड्छु । क. प्रचण्डलाई २१औँ शताब्दीको लेनिनको रुपमा पाएँ । मलाई एक थप्पड (कार्वाहीको सन्दर्भमा) हान्नै पर्थ्यो । अलि बढी हान्नुभो ।” के यो पनि कथेकै हो ? रेकर्ड सुरक्षित छ, चुनबाङको बैठकमा कसले के भने ?

शान्ति प्रकृयाको कामीडाँडा बैठकपछि डोटीको बीपीनगर केन्द्रीय प्रशिक्षणमा डा. भट्टराईले क. प्रचण्डको थप प्रशंसा गर्दै भन्नुभयो, “वस्तुगत घटनामा हुने विकासको तीब्रता र चेतनाको विकासको गतिमा हुने मन्दाले अन्तरविरोध पैदा गर्छ । जसले वस्तु विकासको गतिसँगै चेतना दौडाउँछ, त्यही अन्तरविरोधको हल गर्ने नेता हुन्छ । त्यो क्षमता प्रचण्डमा छ।” शव्द केही तलमाथि भए क्षमा चाहन्छु । भाव र सारमा यही हो । अब डा. भट्टराई भन्नुस् के यो भनाइ अरु कसैको हो ?

हामीले बुझेको मार्क्सवाद बासको लिंगो हो, जसलाई एउटा गाँठामा (काण्डमा) बञ्चरो हान्दा ५ वटा गाँठा फुट्छ । तर डा. सापको मार्क्सवाद सडेको मुडो रहेछ, जो ५० पटक बञ्चरो हान्दा पनि एकै ठाउँ “ठ्वाक्क ठ्वाक्क” हुने, न च्यातिने ।

दोस्रो कुरा, एउटै पार्टीमा हुँदा गरेका कतिपय कुरा कुटनैतिक थिए होला । पार्टीबाट अलग भएपछि जो अफवाहहरु फैलाइन्छ, त्यो कुटनीति विपरित षड्यन्त्र हुन्छ । डा. भट्टराई एकतामा आउँदाको बखत क. हरिबोल गजुरेल उहाँको महामन्त्री हुनुहुन्थ्यो किनकि उहाँमा नेता हुने संगठनात्मक जिम्मेवारी मसालले विश्वास गरेन । उहाँमा नेता हुने गुनको विकास हुन बाँकी थियो । रुप देख्नेहरुको हल्लाले भट्टराईलाई हौस्यायो र बढी बुझ्न थाल्नु भयो ।

जे भए पनि पार्टी एकतापछि क. प्रचण्डले बाबुरामको योग्यतालाई क्रान्तिमा जोड्न बिनाहिचकिचाहट जिम्मेवारी थप्दै गएर एउटा स्थापित नेताको रुपमा खडा गर्नुभयो । आन्दोलन, संघर्ष र युद्धको नेतृत्व गर्नु भएको कुरालाई कस‌ैले इन्कार गर्दैन । तर उहाँले मसालमा रहँदासम्मको खालि ठाउँ माओवादीबाट एकैपटकमा भर्ने आकांक्षा राख्नुभयो, जसले गर्दा जग भत्किएको थाहै पाउनु भएन ।

अन्तमा, हिजो आज भट्टराई आफू तन्दुरुस्त वा बलियो भएर जित्न नसकेपछि अरुलाई बिरामी बनाएर जित्ने दाउ खोज्दै हुनुहुन्छ । आजको ट्विटरको स्विटर त्यसैको उदाहरण हो भन्दा के फरक पर्ला र?

(लेखक नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ – सं.)